उकेरा कोलम

ब्याच नम्बर ६९ : सामान्य सूचना पछ्याउँदा विश्वको शक्तिशाली आपराधिक समूहका सदस्य फेला परे


टिम वर्क र व्यक्तिगत जनसम्पर्क भयो भने प्रहरीमा कस्ता सूचना आउँछन् अनि सामान्य लागेका व्यक्तिहरु पनि कति जटिल अपराधमा संलग्न हुन सक्छन् भन्ने देखाउन यो अंकमा दुई वटा घटना उल्लेख गर्छु।

यस्तोमा चाहिँ व्यक्तिको स्वभावमा भर पर्छ। कुनै-कुनै प्रहरीमा अनौठो बानी हुन्छ जसले नसोचेका सूचनाहरु आउँछन्।

दिवस उदास त्यस्तै एक निकै प्रोफेसनल प्रहरी अफिसर थिए। गजबको काम गर्ने। उनको एउटा अनौठो बानी थियो, जहाँ गयो त्यहाँ सम्बन्ध बढाइहाल्ने। सानोदेखि ठूलोसम्म उस्तै राम्रो सम्बन्ध बनाउने। हाई-हेलो मात्रै हैन क्या, विश्वासिलो सम्बन्ध।

ठमेलमा कार्यालय हुँदा ठमेलभरिकासँग सम्बन्ध बनाइसकेका थिए। नयाँ बानेश्वर आयो, त्यस्तै। जहाँ बस्यो त्यहाँको पब्लिकसँग सम्बन्ध बनाउने। उनीहरुसँग भेट्ने। सम्बन्ध राखिराख्ने। यस्तो बानी धेरैमा हुन्न। फिल्डको सूचना प्रहरीका लागि सबैभन्दा महत्वपूर्ण सूचना हो। त्यही फिल्डबाट आउने कच्चा सूचनालाई केलाएर, त्यसको सम्बन्ध जालोहरु जम्मा पारेर, अन्तबाट जानकारी लिनुपर्ने भएमा सूचना लिएर विश्लेषण गरेपछि नै एउटा तस्बिर बन्छ, ए यस्तो रहेछ भनेर।

त्यसैले फिल्डमा जुन प्रहरीको बलियो सम्बन्ध हुन्छ ऊ सूचनाको खानी नै हो। दिवस त्यस मानेमा सूचनाको खानी नै थिए। अपत्यारिला सूचनाहरु आइरहन्थे उनलाई। यस्ता धेरै केस छन्। यो अंकमा त्यसमध्ये २ वटा उल्लेख गर्छु है त।

०००
ठमेलको एक होटलमा अनौठो स्वभाव भएको जापानिज आएर बसेको छ भन्ने सूचना आयो। ऊ गेष्ट हाउसको कोठामा गएर बसेपछि कोठाबाट बाहिरै ननिस्कने। आफू त बाहिर निस्किएन नै कोठामा अरु कसैलाई छिर्न पनि नदिने।

खाना अनि खाजा लगायत जे लिनुपर्यो कोठाको ढोकामै लिने। भाँडाहरु पनि ढोकामै दिने। कोठा सफा गर्ने होटलको कर्मचारी पनि कोठामा छिर्न नदिने। आफैँ तौलिया, तन्दाहरु ढोकामा लिने अनि ढोकामै दिने। त्यहाँका कर्मचारीलाई अनौठो लागेछ त्यो। उनीहरुले कुरैकुरामा कस्ता-कस्ता गेष्ट आउँछन् भन्दै दिवसलाई यो कुरा सुनाएका थिए।

त्यहाँ त दिवसले त्यसलाई हुन्छन् कोही-कोही अनौठा भनेर सामान्यझैँ देखाए। तर त्यो त हाम्रा लागि गजबको सूचना थियो। कार्यालयमा आएर उनले सबै कुरा भनेपछि पक्कै केही गडबड हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौं र अनुसन्धान सुरु गर्यौं।

एक जना प्रहरी कर्मचारीलाई त्यो होटलमा निगरानीका लागि खटायौँ। उसलाई केही अफ्रिकी मुलका नागरिकहरु भेट्न आउने गरेका थिए। नेपालका केही चरेस कारोबारीसँग पनि उसको सम्पर्क देखियो। त्यो बेलामा लागुऔषध कारोबारमा अफ्रिकी नागरिकहरुको संलग्नता बढेकाले ठूला अप्रेसनहरु पनि भइरहेका थिए।

हामीले त्यो जापानिजबारे डकुमेन्टहरु जम्मा गर्न थाल्यौं। उसका कल डिटेलहरु हेर्न थाल्यौं। केही थप जानकारीका लागि जापानमा पठाएर सूचनाहरु माग्यौं। उता पनि अनुसन्धान सुरु भयो। यता हामीले पनि अनुसन्धान गरिरहेका थियौँ।

ती व्यक्ति जापानको संगठित आपराधिक समूह याकुजाका सदस्य रहेको खुल्यो। तर उनी नेपाल किन आएका थिए त्यो प्रस्ट हुन सकेन। होटलबाट लागुऔषधको कारोबार भएको थिएन। भेट्न आउनेले पनि लागुऔषध ल्याउने वा लैजाने नगरेकाले हामी निगरानी र सूचना संकलनमै बढी केन्द्रित भयौँ।

ऊ याकुजाको सदस्य रहेको पुष्टि भएपछि अझै नेपालमा याकुजाका सदस्यहरु आउने गरेको पक्का सूचना त भयो नि। त्यो हाम्रा लागि महत्वपूर्ण सूचना थियो अलर्ट हुनका लागि। अनि जापानमा पनि याकुजाहरु नेपाल गइरहेको सूचनाले उनीहरुलाई पनि अलर्ट गरायो।

हामीले उसको सामानहरु जाँच गर्यौं। चुरोट तान्ने पाइपमा चरेस गन्हाएको थियो। तर चरेस फेला परेन। अब चरेस गन्हाएकै आधारमा पक्राउ गर्ने कुरा भएन। उसलाई पक्राउ गरेनौँ। नेपालबाट जापान गएपछि उता पनि उसको सबै चेकजाँच भएको थियो। केही फेला परेन। तर महत्वपूर्ण सूचना त आयो नि याकुजाबारे।

०००
अर्को सूचना चाहिँ अफ्रिकी नागरिकबारे थियो। एक जना अफ्रिकी नागरिक ठमेल क्षेत्रमा घरै भाडामा लिएर बसेका रहेछन्। लामो समयदेखि उनी त्यो क्षेत्रमा बसेकाले स्थानीयलाई कतै यो अपराधी त हैन भन्ने शंका भयो। उनीहरुले दिवससँगको भेटमा यो सूचना दिए।

अफ्रिकी नागरिक त्यो बेलामा बढी नै निगरानीमा थिए। नेपालमा मात्रै हैन बाहिर पनि। ऊ हाम्रो निगरानीमा आइहाल्यो। उसको गतिविधिमाथि निगरानी राख्न एक जना कर्मचारी खटाइहाल्यौं। यता-उता गरेर उसको पासपोर्टको कपी फेला परिहाल्यो। 

निरन्तर निगरानीमा राख्दा पनि पक्राउ गरिहाल्नुपर्ने कुनै शंकास्पद गतिविधि गरेनन्। सामान्य रुपमा घरमा बसेका थिए। यसो बाहिर निस्कन्थे। शंकास्पद व्यक्तिहरुसँग सम्पर्क पनि थिएन। भेटघाटमा त्यस्ता कोही परेका पनि थिएनन्।

तैपनि, त्यसबारे थप केही जानकारी हुनसक्छ कि भनेर अमेरिकीहरुलाई त्यसबारे जानकारी दियौं। यताबाट उसको पासपोर्टको कपी पठाएलगत्तै उताबाट फोन आइहाल्यो। यस्तोमा नेपालको दूतावाससँग हैन, सिधै उतै सम्पर्क हुन्थ्यो हाम्रो। हामीले गर्ने सहकार्यबारे यता थाहै हुँदैनथ्यो।

उताबाट फोन गरेर सोधे, 'योबारे को-कसलाई थाहा छ?'

म, दिवस अनि निगरानीमा खटिएका जीवलाल पाण्डे बाहेक अन्यलाई जानकारी थिएन। हामीले यो बीचमा उसको सम्पर्क जालोहरु केलाइसकेका थियौँ। उसले बाहिरतिर धेरै कलहरु गरिरहेको थियो। मुख्य साउथ-इस्ट एसियातिर।

प्राय: यस्तोमा जुन-जुन देशमा कल गएको हुन्छ त्यसबारे जानकारी पाउन सम्बन्धित देशमा नम्बर पठाएर जानकारी माग्ने काम हुन्थ्यो। तर यो केसमा हामीले त्यो पनि गरिसकेका थिएनौँ। गम्भीर शंका गरिहाल्नुपर्ने गरी उसका गतिविधि भएका पनि थिएनन्।

उनीहरुले कसैलाई केही नभन्नु हामी आउँछौँ भने। मैले त कुरै बुझिनँ। उनीहरु किन त्यति सिरियर भइरहेका छन्? मैले सोधे, 'त्यस्तो गम्भीर शंका गर्नुपर्ने त केही देखिएको छैन। कुरा के हो भनेर।'

उनीहरुले कसैलाई नभन्नु, हामी भोलि आउँछौं अनि उतै कुरा गरौँला भने। दोस्रो दिन दिल्लीमा रहेको अमेरिकी टिम नेपाल आइहाल्यो। उनीहरुको सिरियसनेस देख्दा त्यो व्यक्ति ठूलै अपराधमा संलग्न रहेको हुनुपर्छ भन्ने मात्र भयो।

उताबाट टिम आएपछि संयुक्त अनुसन्धान सुरु गर्यौं। हामीले उसका सम्पर्क नम्बरहरु संकलन गरिसकेका थियौँ। उनीहरुले त्यसलाई समेत आधार बनाएर अनुसन्धान गर्न थाले। 

अमेरिकाको ड्रग्स कन्ट्रोल ब्युरोले लागुऔषध कारोबारमा संलग्न एक अफ्रिकी समूहबारे अनुसन्धान गरिरहेको रहेछ। उनीहरुको अनुसन्धानमा त्यो समूहको सञ्जालमा विश्वका ४५ देशमा सक्रिय रहेको खुलिसकेको रहेछ। जुन व्यक्तिलाई हामीले निगरानीमा राखेका थियौँ, ऊ त्यही समूहको सदस्य रहेछ। अमेरिकीहरुको अनुसन्धानमा समेत नेपालमा समेत उनीहरुको नेटवर्क रहेको खुलेको रहेनछ। 

एक सामान्य सूचनालाई पछ्याउँदा विश्वको शक्तिशाली आपराधिक समूहको सदस्य नेपालमा बसिरहेको खुल्यो। यदि सर्वसाधारणसँग बलियो सम्बन्ध नभएको भए यस्ता सूचना आउने सम्भावना थिएन। जसले सूचना दिन्छ नि उसले महत्वपूर्ण सूचना भनेर दिएको पनि हुन्न। यस्तो यस्तो भइरहेको छ। को होला भनेकै आधारमा कच्चा सूचना आएको त हो।

हाम्रो अनुसन्धानमा सो समूहले नेपाललाई कम्युनिकेसनको बेस बनाएको खुल्यो। अन्य देशमा बसेर कल गर्दा असुरक्षित हुने भएकाले उनीहरु नेपालको कम्युनिकेसन पद्धति र सरकारी संयन्त्र सबैबारे बुझेर नेपालमा आएका रहेछन्। 

विभिन्न देशमा छरिएका एजेन्टहरुले एक-अर्कासँग सिधै सम्पर्क गर्दा सुरक्षा निकायको नजरमा पर्नसक्ने भएकाले उनीहरुले एक देशबाट अर्को देशमा सूचना पठाउन नेपालमा रहेका त्यही व्यक्तिलाई फोन गर्ने र उसले सूचना पठाउने गर्ने रहेछ।

जस्तो भारतमा रहेका सदस्यले मलेसियामा रहेका एजेन्टलाई कुनै सूचना पठाउनुपर्यो भने नेपालमा फोन गरेर उसलाई टिपाउने अनि नेपालमा रहेकोले मलेसियामा फोन गरेर भन्ने। उताबाट आएको सूचना भारतमा रहेका सदस्यलाई दिने।

जो नेपालमा बसेका थिए, उसले कुनै अपराध गरेका थिएनन्। त्यसैले पक्राउ गरेनौँ। उसले नेपालालाई कम्युनिकेसन बेस बनाएकाले अमेरिकीहरुले भने पर्याप्त कल डिटेलहरु जम्मा पार्न सकें, जसले उनीहरुको अनुसन्धानलाई निकै सघायो। हामीले उसलाई केही गरेनौँ। अमेरिकीहरु पनि चाहिने सूचना लिएर फर्किए।

हाम्रा लागि पनि नेपालमा कुन तहको आपराधिक संगठनका सदस्यसम्म आउने रहेछन्। अनि कुन प्रयोजनका लागि नेपालमा बस्छन्, कता-कता उनीहरुको सम्बन्ध र सम्पर्क छ भन्ने महत्वपूर्ण सूचना आयो। तत्काल ती सूचना अनुसार प्रहरी अप्रसेन भएन। तर ती सूचना कुनै न कुनै अनुसन्धानमा पक्कै काम लाग्छन् नै।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....