ब्याच नम्बर ६९ : जापानमा एकाएक पत्रकारले घेरेपछि

ब्याच नम्बर ६९ : जापानमा एकाएक पत्रकारले घेरेपछि

त्यो बेला राजकुमार लम्साल थिए मसँग। उनैले त्यो सूचना ल्याएका थिए। त्यसैले त्यसको अनुसन्धानको लिड गर्ने जिम्मेवारी उनैले पाए।

चरेसको नेपालको भए पनि जापान पुगिसकेकाले त्यो नेपालको टाउको दुखाइको विषय हैन भन्ने लाग्न पनि सक्छ। त्यो हाम्रो कार्यक्षेत्र बाहिरको कुरा पनि भयो। चासो नराखे पनि पाइने विषय हो पनि। चरेस समातिए पनि जस पाउने त जापानकै सुरक्षा संगठनले होझैँ लाग्नु स्वभाविक पनि हो।

तर, संगठित अपराध भत्काउने हो भने कुन कार्यक्षेत्र आफ्नो हो, अनि जस पाइन्छ या पाइँदैन भनेर हेरेर सम्भव हुन्न। यो त संयुक्त सहकार्यबाट मात्रै सफल हुनसक्ने विषय पनि हो। अनि उता जापानमा चरेस बरामद भएर कारोबारी पक्राउ पर्दा हामीलाई फाइदा नहुने पनि हैन। कमसेकम नेपालमा सक्रिय भएर अन्तर्राष्ट्रिय बजारमा चरेस लगिरहेको एक समूहको सिन्डिकेट त ब्रेक हुन्छ नि। 

त्यसैले हामीले यो सूचनाको फलो सुरु गर्यौं। हामीलाई आएको सूचना जापानको लागुऔषध हेर्ने युनिटलाई जानकारी गरायौँ। अनि नेपालमा हामीले कनेक्सनहरु खोतल्न थाल्यो। 

त्यो बेला मोबाइल प्रयोगमा आइसकेको थियो। तर महँगो थियो मोबाइलको कल। त्यसमा पनि विदेशमा कल गर्नुपर्ने। इमेल पनि आइसकेको थियो। तर हरेक पटक इमेलबाट मात्रै सूचना आदानप्रदान गरेर संयुक्त अप्रेसन गर्न सम्भव पनि हुन्न। कुरै गर्नुपर्ने हुन्छ।

अब सधैं मोबाइल प्रयोग गर्दा त वर्षभरिको सञ्चारको बजेट त्यही एकै केसमा सकिने भयो। के गर्ने त? नेपालमा रहेको जापानको दूतावासका अधिकारीसँग सहकार्यका लागि आग्रह गर्यौं। हामीलाई सहकार्यमा परेको अप्ठ्यारो बतायौँ। उनीहरु सहयोगका लागि राजी भइहाले।

हामीलाई कुरा गर्नुपर्यो भने दूतावासको मोबाइल लिएर हाम्रो कार्यालयमा आएर बसिदिन्थे। हामी उनीहरुको मोबाइलबाट उता सम्पर्क गर्थ्यौँ। यसरी २० दिनसम्म उनीहरु हाम्रो कार्यालयमै आइरहे। निकै सहयोग भयो यसले।

२० दिनसम्मको अनुसन्धानपछि जापानमा टोकियो टावर नजिकै प्रहरीले छापा मार्यो। छापा मार्दा ३० किलो मात्र चरेस फेला पार्योद। बाँकी ३० किलो कता गयो खुलेन। यता नेपालमा केही कनेक्सनहरु खुले। तर तत्काल पक्राउ गरिहाल्ने प्रकारको थिएन। निगरानीका लागि काम लाग्ने थियो।

त्यता २ जना जापानी नागरिक पक्राउ परे। उनीहरुको कनेक्सन याकुजा समूहसँग देखियो। पाकिस्तानी मुलका बेलायती नागरिक समेत पक्राउ परे। तिनको पक्राउ चाहिँ ठूलै उपलब्धि भयो। उनी हङकहङमा बसेर लागुऔषधको कारोबार गर्ने रहेछन्। 

योसँगै जापानमा कसरी नेपालको चरेस पुगिरहेको छ भनेर हेर्यौं। नेपालको तातोपानी हुँदै तिब्बत छिर्ने। अनि तिब्बतबाट स्थलमार्गबाटै हङकङ र चीनको बोर्डरसम्म पुर्याउने। अनि हङकहङमा चीनबाट काम गर्न जानेहरुलाई अलि-अलि बोकाएर पठाएर स्टोर गर्ने। अनि हङकङबाट जहाँ जहाँ पुर्याउनुपर्ने हो त्यहाँ त्यहाँ पुर्याउने।

त्यो रुट खुलेपछि हामीले तातोपानी नाकामा निगरानी बढाउन थाल्यौँ।

०००
नेपालमा ३० किलो चरेस सामान्य नै लाग्न सक्छ। तर जापानमा ३० किलो चरेस भनेको निकै ठूलो परिमाण हो। जापानको लागुऔषध हेर्ने युनिट हाम्रो सहयोगबाट निकै खुसी भएको थियो। 

कुनै समय जापानको लागुऔषध बजारको ८० प्रतिशत हिस्सा नेपालको चरेसले ओगटेको थियो। त्यो घटाउन नेपाल र जापानबीच निकै पटक संयुक्त अप्रेसनहरु भएका थिए। धेरै समूहहरु एक्सपोज भए नेपाल अनि जापानको पनि। यो उनीहरुका लागि पनि फाइदाको पक्ष भयो। हाम्रा लागि पनि उपलब्धिमुलक काम। 

उताको अप्रेसन सफल भएपछि उनीहरुले मलाई जापान आउन निम्ता दिए। त्यो सरकारी भ्रमणको निम्ता थियो। सबै खर्च जापान सरकारले नै ब्यहोर्ने। तर म एक्लै जाने कुरै भएन। यता अनुसन्धानको लिड त राजकुमारले गरेका थिए नि त। मैले 'एक्लै त आउन्न' भनेपछि उनीहरुले हामी दुवै जनालाई बोलाए। हामी गयौँ। 

२/३ दिनको योजना होला भनेको त सात दिनको कार्यक्रम रहेछ। सो अप्रेसनमा लागुऔषध ब्युरोसँगै टोकियोको मेट्रो पोलिटियन प्रहरीसँग मिलेर संयुक्त रुपमा गरेको रहेछ। लागुऔषध भन्सारसँग पनि जोडिन्छ नै। केही देशमा त भन्सारले नै लागुऔषधको समेत अनुसन्धान गर्छ।

त्यसैले उनीहरुले लागुऔषध सम्बन्धी काम गर्ने युनिट, टोकियोको महानगरीय प्रहरी अनि भन्सारका अधिकृतसँग समेत छलफलको कार्यक्रम राखेका थिए। निकै हार्दिकतापूर्ण रुपमा स्वागत गरेका थिए। लागुऔषध युनिसँगको छलफलपछि महानगरीय प्रहरीको कार्यालयमा आउने निम्ता दिए।

कार्यालयमा जाँदा कार्यालय अगाडि निक्कै ठूलो भीड थियो। 'ए यहाँ अन्य कुनै कार्यक्रम पनि रहेछ' भन्ने लाग्यो मलाई। हामी चढेको गाडी सरासर कार्यालय परिसरभित्र गएर रोकिएपछि त्यो भीड हामीतिरै पो आयो। अगाडि क्यामेरा बोकेका पत्रकारहरु थिए। टेलिभिजनका र पत्रिकाका पत्रकारहरु। हामी ओर्लिएपछि उनीहरुले घेरेर फोटो र भिडियो खिच्न थाले। 

उनीहरु त हाम्रै लागि बसेका रहेछन्। त्यो दृष्य देखेर म त दङ्गै परें। त्यहाँ त्यो ३० किलो चरेस फेला परेको घटनाको निकै चर्चा भएको रहेछ। त्यही केसमा सघाएका नेपाल प्रहरीका अधिकारीहरु आउँदैछन् भन्ने थाहा पाएर उनीहरु आएका रहेछन्। त्यो दृष्य अहिले पनि सम्झन्छु। बढो मजा लाग्छ। एक प्रहरीलाई त्यो तहको सम्मान पाउँदा खुसी लागिहाल्छ।

प्रहरीसँग पनि कुन-कुन विषयमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल भयो। मिठो खाना खुवाए। त्यहीको बसाइमा भन्सारका अधिकारीहरुले पनि हाम्रो सम्मानमा कार्यक्रम राखेको रहेछ। उनीहरुका केही अधिकृतहरुसँग लागुऔषध नियन्त्रणमा कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल पनि भयो। 

उनीहरुले डिनरको आयोजना गरे। अनि त्यहाँका एक अधिकृतले 'तपाइँहरुका लागि हामीले विशेष केक खुवाउने कार्यक्रम राखेका छौं' भने। त्यस्तो केक अति विशिष्ट पाहुनाको स्वागतमा खुवाउने जापानको संस्कार छ भने।

अहो! बढो गजबको केक चाख्न पाइने भइयो भन्ने लाग्यो नै। केक आयो पनि यसो हेरेको त काफलै काफल भएको केक रहेछ। उनीहरुको हार्दिकतापूर्ण आतिथ्य स्वीकार गर्यौं नै। तर मुख त चिलाउँछ नि। बीचमा एक अधिकृतलाई खुसुक्क 'यस्तो काफल त नेपालको जंगलमा जति पनि पाइन्छ' भन्दा ऊ दङ्ग परेको थियो।

अन्तर्क्रियाका एक दृष्य भने बढो गजब लागिरहेको थियो। जहाँ-जहाँ छलफल भयो त्यहाँका अधिकारीहरुसँग निकै हार्दिकतापूर्ण रुपमा परिचय गराइरहेका थिए। परिचयसँगै उनीहरुसँग कुराकानी गर्दा उनीहरु विश्वसनीय सम्बन्ध बनाउने प्रयासमा रहेको आभाष भयो मलाई। उनीहरु विभिन्न तहका अधिकृतसँग हाम्रो सम्पर्क बनाउने प्रयास गरिरहेका थिए। यो दुवै देशका लागि फाइदाको विषय पनि हो नि त।

केही अंकमा गम्भीर प्रकृतिका अपराध सम्बन्धी सूचना संगठनलाई भन्दा व्यक्तिलाई आउनेबारे उल्लेख गरेको थिएँ। व्यक्तिसँग जस्तो सम्बन्ध विस्तार हुनसक्छ त्यस्तै खालका सूचना आउँछन्। सिधै संगठनमा सूचना किन आउँदैन भने एक त नेपालले आपराधिक सूचना कानुनी र वैध बाटोबाट आदानप्रदान गर्न कुनै देशसँग सम्झौता नै गरेको छैन।

यस्तो अवस्थामा सहकार्य हुने टेबलमुनिबाटै हो। दोस्रो संगठनमा गम्भीर प्रकृतिको सूचना दिँदा त्यो कसको हातमा पर्छ र उसले त्यो सूचनाको दुरुपयोग गर्छ या गर्दैन भन्ने यकिन हुन्न। नेपालमा कुनै देशले दिएको अति गम्भीर सूचना सिधै पत्रिकामा छापिएका केसहरु पनि छन् नि।

यसले पनि सकेसम्म संगठन अपराधको क्षेत्रमा काम गर्नेहरु संगठनसँग भन्दा पनि संगठनमा रहेका विश्वसनीय व्यक्तिसँग सम्बन्ध राख्न चाहन्छन्। हामीले सम्बन्ध बनाउँदा पनि त्यो व्यक्ति कत्तिको विश्वासिलो छ, उसमा सम्बन्धित क्षेत्रबारे कत्तिको ज्ञान छ अनि ऊ आवश्यकता अनुसार कत्तिको सहजै उपलब्ध हुनसक्छ भनेर हेर्छौँ। बाहिरकाले हेर्ने पनि त्यही हो।

उनीहरुले धेरै तहका अधिकारीहरुसँग हाम्रो परिचय गराउनुको उद्देश्य भोलिका दिनमा कुनै व्यक्ति सरुवा भएर अन्यत्र गए पनि हाम्रो सम्पर्क र सम्बन्ध चाहिँ नटुटोस् भन्ने उद्देश्यले हो। नेपालमा मात्रै हैन अन्यत्र पनि संगठित अपराधमा काम गर्नेहरुको सिप संस्थागत हस्तान्तरण हुँदैन। कुनै व्यक्ति जाँदा उसले ज्ञान र सिप पनिसँगै लैजान्छ। 

केही सिपहरु हस्तान्तरण गर्ने नसक्ने खालका पनि हुन्छन् जो प्रशिक्षणबाट मात्रै आउन सम्भव हुन्न। ती सिप जन्मजात आउने हुन्। अब त्यस्तो सिप हस्तान्तरण पनि कसरी सम्भव हुन्छ र। यस्तो अवस्थामा सकेसम्मका ज्ञान र सिप सिकाउने हो। सबै सिकाउन त नेपालमा पनि सकिन्न अनि जापानमा पनि। त्यो अभाव नहोस् भन्नका लागि एकै व्यक्तिसँग मात्रै विश्वसनीय सम्बन्ध नबनाएर अन्य व्यक्तिहरुसँग पनि विश्वस्त सम्बन्ध बनाउने नै हो।

सबै देशका सुरक्षाकर्मीसँग उस्तै खालको सम्बन्ध पनि सम्भव हुन्न। सबै उत्तिकै सहयोगी पनि हुन्नन्। सहयोगीको मामिलामा जापानका प्रहरीहरु सजिला हुन्। उनीहरु सहयोग लिन पनि सिपालु छन् अनि सहयोग गर्न पनि सधैं तयार हुन्छन्।

मेरो अनुभवमा अवैध हतियार, आतंकवाद अनि लागुऔषध लगायतका केसमा अमेरिकीहरु निकै सजिला। एक त उनीहरुको नेटवर्क हरेक देशमा फैलिएको छ। कतिपय देशमा त हाम्रो सम्पर्क नहुँदा अमेरिकीकै सहयोग समेत लिएका थियौँ। उनीहरु सहयोग गर्न पनि सधैं तयार हुने स्वभावका छन्। सहयोग र सहकार्यको मामिलामा भारतीयहरु अति गाह्रा। 

उनीहरु अनौपचारिक सम्बन्ध र कुराकानीमा खुल्छन्। तर औपचारिक रुपमा कुनै सूचना लिने या दिने विषय आयो भने चाम्रिहाल्ने। लाल फित्तावाला हुन् क्या उनीहरु। अति प्रशासनिक। त्यसैले भारतमै पनि कतिपय सूचना आदानप्रदान भारतीय सुरक्षाकर्मी र सुरक्षा संगठनसँग नभएर त्यहाँ रहेका अमेरिकीहरुसँग हुन्थ्यो। नेपाल आउनुपर्योन भने पनि उनीहरु खुरुरु आइहाल्थे। व्यक्ति वा कुनै सूचना चाहियो भन्यो भने पठाइहाल्थे।

ब्याचका पुराना अंक

२१ पुस, २०७८, १९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।