ब्याच नम्बर ६९ : व्यापारी मिलेर अफगानिस्तानको अफिम दाना नेपाल भित्र्याएको त्यो घटना

ब्याच नम्बर ६९ : व्यापारी मिलेर अफगानिस्तानको अफिम दाना नेपाल भित्र्याएको त्यो घटना

नेपालबाट भारत आयात हुने बस्तुहरूमा बेला-बेला समस्या देखिन्छन्। कहिले पाम आयलको निर्यातमा समस्या देखिन्छन्। कहिले सुपारी दानामा समस्या आउँछन्। यो हुनुको कारण नेपालमा उत्पादित कृषि सामाग्री भारत निर्यात गर्दा पाइने छुटको दुरुपयोग गर्दै व्यापारीले गर्ने तस्करी हो।

भन्सार छुटको दुरुपयोग गर्न नेपालमा उत्पादन भएको भन्दै तेस्रो देशबाट यस्ता सामाग्री नेपाल ल्याएर यताबाट भारत पठाउने गर्छन्। नेपालमै उत्पादित भएको भए वैध हुन्थ्यो। यसरी अर्को देशबाट नेपाल भित्र्याएर नेपालको ट्याग लगाएर भारत पठाउनु त तस्करी हो नि। यस्ता तस्करीले व्यापारको आवरणमा अपराधीहरू जन्माउँछ अनि उनीहरूलाई आर्थिक रूपमा बलियो बनाउँछ।

अपराधमा सक्रियहरू आर्थिक रूपमा बलियो बनेपछि उनीहरूले राज्य संयन्त्रमा प्रभाव पार्न सक्ने हुन्छन्। अनि अपराधबाट कमाएको पैसालाई वैध बनाउन कोही नेता बन्न थाल्छन् कोही व्यापारी। अहिले हेरौँ न। हिजो टोले गुन्डाका रूपमा बदनामहरू नेता अनि मन्त्री नै भइसकेका छन्। त्यसमा आर्थिक पाटो कुनै न कुनै रूपमा जोडिएको हुन्छ नै।

यो अङ्कमा मैले उल्लेख गर्न चाहेको चैँ अफिमको गेडाको तस्करी हो। त्यसलाई पोस्तदाना भन्छन्। नेपालमा त यसको त्यति ठुलो बजार छैन। अनर्सामा सेतो दाना देखिन्छन् नि त्यही हो पोस्तदाना।

नेपालमा ठुलो बजार नभए पनि टनाटन पोस्तदाना आइरहेका थिए। जति पोस्तदाना आइरहेका थिए त्यो नेपालको बजारका लागि थिएन, भारतको बजारका लागि थियो। भारतमा भने पोस्त दानाको निकै माग छ। उनीहरू अनेक परिकारमा पोस्तदाना मिसाएर खान्छन्।

नेपालका व्यापारीहरूले नेपालका लागि भनेर पोस्तदाना मगाएर भारत पठाउने गरिरहेका रहेछन्।

OOO

पोस्त दानाको व्यापार वैध नै हो। पोस्त दानाका लागि अफिमको खेती त गर्नुपर्यो। अफिमको खेती त्यत्तिकै गर्न त पाइँदैन। दानैको व्यापार गर्ने भनिए पनि अफिम खेतीका लागि इन्टरन्यासनल नार्कोटिक्स कन्ट्रोल बोर्ड अनुमति लिनुपर्छ।

अनुमति लिँदा नै केको उद्देश्यका लागि खेती गर्ने भन्ने खुलाउनुपर्छ। त्यसको चोप विक्री गर्ने कि मर्फिन बनाउन प्रयोग गर्ने कि, त्यसको फुल विक्री गर्ने कि या दाना या डाँठ त्यो खुलाउनु पर्छ।

प्रयोजन मात्र खुलाएन हुन्न। कहाँ निर्यात गर्ने अनि कति निर्यात गर्ने सबै खुलाएपछि मात्रै नार्कोटिक्स कन्ट्रोल बोर्डले आफ्नो निगरानीमा अफिम खेती गर्न दिन सक्छ।

OOO

अफिमको दानाबारे जानकारी चैँ पत्रकारबाट पाएको हो मैले। कार्यालयमा बसिरहेको थिए। अजयभद्र खनाल भेट्न आउनुभयो। उहाँसँग एउटा खाम रहेछ।

खाम दिँदै भन्नुभयो' यो के हो एक पटक हेरिदिनु त।'

खाम खोलेर हेरेको सामान आयात गर्न सरकारले जारी गरेको प्रज्ञापन पत्रहरू रहेछन्। सामानको प्रकार हेरेको पोस्तदाना छ। थोरै हैन। हजारौँ टनको अनुमति।

छक्क परे म।

भने ' यो त गैर कानुनी हो। नेपालमा निर्यात गर्नै पाइँदैन।'

मलाई जानकारी भएका पाटाहरू उहाँलाई बताए। उहाँले गजब समाचार लेख्नुभयो यो बारेमा।

OOO

समाचार आएपछि गृह मन्त्रालय अलि गम्भीर होला भन्ने लागेको थियो। तर भएन। हल्ला त व्यापक भयो। तर गृहका अधिकारीले चासो राखेझैँ लागेन।

कानुन यस्तो छ। तर अफिमको दाना आएको आयै छ। सामान ल्याउने अनुमति पाकिस्तानबाट छ। तर पाकिस्तानमा त वैध रूपमा अफिम खेती गर्नै पाइँदैन। पहिला उसले अनुमति पाएको थियो। तर सरकारले नियन्त्रण गर्न नसकेपछि सन् १९८२ मा अनुमति रद्द गरेको थियो।

देश पाकिस्तान लेखिए पनि अफिमको दाना अफगानिस्तानबाट आएकोमा कुनै शङ्का रहेन। अब जुन देशले जे सामानको खेती नै गर्न पाउँदैन त्यही देशबाट सामान ल्याउन अनुमति दिनु भनेको सिधै बदमासी हो नि। त्यही क्रममा अफिमको दाना नेपाल आइरहेको छ भन्ने प्रस्ट भइहाल्यो।

सरकारले चासो नराखे पनि म गृह मन्त्रालय गएँ। इकाई सिधै गृह मातहतै थियो। मैले भन्दा पनि उनीहरूले त्यति चासो देखाएनन्। 'जे भए पनि राजश्व आइरहेको छ नि' पो भन्छन्। मलाई चित्तै बुझेन।

राजश्व आएको छ भनेर अन्तर्राष्ट्रिय रूपमै लागु औषधको अवैध कारोबार गर्नेहरूको सामान नेपाल भित्रिन दिने त ?

अफिमको दाना नेपाल भित्र्याउने व्यापारीको राजनीतिक कनेक्सनकै कारण गृहले चासो नराखेको प्रस्टै भयो।  अब नेपालमा मात्र पहल गरेर यो रोकिने छाँट देखिएन। अन्तर्राष्ट्रिय सम्बन्ध काम लाग्ने यस्तै बेलामा त हो। संस्थागत त केही गर्न सकिएन। व्यक्तिगत पहल गर्न कसले रोक्ने!

लागु औषधबारे हेर्ने संयुक्त राष्ट्र सङ्घको निकाय छ युएनडिओसी। त्यसलाई नेपालमा कसरी अफगानिस्तानमा उत्पादित अफिमको दाना पाकिस्तान हुँदै नेपाल भित्रिरहेको छ भनेर व्यक्तिगत रूपमा जानकारी गराए।

नेपालमा आएको अफिमको दाना जाने त भारत नै हो। पाकिस्तानबाट नेपाल आउने रुट पनि। यसमा भारतले चासो देखाउने हो भने रोक्न सकिन्छ कि भन्ने लाग्यो।

भारतको भारतीय राजश्व सेवाका उच्च अधिकारीसँग व्यक्तिगत चिनजान थियो। उनलाई सबै जानकारी गराए। अफगानिस्तानको अफिमका उत्पादनको वैध कारोबार भनेपछि त अन्तर्राष्ट्रिय चासो हुन्छ नि। लागु औषध नियन्त्रणमा सक्रिय अन्तर्राष्ट्रिय सङ्गठनलाई पनि भने।

के चैँ हुँदै रैछ त अब भनेर चुपचाप हेरेर बसे।

केही समयमा भारतको राजश्वले अफिमको दानाको निर्यातबारे नेपाल सरकारसँग जानकारी मागेको सूचना आयो। नेपालबाट भारतमा निर्यात भइरहेको पोस्त दानाको स्रोत के हो भनेर सोधेछ। नेपालमा अफिम खेती त हुँदैन। अब के जवाफ दिने?

नेपालको कानुन अनुसार अफिमको दानाको कारोबार पनि अवैध हो नि। कानुन हेर्ने हो भने भाङको गेडा पनि अवैध हो। गाँजाको पात मात्रै हैन नि गेडादेखि जरासम्म अवैध मान्छ नेपालको कानुनले। अफिमको गेडाको कारोबार अन्त वैध भए पनि नेपालको कानुन अनुसार त अवैध हो।

अफिमको दानाबारे नेपालले भारतलाई दिने जवाफ केही थिएन। त्यत्रो अफिम दानाको स्रोत के हो कसरी खुलाउने? उताको पत्रले यताकाको पसिना छुटेको हेरिरहे म। इकाइलाई सोध्छन् कि भनेको सोधिएन।

नेपालले जवाफ दिन नसकेपछि पाकिस्तानबाट नेपालका लागि आएको अफिमको दाना भारतमा रोकियो। भारत सरकारले नेपाल पठाउने अनुमति दिएन।

उता अफिम दाना रोकिदिएपछि यता व्यापारी दौडन थाले अब। कूटनीतिक माध्यमबाट रोक खुलाउन सकिन्छ कि भनेर दौडधुप सुरु भयो। म केही जानकारी नभएझैँ चुपचाप बसे। तर भित्रभित्रै त के-के भइरहेको छ भनेर बुझिरहेको थिए नै।

त्यो बेला नेपालमा प्रधानमन्त्री हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला। भारतमा अटल विहारी बाजपेयी। वीरगन्जको व्यापारीको टोली काठमाडौँ आएर प्रधानमन्त्री गिरिजाप्रसादलाई भेटेर भारतले रोकेको अफिमको दाना ल्याउने बाटो खुलाइदिन आग्रह गरेछन्।

तर यो यसरी फैलिइसकेको थियो कि अब भारतले चाहेर पनि नेपालमा अफिम दाना ल्याउन दिन सक्ने अवस्था थिएन। अन्य देशहरूबाट समेत यसबारे सोधखोज सुरु भइरहेको थियो।

व्यापारीहरूको लगानी त भइसकेको थियो। सामान भारतमा रोकिएको थियो। त्यो सामान नेपाल नआए त लगानी डुब्ने पक्का। प्रधानमन्त्री गिरिजाप्रसादले भारतीय प्रधानमन्त्रीलाई 'आइसकेको सामान ल्याउन दिनु पछि अनुमति दिँदैनौँ' भनेर आग्रह गरेपछि एक पटकका लागि आएका सामान नेपाल आयो।

तर त्यसपछि पुरै रोक्यो। नेपालले पनि प्रज्ञापन पत्र दिनै बन्द गर्यो।

अफगानिस्तानको अफिमको दाना नेपालमा आउनु भनेको त्यहाँको अवैध अफिम खेतीलाई प्रोत्साहन गर्नु हो। जानाजान अफिम तस्करीमा संलग्न अफगानीहरूलाई कसरी सहयोग गर्न सकिन्छ। कसरी मन मान्छ र!

मनै नमानेर नै पोस्तदाना रोक्न व्यक्तिगत रूपमै पहल गरेको थिए। रोकिँदा खुसी लाग्यो।

ब्याचका पुराना अंक

३० भदौ, २०७८, २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।