उकेरा कोलम

ब्याच नम्बर ६९ : विवाह गर्दै नेपाली महिला जापान लैजाने त्यो जापानिज


विदेशी इन्टेलिजेन्सले एकदमै पत्याउने भनेको लागुऔषध इकाइलाई हो। त्यसका धेरै कारण छन्। एउटा कारण चाहिँ एकै व्यक्ति लामो समय त्यहाँ रहनु पनि हो। साँच्चिकै लामै समय बसेको हो नि म त्यहाँ। लामो समय बस्दाको फाइदा के भयो भने एक समय कसैको विश्वास जितेपछि सहकार्य पनि लामो भयो। 

यसो हेर्दा त्यो मेरो उपलब्धिझैँ देखिए पनि उपलब्धि चाहिँ संगठनको हो। म त एक पात्र न हुँ। संगठनका कारण मलाई विश्वास गरेका हुन्। ममाथिको विश्वासको कारण संगठनको साख पनि बढ्यो। त्यसले फाइदा त देश र संगठनलाई नै भयो। सहकार्य राम्रो भयो बाहिरका एजेन्सीसँग।

उनीहरुले हामीसँग पनि सूचना लिए। सँगै हामीलाई पनि टन्नै सूचनाहरु आए। त्यसले लागुऔषधसँगै अन्य संगठित अपराधको जालो पनि भत्काउन सहज भयो हामीलाई।

यसले चाहिँ यो काम गर्नसक्छ भन्ने पर्दा कहिलेकाहीँ इकाइको जिम्मेवारीभन्दा बाहिरका कामहरु पनि गर्नुपरेको छ। सहकार्यका लागि कहिलेकाहीँ गर्नुपर्ने रहेछ।

जापानको एउटा त्यस्तै काम आइलाग्यो। त्यो मानव तस्करीसँग जोडिएको थियो जुन इकाइको कार्यक्षेत्र नै हैन। तर उनीहरुले अति अनुरोध गरेपछि हामीले केस हेरेर सुल्झाइदिएका थियौँ।

त्यो घटना उल्लेख गरौँ है त।

ठमेलमै थियो, लागुऔषध अनुसन्धान इकाइको कार्यालय। म र खरेल कार्यालयमा बसिरहेका थियौँ। एक जना जापानिज पक्राउ परेको छ, सोधपुछ गरिदेऊ त भनेको थियो, हेडक्वाटरले तर हाम्रो काम हैन बसेर बसेका थियौँ।

एक दिन हेडक्वाटरको टिम यतैको जापानिज एम्बेसीको प्रहरीसँगै अर्को जापानी नागरिक बोकेर कार्यालय आए। होचो-होचो थियो। यसो हेर्दा गुरुङ जस्तो। उसको अनुहार अहिले पनि याद छ। लामो समय भएकाले नाम चाहिँ बिर्सिएँ। उसलाई लिएर आएका थिए, एम्बेसीका सिनिची गेरो सोतो भन्नेले। सँगै हेडक्वाटरको टिम पनि थियो।

ऊ नेपाल र जापान खुब ओहोर-दोहोर गर्ने रहेछ। जापानिजहरुलाई त्यो व्यक्ति मानव तस्करीमा संलग्न रहेको शंका गरेर नियन्त्रणमा लिएको रहेछ। उसको काम चाहिँ नेपाल आउने, विवाह गर्ने अनि महिलालाई जापान लगेर छोड्ने। त्यसका लागि उसले पैसा लिने रहेछ। सात जना महिलालाई त्यसरी जापान पुर्याेइसकेको रहेछ।

जापानका प्रहरी हैरान भएका रहेछन् उसँग। 

त्यो बेलामा अपराध अनुसन्धान विभागमा अपराध अनुसन्धान हेर्ने छुट्टै युनिट थियो। जापानबाट आएको सूचनाको आधारमा उनीहरुले त्यसलाई समातेर ल्याए। यहाँ रहेको जापानी दूतावासका अधिकारीहरुले यसलाई लागुऔषधमा पठाउनुपर्छ भनेर करकर गरेकोगर्यैा गरेछन्। तर हेडक्वाटरको शाखाले हैन, हामीले नै अनुसन्धान गर्छौं, इकाइको काम हैन यो भन्ने रहेछन्। उनीहरु मान्दै नमान्ने। हामीले पनि हेर्दैनौँ नै भनेका थियौं।

हेडक्वाटरको टिमले उसलाई राखेर खुलाउने प्रयास गरे। तर बोल्दै बोलेनछ ऊ। कुन-कुन महिलालाई लगेको अनि कहाँ-कहाँ छाडेको केही ओकलेन। त्यसपछि दूतावासको प्रहरीले जबर्जस्ती इकाइमा ल्याएको रहेछ।

'कराएको करायै गरे' भन्दै हेडक्वाटरको टिमले नै ल्याएपछि नहेरी सुख पनि पाइएन। कहिलेकाहीँ हामीले पनि उनीहरुसँग सहयोग त लिनुपर्छ नि। उनीहरुले यतिको विश्वास गरेर, हामीहरुले सघाउन सक्छौँ भन्ने विश्वासका साथ ल्याएपछि नहेर्ने कुरा पनि भएन।

त्यसलाई एउटा कोठामा राखेर मैले र खरेलले कुराकानी सुरु गर्‍यौं। ऊ विस्तारै खुल्दै गयो। यस्तोमा कोसँग कसरी कुरा गर्ने भन्ने पनि हुन्छ क्या। ल भन् तैंले के-के गरिस् भनेर सिधै झम्टियो भने नबोल्न पनि सक्छ। एक विदेशी त्यसमा पनि नेपालको कानुनबारे जानकारै रहेको। झम्टिनु त भएन।

हामीले विस्तारै ऊसँग कुरा सुरु गर्‍यौं।। काम के गर्छस्, नेपाल आइरहने कारण के हो, यहाँ को-कोलाई चिनेको छ। परिवारबारे, उसको पृष्ठभूमि आदि सोध्दै जाने। पछि मात्र जे विषय हो त्यसमा प्रवेश गर्ने। त्यो पनि सिधै हैन घुमाउरो पाराले।

हामीले २ घन्टासम्म ऊसँग कुरा गरिरह्यौँ। पहिला उसलाई कन्फिडेन्समा लिनुपर्ने थियो। ऊ विस्तारै खुल्दै आइरहेको थियो। कुरा गर्दै जाँदा उसले नेपालमा विवाह गरेर जापान लगेका सातै जना नेपाली महिलाबारे कुरा खोल्यो। त्यति मात्रै हैन। कोसँग कति पैसा लिएको अनि जापानमा कहाँ छाडेको सबै खुलायो।

त्यसपछि सोतोले खुसी हुँदै भने, 'मैले भनेको थिएँ नि यिनीहरुले पत्ता लगाउँछन् भनेर।' केस एकै छिनमा सक्कियो पनि।

यसमा ट्रिक भनेको त्यति धेरै हैन। यसो मान्छे हेरेर उसलाई कसरी सहजीकरण गर्ने भन्ने नै हो। अब प्रहरीले पक्राउ गरेकाले यिनीहरुले मलाई छाड्दैनन् भन्ने त उसमा परिसकेको हुन्छ नि। डराएको हुन्छ। सकेसम्म आफ्ना बदमासी लुकाउने प्रयास गरेको हुन्छ।

कहिलेकाहीँ हामीले जसरी पनि ओकलिहाल्छौँ बरु आफैंले भने सजिलो पर्छ भन्ने सन्देश दिनुपर्छ विस्तारै। पहिला हामीले उसलाई कन्फिडेन्टमा लिएर कुरा गर्दै बस्यौँ। कुरा गर्दै जाँदा केही न केही कमजोरीहरु फेला परिहाल्छ। त्यही कमजोरी समातेर पुरक प्रश्नहरु सोध्दै जाने त हो। उसले बताउँदै जान्छ। उसमा यो पनि फुत्कियो, त्यो पनि फुत्कियो। अब यिनीहरुले सबै थाहा पाइसके भन्ने भान परेपछि सरर भनिहाल्छन् नि। उसले भन्यो पनि। 

केस टुंगियो। हामीले थप अनुसन्धान गर्ने त हैन। उसले दिएको सूचनाका आधारमा हेडक्वाटरकै शाखाले अनुसन्धान गरिहाल्थ्यो। उसले सबै विवरण खुलाएपछि हेडक्वाटरको टिमले लिएर गयो। एम्बेसीका मान्छे पनि खुसी भए। 

यो मात्र हैन। कहिले पासपोर्टको कुरा आउँछ। कहिले कसैको कुनै डकुमेन्टमा शंका लाग्यो भने पनि सोध्थे हामीलाई। अब प्रक्रिया अनुसार आउने हो भने लामो समय लाग्न सक्छ। हामीले त्यही कुरा सजिलै दिन्थ्यौँ। नेपालका एजेन्सीहरुले पनि हामीलाई सघाउँथे। लागुऔषधबाट सोधखोज गरेको भनेपछि महत्वपूर्ण होला भनेर दिइहाल्थे।

हाम्रा फिल्डमा खटिनेहरु पनि सक्रिय थिए। कुनै जिम्मेवारी आएपछि भिडिहाल्ने स्वभावका सदस्यहरु थिए। त्यसैले उनीहरुले खोज्ने सूचना जुन दिँदा फरक पर्दैन त्यसमा हामी सघाइनै रहन्थ्यौँ।

यस अगाडि नै दाउद इब्राहिमले नेपालमा फोन गर्ने नम्बरबारे उल्लेख गरे नि। अब त्योबारे जसले सूचना दिएको हो उसको स्वार्थ भनेको त्यो नम्बर कसको रहेछ भन्ने जानकारी पाउने त हो। दाउद लागुऔषधदेखि अवैध हतियार अनि सुन तस्करीमा पनि जोडिएको व्यक्ति हो। उसको नेपालमा कोसँग सम्पर्क रहेछ भन्ने सूचना हामीले पाउनु भनेको निकै महत्वपूर्ण पक्ष हो नि।

उनीहरुले मागेको आधा घन्टामै दाउदले नेपालमा फोन गरिरहने व्यक्ति मिर्जा दिलसाद बेग हो भनेर हामीले पुष्टि गर्न सक्यौ नि। त्यही काम हेडक्वाटर हुँदै अन्य इकाइबाट गराएको भए २०/२२ दिन लाग्न सक्थ्यो। हामीलाई आधा घन्टा मात्र लाग्यो। बेलायतको टिम पनि खुसी, नयाँ सूचना पाएकाले हामी पनि खुसी।

मैले पटक-पटक भन्दै आएको छु, एकदम गहिरो र कन्फिडेन्सियल सूचना संगठनले संगठनलाई दिँदैनन्। व्यक्तिबाट व्यक्तिमा आउने हो। त्यसैले यस्तोमा जोखिम के हो भने त्यो व्यक्ति दायाँ-बायाँ लागेपछि सूचना आउन बन्द हुन्छ।

यो गलत पनि हैन। नेपालमा मात्र हैन बेलायत, अमेरिकामा पनि हुने यस्तै हो। संगठनबीच सूचना आदानप्रदान हुने भनेको एकदम फर्मल मात्र हो। संगठनलाई दिने सूचना कसको हातमा पर्छ अनि त्यो व्यक्ति कस्तो हो, उसले त्यसको दुरुपयोग गर्छ/गर्दैन भन्ने ग्यारेन्टी हुन्न नि। हामीले यहाँ कुरा गर्ने पनि पर्सन टु पर्सन नै त हो। हामीले कुनै कन्फिडेन्सियल सूचना दिने संगठनलाई हैन नि। हामी कान्तिपुर, नागरिक या उकेरा भनेर सूचना दिँदैनौ नि। संगठनमा रहँदा पनि दिएनौँ। हामीले हेर्ने भनेको पनि व्यक्तिलाई नै।

यो व्यक्तिलाई यो सूचना दियो भनेर यसले दुरुपयोग गर्दैन या उसले यो सूचनाको महत्व बुझ्छ या उसले सूचनाको गोपनीयता कायम राख्छ भन्ने विश्वास भएपछि मात्रै सूचना दिने हो।

एउटा अलि छोटो विषय छ। तर रमाइलो छ। टिम वर्क अनि टिममा राम्रो मान्छे भयो भने त्यसले के असर गर्छ भन्ने देखाउँछ। त्यसबारे चाहिँ अर्को अंकमा।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....

वर्षको तीन महिना मात्र खुल्ने पसलका साहुजी विपिन

आकाशमा उड्न कम भएसँगै चंगा पसलहरू पनि हराउँदै गएका छन्। व्यापारीहरूले चंगा बेच्नै छाडिसके। अहिलेसम्म गरिरहेकाहरू अधिकांश पनि अर्को वर्ष नगर्नेमा पुगिसकेका छन्। काठमाडौंको रक्तकालीमा....

डा. हरिहरको पोष्टमार्टम अनुभव : बलात्कारपछि हत्या गरिएकी बालिकाको रिपोर्ट प्रहरीले आत्महत्या बनाएपछि...

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. हरिहरको विद्या, सीप र काम हो। मृत्युपछि गरिने....