उकेरा कोलम

ब्याच नम्बर ६९ : हेरोइन तस्करीमा जोडिएका पन्जाबी दाजुभाइले चित खुवाए


जर्मन फेडरल प्रहरीले सूचना पठाएको थियो। रेल्वे स्टेसनमा हेरोइन सहित समातिएको रहेछ। उसको डकुमेन्ट हेर्दा उसले जर्मनीमा शरणार्थीको आवेदन दिएर बसेको रहेछ।

उसको कागजपत्र हेर्दा उ बारम्बार नेपाल आइरहेको देखियो। उनीहरूले त्यसका जे जति कागजपत्रहरू नेपाल पठाएर हामीलाई पनि अनुसन्धानमा सहयोगमा लागी आग्रह गरेका थिए।

डकुमेन्टहरू हेरेको उनी भारत पन्जाबको रहेछन्। एसियाली हेरोइन भनेपछि त्यो भारत, पाकिस्तान या अफगानिस्तानको नै हो। नेपालमा हेरोइनको उत्पादन त हुन्न। यहाँ त ओसारपसारका लागि ट्रान्जिटको रूपमा प्रयोग गर्ने नै हुन्।

नेपालमा यी तीनै देशको हेरोइनहरू ल्याइरहन्छन् कारोबारीले। कतिले अन्तबाट हेरोइन नेपाल भित्र्याएर भारत हुँदै अन्य देश लैजान्छन्। कतिले भने भारतबाट नेपाल भित्र्याएर हवाई मार्ग हुँदै युरोप, अमेरिका लगायतका देशमा पुर्‍याउँछन् पनि।

त्यसमा नेपाल उसको रुट देखिएपछि नै जर्मन प्रहरीले हाम्रो सहयोग मागेको थियो। यस्ता विषयमा अन्य देशका प्रहरीले पनि डकुमेन्ट पठाएर सहयोग माग्छन् नै। हामीले पनि माग्छौ। किनभने लागु औषध कारोबार भनेको सङ्गठित अपराध भयो। यसको सीमा एक देशमा मात्रै हुन्न। सङ्गठित अपराधमा संलग्नहरूले आफ्नो जालो विभिन्न देशमा फैलाएका हुन्छन्। सबैतिर अनुसन्धान भयो भने मात्र उनीहरूको सङ्गठित स्वरूप पहिल्याउन र भत्काउन पनि सकिन्छ।

डकुमेन्टहरू हेर्दै जाँदा जर्मनमा जो पक्राउ परेको हो उ शरणार्थीको सक्कली आवेदन दिने आवेदक हैन भन्ने झैँ देखियो। हेरोइनको कारोबार त जोडियो नै। थप एउटाको डकुमेन्टमा अर्को बारम्बार जर्मन गएर हेरोइनको कारोबार गरिरहेको पो देखियो।

उता उनीहरूले पनि अनुसन्धान गर्दै थिए। यता हामीले पनि अनुसन्धानमा सघाइरहेका थियो। बुझ्दै जाँदा उता जो पक्राउ परेको हो उ आवेदकको दाइ देखियो। जर्मनमा शरणार्थीको आवेदन दिएको व्यक्ति त्यो बेला पन्जाबमै रहेको पुष्टि भयो।

पन्जाबी समुदायका व्यक्ति झट्ट हेर्दा ठम्याउन सहज हुन्न नि। उनीहरूको अनुहारको अधिकांश भाग छोपिएको हुन्छ। माथि पकडी बाँधेका हुन्छन्। झप्प लामो दाह्री-जुङगा पालेका हुन्छन्। अब देखिने निधारको केही भाग, आँखा, नाक अनि ओठ त हो। अब त्यसमा पनि दाजु-भाइ भएपछि अनुहारको अधिकांश भाग अनि बनावट मिल्छ पनि।

उनीहरूले पनि त्यही गरेका रहेछन्। भाइ पन्जाबमा बसेको बेलामा दाइ उसको कागजपत्र बोकेर जर्मन जाने, उता काम गर्ने अनि फर्कने। अनि दाइ फर्किएपछि त्यही कागजपत्र बोकेर भाइ जाने काम गर्ने अनि फर्कने गर्दै आएका रहेछन्।

उनीहरू यसरी एकै कागजपत्रमा अदलबदल गरेर जर्मन गइरहेको पहिलो पटक पनि थिएन। दर्जनौँ पटक ओहोरदोहोर गरिसकेका रहेछन्। हेरोइनको केसमा परेकाले मात्र यी दुवैको पोल खुलेको थियो। जो नक्कली व्यक्ति थियो उ नै गएको बेलामा हेरोइन सहित समातिएको थियो।

यो  घटना उल्लेख गर्नुको कारण के हो भने अपराधमा संलग्नले कसरी अपराध गरिरहेको हुन्छ भन्ने ठम्याउन बढो मुस्किल पर्छ। अपराधी कुनै धर्म या समुदायको मात्र हुन्न नि। आपराधिक मनोवृत्ति धर्म या सम्प्रदायमा हुने पनि हैन। त्यो त व्यक्तिमा हुने हुने। व्यक्ति जुनसुकै देशको, जुनसुकै धर्म र जुनसुकै समुदायको हुनसक्छ।

अनि उनीहरूको लक्ष्य र सुरक्षाकर्मीलाई झुक्क्याउने नै हो। त्यसैले जसरी झुक्क्याउन सकिन्छ त्यही उपाय अपनाउने हो। कतिले यस्तोमा बालबालिकाको प्रयोग गर्छन्। कतिले महिलामाथि अलि शङ्का कम हुन्छ भनेर महिलाको प्रयोग गर्छन्। बाहिरतिर त कोकिन अनि हेरोइनहरू ओसारपसार गर्न महिलालाई प्रयोग गरेर नक्कली गर्भमा कोकिन अनि हेरोइन राखेर लगेका घटनाहरू पनि सार्वजनिक भएका छन्।

नेपालमा पनि शारीरिक रूपमा अशक्त भनेर ह्विल चेयरमा आएकाहरूको ह्विल चेयरमा नक्कली भारतीय रुपैंया समेत बरामद भएका घटना छन् नै। त्यसैले अपराध अनुसन्धानमा खटिनेहरूका नजरमा जुन सुकै धर्मका हुन् या समुदायका हुन्। अनि जुनसुकै लिङ्गका हुन् या जस्तोसुकै शारीरिक अवस्थाका हुन् सबैमाथि उत्तिकै शङ्का गर्नुपर्छ।

अहो यस्ता व्यक्ति त कहाँ अपराधमा संलग्न होलान् र भन्न थाल्यो भने त्यो अनुसन्धान असफल पक्का।

उही शिख दाजुभाइकै प्रसङ्ग जोडे फेरि।

हामीले उनीहरूले नेपाल किन आउने-जाने गरिरहे भन्ने हेर्नुपर्ने थियो। उनीहरू जर्मनबाट नेपाल आउने अनि पाँच-छ महिनापछि पुन नेपालहुँदै जर्मन जाने गरेको देखिएको थियो। हेरोइन बरामद भएकाले कतै उनीहरूले नेपालमा कुनै सहयोगी समूह बनाएका थिए कि, या विमानस्थलमा कुनै सेटिङ गराएर हेरोइन उता जर्मनमा पूर्याइरहेका थिए कि सबै पाटो केलायौँ। उनीहरूले जर्मन आउन र जान नेपालको एयरपोर्टको प्रयोग गरेको देखिए पनि हेरोइन कारोबारमा भने नेपाललाई प्रयोग गरेको पुष्टि भएन त्यसमा।

उ भारतीय नागरिक। कुनै देशमा गएर शरणार्थीको रूपमा बस्न आवेदन दिएपछि सिधै आफ्नो देशमा आउन पाइँदैन। जस्तो नेपालीहरू कुनै देश गएर शरणार्थीको आवेदन गरेका छन् भने उनीहरू पनि सिधा नेपाल आउन पाउँदैनन् नि। उनीहरू आउने भनेको पहिला भारत हो। अनि भारतबाट खुल्ला सीमाको प्रयोग गर्दै अधिकांश स्थल मार्गबाट नेपाल आउँछन्।

ती दाजुभाइले पनि जर्मन जान र आउन नेपालको एयरपोर्टको प्रयोग भारत जान मात्र प्रयोग गरेको देखियो। जर्मनबाट नेपाल आएर भारत जाने। अनि भारतबाट नेपाल आएर जर्मन जाने।

अन्य देश गए त भारत जान कागजपत्र देखाउनु पर्छ। नेपालबाट त स्थल मार्गबाट सिधै जान पाइन्छ नि त। उनीहरूले यही खुल्ला सीमाको फाइदा लिन मात्र नेपालको एयरपोर्ट प्रयोग गरेको देखियो।

अनि जो हेरोइनमा उता जर्मनमा पक्राउ परेका थिए उनी पनि पहिलो पटक हेरोइन कारोबारमा समातिएका थिए। उनको संलग्नताबारे खोतल्दा जर्मन जानुको उद्देश्य हेरोइन कारोबारै गर्ने देखिएन। उनी सुरक्षा निकायको स्टिङमा परेको देखियो।

यस्ता खालका केसहरू पनि आइरहेका हुन्छन् नै अनुसन्धानकोक्रममा। अनुसन्धानका कतिपय सिप अनुभवले नै सिकाउने हो। मेरो यो अनुभव अनुसन्धानमा चासो राख्नेहरूलाई पक्के काम लाग्ला भनेर छोटो भए पनि यो घटना उल्लेख गरे।

OOO

यो ब्याच नम्बर ६९ को ४३ औँ शृङ्खला हो। आज चैँ अलिकता यो सिरिजको अनुभव पनि बाँड्न मन लाग्यो।

प्रहरी सङ्गठनमा ३० वर्ष बिताउँदाको अनुभव उकेरामार्फत सेयर गर्ने योजना बनाउँदा यो सिरिज यति लामो जाला भन्ने लागेको थिएन। कुनै सङ्गठनमा काम गर्दाका आफ्ना अनुभवहरू बाँड्दा त्यसमा चासो राख्नेहरूलाई बुझ्न सहज हुने अपेक्षामा शृङ्खला सुरु भएको थियो। पाठकहरूले पनि रुचाउनु भएको छ।

कुनै जासुसी सिरिज पढ्दा हुने कुतूहलझैँ पाठकहरूले अब अर्को सिरिजमा के हुन्छ भनेर म्यासेज पनि पठाउनु हुन्छ। मेरो अनुभव त्यस्तो सस्पेन्स खालको छ जस्तो त लाग्दैन। तर पाठकहरुलाई लाग्ने रहेछ। बढो रमाइलो लाग्छ त्यस्ता मेसेज पढ्दा।

सिरिजको उद्देश्य एक त अपराध अनुसन्धानमा कार्यरतहरूले मेरो अनुभवबाट केही सिक्न पाउँछन् कि भन्ने नै हो। दोस्रो अपराध र सुरक्षाका अध्येता,रिसर्चरहरुलाई पनि प्रहरी सङ्गठन अनि यसका अपराध अनुसन्धानको शैली शिल्पबारे केही न केही अनुभव हुन्छ कि भन्ने नै थियो। उकेरामा प्रकाशित ४२ भागका कुल पाठक सात लाख नाघेको सुन्दा रमाइलो लाग्यो। यसका लागि पाठकहरूप्रति आभारी छु।

अपराध अनुसन्धानको कुन सूचना कसरी सार्वजनिक गर्ने अनि कुन लुकाउने भन्ने विषय सधैँ विवादमा देखिन्छ। प्राय अनुसन्धानमा संलग्नहरू पनि लुकाउनु पर्ने सूचना अनि सार्वजनिक गर्दा फरक नपर्ने सूचनामा कन्फ्युजै देख्छु म।

त्यसैले अब चैँ केही शृङ्खला अपराध अनुसन्धान र त्यो क्रममा पाउने सूचना कति सार्वजनिक गर्न हुन्छ कति हुन्न ?, कुन सूचना सधैका लागि लुकाउनुपर्ने हो कुन चैँ केही समय लुकाएर निश्चित समयपछि सार्वजनिक गर्दा पनि हुन्छ। अनि कुन प्रकारको सूचना चैँ तत्कालै सार्वजनिक गर्दा पनि फरक पर्दैन भन्नेबारे आफ्ना अनुभव बाँड्ने प्रयास गर्नेछु।

यो शृङ्खला चैँ यतिमै बिट मारे।

सबैलाई तिहारको मङ्गलमय शुभकामना। परिवारसँग रमाइलोसँग तिहार मनाउनुहोला। तिहार सकिएपछि अर्को बुधवार पुन उकेरामार्फत हाम्रो भेट हुने नै छ।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....