उकेरा कोलम

ब्याच नम्बर ६९ : कुख्यात चरेस कारोबारीलाई छाड्ने न्यायाधीश नै नेपालको पहिलो उपराष्ट्रपति बनेपछि


यो भन्दा अगाडि नेपाल हुँदै क्यानडा पठाउन लागेको ६ सय ६९ किलो चरेस र त्यसका कारोबारीबारे उल्लेख गरेको थिएँ। कार्गो सञ्चालक र प्रहरीबीचको सहकार्यमा यो केस सार्वजनिक भएको थियो। अनि यसमा जोडिएका थिएँ, कुख्यात चरेस तस्कर दिलबहादुर गुरुङ अर्थात् डिबी।

यो केसमा अशोककुमार सुवेदी अनि मोहनकृष्ण रिसाल समेत पक्राउ परेका थिए। डिबीको पशुपतिमा रहेको डेरामा सेरामिकको सामान पठाउने बहानामा काठको बाकसमा चरेस राखेर पठाउने प्रयास गरेको र उनको डेरामा छापा मार्दा फेला परेको चरेस पठाउने क्यानडाको ठेगाना र सुवेदी र मोहनकृष्णको बयानले उनी नै मुख्य नाइके भएको देखाए पनि सर्वोच्चले प्रमाण नपुगेको भन्दै उनलाई ९ लाख धरौटीमा छोडेको प्रसंगमा पुगेर अघिल्लो श्रृंखला टुंगिएको थियो। 

यो श्रृंखलामा चाहिँ फैसला गर्ने न्यायाधीश र पछि उनले पाएको उपहारबारे उल्लेख गर्दैछु।

०००
अनुसन्धानको क्रममा अनि अदालतमा समेत अभियुक्त सुवेदीले चिनजानका रिसालले सेरामिकका सामान भनेर चरेस राखेर कार्गोबाट पठाउँदा फाइदा हुने भनेको खुलाएका थिए। उनले रिसालले भनेको कोठाबाट चरेस लुकाएको काठको बाकस ट्रकमा राखेर कार्गो कार्यालयमा पुर्‍याएको स्वीकारेका थिए। त्यो कोठा डिबीकै थियो।

रिसालले पनि चरेस डिबीसँग लिएर कार्गो गर्न पठाएको स्वीकारेका थिए। कार्गो क्यानडाको जुन ठेगानामा पुग्दै थियो, त्यहाँको व्यक्तिको नाम र ठेगाना डिबीको कोठामा पनि फेला परेको थियो। काठमाडौँ जिल्ला अदालतले यी तीनै प्रमाण हेरेरै डिबीसहितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको फैसला पुनरावेदन अदालतबाट पनि सदर भएको थियो। तर सर्वोच्च अदालत पुगेपछि भने प्रमाण नपुगेको भनेर धरौटीमा छाडियो। हाँसो लाग्दो आदेश थियो त्यो। जुन सर्वोच्च अदालतका अस्थायी न्यायधीश परमानन्द झाको एकल इजलासबाट आएको थियो।

आदेशमा ६ सय ६९ किलो चरेस क्यानडा पठाउने क्रममा कार्गो गर्न गएका प्रतिवादीमध्ये सुवेदीले रिसालले कार्गो गर्न पठाएको भनेको अनि रिसालले डिबीले सामान कार्गो गर्न पठाएको भनेर बयान दिए पनि अदालतमा डिबीलाई चिन्दिनँ भनेको डेरा रहेको घरधनीले रिसाललाई कोठा दिएको भनेको अनि डिबीको कोठामा चरेस कारोबारमा संलग्न भएको प्रमाणित गर्ने प्रमाण फेला नपरेको भन्दै दुवै तहको अदालतको आदेश उल्टिने भनियो।

अब फैसला भएर कैद सजाय तोकिएको अवस्था पनि होइन। केवल थुनछेकको बहसका क्रममा जेलमा राख्ने कि धरौटीमा छाड्ने भन्नेमा आदेश पुर्पक्षका लागि थुनामा राख्ने आएको न हो। अब प्रमाण नै नपुगेको भए त्यत्रो ९ लाख धरौटी चाहिँ किन माग्नुपर्‍यो?

जति बाठो बन्न खोजे पनि कहीँ न कहीँ चिप्लन्छन् भनेको यही त हो। धरौटी माग्ने आधार भने हामीले डिबीको केठामा छापा मार्दा फेला परेको कार्गो पाउने व्यक्तिको ठेगाना लेखिएको प्रिन्टेड कागजलाई लिइयो। अब त्यो कागज प्रमाण होइन रे अनि हो पनि रे। यस्तो पनि आदेश हुन्छ त? चलखेल भयो भन्ने त यसैले देखाइहाल्यो नि।

झाको आदेश आएपछि बबाल सुरु भयो। पहिला त मिडियाले नै सुरु गरेका हुन्। पटके चरेसका कारोबारी जसलाई जिल्ला र पुनरावेदनले पुर्पक्ष गरेका थिए, उसैलाई सर्वोच्चका न्यायाधीशले धरौटीमा छाडे भनेर मिडियामा व्यापक आलोचना सुरु भयो। झाजीको इमेज पनि त्यति राम्रो रैनछ न्याय सम्पादनमा। त्यसले पनि मद्दत गर्‍यो यो केसमा। 

हामी अदालतको प्रक्रियाबारे धेरै बोल्दैनथ्यौं। रविन्सनको केसमा हो हामीले बोलेको। डिबीको केसमा पत्रकारहरु आएपछि योबारे पनि बोल्यौं। बोल्नै पर्‍यो। किनकी डिबी त पटके थिए नि। पहिला पनि समातेकै व्यक्ति थिए। उनी धरौटीमा छुट्दा फेरि गर्ने उही चरेस कारोबार नै हो। हामी समातेर बुझाउने अनि अदालतले छाड्ने भएपछि एकै व्यक्तिको पछि कति पटक लाग्ने?

रविन्सन प्रकरणमा सर्वोच्चको साख गिरेकै हो नि। धन्न तत्कालीन न्यायधीशको बुद्धिमतापूर्ण निर्णयले फैसला गर्ने न्यायधीश जति बदनाम भए, सर्वोच्चको साख त्यही तहमा गिरेन। फेरि अर्को यस्तै आदेश आएपछि विरोध त हुनु नै थियो।

मिडियासँगै सर्वोच्च अदालत बार एसोसिएसनले पनि आदेशमाथि गम्भीर प्रश्न उठायो। बारले झाको आदेशबारे गम्भीर प्रश्न उठाएपछि रबिन्सन केसमाझैँ सर्वोच्च अदालतले छानबिन तथा सुझाव समिति गठन गर्‍यो। त्यसको संयोजक न्यायाधीश अनुपराज शर्मा हुनुहुन्थ्यो। खिलराज रेग्मी र रामप्रसाद श्रेष्ठ सदस्य हुनुहुन्थ्यो। समिति नै गठन भएपछि केही न केही सकारात्मक निष्कर्ष आउने आश भयो।

केही समयपछि समितिले आदेशमा प्रश्न उठाउँदै झालाई राजीनामा दिन सुझाव दिएको प्रतिवेदन बुझाएको भन्ने सुनियो।

रविन्सन केसमा समितिको सुझाव लगत्तै दुवै न्यायाधीशले राजीनामा दिएका थिए। तर यो केसमा झाको राजीनामा आएन। दिलिपकुमार पौडेल प्रधानन्यायाधीश थिए। उनलाई इजलास नतोक्न बारले माग गरिरहेको थियो। तर झाको इजलास तोकियो। विरोध भइनै रहेको थियो।

अदालतकै छानविनमा गम्भीर नैतिक प्रश्न उठेका न्यायाधीशको इजलासबाट आउने आदेश या फैसलाको विश्वसनीयता के हुने? अदालतको साख के हुने? 

धन्न सर्वोच्च अदालतको अस्थायी न्यायाधीशको म्याद सकिएपछि उनको म्याद थपिएन। नथपिएपछि उनको जहाँ दरबन्दी हो, त्यहीँ फर्कनुको विकल्प थिएन। झाको दरबन्दी रहेछ पुनरावेदन अदालत विराटनगरमा।

अब त उनले राजीनामा देलान् भनेको के को दिन्थे। ढिट रहेछन् नि। उनी विराटनगर पुगे। तर त्यहाँको बारले उनलाई बहिष्कार गर्ने निर्णय गर्‍यो। उनलाई अदालत प्रवेश नै गर्न नदिने भएपछि पनि राजीनामा दिएनन्। बिदामा बसे। बिदामै बसेको बेला उनले अवकाश पाए।

पछि आदेश पनि उल्टियो। पुर्पक्षको आदेश आएपछि फेरि हामीले नै खोजेर डिबीलाई अदालत हुँदै जेल पठायौँ।

०००
राजनीतिमा जे पनि जायज हुन्छ भन्ने उदाहरण पछि झा नै भए। अवकाश पाएपछि राजनीतितिर लागेका रहेछन् उनी। त्यो बेला मधेसी जनअधिकार फोरममा प्रवेश गरेर राजनीति गर्दै सांसद समेत भइसकेका रहेछन्।

माओवादी सबैभन्दा ठूलो दल बनेको समय। राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालाको चर्चा थियो। पछि माओवादीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिमा अगाडि बढायो। कांग्रेसले गिरिजाप्रसादको साटो एकाएक रामवरण यादवलाई राष्ट्रपतिको उम्मेदवार बनायो।

त्यो बेलामा कांग्रेसको मतले मात्र राष्ट्रपति जित्न सम्भव थिएन। मधेसका दलको समर्थन लिने क्रममा उनीहरुले उपराष्ट्रपति आफूलाई मागेर उनै झालाई उम्मेदवार बनाए। डा रामवरण यादवसँगै झा गणतान्त्रिक मुलुक नेपालको पहिलो उपराष्ट्रपति पो भए।

जुन पदमा पुगे पनि आखिर गरेको कर्म त कहाँ मेटिन्छ र! नेपालको प्रथम उपराष्ट्रपति भए पनि चरेस कारोबारीलाई नियतबस उन्मुक्ति दिने प्रयास गरेको कालो इतिहास त जीवितै थियो।

ब्याचका पुराना अंक

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्‍यो'

यस्तो बेलामा सुरक्षाकर्मीले अन्य स्रोत उल्लेख गरेर भन्न खोजेको कुरा भन्ने गरेका हुन्छन्। कुनै घटनामा भारतको कस्तो भूमिका छ भन्ने खुलाउन सिधै हाम्रो अनुसन्धानमा यस्तो....

चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

उदाहरणका लागि थारु आन्दोलन र मधेश आन्दोलनलाई लिन सकिन्छ। सत्ताको भाषा इन्जोय गर्याे मिडियाले। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि मिडियाले खासै भाउ दिएको थिएन।....

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्, घरमै फर्केर छोरी पाँए

OOO मेरो बुबा ज्ञानप्रसाद ढुङ्गाना अहिले स्वर्गीय हुनुभयो। आमा हेमगंगा ढुङ्गाना उहाँकै आमा अर्थात् मेरी हजुरआमालाई स्याहार गरेर गाउँमा बस्नुहुन्छ। मेरो जन्म कृषक परिवारमा भएको....

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....