ब्याच नम्बर ६९ : चार्ल्स शोभराजको कल डिटेल संगठनले पटक-पटक माग्यो तर मैले भएर पनि दिइनँ

ब्याच नम्बर ६९ : चार्ल्स शोभराजको कल डिटेल संगठनले पटक-पटक माग्यो तर मैले भएर पनि दिइनँ

अनुसन्धानको क्रमका इन्टेलिजेन्स रिपोर्ट र अप्रेसनल रिपोर्टबारे लेखिराखेको छु। यसभन्दा अगाडिको अंकमा मिर्जा दिलसाद बेग र दाउद इब्राहिमबीचको सम्बन्ध खुलाउने गरी बेलायतबाट आएको इन्टेलिजेन्स रिपोर्ट कसरी सार्वजनिक भयो अनि बेलायतबाट त्यो सूचना दिने निकायका अधिकारी कसरी रिसाए भन्ने उल्लेख गरेको थिएँ।

साँच्चै त्यो घटना सम्झिँदा अहिले पनि मेरो चित्त दुख्छ भन्या। यो इन्टेलिजेन्स सूचना हो। सार्वजनिक नगरौँ। यदि सार्वजनिकै गर्नुपर्ने भए जसले सूचना दिएको हो उसको अनुमति मागौँ भन्दा मिर्दा हत्या सम्बन्धी अनुसन्धान गर्ने समितिका हाकिमहरुले मान्दै मानेनन्। प्रतिवेदनमा उताबाट आएको विवरण मात्र राखेको भए पनि ल गरिहाले भन्नेर चित्त बुझाउनु। उताबाट फ्याक्सबाट आएको पत्रै राखिदिए प्रतिवेदनमा। 

कति दु:ख गरेर बनाएको हुन्छ सम्बन्ध। लामो सम्बन्ध जब विश्वासमा बदलिन्छ नि अनि मात्र आउँछ सूचनाहरु। यति महत्वपूर्ण सूचना दिनेहरु नै रिसाउने गरी काम गरेपछि चित्त त दुख्ने नै भयो नि। के गर्ने यस्तै छ। सुरक्षा संगठनमा काम गरे पनि इन्टेलिजेन्स रिपोर्ट र अप्रेसनल रिपोर्टबीचको भिन्नता र महत्व समेत नबुझ्नेहरु पनि हुन्छन्।

तर, काम त एक पटक मात्र पर्ने हैन नि त। अर्को काम पनि आइपरिहाल्यो। हेडक्वाटर लगायतका युनिटकाले गर्नसम्म प्रयास गरे तर कतैबाट उनीहरुले खोजेको सूचना पाउन सकेनन्। अनि उनीहरु लागुऔषधको सहयोग माग्न आइपुगे।

उनीहरुले खोजेको सूचना मैले संकलन पनि गरेँ। मिर्जाको समयमा झैँ उनीहरुले इन्टेलिजेन्स रिपोर्ट फेरि सार्वजनिक गरिदेलान् भनेर मैले मेरै संगठनलाई सूचना दिइनँ।

यो प्रसंग हो चार्ल्स शोभराजको।

सिरियल किलरको रुपमा परिचित चार्ल्स शोभराजबारे नेपालमा मुद्दा हुँदाहुँदै उनी नेपाल आए। अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र क्यानेडेली नागरिक क्यारिअरे लरेन्टको हत्या गरेको मुद्दा थियो उनीविरुद्ध।

केस २०३२ सालको। झोँछेको ओरियण्टल लजमा बसेका कोन्नी जो ब्रोन्जिच  क्यानेडियन नागरिक क्यारियरे लरेन्ट  धुलिखेल घुम्न जाँदा हराएका थिए। पछि यी दुवैको शव फेला परेको थियो। अनुसन्धान गर्दै जाँदा दुवैको हत्यामा चार्ल्स शोभराजको संलग्नता देखिएको थियो।

त्यो बेलामा चार्ल्स सोल्टी होटलमा बसेका थिए। प्रहरीले उनीसँग घटनाबारे सोधपुछ गरेको थियो। अनुसन्धानकै क्रममा रहेका उनी होटलबाट भागे। त्यसपछि विभिन्न देश घुमिहिँडेका उनी नेपाल आएको खुलेपछि पक्राउ परेका थिए।

उनी मुद्दा हुँदाहुँदै नेपाल किन आए? नेपालमा मुद्दा भएकोबारे जानकारी नभएर हो या चिन्दैनन् भनेर हो त्यो त खुल्न सकेन। उनीविरुद्ध थाइल्यान्डमा समेत मुद्दा थियो। सबै मुद्दा सकिइसकेको थियो। नेपालमा मात्रै उनीविरुद्ध हत्याका दुई मुद्दा थिए। उनी नेपाल आउनु अचम्मै हो।

त्यो बेलामा उनले आफू डकुमेन्ट्री बनाउन नेपाल आएको दावीसहित योभन्दा पहिला नेपाल नआएको दावी गरेका थिए। उनीविरुद्ध मुद्दा चल्यो। दुवै घटनामा उनलाई कैद सजाय भयो।

उनलाई केन्द्रीय कारागार सुन्धाराको गोलघरमा राखिएको थियो। चार्ल्स पक्राउ पर्नु एउटा कुरा। उनलाई जेलमा राखिराख्नु ठूलो चुनौतीको पाटो हो। त्यसमा नेपालको जेलको सुरक्षाको अवस्था। भारतमा अति कडा भनिएको जेलबाट त भागेका थिए उनी।

उनी अहिलेसम्म पनि केन्द्रीय कारागारमा छन्। उनले पटक-पटक भाग्ने योजना बनाएको खुलेका छन्। तर भाग्न भने सकेका छैनन्। 

उनी कारागारभित्रै रहे पनि बेलाबेलामा अनेक हत्कण्डा गरिरहन्छन्। 

म लागुऔषध नियन्त्रण इकाइको प्रमुख भइसकेको थिएँ। चार्ल्सले कारागारभित्रै सेटिङ मिलाएर मोबाइल लगेर विभिन्न देशमा फोन गर्ने गरेको सूचनाको आधारमा प्रहरीले उनी बस्ने जेलको सेलमा छानविन गर्दा मोबाइल र सिम दुवै बरामद भए।

मोबाइल त फेला पर्यो तर उनले कहाँ-कहाँ अनि को-कसलाई फोन गरे भन्ने विवरण खुलाउन सकेनन्। इकाइको अन्तर्राष्ट्रिय सम्बन्ध र उसको विश्वसनीयता हेरेर चार्ल्सले को-कसलाई फोन गरेको हो त्यो खुलाउन सहयोग माग्यो प्रहरी प्रधान कार्यालयले। औपचारिक रुपमा हैन है, अनौपचारिक रुपमा।

उसको नम्बरसहितको आवश्यक विवरणहरु खुलाएर जहाँ पठाउनुपर्ने हो पठाएँ।

चार दिनपछि चार पन्ने विवरण आयो जहाँ चार्ल्सले गरेका फोनका सबै विवरणहरु उल्लेख थियो। उसले बेलायतमा आफ्ना परिवारका सदस्य अनि सदस्य बाहिरकाहरुसँग लामो समयदेखि मजाले जेलभित्रै मोबाइल राखेर कुराकानी गर्ने गरेको विवरण आयो।

चार्ल्सबारे अनुसन्धान गरिरहेको टिमले बारम्बार त्यो विवरणबारे मसँग चासो राखिराख्यो। तर मैले दिइनँ। यो इन्टेलिजेन्स रिपोर्ट थियो। पहिल्यै मिर्जा दिलसाद बेगको केसमा झड्का पाइसकेको थिए नि। फेरि त्यही गल्ती किन गर्नु? सबै विवरण आए पनि विवरण आएको छैन भनेर दिँदै दिइन्।

तर, चार पन्ने पत्रमा कहाँ-कहाँ फोन गरे, कहिले-कहिले फोन गरे सबै डिटेल थियो है। संगठनले मैले व्यक्तिगत सम्बन्धको आधारमा संकलन गरेको चार्ल्सबारे इन्टेलिजेन्स रिपोर्टको दुरुपयोग हुन्न भनेर विश्वस्त गराउन सकेनन् नि त। अनि किन जोखिम उठाउनु। ठिक गरे या गलत म भन्दिनँ। तर विश्वास नभएकाले मैले त्यो विवरण दिइनँ।

इन्टेलिजेन्स सूचना आदानप्रदान विश्वासको आधारमा हुने हो। जतिसुकै बलियो प्रमाण लाग्ने भए पनि सकेसम्म यस्तो विवरण सार्वजनिक गर्न हुन्न। सार्वजनिक गर्न परे अनुमति अनिवार्य हो। यही हो यसको इथिक्स। 

हामी मात्रै हैन अन्य देशको इथिक्स पनि यही हो।

अर्को घटना उल्लेख गर्छु।

क्यानडाको प्रहरीसँग मिलेर हामीले एउटा संयुक्त अप्रेसन गरेका थियौँ। उनीहरुले कुनै क्यानेडेलीलाई पछ्याइरहेका थिए। ऊ संगठित अपराधमा संलग्न रहेको उनीहरुको शंका थियो। ऊ नेपाल आउजाउ गरिरहने व्यक्ति थियो। क्यानडाले उसलाई आफ्नै देशमा पक्राउ गर्यो।

ऊबारे नेपालमा केही कागजपत्र फेला पर्छ कि भनेर अनुसन्धानका लागि आग्रह गर्योय। हामीले अनुसन्धान गर्दै जाँदा एउटा कागज फेला पर्यो। त्यो एक पन्नाको थियो। केही नक्सा बनाएको थियो।

हामीले त्यो कागज क्यानडा पठायौँ। उनीहरुले त्यो व्यक्ति जुन खालको अपराधमा संलग्न छ भनेर शंका गरेका थिए त्यो एक पन्नाको कागज त्यो पुष्टिका लागि बलियो प्रमाण हुने रहेछ।

उनीहरुले हामीलाई त्यो डकुमेन्ट अदालतमा पेस गर्न पाए ठूलो प्रमाण हुन्छ, के गरौं भनेर सोधेका थिए। कागज अदालतमा बुझाएको अवस्थामा अदालतले थप बुझ्न नेपालबाट व्यक्ति झिकाउने आदेश दिनसक्छ, तिमीहरुबाट कोही आउन सक्छ कि सक्दैन भनेर पनि सोधेको थियो।

हामीले छलफल गर्यौं। त्यो कागज अदालतमा पेस पनि नगराउने अनि यताबाट कसैलाई नपठाउने निर्णय भयो। हामीले त्यही जानकारी गरायौँ। उनीहरुले त्यो कागज अदालतमा पेस गरेनन्। यताबाट कसैलाई बोलाउँदा पनि बोलाएनन्। 

उनीहरुलाई अदालतमा त्यो कागज पेस गर्न नदिनुको कारण थियो। अदालतमा पेस भएपछि त्यो कागज पब्लिक डोमेनमा जान्छ। जसले पनि हेर्न सक्छ। त्यो कागज सार्वजनिक हुँदा हामीलाई जसले उपलब्ध गराएको थियो, त्यो व्यक्ति एक्सपोज हुने खतरा थियो। आफ्नो स्वार्थको लागि कुनै व्यक्तिको ज्यान खतरामा पार्नु इन्टेलिजेन्सको इथिक्सले दिँदैन। यो इमान्दारिता पनि हैन। त्यसैले जति महत्वपूर्ण भए पनि हामीले नो भन्यौं।

यही हो इथिक्सको पालना भनेको। सहकार्य भनेको कुनै एक केसमा सुरु भएर अन्त्य हुने हैन। पटक-पटक सहकार्य गर्नुपर्ने हुन्छ। पटक-पटक महत्वपूर्ण जानकारी आदान-प्रदान गर्नुपर्ने हुनसक्छ। इथिक्समा नबस्ने हो भने सहकार्य लामो हुन सक्दैन।

यो पक्ष अपराध अनुसन्धानमा काम गर्ने हरेकले हेक्का राख्नुपर्छ। पालना गर्नुपर्छ।

ब्याचका पुराना अंक

१५ मंसिर, २०७८, १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।