उकेरा कोलम

ब्याच नम्बर ६९ :  कुनै बैंकको खाता रित्तै बनाउनेलाई पनि कारबाही गर्ने कानुनी आधार नबनाउने देश हो नेपाल


जहाँ अपराध गरे पनि अपराधै हो नि। आफ्नो देशमा अपराध गरे चाहिँ अपराध हुने अनि त्यही अपराध अर्को देशमा गरेर भागेर आफ्नो देशमा आउँदा चाहिँ ऊ निर्दोष हुने अवस्था छ नेपालमा।

नेपालको कानुनले आफ्नो देशको नागरिकलाई सुपुर्दगी गर्न दिँदैन। दिनु पनि हुँदैन। तर जसले जुन देशमा अपराध गरेर भागेर नेपाल आएको हुन्छ उसलाई नेपालकै कानुन अनुसार कारबाही गर्न सक्ने कानुनी व्यवस्था त हुनुपर्छ। आफ्नोलाई पनि कारबाही गर्ने अनि नेपालमा अपराध गरेर भागेर आफ्नो देश जानेलाई कारबाही गराउने कानुनी आधार बनाउनै पर्छ।

म लागुऔषध नियन्त्रण इकाइ, महानगरीय प्रहरी अपराध महाशाखा अनि केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख भएर काम गर्दा यस्ता कानुनी आधार नहुँदा निकै समस्याहरु परेका छन्। नेपालमा अपराध गरेर फुत्त भागेर भारत पुगिदिन्छन्। तीनलाई ल्याउनकै हैरान। नेपाली भए त तैबिसेक यसो मिलाएर ल्याउन पनि सकिएला। तर भारतीय पर्यो भने त सम्भावनै छैन।

जमिम शाहको हत्या हेरौं न। नेपाली त पक्राउ परे। त्यसमा त भारतीय नागरिक पनि थिए नि। तिनीहरुलाई नेपाल कसरी ल्याउन सक्नु। ल नेपाल ल्याउन नसके पनि भारतमै हत्यामा कारबाही गराउनुपर्ने हो नि। कसरी गराउनु? कुनै कानुनी आधारै छैन।

अहिले त झन् पहिले जस्तो अवस्था पनि छैन। भारत मात्र हो र नेपालमा अपराध गरेर रातारात दोस्रो त तेस्रो देश सजिलै पुग्न सकिन्छ। अपराध भयो। तर त्यो अपराध कसले गरेको हो त्यो पहिल्याउन समय लाग्यो भने त्यो बीचमा सहजै युरोप, अमेरिका जानसक्ने ब्यक्ति अपराधमा संलग्न रहेछ भने ऊ घटनामा संलग्न रहेको खुल्दासम्म  भागिसकेको हुनसक्छ। युरोप-अमेरिका जान सक्ने अवस्थाको नभए भारत त सहजै गइहाल्छन्।

आफ्नो देशको नागरिक दोस्रो देशमा पठाउन सकिँदैन। मिल्दैन। तर जुन देशमा अपराध भएको हो त्यो देशको प्रहरीले गरेको अनुसन्धान र प्राप्त प्रमाणलाई ग्रहण गर्न मिल्ने कानुन बनाउन त सकिन्छ। अनि उसले उता गरेको अपराध प्रमाणित भए नेपाली कानुन अनुसार जुन सजाय हुन्छ त्यो त दिन सकिन्छ नि। अब यस्तो कानुनी व्यवस्था नगर्ने हो भने हामीलाई पनि अप्ठ्यारो हुन्छ। अप्ठ्यारो हुन्छ के भन्ने अप्ठ्यारो भइसक्यो।

जस्तो नेपालमा ठूलो रकम ठगी गरेर भागेर अमेरिका पुगेका एक नेपालीलाई पटक-पटक नेपाल ल्याउने प्रयास गर्दा पनि नसकेको समाचार अहिले पनि आइरहन्छ। करोडौं रकम ठगेर गएका छन् उनी। यदि अमेरिका र नेपालबीच सुपुर्दगी सन्धी र पारस्परिक कानुनी सहायता सम्बन्धी सन्धि भएको भए ती व्यक्तिलाई ल्याउन कुनै समस्या नै हुने थिएन। अब सन्धि नहुँदा यो बाध्यकारी भएन। उनीहरुलाई मन लागे पठाउने भए नमाने पठाउँदैनन्। 
नेपालले पनि त्यही गरेको छ नि त। जस्तो कतिलाई अझै याद हुनुपर्छ। एक जना बृद्धको लटरी ठगी गरेर भागेर नेपाल आइपुगे एक जना युवा। 

अमेरिकाको प्रहरीको अनुसन्धानमा ऊ नेपाल आइसकेको खुलायो। उता अमेरिकीहरुले खोज्दा ऊ डिल्लीबजारको घरमा हुँदा पनि नेपाल प्रहरीले पक्राउ गर्न सकेन। कमसेकम उसलाई नेपालमै ठगी केसमा मुद्दा चल्ने अवस्था भएको भए यतै मुद्दा चल्थ्यो। गरेको अपराध अनुसारको कारबाही हुन्थ्यो नि। तर त्यो सम्भवै भएन।

अर्को देशमा हत्या गरेर भागेर नेपाल आएको आफ्नै देशको नागरिकलाई नेपालको कानुनमा रहेको हत्या अनुसारको सजाय गराउन किन हिच्किचाउनु? अब उसले जुन देशमा हत्या गरेको हो त्यो देशमा सजाय दिँदा फाँसीको प्रावधान हुनसक्छ। वा अन्य कठोर सजाय हुनसक्छ। त्यसैले आफ्ना नागरिक अन्य देशको प्रहरीलाई दिन सकिँदैन। कसैले पनि दिँदैन। तर नेपालको कानुन अनुसार १५ वर्ष जेल सजाय हुन्छ भने उसले गरेको अपराध अनुसारको दण्ड त पाउनुपर्यो नि।

तर, यति पनि हुन सकेको छैन। अहिले विश्वको जुनसुकै कुनामा अपराध गरेर कुनै नेपाली भागेर नेपाल आउनसक्यो भने उसलाई नेपालको प्रहरीले केही गर्न सक्ने अवस्था छैन। खुंखार अपराधी भए पनि नेपालमा ऊ निर्दोष नागरिक हो। यस्तो त हुनु भएन नि। यसमा सुधार गर्नै पर्छ। 

सुधारको कारण पहिलो त जहाँ अपराध गरे पनि अपराधी अपराधी नै हो। अर्को यसले नेपालमा अपराध गरेर अन्य देशमा भाग्ने गम्भीर प्रकृतिको अपराधमा संलग्नहरुलाई कारबाही गर्नै सकिन्न। यदि नेपालमा भारतमा जस्तो निरव मोदी अनि हर्षद मेहताहरु जन्मिए भने के गर्ने? भारतसँग कानुनी आधार हुँदा त कति कठिन भयो। नेपालको त कुनै कानुनी आधारै छैन। कसरी सम्भव हुन्छ र उनीहरुलाई कारबाहीको दायरामा ल्याउन।

अबको मुख्य चुनौती भनेको आर्थिक अपराध हो। यसमा प्रविधिको प्रयोग बढिरहेको छ। यसले समेत अपराध अनुसन्धानका लागि विश्वब्यापी रुपमा चाहिने कानुनी आधारहरुमा आफू बलियो भएर बस्नुपर्ने अवस्था आइसक्यो। 

अहिले नेपाली बैंकहरुमा पटकपटक साइबर अट्याक भइरहेका छन्। उदाहरणका लागि कुनै ह्याकरले नेपालको कुनै बैंकको खाता रित्तै बनाइदियो भने पनि कानुनी रुपमा हामीले गर्नसक्ने केही अवस्थै छैन। अपराधको गम्भीरतालाई हेरेर अन्तर्राष्ट्रिय संस्थाहरुले सघाउने एक कुरा। तर त्यो पैसा फिर्ता गराउन कानुनी रुपमै चुनौती दिनुपर्ने अवस्था आयो भने सहज छैन। 

इन्टरपोल छँदैछ नि भन्ने लाग्न पनि सक्छ। तर हरेक केसमा इन्टरपोलबाट सहयोग हुन्छ भन्ने हुन्न। अनि इन्टरपोलले जारी गर्ने नोटिस सबै देशमा बाध्यकारी पनि छैन। अपराध कुनै एक देशको समस्या हैन। यो विश्वब्यापी समस्या हो भन्ने भावनाले अन्तर्राष्ट्रिय सहकार्य मात्र हो इन्टरपोल। 

इन्टरपोलमार्फत सुपुर्दगी गराउन अनि गर्न सम्भव छैन। नेपालको हकमा भन्ने हो भने त नेपालले इन्टरपोलको सूचनालाई नेपालको अपराध अनुसन्धान गर्न निकायले जारी गर्ने पक्राउ पुर्जी सरह मान्यता समेत दिएको छैन नेपालले। 

हाम्रो सुरक्षा संगठनले इन्टरपोलले सूचना जारी गरेका गैरनेपालीलाई उसको देश पठाउने भनेको त्यही अपराध अनुसार हैन अध्यागमन कानुन अनुसार भिसा क्यान्सिल गरेर उसको देश फिर्ता पठाउने हो। 

यदि कसैले भिषा क्यान्सिल गर्नुको कारण खोज्दै कानुनी उपचार खोजेको हकमा इन्टरपोलको नोटिसलाई अदालतले प्रमाण नमान्न पनि सक्छ। नेपालीलाई इन्टरपोलमार्फत नेपाल ल्याउँदा आउने समस्या पनि यही हो। जति ल्याउन सकिएको छ अध्यागमन कानुन अनुसार हो।

नेपालमा अपराध गरेर भागेका गैरनेपालीको हकमा त यति ठूलो समस्या छ कुरै नगरौँ।

एउटा घटना। नेपालमा बस्ने अमेरिकी नागरिक इयान बेकेर बन्यजन्तु र हाम्रो पुरातात्विक सामानको तस्करीमा संलग्न देखिए। प्रहरीले उनी बस्ने घरमा छापा मार्दा घरभरी बाघका छालाहरु अनि नेपालका पुरातात्विक टुँडाल लगायतका सामग्रीहरु फेला परेका थिए। उनी वातावरण सम्बन्धी काम गर्ने कहलिएकै ब्यक्ति थिए। उनी नेपालबाट उम्किए। नेपालको आग्रहमा इनटरपोलले नोटिस पनि जारी गर्यो। तर अहिलेसम्म उनलाई न नेपाल ल्याउन सकिएको छ न उनले गरेको अपराध अनुसारको सजाय उनकै देशमा नै गराउन सकिएको छ।

नेपालको आग्रहमा इन्टरपोलले जारी गरेको नोटिसको आधारमा उनी ग्रिसमा पक्राउ पनि परे। नेपाल प्रहरीले उनलाई नेपाल ल्याउने प्रयास पनि गरेको थियो। तर सकिएन। यति गम्भीर अपराध गरेका छन् उनले। तर नेपाल बाहेक बाँकी देशका लागि उनी निर्दोष हुन्। यस्तो पनि हुन्छ?

यसले एकातिर संस्थागतभन्दा ब्यक्तिगत रुपमा सहकार्य गरिरहनु परेको छ। भारतसम्म अनौपचारिक रुपमा उनीहरुले खोजेका उनीहरुका नागरिक दिने अनि आफ्ना नागरिक लिने भइरहेको छ। तर भोलिका दिनमा भारतले नेपालबाट कसैलाई लैजानुपर्ने अवस्था आएन केवल नेपालले मात्रै भारतबाट नेपालमा अपराध गरेर भागेकाहरु ल्याउनुपर्ने अवस्था रह्यो भने यो सहकार्य पनि टुटिहाल्छ। व्यावहारिक मात्र सहकार्य कति समय चल्छ र। 

त्यसैले नेपाल निकै अप्ठ्यारोमा पर्ने अवस्था छ। यसका लागि अब अपराध अनुसन्धान र कानुनी प्रक्रियाबारे आवश्यक सन्धि गर्न ढिला भइसक्यो।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....