ब्याच नम्बर ६९ : अन्तर्राष्ट्रिय तस्कर भागेपछि पाएको त्यो हन्डर

ब्याच नम्बर ६९ : अन्तर्राष्ट्रिय तस्कर भागेपछि पाएको त्यो हन्डर

नेपालमा एक जना जर्मन नागरिक होटल चलाएर बसेका थिए। नाम थियो पिटर कोल्च। उनले एक तिब्बती मुलकी महिलासँग विवाह गरेका थिए। उनी चुनदेवीमा बस्थे। उनको होटल निकै राम्रो अनि त्यो बेलामा चलेको थियो।

एक दिन खरेल आएर भने, 'ए सर! त्यो पिटरले ठूलो मात्रामा ड्रग्स बाहिर पठाइरहेको छ, यसबारे अनुसन्धान गरौँ।' 

कुनै प्रमाण छैन। अब एक्कासि उनले भनेकै भरमा अनुसन्धान अगाडि बढाएर पक्राउ गर्ने कुरा भएन। मलाई पहिलो पटक पत्यार पनि लागेन। प्रहरीमा कहिलेकाहीँ जसलाई पनि शंका गर्ने बानी बसेको हुन्छ पनि। उसको बारेमा सामान्य जानकारी संकलन गरेर 'हामीले यो मान्छेबारे शंका छ है हेर्नु' भनेर जर्मनीमा सूचना पठायौँ र अन्य केसको अनुसन्धानतिर लाग्यौँ।

२ वर्षपछि एक दिन जर्मनीबाट फोन आयो। उताबाट फोन गर्नेले भने, 'त्यहाँबाट पिटरबारे आएको सूचनाबारे हामीले अनुसन्धान गर्यौं। उसको केस स्थापित भयो। अब हामीलाई त्यो मान्छे चाहियो।'

म त झसङ्गै भए। खरेलजीले भनेको कुरा नगर्दा चित्त दुखाउलान् भनेर नाम र केही हल्काफुल्का सूचना संकलन गरेर पठाएको मात्र हो। त्यो घटना पनि बिर्सिसकेको थिएँ। एक्कासि केसै स्थापित भयो अब मान्छे पठाउनुपर्यो भन्दा छक्क परिने नै भइयो नि।

के रहेछ भनेर बुझेको त नेपालमा होटल चलाएर बस्ने आवरणमा ठूलो मात्रामा जर्मनीमा चरेस पठाउने रहेछन्। उसले पहिला नेदरल्याण्डमा चरेस पठाउने रहेछ अनि जर्मनी पुर्याउने रहेछ। त्यो पनि चार-पाँच किलो हैन सय, दुई सय किलो। 

खरेलजीले ल्याएको सूचना त सत्य रहेछ। म र खरेल लागुऔषध इकाइबाट सरुवा भएर त्यहाँ नयाँ अफिसर आएको भयो। यो केस के हो के हो भन्ने हुन्थ्यो नि। त्यसैले संगठित अपराधको अनुसन्धान गर्ने कार्यालयमा भटाभट सरुवा गर्नुहुन्न, लामो समय राख्ननुपर्छ भनेको हो।

उसको बारेमा अब थप डकुमेन्टहरु संकलन गर्न थाल्यौं। ऊ नेपालमा बिजनेस भिसामा बसेको रहेछ। भिसा बाँकी नै थियो। नेपालमा स्थापित हुने कुनै अपराध गरेको छैन। अब जर्मनी कसरी पठाउने? समस्या पो पर्यो।


OOO
हेडक्वाटरमा कुरा गरें। उनीहरुले गृह मन्त्रालयले सहयोग गरे मात्र सम्भव हुन्छ आफैँ कुरा गर्नु भनेपछि मन्त्रालय गएर सबै जानकारी गराएँ। मैले 'नेपालमा बसेर ठूलो चरेस तस्करी गर्ने रहेछ। पक्राउ गरेर जर्मनी पठाउनुपर्ने भयो। पक्राउ गर्ने अनुमति चाहियो' भनें।

गृहमा केही समय छलफल भयो। गम्भीर अपराधमा संलग्न रहेको देखिएपछि गृहबाट पक्राउ गर्ने अनुमति आयो।

ऊ चुनदेवीमा बस्थ्यो। पक्राउ गर्न लागुऔषधको एक टोली चुनदेवी पठाएँ। ऊ पक्राउ गरेपछि अध्यागमनसँग सहकार्य गरेर डिपोर्ट गर्नुपर्ने हुन्थ्यो। त्यही गर्नुपर्ला भनेर बसेको थिएँ। 'सर पिटर त भाग्यो' भनेर सूचना पो आयो।

ला अब के गर्ने !

के भयो भनेर बुझ्दा उनीहरुले राम्रोसँग घरै नघेरी भित्र गएछन्। उसले चाल पाएर फुत्त भागिहाल्यो। बल्लबल्ल गृहबाट अनुमति लिएको अब उता जानकारी गराउनु परिहाल्यो। फोन गरेर 'सर पिटर त भाग्यो' भनें।

गृहका अधिकारीहरु गम्भीर भए। त्यत्रो ठूलो अपराधमा संलग्न व्यक्ति घरबाटै भाग्यो भनेपछि कतै प्रहरीले पो भगायो कि भन्ने शंका भएछ। शंका हुनु पनि स्वभाविकै हो। त्यसपछि यो त गम्भीर लापरबाही हो। छापा मार्न जो-जो गएका हुन् उनीहरुलाई कारबाही गर्नुपर्छ भन्न थाले।

बर्बाद हुने भइहाल्यो। उता जर्मनीमा जानकारी गराइसकेका छौँ। गृहमा जानकारी भएको छ। अब भाग्यो भन्दा त भगायो भन्ने पर्ने नै भयो नि।

टिमलाई बोलाएर डिटेलमा बुझें। जानाजान भगाएको देखिएन। तर गम्भीर गल्ती त भएकै हो। तर मानवीय त्रुटिकै आधारमा कारबाही गर्न थालियो भने भोलि कसले जोखिम लिन्छ र। 

अनि गृहमा यो सबै घटनाको जिम्मेवारमै भएँ। गल्ती भएकै हो। तर पिटरलाई जसरी पनि म खोजेर ल्याउँछु। अहिले कारबाही प्रक्रिया अगाडि नबढाइदिनुहोला भनेर अनुरोध गरें।

गृहमा भन्न त भने। तर उम्किएको माछो ठूलो। त्यसमा पनि त्यत्रो लामो समय खुरुखुरु चरेस पठाएर पनि कसैले चाल पाउन नसक्ने गरी काम गर्ने अनुभवी। उसलाई कसरी खोज्ने?

यसो दिमाग घुमाएँ। अब ऊ जाने भनेको कि भारत हो कि नेपालकै विमानस्थल प्रयोग गरेर झुक्याएर अन्य देश जाने हो। अब नेपाल-भारतको नाकामा तत्काल सिल गर्न सम्भव हुने कुरा भएन। कतै लुकेर भारत पुगे पनि अन्य देश जान पक्कै भिसा आवेदन त दिन्छ नै। भिसा पायो भने पनि जाने त प्लेनमै हो।

भारतमा चिने जानेका जति सबै प्रहरी र सुरक्षामा काम गर्नेहरुलाई फोन गरेर 'एक केसमा मेरा केटाहरुबाट गल्ती भयो। एक जना जर्मन फुत्किएको छ। उसलाई समातेन भने केटाहरुसँगै म पनि कारबाहीमा पर्छु' भनेर सहयोग मागें। उताका परिचितहरु सघाउन तयार भए। मैले उसको सबै डिटेल टिपाएँ।

भारत नगए ऊ जाने त नेपालबाटै हो। विमानस्थलमा अलर्ट त थियो नै। उसले नेपालमा रहेका कुनै दूतावासमा भिसाका लागि आवेदन दिन पनि सक्थ्यो। अनि नेपालमा भएका सबै दूतावासका काउन्सिलरलाई फोन गरेर 'पिटर नाम गरेको जर्मन नागरिक भिसा लिन आयो भने प्लिज खबर पाउँ है' भन्दै फोन गरें।

उता जर्मनीमा पनि पिटर घरबाट भाग्यो है खोजी गरिरहेका छौँ भनेर भन्नै पर्यो। उता खबर गरेपछि उनीहरु आफ्नै पाराले खोज्न थाले। त्यत्तिको लाज कहिल्यै लागेको थिएन। भेटिएन भने त कारबाही त हुन्थ्यो नै। लागुऔषधमा काम गरेर आर्जन गरेको साख नै गुम्थ्यो नि। त्यो पनि नेपालमा मात्र हो र जर्मनीमा पनि। जर्मनलाई पनि हामीले जानकारी गराएपछि भगाए भन्ने परिहाल्छ नि।

उसलाई धुइँपताल खोज्न लगाएँ केटाहरु। सम्भावना भएका कुन चाहिँ ठाउँ छाडियो होला र। तर कहाँ फेला पर्नु। कुन दुलोमा गएर लुकेर बसेको थियो वा भागेर भारत पुगेर अन्तै गइसकेको थियो कि।

OOO
तीन-चार दिनपछि भारतीय काउन्सिलरको फोन आयो। पञ्जावी मुलका काउन्सिलर थिए। कार्यालयमै बसिरहेको थिएँ। उनको फोन उठाएँ। उनले भने, 'सरजी तपाइँले खोज्नुभएको मान्छेले भिसाका लागि पासपोर्ट छाडेर गएको छ।'

अरे बाफ रे बाफ! श्वास आइहाल्यो। जर्याकजुरुक भइहालें नि म। 'प्लिज सर उसलाई पासपोर्ट नदिनुहोला। ऊ पासपोर्ट लिन आयो भने खबर गरिदिनुहोला' भनेर आग्रह गरें। उनी पनि सहयोग गर्न राजी भए। नेपालमै रैछ भन्ने भयो नि अब त। अब त कसो नसमातिएला भन्ने भयो। तर २ दिनसम्म ऊ पासपोर्ट लिनै आएन। उसले चाल पाइसकेछ क्यार।

ठिक छ। अब पासपोर्ट भारतीय दूतावासमा भएपछि ऊ त फस्यो नि। विना पासपोर्ट ऊ नेपालबाट बाहिरिन सम्भव थिएन। त्यसपछि अब ऊ कहाँ बसेको हुनसक्छ वा उसलाई नेपालमा सघाउने को-को हुनसक्छ भनेर सम्पर्क सूत्रहरु केलाउन थालें।

एक जनालाई पक्कै पिटरबारे थाहा हुनुपर्छ भन्ने लाग्यो। उसलाई सम्पर्क गरेर 'मलाई जसरी पनि पिटर चाहियो। मेरो कार्यालयकै साख दाउमा छ। म उसलाई केही पनि गर्दिनँ। जर्मनी बुझाउने हो' भनें। पहिला त त्यो मान्छेले आनाकानी गरेको थियो। उसले म प्रयास गर्छु भन्यो। मैले उसलाई नेपालमा केही पनि हुन्न उता गएर कानुनी लडाईं लड्ने हो भनें। तैपनि प्रयासको मात्रै कुरा भयो। प्रयास गर्छु भनेकाले ऊ पिटरको सम्पर्कमा रहेको त पक्का भयो नि।

इकाइको कार्यालय बानेश्वरमा सरिसकेको थियो। नेपाल इन्भेस्टमेन्ट बैंकको अफिस रहेको बिल्डिङबाट पूर्वतिर जाँदा चाइनिज इटाको रातो घर छ नि त्यहीं थियो इकाइको कार्यालय। अहिले त त्यहाँ रेष्टुरेन्ट छ क्यार।

म कार्यालय गएर आफ्नै कोठामा घोत्लिएर बसिरहेको थिएँ। एक जना व्यक्ति टक-टक-टक भर्याङ चढ्दै आयो। हातमा लेदरको ब्याग बोकेको थियो। ऊ सरासर मेरो कोठामा आएर हेलो भन्दै सोफामा बस्यो। 

बाफ रे पिटर! मलाई विश्वासै भएन। एकछिन त उसलाई हेरेको हेर्यै भएँ। 

'हलो पिटर' भनेको उसले पनि 'हलो मिस्टर मल्ल भन्यो।' खुसी हुने भइहालें नि। स्टाफलाई बोलाएर के खान्छौँ भनेर सोधें। पिटरले टी भन्यो।

अनि गृहमा फोन गरेर 'सर पिटर फेला पर्यो भनेर जानकारी गराएँ। गृहमा खुसी भए। अब उता जर्मनीमा पनि भन्नै पर्यो। उनीहरु पनि भारततिर खोजिरहेकै थिए। फोन गरेर 'अब नखोज पिटर फेला पर्यो' भन्दा हामी कहिले आउँ भन्न थालिहाले। पख यहाँ कानुनी कुरा मिलाउनुपर्छ भनें।

उसले चिया खायो। आनन्दले सोफामा बसिरहेको थियो। यसो अनुहार हेरेको कुनै डर-चिन्ता थिएन। ढुक्कै थियो। केही समय कुराकानी गरें अनि उसलाई कस्टडीमा लिएँ।

अब कसरी पठाउने? गृहसँग छलफल भयो। बुझ्दै जाँदा सामान्य रुपमा पठाउन नसकिने देखियो। मन्त्रिस्तरीय निर्णय नै चाहिने रहेछ। त्यो बेलामा गृहमन्त्री रामचन्द्र पौडेल हुनुहुन्थ्यो। केही समयपछि मन्त्रिस्तरीय निर्णय हुने जानकारी पाएपछि उसलाई कस्टडीमा लियौं।

उता जर्मनीमा जानकारी गराउँदा नेपाल आउन पाँच दिन जति लाग्छ पो भने। अब पाँच दिन कसरी आफ्नो कस्टडीमा राख्नु। सम्भवै थिएन। गैरकानुनी हिरासत भइहाल्छ। अब यतै मुद्दा चलाउने केस पनि हैन। ऊ पक्राउ परेको एक्सपोज पनि हुनुभएन। 

अध्यागमन विभागमा पनि कस्टडी हुन्थ्यो नै। त्यसमा डिपोर्टको केस। कतै अनुरोध गर्दा सहयोग मिल्छ कि भन्ने आश लागेर सम्पर्क गरें। त्यताबाट सहयोग हुने भयो। 'ल्याउनूस् त दुई हप्तै राखिदिउँला। हाम्रोमा त मिल्छ नि' भनेपछि अध्यागमनकै हिरासतमा पठाएँ। 

त्यो बीचमा उसलाई नेपालबाट डिपोर्ट गर्ने निर्णय पनि भयो। उता जर्मनीबाट टिम पनि आइपुग्यो। उनीहरु २ दिन जति नेपाल बसे। लागुऔषध नियन्त्रणमा गर्न सकिने सहकार्यबारे छलफल भयो। 

डिपोर्ट गरे पनि नेपालबाटै जर्मन सुरक्षाकर्मीले उसलाई नियन्त्रणमा लिन पाउँदैन। पिटरलाई अध्यागमनको हिरासतबाट विमानस्थलमा लग्यो। फ्लाइटमा सिट मिलाउनुपर्छ। त्यो हाम्रै जिम्मामा हुने भइहाल्यो। पिटरलाई प्लेनको भित्तापट्टिको सिट। त्यसको अगाडिको सिटहरुमा जर्मन प्रहरीलाई सिट मिलाइयो। ऊ कतै भाग्न खोज्यो भने किरिप्प पार्न सकिनेगरी बसाउनुपर्छ यस्तोमा।

त्यतिबेलासम्म विमानस्थलमा चिया खाएर बस्यौं। पिटर पनि मस्त गफ दिइरहेको थियो युनो भन्दै। फ्लाइटको समय भएपछि पिटरलाई लिएर प्लेनको ढोकासम्म पुगेर जर्मन प्रहरीको जिम्मा लगायौँ। केही बेरामा प्लेन उड्दा कम्ता आनन्द आएको हैन। एक त इकाइको खास जोगियो, केटाहरु कारबाहीबाट जोगिए। अर्को एक अन्तर्राष्ट्रिय लागुऔषध तस्करलाई नेपालबाट लखेटियो।

 

ब्याचका पुराना अंक

२६ माघ, २०७८, २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।