उकेरा कोलम

ब्याच नम्बर ६९ : छोटा राजनले फोनमा भन्यो' वो मेरा बच्चा है, ख्याल रखना'


युनुस अन्सारी हत्या प्रयासको आरोपमा पक्राउ मनमित सिंह भाटिया नै यस्ता हत्या शृङ्खलामा पक्राउ परेका पहिलो भारतीय सुटर थिए। उनीबाट युनुस हत्या प्रयासको रणनीतिकार मात्रै हैन त्यसभन्दा अगाडि भएका जमिम शाह लगायतकाले हत्या घटनाबारे पनि खुलाउन सकिन्छ कि भन्ने हाम्रो आस थियो।

किनकि उसको कनट्र्याक्ट किलरको पृष्ठभूमि, केही समय नेपालमै बसेर ग्यालेक्सी स्कुलमा पढेको अनि नेपाली भाषा र संस्कृतिबारे उ राम्रो जानकार थियो। अर्को महत्त्वपूर्ण पक्ष के भने त्यो जमिम शाहको हत्यामा होस् या शौकत बेग अनि मजिद मनिहारको हत्यामा होस् त्यसमा संलग्नहरू पक्राउ नपरे पनि उनीहरूको सम्बन्ध कुनै न कुनै रूपमा भारतको उत्तर प्रदेश अझ ठ्याक्कै ठाउँ नै भन्दा लखनउ जोडिइरहेको थियो।

युनुस अन्सारीको हत्या प्रयासमा संलग्न सुटर मनमित अनि उसलाई सहयोग गर्न नेपालमा आएका तर भाग्न सफल भएकाहरूको सम्बन्ध र सम्पर्क पनि लखनउमै देखिएको थियो। लखनउको जेलमा बब्लु श्रीवास्तव रहेकाले त्यता जोडिएको हो या लखनउको कुनै भारतीय सुरक्षा एजेन्सी वा सुरक्षाकर्मीले चलाइरहेको अप्रेशन हो भनेर ठम्याउनु हाम्रा लागि निकै महत्त्वपूर्ण थियो।

त्यसैले म अनि अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूलाई पनि मनमितसँग कुरा गर्दा, बयान लिँदा त्यतैतिर केन्द्रित हुन भनेको थिए। तर टिमले पनि त्यही अनुसार काम गरिरहेको थियो।

मनमित हाम्रो हिरासतमा थिए। राती त हिरासतमै रहने भए। दिनभर त उसलाई कार्यालयमा ल्याएर बयानै नलिएझैँ वातावरण बनाएर पनि आवश्यक सूचना लिन सकिन्छ नि। अब बयान लिने प्रक्रियामा त सबै औपचारिक प्रक्रिया हुन्छ। निश्चित कोठा हुन्छ। त्यस्तै परे भिडियो पनि खिच्नुपर्छ। उसको भनाई रेकर्ड गर्ने अनि टिप्ने पनि हुन्छ।

यो सबै कानुनी प्रक्रियाको पाटो भयो। मनमित युनुस अन्सारीलाई मार्ने योजनासहित आएको भारतीय अपराधी हो भन्ने पुष्टि गर्नका लागि त्यति गाह्रो थिएन। किनकि उ हतियारसहित केन्द्रीय कारागार गएर युनुसमाथि गोली चलाएको पर्याप्त प्रमाण सङ्कलन भइसकेको थियो। मुद्दा प्रक्रियाका लागि आवश्यक प्रमाण र प्रक्रिया पनि लगभग सकिसकेको थियो।

अपराध महाशाखाको कार्यालय हनुमानढोकामै थियो। अन्तिम तल्ला महाशाखाको थियो। त्यसमाथि छतमा जाने अनि बस्ने, हनुमानढोका क्षेत्रको रमाइलो दृश्य हेर्न पनि मिल्ने। छतकै एक कुनामा क्यान्टिन पनि थियो। एक छेउमा चैँ केराकार कक्ष बनाइएको थियो।

महाशाखाको आफ्नै हिरासत भने थिएन। तत्कालीन महानगरीय प्रहरी कार्यालय काठमाडौंकै हिरासत कक्ष चलाउँथ्यौँ हामी पनि। हामीले पक्राउ गरेका आरोपीहरू पनि त्यही छिँडीमा भएको हिरासत कक्षमा राखिन्थ्यो।

आरोपी पनि मान्छे नै त हो। उसलाई अलि सहज बनाउन सक्यो भने यो चैँ भन्दै भन्दिन भनेर मनमै दबाएर राखेको कुरा पनि कतिखेर फ्याट्ट निस्कन्छ पत्तै हुन्न। मनमित जस्तो अनुभवी सुटरलाई कुटेर या तर्साएर हामीले चाहे अनुसारको सूचना आउनेवाला पनि थिएन।

उ आफैँ कि मर्छु कि युनुसलाई मार्छु भनेर आएको व्यक्ति। पक्राउ मात्रै पर्नु त उसका लागि ठुलो सरप्राइज भइहाल्यो नि। अपराधीको मनोभाव बुझेर पनि अनुसन्धान अधिकारीले व्यवहार गर्नुपर्छ भन्ने त्यसैले त हो। अब तर्साउँदा चाहेको सूचना निकाल्न सकिन्न भन्ने फकाउने। तर चलाखीसाथ फकाउनुपर्छ।

तँलाई कैद सजाय मिनाहा गराइदिउँला भनेर फक्किनेवाला हुन्नन् यस्ता अपराधी। उसलाई कैद सजाय घट्छ कि बढ्छ भन्ने थाहा भइहाल्छ। चलाख हुन्छन् नि उनीहरू।

यस्तालाई फकाउने भनेको अब सबै काम सकियो केवल अदालती प्रक्रियाका लागि मात्रै हिरासतमा राखेको हो भन्ने भान दिने हो। अर्को उ बाध्यताले गर्दा फसेको हो, उसको रहर हैन भन्ने भाव मनमा पार्न सक्यो भने अझ सजिलो हुन्छ।

अर्को सहयोगी बनिदिने। जस्तो हिरासत कक्षमा असुविधा भएको हुनसक्छ। त्यसमा सहयोग गर्ने। सकेसम्म कानुनी रूपमा गर्न सक्ने सहयोग गर्ने। हिरासत कक्षका इन्चार्जलाई उसले थाहा पाउने गरी फलानालाई दुख नदिनु है भनिदिने। हिरासतमा बस्दा बस्दा दिक्क भइसकेका हुन्छन् नि। यसो बोलाएर भाग्न नपाउने गरी सुरक्षा प्रबन्ध गराएर छतमा बस्न दिने, क्यान्टिनमा उसलाई मन पर्ने खाजा बनाएर खुवाउने गर्‍यो भने उ पनि बिस्तारै घुलमिलहुँदै जान सक्छ।

अनि अन्य प्रसङ्गमा कुरा गर्दागर्दै आफूलाई चाहिने विषयमा फुत्त प्रवेश गर्ने गर्‍यो भने यो चैँ भन्न हुन्न भनेर उसले दबाएको कुरा पनि फुत्त बाहिर आउन सक्छ। त्यस्तो बेलामा केही थाहा नपाएजस्तो गर्न पनि सकिन्छ।

मनमितलाई हामीले त्यस्तै व्यवहार गर्न थाल्यौँ। उसलाई महाशाखाको छतमा लैजाने, पारिवारिक सदस्यले जस्तो कुरा गर्ने, यस्तो खतरा ज्यान छ यसो सुरक्षा सङ्गठनमा भर्ना हौँ भन्ने लागेन भन्ने, प्रेमको चक्करबारे, त्यताको रमझम अनि रमाइलो कुरा, परिवारका सदस्यको कुरा अनि साथीभाइको कुरा गर्ने। अनि उसलाई केही खान मन लागेको भए खुवाउने।

प्रहरीको यस्तो व्यवहार देखेपछि मनमित पनि अब सिधै जेल जाने हो अब यहाँ कुट्ने या दुख दिने हुन्न भनेर ढुक्कै भयो।

अनि कुरैकुरामा एक दिन' छोटा राजनसँग कुरा गर्ने हो भनेर सोध्यो।

यो हाम्रो लागि महत्त्वपूर्ण सूचना हुन सक्थ्यो। किनकि खाली जेलमा भएको बब्लुसँग जोडेर मात्रै हेरिएको थियो। अहिले पो राजन हिरासतमा छन् या मरिसके भन्ने एकिन छैन त। त्यो बेलामा त राजन बाहिरै थिए।

हुन्छ भनेर हाम्रो टोलीको एक जनालाई कुरा गराउने भयौँ। मनमित पनि राजी भयो र अन्तर्राष्ट्रिय कल गर्‍यो। उसले सामान्य रूपमा अभिवादन गर्दै नेपालमा प्रहरीले दुख नदिएको अनि एक जना साहवले कुरा गर्न खोजेको छ भनेर फोन दियो।

राजनले मिठो कुरा गर्‍यो। 'कोही बात नही, वो मेरा बच्चा है, ख्याल रखना' भनेर फोन राख्यो।

स्वर सुन्दा उताबाट कुरा गर्ने राजन हो भन्ने पक्का भयो। किनकि मैले पहिला पनि छोटा राजनसँग कुरा गरेर उसको स्वर सुनिसकेको थिए। लागुऔषध नियन्त्रण ब्युरोमा काम गर्दा अमर टण्डनलाई लागुऔषधको एक केसको अनुसन्धानकोक्रममा ल्याउँदा उसले पनि सहजै 'छोटा राजनसँग कुरा गर्ने हो' भनेर मलाई नै सिधै कुरा गराएको थियो। महाशाखामा एक अधिकृतले कुरा गरे। मैले आवाज चिनिहाले।

महाशाखापछि म केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखहुँदा पनि छोटा राजनको आवाज सुनेको छु। त्यो चैँ केही व्यापारीहरूबाट। उसले केही व्यापारीहरूलाई फोन गरिरहेको थियो। त्यसको रेकर्ड सुनेको। यो घटना पनि रोचक छ। कुनै दिन पक्कै लेखौँला त्योबारे पनि।

अनुभवी अपराधीहरूले नजादिदो तरिकाले अनुसन्धान प्रभावित पारेर आफू अनुकूल बनाउन आफ्नो पावर सेन्टरहरू देखाउँछन्। मनमितले पनि मेरो छोटा राजनसँग सिधै कनेक्सन छ है भनेर हामीलाई विश्वासमा लिएर प्रभावित पार्न पनि त्यस्तो गरेको हुनसक्छ।

फोनमा छोटा राजनले भन्यो- कुछ चिन्ता नही, सबकुछ होगा

पहिला अपराधीको रूपमा पक्राउ गर्ने अनि पछि उसैको प्रभावमा परेर उसैको समूहका लागि काम गर्ने बनेका प्रहरी अधिकृत पनि नहुने हैन। यस्तोमा बढो जोगिन सक्नुपर्छ। तर हामी कुरा गर्न राजी हुनुको कारण उसको कुन तहसम्म भारतको को-कोसँग सम्बन्ध छ भन्ने पुष्टिका लागि थियो।

सुटर नमितको पृष्ठभूमिका आधारमा उ लखनउको कनट्र्याक्ट किलर हो भन्नेमा कुनै दुबिधा थिएन। तर कुन तहको हो भन्ने राजनसँगको सम्बन्धले देखियो।

युनुस जाली भारतीय रुपैंयाको कारोबार अनि दाउद इब्राहिमसँग सम्बन्ध छ भनेर मुछिएका व्यक्ति। छोटा राजन दाउद इब्राहिमको कट्टर दुस्मन। यस अगाडि मिर्जा दिलसाद बेगको हत्या हुनुको कारण पनि यी दुवैको दुस्मनी पनि एक कारण देखिएकै हो। कमलसिंह नेपाली मारिनुको कारण पनि त्यही देखिएकै हो।

अब युनुसको हत्या योजना पनि छोटा राजनले बनाएको हुनसक्छ नि। किनकि सुटर मनमितसिंह भाटियाको सम्बन्ध सिधै ऊसँग देखियो नै। देखियो के भन्नु पुष्टि नै भयो। वो मेरा बच्चा है भनेकै हो।

युनुसलाई मार्न मनमितलाई नेपाल पठाउने छोटा राजनै हो त?

हैन। उसको सम्बन्ध छोटा राजनसँग थियो। उसले छोटा राजनका लागि पनि पहिला काम गरेका हुनसक्छ। तर युनुस हत्या प्रयासको तार भने अन्तै जोडिँदै गइरहेको थियो। 

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....