उकेरा कोलम

ब्याच नम्बर ६९ : पिछा गर्दागर्दै थापाथली चोकमा जर्मन तस्कर गायब


अपराध अनुसन्धानका सबै केसमा शंका लाग्नासाथ व्यक्ति पक्राउ गरिँदैन। अझ संगठित प्रकृतिको अपराधमा त कुनै व्यक्ति पक्राउ गर्नु अगाडि धेरै चरणका अनुसन्धान पूरा गरेर, प्रमाण संकलन गरेर मात्र पक्राउ गरिन्छ। यस्तोमा निगरानी विधि महत्वपूर्ण हुन्छ।

कुनै व्यक्ति अपराधमा संलग्न हुनसक्छ या छ है भन्ने मात्र सूचना आउन सक्छ। अब यस्तो सूचना पाएलगत्तै गएर पक्राउ गरेर 'ल भन्, तँ अपराधी होस् कि होइनस्, तैंले अपराध गरेको छ रे त' भनेर त अनुसन्धान सफल हुन्न नि। त्यसका लागि जो व्यक्तिबारे सूचना आएको हो, सूचना सही हो या होइन भनेर भेरिफाइ गर्नुपर्छ। यसका लागि उसको कनेक्सन खोज्ने त छँदैछ, उसलाई निरन्तर निगरानीमा राखेर पनि प्रमाणहरु संकलन गर्न सकिन्छ।

निरगानी भनेको व्यक्ति कहाँ जान्छ, के-के गर्छ अनि कोसँग भेट्छ भन्ने सूचना संकलन गर्ने त हो भन्ने लाग्न पनि सक्छ। तर यो बढो गाह्रो काम हो। अनुभवी एक्सपर्टले मात्र यो काम गर्नसक्छ। यसको अनुभवै नभएका व्यक्ति निगरानीमा खटियो भने केस बिग्रन्छ। बिग्रिएका पनि छन्।

एकातिरबाट हेर्दा हामीले निगरानी गरिरहेको त हो नि भन्ने लाग्छ। जसको निगरानी गरिरहेको हो उसले पनि त निगरानी गरेको हुनसक्छ नि। उसलाई शंकै नहुनेगरी पछि-पछि लागेर, नजिक भएर, नजिक बसेर सूचना लिनु बढो जोखिम र गाह्रो काम हो।

यस्तै निगरानीबारेको एक घटना उल्लेख गर्दैछु।

०००
जर्मनीबाट सूचना आयो, 'सगरमाथाको बेस क्याम्पमा स्कीको डकुमेन्ट्री बनाउने एउटा टिम नेपाल आउँदैछ। त्यो टिमको एक जना चरेस कारोबारमा जोडिएको व्यक्ति हो।'

विश्वको चर्चित स्किअरबारे डकुमेन्ट्री बनाउने तयारी भएको रहेछ। जर्मनीमा टिभी वानदेखि नाइनसम्मको एक टेलिभिजन च्यानल छ। त्यही टेलिभिजनको टिम डकुमेन्ट्री बनाउन नेपाल आउन लागेको रहेछ। उनीहरु नेपाल आउनु अगाडि नेपाल बुझेका विज्ञ जो जर्मनी पनि जान खोजेका रहेछन्। एक जना जर्मन उनीहरुको सहयोगी बन्न तयार भयो।

ऊ पटक-पटक नेपाल आइसकेको थियो। डकुमेन्ट्री बनाउन आउने टिमलाई सघाउन जो नेपाल आउँदै थियो ऊ जर्मनीमा कुख्यात चरेस तस्करको रुपमा परिचित रहेछ। ऊबारे धेरै सूचना भएको तर प्रमाण पुगिनसकेकाले उसलाई पक्राउ भने गरेको रहेन छ।

तर, डकुमेन्ट्री बनाउने टेलिभिजनको टिमलाई भने त्यो व्यक्तिको आपराधिक प्रोफाइलबारे जानकारी थिएन। जो व्यक्ति सहयोगी बनेर नेपाल आउन राजी भएको थियो उसको आर्थिक अवस्था यसरी टिमको सहयोगी बन्दै अर्थोपार्जन गर्नुपर्ने हैसियतको पनि होइन। त्यसैले पनि ऊ नेपाल आउने भएपछि पक्कै केही न केही योजना त हुने नै भयो।

उताबाट उनीहरु नेपाल आउने फ्लाइटको डिटेलदेखि लिएर शंका लागेको व्यक्तिको तस्बिरसम्म सबै विवरण आइसकेको थियो। निगरानीका लागि विमानस्थलमा रहेको टिमलाई अलर्ट गरिसकेको थियो लागुऔषध नियन्त्रण कार्यान्वयन इकाइले।

उनीहरु आउने दिन म पनि विमानस्थलमा पुगें। डुङगुर सामान बोकेर आएका थिए। क्यामेराहरु, स्की गिएर के-के हो के-के।

समस्या कस्तो भने, अब त्यो टिमले थाहा पाउनेगरी सामानको जाँच गर्न पनि भएन। उनीहरु त डकुमेन्ट्री बनाउन आएका हुन् नि। सहयोगी बनेर एक जना बदमास टिममा छिरेको छ भन्ने उनीहरुलाई थाहा पनि थिएन। त्यसैले सकेसम्म उनीहरुलाई हामीले अलि बढी नै निगरानी गर्यौं भन्ने भान नपर्ने गरी सबै सामानको जाँच गर्‍यौं। त्यस्तो शंका लाग्ने केही फेला परेन। टिमको डकुमेन्टहरु जम्मा गर्‍यौं।

त्यो टिम जताजता जान्छ, उनीहरुलाई पछ्याउन विमानस्थलमै अर्को निगरानी टिम राखिसकेका थियौं। उनीहरु कुन होटलमा बस्छन्, अझ विशेष शंकास्पद जर्मन नागरिक कहाँ जान्छ, को-कोसँग भेट्छ सबै सूचना संकलन गर्ने टिमको दायित्व थियो।

उनीहरु विमानस्थलबाट निस्किए। गाडी लिएर हिँडे। निगरानी टिम विमानस्थलबाटै पछि लाग्यो। उनीहरु कुपन्डोलमा रहेको ग्रिनविच होटलमा गए। सबै जना होटलमा गएको केही समयमा शंका लागेको व्यक्ति निस्कियो। टिम उसको पछि लाग्यो। ऊ ट्याक्सीमा कालिमाटी आइपुग्यो। कालिमाटीमा साल्ट ट्रेडिङको अफिस छ नि अहिले, त्यो नजिकै एउटा होटल थियो। होटलको नाम चाहिँ बिर्सिएँ।

सबै जना कुपन्डोलको होटलमा बसेका छन्। ऊ भने त्यो होटलमा गएर एक्लै कोठा लिएर बस्यो। पक्का भयो, यो केवल डकुमेन्ट्री बनाउने समूहलाई सहयोग गर्ने नियतले मात्र नेपाल आएको हैन भन्ने।

इकाइमा अनन्त शर्मा नामका असई थिए। अहिले उनी बढुवा भएर डिएसपी भइसके। अतुल रोमखामी लगायतको टिम थियो। अतुल सर्भिलेन्समा अति राम्रो। अनुभवी। उनी प्रहरी संगठन छाडेर अमेरिका गए।

शंका लागेको व्यक्ति अर्कै होटलमा बसेपछि निगरानी समूह दुईतिर बस्नुपर्ने भयो। एक जना त्यही होटलमा, अर्को स्की टिम भएको होटलमा। कुपन्डोलमा अहिले पो घनाबस्ती भयो। त्यो बेला त कहाँ यस्तो थियो र! घरहरु नभएको ठाउँमा बसेर निगरानी गर्न साह्रै कठिन हुन्छ।

अब होटलभित्रै बसेर मात्र निगरानी हुँदैन। बाहिर बस्ने कुनै ठाउँ नभएपछि खाली ठाउँमा एकै व्यक्ति बसेको बस्यै गर्यो  भने त जसको निगरानी गरिरहेको हो, उसले शंका गर्न सक्छ नि। शंका भयो भने निगरानी सकियो। किनकी त्यसपछि ऊ सजग हुन्छ।

यता चरेस तस्करीमा संलग्न जर्मन बसेको होटलमा निगरानीका लागि होटलमै एक जना प्रहरीलाई ग्राहक बनाएर राख्दा सहज हुने देखियो। अनन्तलाई एउटा कोठा लिएर त्यही होटलमा राखियो। अर्को टोली उता अर्को होटलमा रहेकाहरुको निगरानीमा खटियो।

यता कालिमाटीको होटलमा रहेका ग्राहकहरुको विवरणहरु खोज्दा त्यही होटलमा अर्को जर्मन नागरिक पनि बसिरहेको देखियो। त्यसको पासपोर्ट कपी लगायतका विवरण संकलन गरेर जर्मनी पठाउँदा पहिल्यै जो होटलमा बसेको थियो त्यो पनि कुख्यात हेरोइन तस्कर निस्कियो। ऊ कहाँ छ भनेर जर्मनहरुले खोजिरहेका रहेछन् तर नेपालमा भएको थाहा रहेनछ।

चरेस चस्कर त्यो होटलमा बस्न जाँदा अर्को हेरोइन तस्कर पनि छ भन्ने खुल्यो। अब एकै होटलमा कुख्यात हेरोइन र चरेस तस्करको निगरानी सुरु भयो।

दिनभरि निगरानी टोलीले निगरानीबाट को कहाँ गयो, कसलाई भेट्यो, कहाँ फोन गर्‍यो अनि सम्भव भए के कुरा गर्‍योसम्मको विवरण संकलन गर्थ्यो अनि बेलुका सबै बसेर सूचनाको विश्लेषण र अब के गर्न सक्छन् भनेर छलफल गर्थ्यौं। अहिले बेलुका बसेर टिमसहित छलफल गर्ने प्रचलन घट्दै गएको देख्छु म प्रहरीमा।

मेरो दृष्टिकोणमा अपराध अनुसन्धानमा समूहगत छलफल र विश्लेषण अति महत्वपूर्ण हो। सबैमा सबै खालको सिप हुँदैन। हरेक व्यक्तिमा केही न केही नयाँ सिप हुन्छ।

यसरी समूहमा बसेर छलफल गर्दा टिममा रहेका कुनै सदस्यले सोच्दै नसोचेको एंगलबाट विश्लेषण गरेर सोच्दै नसोचेको अपराधी समेत पक्राउ परेका छन्। इकाइमा चाहिँ छलफलको प्रचलन कायम थियो।

०००
दुई दिनपछि चरेस तस्करीमा संलग्न जर्मन नागरिक कालिमाटीको होटलबाट निस्किएर कुपन्डोलको होटल जान हिँड्यो। ऊ मोटरसाइकलमा थियो। उसले आरएक्स बाइक भाडामा लिइसकेको थियो। होटलमा निगरानीका लागि बसेको हाम्रो टिमले पनि मोटरसाइकलमै पिछा गर्न थाल्यो।

थापाथली चोक पहिला अहिले जस्तो थिएन। बीचमा ट्राफिक आइल्याण्ड थियो। त्यो आइल्याण्ड घुमेर जानुपर्थ्यो। उसलाई कसैले मलाई पिछा गरिरहेको छ कि भन्ने शंका लागेको रहेछ। उसले थापाथली चोकमा भएको ट्राफिक आइल्याण्डमा दुई राउण्ड लगायो। हाम्रा केटाहरु पनि पिछा गर्दै दुई राउन्ड लगाए। त्यसपछि ऊ मोटरसाइकलमा कता हिँड्यो कता।

बेलुका निगरानीमा खटिएको टिमका केही सदस्यसँग बसेर कार्यालयमा छलफल गर्यौं। उनीहरुले कसरी पिछा गरियो अनि कसरी ऊ हरायो भने। मलाई हाँसो लाग्यो।

बढो चलाख रहेछ त्यो जर्मन। उसले कसैले शंका गरेको छ कि छैन भनेर पक्का गर्न एक राउन्ड मारे पुग्ने ट्राफिक आइल्याण्डमा दुई चक्कर लगाएको थियो। हाम्रो टिमले आँदो भएर उसको पछि-पछि दुई राउन्ड नै लगाएपछि पिछा गरिरहेको उसलाई पक्का भयो नि। अब उसले दुई राउन्ड लगाउँदा उसलाई कसैले पछ्याएको थिएन भने अनावश्यक रुपमा दुई राउन्ड नै लगाउँदैन नि।

मैले भनें, 'तिमीहरुले पिछा गर्दा दुई राउन्ड लगाएर गल्ती गर्यौ । उसले पिछा गरेको चाल पायो।'

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....