उकेरा कोलम

ब्याच नम्बर ६९ : आँखै अगाडि तालिबानले गरेको त्यो सुसाइड आक्रमण


अहिले अफगानिस्तानमा फेरि तालिबान युगको प्रारम्भ भएको छ। दैनिक जस्तो मस्जिदमा रकेट र बम प्रहार भएका घटनाहरू सार्वजनिक भइरहेका छन्। अफगानीहरूको जीवन केही सहज बन्दै गएको थियो। उनीहरू फेरि द्वन्द्वमा फसेका छन्।

नेपालमा चलेको १२ वर्षको द्वन्द्व असर अहिलेसम्म देखिन्छ। अफगानिस्तानको तुलनामा त नेपालमा के नै द्वन्द्व भएको हो र! तै पनि हाम्रो आर्थिक र सामाजिक अवस्थालाई कहाँ पुर्‍यायो। अफगानिस्तानमा त निरन्तर द्वन्द्व जारी छ। त्यहाँको आर्थिक र सामाजिक अवस्था यही आधारमा पनि अनुमान गर्न सकिन्छ। त्यत्रो वर्ष अन्तर्राष्ट्रिय सेनाहरू त्यहाँ बसे। तर अवस्था जस्ताको त्यस्तै नै रह्यो। सत्ता पुन: तालिबानकै हातमा पुग्यो।

करिब एक वर्ष अफगानिस्तान बसेकाले त्यहाँको सामाजिक र राजनीतिक अवस्थाबारे केही अनुभव भएकाले त्यहाँको एक वर्षको बसाइका केही अनुभव बाँड्ने प्रयास गरेको छु।

OOO

सन् २००७ तिर हो म संयुक्त राष्ट्र संघको मिसनमा सहभागी हुन अफगानिस्तान गएको। म नेपालबाट जाँदा पुलिस एड्भाइजरको रूपमा काम गर्न गएको हो। तर त्यहाँ पुगेपछि पुगेपछि मलाई नै प्रमुख बनाइदिए। त्यहाँ प्रहरी सङ्गठनको संरचना बनाउने हाम्रो जिम्मेवारी थियो।

समाज पूरै अस्तव्यस्त थियो। सरकारी संरचना ध्वस्त। बढो गाह्रो थियो, प्रहरी संरचना बनाउन। कानुन पनि बनाउनुपर्ने थियो। द्वन्द्वको यति गहिरो प्रभाव परेको थियो कि संरचना बनाउन नै कठिन। त्यसमा पनि तालिबानलाई लखेटेपछि प्रहरीको सङ्ख्या कति हो, कुन प्रहरी हो, कुन हैन भनेर छुट्याउनै कठिन। सबले बिल्ला लगाएका छन्। उनीहरूलाई सरकारले भर्ना गरेर जिम्मेवारी दिएको हो या आफैँ बिल्ला लगाएका हुन् कसरी छुट्ट्याउनु!

म बस्ने ठाउँ काबुलको जलालाबाद रोडभन्दा अलि तल थियो। काबुलको कोर क्षेत्रमा थियो राष्ट्र संघको कार्यालय। कार्यालय र क्वाटरहरू युएनको कम्पाउन्डभित्रै थिए। कार्यालय र क्वाटरहरू सुरक्षाका लागि ठूलो पर्खालले घेरिएको थियो। त्यसले मात्र नभएर भित्रबाट पर्खालमा बालुवाका बोराहरू राखिएको थियो। भित्र बोराहरू राख्नुको कारण बम आक्रमण भयो भने पनि क्षति कम होस् भन्ने नै हो।

हाफ पाइन्ट नलगाउनु, हाफ बालुवा भएको सर्ट नलगाउनु जस्ता राष्ट्रसङ्घको निर्देशन थियो। बाहिर त्यति हिँडडुल गर्न सम्भव थिएन। तैपनि यसो माहोल मिलाएर बजारतिर जान्थ्यौं। नेपालीको बानी भात त चाहियो नै। हाम्रो क्याफ्टेरियामा भात नपाउने। युएनडिपीको क्याफ्टेरियामा चाहिँ भात पाइन्थ्यो। भात खान त्यतातिर जानैपर्‍यो।

OOO

म काम गर्ने कार्यालयमा टन्नै अफगानी कर्मचारी थिए। त्यसमध्ये २ जना चाहिँ युएनका धेरै पुराना कर्मचारी रहेछन्। एक जना अग्ला थिए। ६ फिट ४ इन्च होला उनको हाइट। माली काम गर्थे उनी। सेतो दाह्री पालेका उनी निकै आकर्षक देखिन्थे। कार्यालयका सबैले उनलाई बाबाजान भनेर बोलाउँथे।

अर्का थिए इलेक्ट्रिकको काम गर्ने। उनको नाम सबैले इन्जिनियर जान राखिदिएका थिए।

मेरो अफिस झ्याल नजिकै थियो। प्राय: बाबा जान बगैँचामा काम गरिरहेको देख्थे। उनी जसलाई देखे पनि आदरका साथ 'सलाम वालेकुम' गरिहाल्थे।

एक दिन कुरैकुरामा युएनका अफगानी कर्मचारीले सोधे, 'यी बाबाजान को हुन् सरलाई थाहा छ?'

उनी युएनको पुरानो स्टाफ हुन् भन्ने मात्र थाहा थियो। मैले त्यही भनें उनलाई।

'उनी मोहम्मद नजिबुल्लाहको सहयोगी हुन् नि।'

मोहम्मद नजिबुल्लाह अफगानिस्तानका राष्ट्रपति थिए, जसलाई उनको भाइसँगै तालिबानहरूले यातना दिएर मारेका थिए। मोहम्मद मेरो कार्यालय नजिकै युएन कम्पाउन्डभित्रको एक भवनमा बसेका रहेछन्। उनलाई तालिबानहरूले त्यहींबाट तानेर लगेर मारेका थिए।

सहयोगीबाट यो जानकारी पाएपछि मलाई बाबाजानप्रति थप चासो बढ्यो। म उनीसँग नजिकिन थालें। कुरा गर्न थालें।

OOO

सन् १९८७ देखि १९९२ सम्म नजिबुल्लाहले अफगानिस्तानमा शासन गरे। द्वन्द्व चर्कँदै थियो। नर्रदन अलायन्स र तालिबानबिच लडाईं भइरहेको थियो। नर्रदन अलायन्सलाई तालिबानले पेल्दै आएपछि उनले आफ्ना परिवारहरूलाई भारतमा पठाइहाले।

उनी पनि भारतमा राजनीतिक शरण लिने प्रयासमा रहेछन्। तर उनकै आर्मी प्रमुख अब्दुल रसिद दोस्तमले उनलाई भारत जान रोकेका थिए। यी दोस्तमको व्यवहार हेर्ने हो भने यिनले धेरै पटक धोका दिएको देखिन्छ। उनी सहजै एक समूहबाट अर्को समूहमा लागिहाल्ने स्वभावका देखिन्छन्। भारतमा शरण लिन नदिएर उनले नजिबुल्लाहलाई धोकै दिएका हुन्।

पछि उनलाई भारत लैजान भारतबाट विशेष कुटनीतिक टोली नै अफगानिस्तान आएको रहेछ। त्यो बेला अर्का अहमद शाह मैसुदले रोकेका रहेछन्। काबुल विमानस्थल उनको नियन्त्रणमा थियो। उनले जाने अनुमति नदिई काबुल छाड्न सक्ने अवस्था थिएन।

पछि तालिबानले पेल्दै आएपछि भने भारत जाने भए जाउ भनेका रहेछन्। तर त्यो बेला राष्ट्रसङ्घको कम्पाउन्डबाट निस्किएर विमानस्थलसम्म जानसक्ने अवस्थै रहेन। त्यसैले उनी राष्ट्रसङ्घकै शरणमा बसे। उनका लागि त्यो नै बलियो सुरक्षा घेरा थियो।

विमानस्थलमा जानसक्ने अवस्था नभएपछि उनी भाइलाई लिएर संयुक्त राष्ट्रसङ्घसँग शरण लिएपछि राष्ट्रसङ्घले नै बाबाजानलाई उनको सहयोगीको रूपमा राखेको थियो।

OOO

बाबाजानले मलाई नजिबुल्लाह बस्ने कोठा अनि उसको भाइ बस्ने सबै ठाउँ देखाए।

'उनी प्राय: दिनभर पढिरहेका हुन्थे। एउटा किताब पनि लेखिरहेका थिए,' बाबाजानले भने, 'उनी कहिलेकाहीँ घाम ताप्न मात्र बाहिर निस्कन्थे। त्यस्तै काम पर्‍यो भने मात्र अह्राउँथे। नत्र आफैँ गर्थे।'

तालिबानले पेल्दै पेल्दै काबुल कब्जा गर्दा पनि उनी त्यति डराएका थिएनन् रे। काबुल कब्जा गरे पनि उनीहरू राष्ट्रसङ्घको भवनमा भने छिर्दैनन् भन्नेमा सबै ढुक्क रहेछन्। तर त्यस्तो भएन।

बाबाजान त्यही भवनमा रहेकै बेला ह्वारह्वार तालिबानका लडाकुहरू युएन कम्पाउन्डभित्र छिरेर नजिबुल्लाह बसेको घरमा गएछन्। नजिबुल्लाह कुन कोठामा बसेका छन् भन्ने उनीहरूलाई थाहा रहेछ। सिधै उनी र उनको भाइ बसेको कोठामा गएर घिसार्दै निकालेर पिट्दै बाहिर निकाले।

त्यो बेला कसैले केही गर्न सक्ने अवस्थै थिएन। बाबाजानले हेरिरहे मात्रै। प्रतिवाद गरे उनी मारिने पक्का थियो।

त्यो बेलामा जसले नजिबुल्लाहलाई घिसार्दै बाहिर लगेका थिए ती अफगानी तालिबान हैनन् भन्ने रहेछ उनको धारणा।

'जसले नजिबुल्लाहलाई तानेर लगे ती अफगानी थिएनन्। उनीहरूले उर्दु बोलिरहेका थिए। उनीहरू पाकिस्तानी थिए,' उनले मसँग कुरा गर्दा यो वाक्य दोहोर्‍याइरहे।

अफगानीहरू पाकिस्तानीलाई मन पराउँदैनन्। भारतसँग निकट रहेर काम गरेकाले पाकिस्तानी नजिबुल्लाहलाई मन पराउँदैनथे। त्यसैले जसले राष्ट्रसङ्घ कम्पाउन्डभित्र छिरेर नजिबुल्लाहलाई यातना दिए ती पाकिस्तानी थिए भन्नेमा विश्वस्त रहेछन् बाबाजान।

यो मेरो कुरा हैन है। बाबाजानको कुरा हो।

अफगानी शरणार्थीहरू पाकिस्तानमा पनि बस्छन्। उनीहरू हुन सक्छन् नि भन्दा पनि उनले मानेनन्। उनले भनिरहे, 'हैन, अफगानी त हामी चिनिहाल्छौँ। उनीहरू अफगानी थिएनन्।'

उनीहरूले नजिबुल्लाहलाई राष्ट्रसङ्घको कम्पाउन्डमा रहेको घरबाट निकालेर अहिले राष्ट्रपतिको कार्यालय छ नि त्यही अगाडि लगेर ट्रक मगाएर दाजु-भाइलाई नै फाँसी दिएका थिए। धेरै दिनसम्म उनको शव त्यही झुन्ड्याएका थिए। पछि अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा शव बुझेर अन्त्येष्टि गरिएको थियो।

OOO

अर्को स्थानीय स्टाफसँग पनि परिचय भयो। उनको नाम बिर्सिएँ। उनी तालिबानले शासन गर्दा परराष्ट्र मन्त्रालयमा काम गरेका व्यक्ति रहेछन्। उनको अङ्ग्रेजी राम्रो। तालिबानको शासन सुरु भएपछि उनको अङ्ग्रेजी राम्रो देखेर परराष्ट्र मन्त्रालयमा राखेको रहेछ।

उनीहरूले मन्त्रालय चाहिँ कसरी चलाउने रहेछन् भनेर बुझ्न मन लाग्यो।

'के मन्त्रालय चलाउनु। भएको टेबल, कुर्सी सबै फालेर राडी ओल्छ्याएर बस्थे,' उनले भने, 'चालकदेखि मन्त्रीसम्म सबै एकै ठाउँमा बस्थे। खाना पनि सबै एकै थालमा राखेर खान्थे।'

मन्त्रालयमा बस्दा पनि मेसिनगन, ह्यान्ड ग्रिनेड, रकेट लञ्चर सबै सँगै राख्ने रहेछन्। कतिखेर के पड्किने हो डर मात्रै कर्मचारीलाई। काम केही हुँदैनथ्यो रे।

खाली कहाँ कसलाई मार्ने मात्रै छलफल हुने। तालिबानको शासक सकिएपछि उनी राष्ट्रसङ्घमा काम गर्न थालेका रहेछन्।

OOO

यो अलि लामै भयो। अब अफगानिस्तान बस्दा आफ्नै आँखाले देखेको २ वटा सुसाइड आक्रमणबारे लेखेर आजको अङ्क सक्काउँछु। अर्को अङ्कमा अफगानिस्तानमा भेटिएका नेपालीहरुबारे लेख्छु।

हामीलाई तालिबानहरूले आक्रमण गर्दैनथे। तर विदेशी सेना देख्यो कि हानिहाल्ने। कताबाट हान्ने हान्ने। त्यसैले कम्पाउन्ड बाहिर निस्कँदा कुनै देशको सेनाको गाडी देखियो भने परै बसेर कुर्ने। जब उनीहरू अलि टाढा पुग्थे अनि मात्र अगाडि बढ्ने गर्थ्यौँ।

एक दिन म जलालाबादमा राष्ट्रसङ्घको कम्पाउन्डबाट अफिस आइरहेको थिएँ। अगाडि अमेरिकी सेनाको टोली रहेछ। बीचमा निजी कारहरू थिए। हामी सबैभन्दा पछाडि थियौँ। केही हुन्छ कि भन्ने मनमा लागिरहेको थियो। किनकी तालिबानको भर थिएन।

एकै छिनमा बुडुम्म पड्केको आवाज आइहाल्यो। पक्का हाने। यसो चियाएर हेरेको अगाडि धुवाँ आइरहेको थियो। यस्तोमा गर्ने सुसाइड अट्याकर नै हो। केही बेरमै गाडीहरू अगाडि बढिहाल्यो। डराउँदै हामी पनि अगाडि गयौँ। त्यो पड्किएको ठाउँमा पुगेपछि यसो सडकतिर हेरेको सुसाइडरको शरीरका अङ्गहरू जताततै छरिएका थिए। अमेरिकी सेना चढेको गाडीलाई केही भएन। छुट्टिएका हात र खुट्टाका अङ्गहरू तीन-चार दिनसम्म सडकमा त्यतिकै थिए।

अर्को सुसाइड आक्रमण हुँदा म ५० मिटरको दूरीमा थिएँ।

नाइजेरियाबाट पुलिस अफिसर आउँदै थिए। उनलाई लिन जाने जिम्मा मैले पाएँ। कार्यालयबाट निस्किएर एयरपोर्ट गएँ। उनी समयमै आए। रिसिभ गरेर कार्यालय फर्किएँ। बीच बाटोमा केही भएन। सहजै राष्ट्रसङ्घको कार्यालयको गेटमा आइपुगें।

हामी बस्ने पनि युएनको कम्पाउन्डभित्रै थियो। गेटभित्र छिर्न तीन-चार लेयर पार गर्नुपर्ने। ठ्याक्कै निवास अगाडि अन्तर्राष्ट्रिय सैनिक मिसनको फिल्ड हस्पिटल थियो। म क्वाटर भित्र जाँदै थिए, ठ्याक्कै त्यही बेला मिसन अस्पतालबाट जर्मन सेनाको एउटा गाडी निस्कियो।

त्यो अलि अगाडि आइपुगेको थियो पछाडि अर्को गाडी पनि रहेछ। हेर्दाहेर्दै अगाडिको गाडीमा सिधै आएर एउटा कार ड्याम्मै ठोक्कियो। कार उडेर उता पर पुग्यो। जर्मन चढेको गाडी सिधै आकाशतिर उडेर थचारियो।

मैले त पहिला पनि यस्ता दृश्य देखेकै थिएँ। तै पनि डर त लागिहाल्छ। नाइजेरियन प्रहरी अफिसर त पहिलो पटक आएका थिए। पहिलो दिनमै त्यस्तो दृश्य देखेर उनी पनि डराउने नै भए। हतारहतार भित्र गएँ।

के भएछ भनेर कम्पाउन्डभित्रबाट हेर्दा जर्मन सेनाहरू गाडिबाट बाहिर निस्किइरहेका थिए। न उनीहरूलाई केही भयो न उनीहरू चढेको गाडिलाई नै। सुसाइड अट्याक गर्ने गाडी कच्याककुचुक भएको थियो। मान्छे त के बाँच्थे र।

त्यहाँ खटिने सेनाको गाडी बुलेट प्रुफ त हुन्छ नै अर्को सुरक्षाका लागि ब्ल्यान्केट समेत प्रयोग गरेका हुन्छन्। यसले जति ठुलो आक्रमण भए पनि मानवीय क्षतिको सम्भावना निकै कम। अधिकांश घटनामा मारिने सुसाइडर नै हुन्थे।

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

 

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....