उकेरा कोलम

ब्याच नम्बर ६९ : हजार बढी हेरोइन कारोबारी फन्दामा परेको अप्रेसन पेजर


नेपालका लागुऔषध प्रयोगकर्ताको बानी अलि अनौठो छ। प्राय: प्रयोगकर्ताले जुन लागुऔषध प्रयोग गर्ने गरेका हुन्छन्, सधैं त्यही गर्छन्। नेपालमा भने जे भेटिन्छ त्यही। हेरोइन खानेले त्यो पाएन भने मेडिकल ड्रग्स खाइदिन्छ। मेडिकल ड्रग्स लिनेले पाए हेरोइन पनि।

नियन्त्रणका दृष्टिले यो चुनौतीपूर्ण व्यवहार हो। हेरोइनको प्रयोग बढ्यो भनेर त्यसको समूह भत्काउन रणनीति बनायो, बजारमा हेरोइनको आयात घट्छ। तर मेडिकल ड्रग्सको बढ्छ। मेडिकल ड्रग्स नियन्त्रणको रणनीति बनायो यो घट्छ, हेरोइन बढ्छ।

२०६२/०६३ को लोकतान्त्रिक आन्दोलन अगाडि नेपालको बजारमा ह्वात्तै हेरोइन बढेको देखियो। नेपालमा आउने हेरोइन अन्यत्र पठाउन लायकभन्दा पनि नेपालको बजारमा पठाउने कम गुणस्तरको खैरो हेरोइन।

यो भारतबाट नेपाल आइरहेको थियो। नेपालगञ्जदेखि पोखरा हुँदै काठमाडौँसम्म कारोबारी फैलिएको देखियो। 

अमेरिका भ्रमणमा जाँदा बजारमा कुन प्रकारको लागुऔषध प्रयोगकर्ता बढेका हुन सक्छन् अनि नयाँ कुनै लागुऔषध आएको छ कि भनेर जाँच्न उनीहरुले नालीको पानीको परीक्षण गरेको देखेको थिए। जे खाए पनि निस्कने त दिसा र पिसाबबाटै त हो नि।

उनीहरुकहाँ शौचालय लगायतका फोहोर व्यवस्थापन व्यवस्थित छ नि। उनीहरु क्षेत्रका आधारमा नालीको पानी ल्याएर ल्याबमा परीक्षण गरेर के-कस्ता लागुऔषध प्रयोग भएको देखिइरहेको छ भन्ने पहिल्याएर नियन्त्रण रणनीति बनाउँथे। अब नेपालमा त्यस्तो कहाँ सम्भव हुनु।

अब यहाँ गर्ने के? दिवस उदास लगायतको टिम राखेर छलफल गर्‍यौं। बजारमा कुन लागुऔषध कुन मात्रामा आइरहेको छ भनेर बुझ्ने माध्यम त्यसको बजार भाउ पनि हो। कुन सामानको भाउ कति पुगेको छ, त्यसको आधारमा त्यो सामान कति आइरहेको छ भन्ने थाहा हुन्छ नि। लागुऔषध बजारमा लागु हुने नियम पनि सामान बढी हुँदा भाउ घट्ने अनि सामानको सर्टेज सुरु भए भाउ बढ्ने त हो।

यसका लागि सबैभन्दा राम्रो उपाय भनेको खैरो हेरोइनको बजारको भाउ बुझ्नु नै देखियो। हेरोइन खरिद-बिक्री हुने र खाने ठाउँहरुमा गएर बुझ्ने मात्र उपाय देखियो। 

यसका लागि फिल्डमा अनुभवी प्रहरी अधिकृत भए सहज हुने हो। त्यो बेलामा कृष्णगोपाल पनेरु प्रहरी निरीक्षक भइसकेका थिए। उनको फिल्डमा राम्रो प्रभाव थियो। सबैले छलफल गरेर हेरोइनको अवैध बजारमा यसको अहिले बजार भाउ कति पुगेको छ भनेर बुझ्ने जिम्मेवारी उनैलाई दियौँ।

यसमा को-को संलग्न छन्? नेपालमा कसले बढी सामान पठाइरहेको छ अनि वीरगञ्जदेखि पोखरा तथा काठमाडौँको बजारसम्म उनीहरुको वितरण प्रणाली कस्तो छ भनेर बुझ्न हामीहरु लाग्यौँ।

केही दिनमा पनेरुले सूचना ल्याए, 'हो रहेछ सर। भाउ त निकै तल आइसकेछ।' बजार भाउ तल झर्नु भनेको खैरो हेरोइनको सप्लाई बढ्नु त हो।

यता को-को संलग्न हुन सक्छन् भनेर खोजी गर्ने टोलीले नेपालको पूर्वदेखि पश्चिमका सहरसम्म खैरो हेरोइन फैलाउन सक्रिय दुई जना भारतीय नागरिक पहिल्याए। उनीहरु नेपालको वीरगञ्जपारि बसेर नेपालीमार्फत नेपालमा खैरो हेरोइन पेलिरहेका थिए। एक जना थिए, अस्लम अर्का कपिलदेव। 

उनीहरुले नेपालमा खैरो हेरोइन पेलेकोपेल्यै गरेको देखियो।

जे-जे सूचना आइरहेका थिए, ती सबैलाई एकै ठाउँमा राख्ने। समूह बसेर छलफल गर्ने र रणनीति बनाउने काम भइरहेको थियो। जुन खालको सञ्जाल देखिएको थियो त्यो भत्काउन समय र पैसा दुवै राम्रै खर्च हुने देखियो।

यहाँको अर्को समस्या भनेको साधन-स्रोतको हो। अनुसन्धान अनि यस्तो खालका अप्रेसनका लागि जुन खालको बन्दोबस्त हुनुपर्ने हो त्यो हुँदैन। अहिले पनि छैन। के पर्‍यो त्यो अनुसारको बन्दोबस्त हुनेभन्दा पनि जे छ त्यसैले काम गर्ने बाहेक अर्को विकल्प छैन यहाँ।

हेरोइनको कुन अड्डामा कति भाउ छ, को-को संलग्न छन्, भारतबाट पठाउने पहिलो श्रेणीका को-को छन् भनेर हेर्दा रक्सौलबाट धेरै हेरोइन भित्रिएको देखियो। दोस्रो तहका कारोबारी जसले त्यहाँबाट हेरोइन नेपाल भित्र्याएर डिलरसम्म पुर्‍याउँछन्, उनीहरुमा कति नेपाली अनि कति भारतीय?

तेस्रो तहमा स्थानीय डिलरहरु जसले सप्लायर्ससँग सामान लिएर लोकल एजेन्टलाई दिन्छन्। चौथो तहमा सामान खाने अड्डाहरुमा पुर्‍याएर बेच्ने। लोकल एजेन्टहरुमा बिक्री मात्र गर्ने, आफू पनि खाने अनि बच्ने पनि दुवै खालका हुन्छन्। अब प्रयोगकर्ताहरु पनि भई नै गए।

रणनीति बनाउँदा चरणबद्ध रुपमा कसरी तहगत सञ्जाल भत्काउने भन्नेमा बढी केन्द्रित भयौं। लागुऔषध नियन्त्रणका अप्रेसन दुई प्रकारका हुन्छन्- एउटा सप्लाई कन्ट्रोल, अर्को डिमान्ड कन्ट्रोल। 

डिमान्ड कन्ट्रोलको रणनीति बनाउने हो भने प्रयोगकर्ता केन्द्रित अप्रेसन मोडल बन्छ। प्रयोगकर्ता नियन्त्रणमा लिएर उनीहरुलाई कानुनी कारबाही या रिह्याबमा पठाएर प्रयोगकर्ताको संख्या घटाउने।

अर्को प्रयोगकर्तासम्म लागुऔषध पुर्‍याउने सप्लाई चेनमा रहेका विरुद्धको अप्रेसन मोडल। यसमा संलग्नहरुको संख्या हेर्दा यो डिमान्ड कन्ट्रोलभन्दा पनि सिधै सप्लाई चेनमै हिर्काउनुको विकल्प देखिएन।

त्यसैले सप्लाई कन्ट्रोल मोडलको रणनीति बनायौँ। 

अब सप्लाई कन्ट्रोलको पनि रणनीति हुन्छ। यसमा चाहिँ कारोबारी केन्द्रित रणनीति बनाउने कि सामान केन्द्रित भन्ने हुन्छ। अर्थात् जो कारोबारमा संलग्न छ उसलाई मात्र पक्राउ गर्ने प्राथमिकता कि सामान सहित पक्राउ गर्ने प्राथमिकता भन्ने हो।

कारोबारी मात्र पक्राउ महत्वपूर्ण हो भने सामान साथमा भएको समय होस् या नहोस् उसको पक्राउमा बढी केन्द्रित हुने हो। यस्तोमा व्यक्ति महत्वपूर्ण हुने भएकाले कारोबारी पक्राउ पर्दा लागुऔषध फेला नपर्न पनि सक्छ।

अब सामानसहित हो भने सामान भएको समय समेत पार्नुपर्छ। यस्तोमा सामान र व्यक्ति दुवै आउँछन् नै। अर्को उनीहरुले लागुऔषध राखेको स्थानमा छापा मारेर सामान बरामद गर्ने पनि रणनीति हुन्छ। यस्तोमा सामान पक्का भए पनि कारोबारी पक्राउ पर्ने या नपर्ने पक्का नहुन पनि सक्छ। 

यसमा हामीले हेरोइन केन्द्रित प्रहरी अप्रेसनको मोडल बनायौं। सामान मात्रै हैन, मान्छेसहित सामान। टार्गेट नेपालका एजेन्टहरु मात्रै हैन भारतमा बसेर नेपालमा हेरोइन पेलिरहेका दुई भारतीय नागरिक पनि।

उनीहरु पक्राउ नपरेसम्म उनीहरुले बोर्डरमा रहेकाहरुमार्फत नेपालमा हेरोइन पेलेकोपेल्यै गर्ने भएकाले पक्राउलाई मुख्य प्राथमिकतामा राख्यौं। तर गाह्रो थियो यो काम। उनीहरु नेपाल आउँदै आउँदैनथे। अब भारतीय क्षेत्रमा गएर भारतीय नागरिक पक्राउ गर्नु गाह्रो थियो।

प्रहरी अप्रेसन मोडल बनाउँदा नै उनीहरुले सम्पर्क माध्यम चाहिँ के बनाइरहेका छन् भनेर पनि हेरियो। त्यो बेलामा नेपालमा खुब पेजर चलिरहेको थियो। अधिकांश कारोबारीहरुले सम्पर्कका लागि पेजरको प्रयोग गरिरहेको खुलेको थियो।

सबै तहको सूचनाको विश्लेषण र रणनीति बनाइसकेपछि निष्कर्ष निस्कियो, पूरै सप्लाई च्यानल भत्काउन कमसेकम तीन वर्ष लाग्छ। अनि यो बीचमा पक्राउ पर्नसक्नेहरु कमसेकम एक हजार। निकै ठूलो अप्रेसन हुने भयो।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसँग यसबारे छलफल, परामर्श भइरहेको थियो। दुवै निकाय सकारात्मक नहुने कुरै भएन। 

०००
अप्रेसन सुरु गर्नुभन्दा अगाडि थप केही गर्न सकिन्छ कि भनेर कार्यालयमा छलफल गरिरहेका थिए। कार्यालयका फिल्ड अफिसर्स र सिनियर अफिसर्स छलफलमा थिए।

त्यही समयमा कुनै पत्रकार भेट्न आएको सूचना आयो। अति महत्वपूर्ण सूचना वा सूचना चुहिने जोखिम नभए यस्ता सामान्य छलफलमा परिचित पत्रकार आउँदा बन्देज गर्दिनथें म। खुला छलफलमा कहिलेकाहीँ पत्रकारबाट समेत गजबको आइडिया आउन सक्छ, जसले अनुन्धानमा सहयोग पुर्‍याउन सक्छ। तर यसरी खुला भेट नयाँसँग त सम्भव हुँदैन। २-४ पटक भेटिसकेको, लागुऔषधको गम्भीरता बुझ्ने त हुनुपर्‍यो।

उनी थिए, कान्तिपुर दैनिकका जितेन्द्र शाह। शाहले कान्तिपुरमा लागुऔषधबारे श्रृंखलावद्ध समाचार प्रकाशित गरिरहेका थिए। उनीसँग समाचा रकैक्रममा भेटिरहेकाले खुला छलफल भइरहेको स्थानमा उनी आउँदा त्यति असर पर्दैन भनेर त्यही कोठामा बोलाएँ।

उनी आए। सामान्य औपचारिकतापछि हामी त्यही छलफलतिर लाग्यौं।

प्राय: विशेष प्रकृतिको प्रहरी अप्रेसन चलाउँदा त्यसलाई संकेत गर्न स्पेसल कोड नेम राखिन्छ। यसले छलफलमा सहज पनि हुन्छ। गोपनीयता पनि राख्न सहज हुन्छ। उनी आएको बेलामा अप्रेसन मोडल लगायतका छलफल सकिइसकेको थियो। अप्रेसनको कोड नेम के राख्ने भनेरै छलफल भइरहेको थियो। 

शाहले बीचैमा भने, 'सर यसको नाम त अप्रेसन पेजर राखे होला नि?'

सोच्यौँ, ठिक छ त। नाम क्याची पनि छ अनि अप्रेसनसँग सम्बन्धित पनि।

अनि हामीले नेपालमा भित्रिरहेको हेरोइन कारोबार विरुद्धको प्रहरी अप्रेसनको नाम राख्यौं- अप्रेसन पेजर। यो गजब सफल भयो। लोकसेवाको परीक्षामा समेत अप्रेसन पेजर भनेको के हो भनेर प्रश्न सोधिएको थियो।

ब्याचका पुराना अंक

 

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....

वर्षको तीन महिना मात्र खुल्ने पसलका साहुजी विपिन

आकाशमा उड्न कम भएसँगै चंगा पसलहरू पनि हराउँदै गएका छन्। व्यापारीहरूले चंगा बेच्नै छाडिसके। अहिलेसम्म गरिरहेकाहरू अधिकांश पनि अर्को वर्ष नगर्नेमा पुगिसकेका छन्। काठमाडौंको रक्तकालीमा....

डा. हरिहरको पोष्टमार्टम अनुभव : बलात्कारपछि हत्या गरिएकी बालिकाको रिपोर्ट प्रहरीले आत्महत्या बनाएपछि...

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. हरिहरको विद्या, सीप र काम हो। मृत्युपछि गरिने....