उकेरा कोलम

ब्याच नम्बर ६९ : हेरोइनको कुख्यात तस्कर कपिलदेवले भने ' ल म नेपाल आउँला'


नेपालमा खैरो हेरोइनको जालो तोड्न लागु औषध नियन्त्रण इकाइले चलाएको 'अप्रेसन पेजर'को प्रारम्भबारे यस अगाडिको अङ्कमा उल्लेख गरेको थिए। कसरी नेपालमा खैरो हेरोइनको आयात बढ्यो अनि भारतको रक्सौलमा बसेका २ भारतीय नागरिकले नेपाली र भारतीय प्रयोग गरेर कसरी खैरो हेरोइन नेपालमा फैलाइरहेका थिए भन्ने अगाडिकै अंकमा छ। 

यो अङ्कमा चैँ कसरी उनीहरूको समूह भत्काइयो त्यो उल्लेख गर्दैछु।

कपिलदेव अनि अस्लम। यी दुवै भारतीय नागरिकले रक्सौलमा बसेर नेपालमा छ्यापछ्याप्ती हेरोइन पठाइरहेका थिए। उनीहरुको सञ्जालले नेपालभर खैरो हेरोइन पठाइरहेको थियो। यती हेरोइन भित्र्याएकी उनीहरुले बजार भाउँ नै घटाइदिए।

अब यो जालो भत्काउन यता नेपालका कारोबारी मात्र समातेर सम्भव थिएन। यता हामीले एक जनालाई समात्छौँ उताका डिलरले अर्को व्यक्ति तयार पारिहाल्छ। भरिया र लोकल डिलरको मुहान त भारतै थियो। उनीहरु सक्रिय भएसम्म हामीले सोचे अनुसार हेरोइनको कारोबार नियन्त्रण सम्भव थिएन।

नेटवर्क भत्काउने एक मात्र उपाए उता भारतका सप्लायर पनि समात्ने यताका लोकल डिलर र सप्लायर्स पनि समात्ने। यो भयो भने मात्रै ठुलो मात्रामा बजारमा फैलिएको खैरो हेरोइनको कारोबार भत्काउन सम्भव हुन्थ्यो।

त्यसैले एक टोली यता नेपालका लोकल डिलर र डेलिभरी गर्नेहरुलाई खोज्न लाग्यो। अर्को टोली भारतमा बसेका मूल नाइके पक्राउ गर्न सकिन्छ कि भनेर त्यता लागे।

नेपालका पुराना केसहरूमा कपिल अनी अस्लम दुबैको नाम थियो। उनीहरु नेपालमा पक्राउ परे मात्रै पनि काफि थियो जेल पठाउन। यो त उनीहरुलाई पनि थाहा हुने भइहाल्यो। नेपाल गयो भने प्रहरीले समात्छ अनी जीवन नेपालकै जेलमा बित्छ भनेपछि कसले जोखिम मोल्छ ! 

खैरो हेरोइनमा नेपालको कानुन कडै छ। २५ ग्राम फेला पर्‍यो भने पनि १० वर्षसम्म कैद हुन्छ। एक सय ग्रामभन्दा माथि फेला परे त जन्मकैद। यसको फाइदा के भने लागुऔषधकै कारोबारी भए पनि सितिमिती हेरोइनको कारोबार गर्ने आँट गर्दैनन्। जो यसमा लाग्छन् दर्है नेटवर्क बनाउँछन्।

नेपालमा आउँदाको जोखिम देखेर जति ठुलो माग भए पनि कपिल र अस्लमले आफ्नो नेटवर्कबाट नेपालमा पठाइरहेका थिए। तर उनीहरूलाई नेपाल नल्याईकन सोचेजस्तो अप्रेसन सफल हुन सक्दैनथ्यो।

उता भारतै गएर पक्राउ गर्न सम्भव भएन। भारतीय नागरिकलाई पक्राउ गरेर नेपाल पठाउँदैनन् भारतीयले। त्यो पनि रक्सौलमा बसेर नेपालमा कारोबार गर्नेहरु न परे।

सम्भव नदेखिए पनि टोलीले हार खाएको थिएन। लागिरह्यो। 

यसो स्वभाव हेर्दा अस्लम भन्दा कपिलदेवलाई चैँ नेपाल भित्र्याउन सजिलो हुन्छ कि भन्ने देखियो। कृष्णगोपाल पनेरु लगायतका टिम जाल फैलाउनतिर लागे।

यस्ता कारोबारीलाई फन्दामा पार्ने स्टिङ अप्रेसनै त हो। किन्ने र भत्काउने। हतियार, लागु औषध जस्ता गम्भिर अपराधमा यो 'बाइ एण्ड ब्रस्ट' रणनीति स्विकार्य नै हो। तर कहिलेकाँही बदमास प्रहरीले यसको दुरुपयोग गर्दै आवश्यकै नपर्ने प्रहरि अप्रेशनमा पनि यही गरिदिन्छन्। यसले गम्भिर अपराधको अनुसन्धान शंकामा पर्छन्। यसबारे कुनै अंकमा चर्चा गरौँला।

यता कपिलदेवलाई जालमा पार्न सक्रिय टोलीले कताकता नेटवर्क मिलाएर उसम्म पुग्न सफल भएछ। जति भने उँ नेपाल आउन भने मानिरहेको थिएन। जति  सामानअर्डर दिए पनि भनेको ठाउँमा ल्याइदिने तर आफू नआउने भनिरह्यो। तर हामीलाई सामान चाहिएको हैन। चाहिएको उनै थियो। मान्छेको मन न हो। हुन्छ भन्न नि सक्छ नि। टोलीले हार मानेको थिएन।

टिम अनेक बहाना बनाउँदै कपिलदेवलाई आफैँ सामान लिएर नेपाल आउन राजी गराउँदै थियो। प्याट्ट उसले एक दिन 'ठिक है' भन्यो। ओहो ! राजी भयो है। राजी त भयो तर आउने नआउने के पत्तो ! मुड बदलिन पनि सक्छ नि। नबदलियोस् भनेर प्रार्थना गर्ने त हो।

OOO

सकेसम्भ भारतमा भएको मुख्य नाइके पक्राउ गर्नुपर्ने त थियो नै। सँगै नेपालमा भएको उनीहरूको नेटवर्क पनि भत्काउनै थियो।

नेपालमा रहेका उसका सहयोगी, डेलिभरी गर्नेहरू अनि विक्री गर्नेहरू खोज्न इकाइको जनशक्ति स्थानीय प्रहरीहरूसँग सहकार्य गरेर विभिन्न जिल्लामा खटिएका थिए।

नेपालभित्र त हाम्रो नेटवर्क बलियै थियो। स्थानीय डिलरहरू भटाभट पक्राउ परिरहेका थिए।

केही डिलरहरू आफै प्रयोगकर्ता  थिए। बोर्डर गएर आफैँ सामान बोकेर आउने, आफू पनि खाने अनि बेच्ने पनि। यस्ता चाँडै फेला पर्छन्।

अर्को खालका चै‌ँ सिधै सामान ल्याएर स्थानीय डिलरलाई दिने अनि सुरक्षित बसिहाल्ने। यस्तालाई खोज्न अली समय लाग्छ। तर फेला परिहाल्छन्। 

नेपालका कारोबारी खोज्नेक्रममा सिनामंगलमा ठुलै डिलर छ भन्ने सूचना आयो। भेरिफाई गर्दै जाँदा हो भन्ने भएपछि इकाइको टोलीले उसको घरमा छापा मार्‍यो।

व्यक्ति समातियो तर हेरोइन फेला परेन। पक्का थियो उसकोमा हेरोइन छ भन्ने। तर यता खोजे पनि छैन ,उता खोजे पनि छैन। तर फेला त परिहाल्थ्यो। केही समय लाग्यो। प्रहरीले फेला नपारोस् भनेर उसले हेरोइन जमिनमा गाडेर राखेको रहेछ। फेला पर्‍यो।

अर्को एक जना थियो डेलिभरी गर्ने। निकै चलाख । सामानको अर्डर आएपछि रक्सौल गएर मोटरसाइकलमा बोकेर आउने। साट्सुट सामान सप्लाई गर्ने टाप कस्ने।  जति पटक प्रयास गर्दा पनि उँ पक्राउ परिरहेको थिएन। पूर्वदेखि पश्चिमसम्म सामान पठाएर हैरान बनाइरहेको थियो।

उ पोखरामा सामान पूर्याउन जाँदै छ भन्ने सूचना पायो हाम्रो टोलीले। फिल्डमा खटिएको टोलीले के ट्रिक लगायो कुन्नि पोखरा हिँडेको सप्लाएर त काठमाडौँमा सामान सप्लाई गर्न राजी भयो। उँ मोटरसाइकलमा आउँदाआउँदै थानकोटमा पक्राउ गरिहाल्यौँ।

मकवानपुरमा पनि समातिए केही कारोबारी। वीरगन्जमा समातिए। काठमाडौँका स्थानीय कारोबारीदेखि प्रयोगकर्ताहरू पनि समातिइरहेका थिए। कसैसँग ठुलै परिणामको हेरोइन फेला परिरहेका थिए। कसैसँग थोरै।

OOO

कपिलदेवकै प्रसङ्ग है त।

आउँछु भने पनि कपिलदेवले दिन तोकेको थिएन। बिच-विचमा उसले शङ्का पनि गर्‍यो। टिम उसलाई विश्वास दिलाउन लागिरहेको थियो। उ कहिले ल म आउँछु भन्थ्यो कहिले म किन चाहियो सामान पाए हुँदैन भन्थ्यो।

बल्लबल्ल उ आउन राजी भयो। सायद उसले पनि बुझ्यो होला यता-उता। सुरक्षितै लाग्यो होला। अनी सामान लिएर आउन राजी भयो।

राजी त भयो तर जोखिम त थियो। उसलाई नेपाल भित्र्याएर मात्र हुनेवाला केही थिएन। पक्राउ पनि गर्नैपर्यो। उ नेपाल आउँछु भनेको दिनदेखि नै टोलीले उसलाई मनिटरिङ गरिरहेको थियो।

कपिलदेव ब्याग बोकेर रक्सौलबाट नेपाल छिरेको शन्देस आयो। उसलाई सकेसम्म काठमाडौँ आसपास ल्याउने योजना थियो। त्यसैले बाटोमा उसलाई केही गरिएन। उ नेपाल प्रवेश गरेदेखि नै पच्छ्याउने काम मात्र भयो। 

पच्छ्याएको चाल नपाओस् भन्नेमा भने बढो सर्त थियो टोली। यति लामो प्रयासपछि बल्ल उ आफैँ नेपाल आउन राजी भएको थियो। यो पाली उम्कियो भने फेरि उसलाई फेला पार्ने कहिले हो कहिले। 

उँ विरगन्जमा आएर बस चढ्यो। कतै बिचैमा ओर्लिएका कि भनेर  फलो गर्न त परिहाल्यो। एउटा टोली उसको पछि-पछि थियो। अर्को टोलीले काठमाडौँबाट मनिटरिङ गरिरहेको थियो।

टिमले कपिलको दिमाग मज्जाले भुटेका रहेछन्। उ ढुक्कै देखियो। त्यस्तो केही शंका गरेको देखिएन। सरासर आयो। 

उ चढेको बस थानकोट आइपुग्यो। हाम्रो टोली पहिल्यै थानकोटमा तयार थियो उसको स्वागतमा। बस रोकिएपछि टोली  सरासर उ बसेको सिटमा गएर नियन्त्रणमा लियो। उ'क्या हुँवा' भन्दै थियो।

झोलामा हेरोइन छ या छैन पनि हेरेनौ। कर्‍याककुरुक पारेर झोलासहित नियन्त्रणमा लिइहाल्यौ। सिधै बानेश्वरमा रहेको इकाइको कार्यालयमा लग्यौ अनि झोला खोतल्न थाल्यौँ।

झोलाको तल लुकाउने ठाउँ बनाएर राखेको पोको पेला पर्‍यो। त्यो हेरोइन थियो। जोख्दा एक किलो तौल निस्कियो। कपिल देव त्यो पनि एक किलो हेरोइन सहित। गजव भइहाल्यो।

उसको नाम पुराना मुद्दामा पनि थियो।  पक्राउ पर्दा उसकै साथमा एक किलो हेरोइन फेला परेकाले २० वर्ष कैद त पक्का।

यसले भारतबाट नेपालमा हेरोइन पठाउन सक्रिय एउटा नेटवर्क त मज्जाले भत्कियो नै। हेरोइनको नेटवर्क भत्काएपछि तत्काल नयाँ नेटवर्क बन्न अलि ग्राहै हुन्छ।

यसको कारण कडा सजायको प्रावधान हो। त्यही भएर बरु मेडिकल ड्रग्स ल्याउनेहरू एउटा समाते अर्को नेटवर्क बनिहाल्छ। हेरोइनको केसमा भने अलि समय लाग्छ नयाँ नेटवर्क बन्न। त्यसले पनि कपिलदेव पक्राउ पर्नु लागुऔधष नियन्त्रणका लागि राम्रो उपलब्धि थियो।

२ जनामध्ये एक मुख्य कारोबारी त फन्दामा पर्‍यो। तर अस्लम बाँकी नै थियो। उसको नेटवर्क कपिलदेवको भन्दा तगडा। बाढो पनि थियो। उसलाई नेपाल भित्र्याउनु असम्भव बराबर थियो। कपिल त आयो। प्रयास गर्दा उ पनि कसो नआउँला ! कपिल पक्राउ गरेर हौसिएको टिम कस्सियो अस्लम समात्न।

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....