उकेरा कोलम

ब्याच नम्बर ६९ : प्रहरी हुँदैमा अपराध अनुसन्धान गर्न आउने भए गायन तालिम लिएका सबै लता मंगेशकर हुन्थे


अहिले अनुसन्धानका लागि प्रविधि नै छैन भन्ने गुनासो खुब सुनिन्छ। तर अनुसन्धान गर्ने प्रविधिले मात्रै हैन नि। व्यक्तिले हो अनुसन्धान गर्ने। व्यक्तिले जुन तहमा अनुसन्धान गर्नसक्छ प्रविधिले त्यो तहमा अनुसन्धान गर्न सक्दैन।

हो, प्रविधिले अनुसन्धानमा सघाउने भने हो। जस्तो डेटाहरु भयो भने सहजै हिस्ट्री केलाउन सकिन्छ। फिङ्गर प्रिन्ट लगायतका पर्सनल डेटा भयो भने कुनै अपराधको घटनास्थलमा संकलन भएका फिङ्गर प्रिन्टकै आधारमा घटनामा संलग्न हुनसक्ने व्यक्ति पहिचान हुनसक्छ। सबैतिर क्लोज सर्किट टेलिभिजनको पहुँच पुर्‍याउन सक्ने हो भने कतै भएको अपराधबारे तत्काल जानकारी पाउन सकिन्छ।

तर, प्राय: प्रविधिले सहयोग गर्ने सामान्य प्रकृतिका अपराधको अनुसन्धानमा हो। गम्भीर प्रकृतिको अपराधको अनुसन्धानमा त अहिले पनि व्यक्ति नै प्रमुख हो। जस्तो कुनै घटनास्थलमा फिङ्गर प्रिन्ट फेला पर्‍यो। फिङ्गर प्रिन्ट डेटामा स्याम्पल भिडाउन व्यक्ति पहिचान पनि भयो। तर ऊ नै घटनामा संलग्न हो भन्ने प्रमाणको आधार त्यही मात्र त हुन सक्दैन नि। ऊ घटनास्थलमा झुक्किएर पुग्दा उसको फिङ्गर प्रिन्ट कतै बसेको पनि हुनसक्छ।

अब त्यो फिङ्गर प्रिन्ट फेला परेकै व्यक्ति अपराधमा संलग्न हो हैन भनेर पत्ता लगाउने काम प्रविधिले मात्र त गर्दैन। अब व्यक्ति खटिन परिहाल्यो। उसको पृष्ठभूमि, घटनाको दिन ऊ कहाँ-कहाँ गएको थियो, घटना र उसको सम्बन्ध सबै केलाउने काम व्यक्तिले गर्ने भयो। यसैको आधारमा ऊ संलग्न हो या हैन भन्ने निस्कन्छ। यसमा प्रविधिले अनुसन्धानको बाटो अलि छोटो चाहिँ बनायो। तर अनुसन्धान त सक्काएन।

प्रविधिको काम छैन भनेको हैन है फेरि। प्रविधि पनि चाहिन्छ। तर सबै कुरा प्रविधिमा मात्र भर गरेर मात्र हुन्न। अथवा प्रविधि नहुँदा अपराध अनुसन्धान नै नहुने भन्ने हुन्न। तर प्रविधि कि व्यक्तिमा लगानी भनेर एक छान्न भनियो भने म अपराध अनुसन्धानमा पहिला अन्सन्धानकर्तामाथि लगानी गर्न छान्छु। किनकी, प्रविधि नहुँदा अनुसन्धानको समय केही लम्बिएला तर अनुसन्धान नै नहुने त हुन्न। तर अनुसन्धान गर्ने सक्षम व्यक्ति भएन, प्रविधि मात्र भयो भने अनुसन्धान सम्भव हुन्न। त्यसैले प्रविधि नहुँदा अनुसन्धानै गर्न सकिएन भन्नु कहिलेकाहीँ काम छल्ने बहाना पनि बन्न सक्छ।

प्रविधि त अर्थसँग जोडिन्छ। तर अनुसन्धानकर्ता सिपसँग जोडिन्छ। धेरैलाई के लाग्दो रहेछ भने तालिम दियो भने जो पनि अनुसन्धान गर्न सकिहाल्छ नि। जो पनि सक्षम भइहाल्छ नि अनुसन्धानमा । 

यो सतप्रतिशत गलत हो। हो तालिमले व्यक्तिको सिपलाई निखार्छ। उसलाई नयाँ केही सिप थपिदिनसक्छ। तर केवल तालिमले मात्रै कुनै व्यक्ति अनुसन्धानकर्ता हुन सक्दैन। अनुसन्धान गर्ने भनेको बन्दुक चलाउन सिके जस्तो तालिमबाट मात्र आउने सिप हैन।

यो जन्मजात गुण पनि हो। हुर्काइको आधारमा आउने सिप पनि हो। यदि तालिम मात्रै सबै थोक हुन्थ्यो भने तालिम लिएर सबै लता मंगेशकरझैँ भइहाल्थे नि। किन हुन सकेका छैनन् त लता मंगेशकर? किनकी केही सिप तालिमबाट पाए पनि स्वर मंगेशकरको जन्मजात हो। उनले रियाजहरु गरेर त्यसलाई निखारेको मात्र हो। त्यसैले त धुरन्धर तालिम लिनेहरु पनि लता जस्तो निस्किएका छैनन् नि।

यही हो अनुसन्धानकर्ताको सिप र क्षमता पनि। कसैमा अब्जरभेसन गर्ने गजबको कला हुन्छ। हाम्रै साथीभाइहरुमा पनि हुन्छन् नि कतै गयो भने सरर वरपर हेरेर सबै याद गरिहाल्ने। हो अब यस्तो सिप भएकालाई तालिम दिएर अपराध अनुसन्धानमा अब्जर्भेसन कसरी गर्ने भनेर थप केही सिप थपिदिने हो। उसको सिप अपराध अनुसन्धानमा प्रयोग गर्ने हो।

कुनै व्यक्ति एकदम हठी हुन्छन्। जस्तोसुकै काममा पनि रिस्क लिन सक्ने बानी हुन्छ। यस्तालाई अपराध अनुसन्धानमा लगाउँदा छिटो निर्णय लिन सक्ने र व्यक्तिगत जोखिम उठाउन सक्ने हुन्छन्। यो सिप पनि चाहिन्छ अनुसन्धानमा। अझ संगठित अपराधमा त अधिकांश अन द स्पट निर्णय गर्नुपर्ने हुन्छ। कसैलाई सोध्ने अवसर समेत नहुन सक्छ। यस्तोमा निर्णयमा ढिला भयो भने अनुसन्धानै बिग्रन सक्छ। यस्तोमा छिटो निर्णय लिन सक्नेको काम आयो।

कोही-कोहीको अर्काको हरेक कुरामा चासो राख्ने बानी हुन्छ। यी अपराध अनुसन्धानमा बढो काम लाग्ने गुण हो नि। यस्तो सिप भएकाबाट सूचना संकलन बढो छरितो रुपमा गर्न सकिन्छ। कोही कोही अपरिचितसँग पनि यति छिटो घुलमिल हुने बानी हुन्छ कि भर्खरै भेटेको पनि वर्षौंदेखिको साथीझैँ बनिदिन्छन्। यस्तो गुण भएका व्यक्ति अपराध अनुसन्धानमा नेटवर्क बनाउन काम लाग्छन्।

कोही सामान्य विषयमा पनि घोरिएको घोरियै गर्ने अनि समाधान नगरी नछाड्ने हुन्छन्। यस्तालाई प्रमाण संकलन र विश्लेषणमा लगाउन सकिन्छ। कोही जति समस्या आए पनि नआत्तिने स्वभावका हुन्छन्।

धैर्यता संगठित अपराध अनुसन्धानको सबैभन्दा आवश्यक गुण हो। यस्ता व्यक्तिले जटिले अपराधको अनुसन्धानको पनि नतिजा ल्याउन सक्छन्। धेरै छन् यस्ता सामान्य लाग्ने सिप जो अपराध अनुसन्धानमा बढो काम लाग्छन्।

र, यी सिप केवल तालिम र प्रशिक्षणबाट मात्र सम्भव हुन्न। उसमा पहिल्यैदेखि भएको सिप निखार्ने मात्र हो तालिमले अपराध अनुसन्धानको हकमा। 

नेपाल प्रहरीमै अमेरिकामा तालिम गरेर आएकाहरु कति छन् कति। ती सबै अमेरिकी अनुसन्धानकर्ताझैँ बन्नुपर्ने हो नि तालिम मात्र आधार हुने हो भने। अर्को एसएलसी मात्र पास गरेका अनि कुनै देशमा गएर तालिम नगरे पनि अपराध अनुसन्धानमा अब्बल छन्। किन त भने अपराध अनुसन्धानमा फिट हुने जन्मजात अनि हुर्काइमा सिकेका सिपका कारण हो। तालिमले त्यसलाई तिखार्ने र 
निखार्ने मात्र हो।

तर, हाम्रोमा अपराध अनुसन्धानमा व्यक्तिको महत्व एकदम कम छ। प्रहरी भएपछि जसले पनि अपराध अनुसन्धान गर्न सकिहाल्छ नि भन्ने भ्रम छ। जसले गर्दा जसमा जुन सिप हुन्छ त्यो अनुसार काममा लगाउन सकिन्न। अनि उसले संगठनलाई जुन योगदान दिन सक्ने थियो दिन सक्दैन।

सही व्यक्ति सही जिम्मेवारीका लागि छान्न तालिमबाटै उसको आनीबानीमा निगरानी गर्नसक्यो भनेर जुन कामका लागि जस्तो जनशक्ति चाहिने हो ट्वाक्क पाउन सकिन्छ। काम गर्ने क्रममा पनि व्यक्तिको सिपको पहिचान गर्न सकिन्छ। त्यसकै आधारमा उसलाई जिम्मेवारी दिएर अगाडि बढाउन पनि सकिन्छ। तर यो सिस्टम अझै बस्न सकेको छैन नेपालमा। 

यो तालिमबाटै सुरु गर्न सके राम्रो हो। अहिले पनि केही गुरुबाहरुले भने गर्छन्। फलानो तालिमेको स्वभाव यस्तो छ, यो फलानो कार्यालयमा फिट हुन सक्छ भनेर पठाउनेहरु पनि छन्।

लागुऔषधको कार्यालयमा पास आउट हुनासाथ तालिमको झिटीगुन्टा बोकेर आउनेहरु पनि थिए। ती पछि लागुऔषध अनुसन्धानमा अब्बल प्रहरी पनि भए।

यसमा सबैभन्दा ठूलो समस्या भनेको सिप हस्तान्तरणको हो। यो नेपालको मात्रै हैन विश्वकै अपराध अनुसन्धान गर्ने निकायको हो। अपराध अनुसन्धानको दक्ष जनशक्ति बाहिरिँदा व्यक्तिलाई त्यति धेरै फरक नपर्न सक्छ। तर संगठनलाई भने ठूलो क्षति हुन्छ। ठूलै ग्याप हुन्छ। यो सिप हस्तान्तरणको समस्याले भएको हो यो।

त्यसमा पनि सबै सिप हस्तान्तरण सम्भव पनि छैन। अपराध अनुसन्धानको सिप भनेको कुनै चिज घोटाएर पिलाए जस्तो हैन पनि । सबै सिप हस्तान्तरण सम्भव छैन। तर केही न केही मात्रामा सिप हस्तान्तरण गर्न भने सकिन्छ। आइडियाहरु दिन सकिन्छ। उनीहरुलाई केही समय निगरानीमा राखेर काम गराए उनीहरुले सिक्न पनि सक्छन्।

यसका लागि यदि अपराध अनुसन्धानमा अब्बल कुनै प्रहरी अवकाशमा जाने समय नजिकिँदै छ भने उसको मातहतमा ३/४ जना राखिदिएर उसको सिप सिकाउन सकिन्छ पनि। यस्तोमा जसले सिकाउने हो नि। उसले पनि सिक्न चाहने व्यक्तिमा त्यो लगाव अनि उसले त्यो सिपको दुरुपयोग गर्दैन भन्ने विश्वास हुनुपर्छ। नत्र सिकाउँदैनन्। किनकी सिप हस्तान्तरण बाध्यकारी हैन। हुन्न।

तर, अपराध अनुसन्धानमा आवश्यक जनशक्ति चयनमा तालिम र व्यक्तिको दैनिक व्यवहार हेरर उसको क्षमता अनुसारको जिम्मेवारी दिने अनि अग्रजले सम्भव भएसम्मको सिप हस्तान्तरण गर्ने पद्धतिको अभावले हामीले अपराध अनुसन्धानमा जति अब्बल जनशक्ति उत्पादन गर्न सक्नुपर्ने हो उत्पादन हुन सकेको छैन। त्यसैले त कुनै व्यक्तिले अवकाश पाएको केही समयसम्म कुनै विषय विशेष अपराध अनुसन्धान नै प्रभावित हुने गरेकै छ।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....