त्यो बेला लागुऔषध अनुसन्धान इकाइको कार्यालय बानेश्वरमा सरेको थियो। म इन्चार्ज भइसकेको थिएँ।
उकेरा कोलम
२००१ को अगस्ट १७ मा एयरपोर्टमा एक जना बेलायती नागरिक हेरोइनसहित पक्राउ परेको सूचना आयो। विमानस्थलमा खटिएको इकाइको टोलीले सूचना टिपायो, 'काठमाडौंबाट एसक्यु ४१३ उडानबाट सिंगापुर हुँदै इण्डोनेसिया हिँडेका पासपोर्ट नम्बर ५००१५११६५ भएका ब्रिटिस नागरिक गोर्डन विलियम रविन्सन पक्राउ परे।'
उनले खुट्टामा बाँधेको अवस्थामा हेरोइन फेला परेको थियो। हेरोइन जोख्दा २ किलो ३ सय १५ ग्राम भएछ। उनी जान खोजेको अस्ट्रेलिया रहेछ।
उनलाई बानेश्वरमा रहेको इकाइको कार्यालयमा ल्याइयो। झुस्स दारी पालेको। हेर्दा बढा भद्र मान्छे। सोधपुछ सुरु भयो। उनी विदेशबाट आएको देखियो। कोरिया अनि पाकिस्तानबाट नेपाल आएको देखियो।
अनुसन्धानमा उनले धेरै कुराहरु खोलेनन्। अनुसन्धानमा उनले हेरोइन तस्करी गर्न लागेको पुष्टि हुने पर्याप्त प्रमाणहरु चाहिँ फेला परेको थियो। उनले अष्ट्रेलिया, मेलवर्नमा रहेका भिर्जिल नाम भएका व्यक्तिलाई पठाउन भारतबाट हेरोइन मगाएको देखिएको थियो।
उनले बयानमा भारतीय मुसलमानबाट हेरोइन किनेर ल्याएको र सो हेरोइन इण्डोनेसिया लैजान खोजेको देखिएको थियो। त्यो बेलामा उनले एक सय ग्राम हेरोइनको एक हजार अष्ट्रेलियन डलरमा बिक्री गर्ने गरेको खुलेको थियो।
अनुसन्धान सकाएर विशेष अदालतमा मुद्दा चल्यो। उनलाई १७ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुने फैसला गर्यो। सदरखोर, डिल्लीबजारको जेलमा थिए उनी।
अनुसन्धान सफल भएकोमा खुसी लाग्यो।
OOO
कार्यालय आउने यकिन समय नभए पनि मेरो बानी चाहिँ छिटो अफिस आउने थियो। म प्राय: ९ बजे पुगिसक्थें। कार्यालय गएपछि फिल्डमा जाने- नजाने फिक्स्ड हुन्थ्यो। त्यो दिन पनि छिट्टै अफिस आएको थिएँ। के कामले हो हामी कार्यालयमा रातिसम्म बसेर काम गरिरहेका थियौं।
दुई जना पत्रकार आए। सात जति बजेको थियो होला। दिवस उदास पनि सँगै थिए। उनीहरुले भने, 'ए सर, रविन्सनलाई त अदालतले छाडिदियो नि।' छक्क परें सुनेर। उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेकोसम्म थाहा थियो। पुनरावेदनमा छाड्यो भन्दा त छक्क परिने नै भयो। छोड्नै नमिल्ने केस थियो। ऊबाटै हेरोइन बरामद भएको हो।
यस्तो फैसला गर्ने कुन चाहिँ न्यायाधीश रहेछन् भनेर सोधें, 'कृष्णकुमार बर्मा र बलिराम कुमार रहेछन्। छाड्ने आधार चाहिँ उनको खुट्टामा बरामद भएको भनिए पनि कुन खुट्टामा भन्ने नखुलेकाले भनेको रहेछ। यस्तो पनि हुन्छ! झोक चल्यो।
उनीहरुले घटना के हो, के-कस्ता प्रमाण थिए लगायतका आवश्यक तथ्यहरु मागेका थिए। हामीले सबै दियौं। भोलिपल्ट कान्तिपुर र अर्को एउटा पत्रिकामा समाचार आयो। अनि त हंगामा भइहाल्यो।
हाम्रो अफिसमा त बस्नै नसक्ने भइहाल्यो। एम्बेसीका मान्छेहरु आउन थाले कार्यालयमै। फोन आउन थाल्यो। अदालतको फैसला के भएको हो भनेर सोध्ने सबैले।
अब के भएको हो भन्ने? हामी नै छक्क थियौं। उसकै शरीरबाट हेरोइन बरामद भएको हो भन्नेमा कुनै शंका थिएन। महत्वपूर्ण कुरा उसको शरीरबाट हेरोइन फेला परेको हो कि हैन भन्ने हो नि। अब कुन चाहिँ खुट्टामा फेला परेको हो त्यसको त्यति धेरै महत्व त होइन।
हाम्रो अफिसका केटाहरु आगो भइसकेका थिए। उनीहरु 'सर हामीले त्यत्रो मिहिनेत गरेर अनुसन्धान गर्ने, अदालतले चाहिँ छाडिदिने' भनेर उफ्रिन थाले। हुन पनि हो।
उनीहरुलाई सम्झाउनै गाह्रो हुन थाल्यो। छलफल गर्यौं। यसबारेमा त केही न केही बोल्नैपर्छ भन्ने भयो। दिवस कानुन पल्टाउन थाले। केशव खरेल यो केसमा को, कसले खेल खेले भनेर बुझ्न थाले।
विस्तारै मिडियाहरु आउन थाले। अदालतको फैसलाबारे बोल्दा मानहानिको मुद्धा लाग्ने रिक्स थियो। तर हामी खुलेरै बोल्न थाल्यौं। बोल्नै पर्ने विषय थियो। कारबाही होला, जागिर जाला भनेर कसरी मौन बस्न सकिन्थ्यो र!
अर्को दिन बबाल हुन थालिहाल्यो। हामी यता तयारी गरिरहेका थियौं। तर फैसलाको पूर्ण पाठ आएको थिएन। केही दिनमा पूर्ण पाठ आयो। उसलाई छाड्न टेकेको तथ्य उही दायाँ खुट्टा हो कि बायाँ खुट्टा हो नखुलेको भन्ने नै रहेछ।
फैसला भएकै दिन छाडिदिन अर्को छुट्टै आदेशसमेत भएको रहेछ। राहदानी र इन्डोनेसियन रकम १ लाख ५१ हजार फिर्ता दिने समेत फैसला हुनुले कुन नियतले सो फैसला आयो भन्ने त देखिइहाल्यो।
बबाल हुन थालेपछि यो मुद्दाबारे छानविन गर्न दबाब बढ्न थाल्यो। मिडियामा समाचार आएको-आयै। कोही तत्कालीन प्रनानी कृष्णप्रसाद त्रिपाठीले दरबारमा बिन्तीपत्र हाले। दरबारले छानविनमा चासो लिएको थाहा भयो।
त्यो बेलामा प्रधानन्यायाधीश गोविन्दबहादुर श्रेष्ठ हुनुहुन्थ्यो। दिनकै फैसलाको आलोचना हुन थालेपछि अदालत पनि यस विषयमा कुनै न कुनै तरिकाले छानविन गर्न प्रेसरमा पर्दै गयो। अदालतमा पनि बबाल भइरहेको थियो।
दबा थेग्न सकेन सरकारले र रविन्सनलाई सफाइ दिने फैसला गर्ने दुवै न्यायाधीशबारे छानविन गर्न न्यायाधीश मीनबहादुर रायमाझीको संयोजक रहेको छानविन समिति बन्यो। समितिमा न्यायाधीश अनुपराज शर्मा र खिलराज रेग्मी सदस्य हुनुहुथ्यो। नेपाल बार एसोसिएसनले पनि छानविन गर्ने तयारी गर्दै थियो।
रायमाझीको नेतृत्वमा समितिले काम सुरु गरेपछि केशबारे बुझ्न मलाई बोलायो।
ब्याचका पुराना अंक
क्रमशः
(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)
२०७८ साउन २७ गते २०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।