उकेरा कोलम

ब्याच नम्बर ६९ : तस्कर पछ्याउँदा प्रहरी टोलीले गरेको 'सिल्ली मिस्टेक'


प्रहरीमा अनुसन्धान विधि र त्यसमा पनि पिछा कसरी गर्न सकिन्छ भन्ने विषयमा उल्लेख गरिरहेको छु। योभन्दा अगाडिको अंकमा जर्मनीबाट स्की टिमको सहजकर्ताको रुपमा नेपाल आएको जर्मन तस्कर र उसले नेपालमा गरेको गतिवधिबारे उल्लेख गरेको थिएँ।

नेपालमा स्की सम्बन्धी डकुमेन्ट्री बनाउन आउन लागेको टेलिभिजनको टिममा घुसेर चरेस तस्करीमा सक्रिय जर्मन नेपाल आएर कालिमाटीमा रहेको होटलमा बसेको थियो। त्यही होटलमा अर्को हेरोइन तस्करीमा संलग्न जर्मन समेत भेटियो।

लागुऔषध नियन्त्रण इकाइबाट पिछा गर्न खटिएको टोलीले एक गल्ती गर्दा जर्मनले चाल पाएर थापाथालीको चोकबाट गायब भएको प्रसंगमा पुगेर अघिल्लो अंक बिट मारेको थिएँ। अब बाँकी कुरा।

०००
थापाथलीमा जर्मन हराएपछि ऊ जहाँ-जहाँ जान्छ र जो-जसलाई भेट्छ, उनीहरुबारे सूचना संकलन गर्न खटिएको टिमले गल्ती गर्दा उसले आफूलाई कसैले पिछा गरिरहेको चाल पाएको थियो।

बेलुका पिछा गर्ने टिम कार्यालय फर्किएर सबै विवरण सुनाएपछि हाँसो लाग्यो। उनीहरुले 'सिल्ली मिस्टेक' गरेका थिए। जब जर्मनले एक पटक राउन्ट लगाउँदा पुग्ने ठाउँमा २ पटक राउन्ड लगायो नि, टिमले त्यही बेला बुझ्नुपर्ने हो, उसले आफूलाई शंका लागेको पुष्टिका लागि यस्तो हर्कत गरेको हो भनेर। 

जब पिछा गरेको व्यक्तिले अनावश्यक रुपमा कुनै हर्कत गर्छ नि, यस्तो बेलामा चट्ट छाडेर हिँड्नुपर्छ। उसलाई शंका हुनासाथ छाड्नुपर्छ। 

किनकी, ऊ कहाँबाट निस्कन्छ र कहाँ जान्छ भन्ने जानकारी त छ नि टिमसँग। यति दुई कुरा थाहा भएपछि त फेरि उसलाई फलो गर्न सकिहालिन्छ। उसले शंका गर्दागर्दै फलो गर्योल भने सबै कुरा बिग्रिहाल्छ। 

मलाई फलो गरेको छ भनेर ऊ जहाँ पायो त्यहीँ गइदिन सक्छ। टिमलाई अन्योलमा पार्न सम्बन्ध नै नभएकोसँग भेट्न सक्छ। यसले टिम मिसलिड हुनसक्छ। त्यसैले यस्तोमा निगरानी समूह निकै चलाख हुनुपर्छ।

निगरानीबारे सुरक्षा संगठनमा प्रशिक्षण नहुने होइन, हुन्छ। तर धेरै कुरा फिल्डमा खटिएरै सिकिन्छ। अब तालिम हुँदा पिछा गरिरहेको व्यक्तिले शंकास्पद व्यवहार गरेमा छाड्नुपर्छसम्म भन्ने त हो। कसैले एक चक्कर लगाउनुपर्नेमा ठाउँमा दुई चक्कर लगाएमा पिछा गर्न छाड्नुपर्छ त भन्दैनन्। 

कुन व्यवहार शंकास्पद हो अनि कुन हैन, त्यो त कार्यक्षेत्रमा खटिनेले आफैँ पहिल्याउने पक्ष हो। जस्तो एक चक्कर लगाउनुपर्ने ट्राफिक आइल्यान्डमा दुई चक्कर लगाउनु  शंकास्पद व्यवहार थियो। उसले कसैले मलाई पिछा गरेको छ कि भनेर जाँच गर्न अनावश्यक रुपमा दुई चक्कर मारेको थियो। कसैले चक्कर नमारेको भए ऊ ढुक्क हुने थियो। तर हाम्रा केटाहरु पिछा गर्ने सुरमा एकोहोरो हुँदा उनीहरुले उसको शंकास्पद व्यवहार पहिल्याउनै सकेनन्।

त्यो घटनापछि हामीले उसलाई दुई दिनसम्म त्यत्तिकै छाड्यौं। उसले गर्ने फोन कल अनि उसको टिमको गतिवधि भने निगरानीमा थियो। ऊ आउने विन्दु र जाने विन्दु निगरानीमा थियो नै। तेस्रो दिनबाट मात्र फेरि पिछा गर्न सुरु गर्यौँ ।

स्कीको डकुमेन्ट्री बनाउन आएको समूह सगरमाथा बेस क्याम्प गयो। आवश्यक पर्यो  भने जस्तो स्थानमा पनि टिम पठाउँछौ। तर यसमा सगरमाथा बेस क्याम्पसम्मै फलो गर्नुपर्ने अवस्था थिएन। 

त्यो जर्मन के कामका लागि नेपाल आएको हो भन्ने पहिल्याउने र उसको नेपालमा रहेको नेटवर्क पत्ता लगाउने मात्र हाम्रो उद्देश्य थियो। उसले चरेस या हेरोइन लैजान्छ या लैजाँदैन त्यो त हेरिने पक्ष भइनै हाल्यो।

टिम सगरमाथा बेसक्याम्पमा बसेर डकुमेन्ट्री बनाएर काठमाडौँ फर्कियो। उनीहरु जर्मनी फर्कने दिन पनि लागुऔषध नियन्त्रण ब्युरोको टोली एयरपोर्टमा निगरानीमै थियो। उनीहरुको सबै सामानको जाँच भयो। कतै लागुऔषध फेला परेन। उनीहरुसँगै त्यो जर्मन तस्कर पनि फर्कियो।

हाम्रो नियमित निगरानीमा ती जर्मन नागरिक नेपालबाट चरेस या हेरोइन लैजान आएको देखिएन। उनीहरुले पहिला तस्करी गरे पनि बीचमा ग्याप भएको रहेछ। नेपालमा रहेको उनीहरुको सम्पर्क सूत्र भत्किएकाले पुराना व्यक्तिहरुसँग पुन: सम्बन्ध बनाउन दुवै जना नेपाल आएको देखियो।

हामीले आवश्यकता अनुसार चाहिने सूचना हामीसँगै राख्यौँ। उता जर्मनी पठाउनुपर्ने विवरण जर्मनी पठायौँ।

यो केसमा सर्सर्ती हेर्दा त्यत्रो लामो समय पिछा गर्दा पनि न कोही व्यक्ति फक्राउ पर्‍यो न कुनै सामान नै फेला पर्‍यो। त्यसैले यो अप्रेसन असफल भयो भन्ने लाग्नसक्छ। तर हैन।

हरेक अनुसन्धानको सफलताको मापन व्यक्ति पक्राउ या सामान बरामदका आधारमा मात्र हुँदैन। कुनै पनि अनुसन्धानको सूचना र त्यसमा लगाएको समय खेर जाँदैन। कुनै न कुनै विन्दुमा त्यो काम लाग्छ नै।

संगठित अपराध त्यसमा पनि लागुऔषधमा आउने सूचना लामो समयका लागि हो। त्यसलाई परिपक्व बनाएर अप्रेसन तहसम्म पुर्या उन थप मिहिनेत गर्नैपर्छ। कुनै-कुनै केस त १२ वर्षपछि पनि सफल भएका छन्।

जस्तो यो केसमा जो जर्मनीबाट आएको व्यक्ति थियो, उसको नेपालमा को-कोसँग सम्बन्ध रहेछ भन्ने प्रष्ट दृष्य त आयो नि।

केही हाम्रो नोटिसमा रहेका तर उनीहरु तस्करीमा संलग्न छन् या छैनन् भन्ने पक्का नभएकाहरु पनि थिए। उनीहरुसँग त्यो जर्मनको सम्पर्क भएपछि उनीहरु कुनै न कुनै रुपमा अन्तर्राष्ट्रिय तस्कर समूहसँग संलग्न छन् है भन्ने पुष्टि भयो। त्यसले उनीहरुमाथि थप निगरानी बढाउन सजिलो भयो।

कुनै नयाँ व्यक्ति देखिए, जसलाई निगरानीमा राख्न सकियो। जो नयाँ व्यक्तिहरु देखिए उनीहरु पुन: अर्को तस्कर समूहको सम्पर्कमा आएमा उनीहरु तस्करीमा सक्रिय रहेको पक्का हुने भयो। त्यसले उनीहरुलाई निरन्तर निगरानीमा राखेर ठूलो समूह भत्काउन सहज हुने भयो।

उसले गरेका फोन कलहरुले कहाँ-कहाँ उसको सम्पर्क रहेछ भन्ने खुल्यो। फोन सम्पर्कमा देखिएका देशका प्रहरीलाई जानकारी दिएर उनीहरुलाई उता पनि निगरानीमा राख्न सकियो।

यसरी फलो गरेर पनि व्यक्ति पक्राउ नगरेको या सामान बरामद नभएको केसले पनि भोलिका दिनमा अनुसन्धान गर्न सहज बनाउँछ। पहिल्यै सूचनाहरु त आएका हुन्छन्। त्यसलाई सम्बन्ध र सम्पर्क जालो बुन्दै जाँदा ठूलो अप्रेसन सफल हुन्छ। 

त्यसैले प्रहरीमा निगरानी र पिछा गर्नु एक विशिष्ट कला हो। पछिल्लो समय यसमा दक्ष जनशक्तिहरु कम हुँदै गएका छन्। लागुऔषध अनुसन्धान अनि विशेष ब्युरोको मुटु नै यस्तै सिप भएका जनशक्ति हुन्। अहिले त मानव बेचबिखनको अपराध पनि बढेको छ। त्यसमा पनि यस्तो सिप भएको जनशक्ति चाहिन्छ नै। 

त्यसैले, अब यस्ता जनशक्ति बढाउन र उनीहरुको क्षमता बढाउन अति आवश्यक भइसक्यो। बेलैमा त्यो अभाव पूरा गरिएन भने भोलि संगठित अपराधको जालो भत्काउन कठिन हुन्छ।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....

वर्षको तीन महिना मात्र खुल्ने पसलका साहुजी विपिन

आकाशमा उड्न कम भएसँगै चंगा पसलहरू पनि हराउँदै गएका छन्। व्यापारीहरूले चंगा बेच्नै छाडिसके। अहिलेसम्म गरिरहेकाहरू अधिकांश पनि अर्को वर्ष नगर्नेमा पुगिसकेका छन्। काठमाडौंको रक्तकालीमा....

डा. हरिहरको पोष्टमार्टम अनुभव : बलात्कारपछि हत्या गरिएकी बालिकाको रिपोर्ट प्रहरीले आत्महत्या बनाएपछि...

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. हरिहरको विद्या, सीप र काम हो। मृत्युपछि गरिने....