संगठित अपराध जबसम्म बाहिर ल्याउन सकिँदैन तबसम्म कसले के गरिरहेको छ भन्ने थाहै हुँदैन। यो कार्पेटमुनि हुने अपराध हो नि।
उकेरा कोलम
जब कार्पेट उठाउन सकिन्छ अनि देखिन्छ, त्यहाँभित्र के-के छ भन्ने। नउठाएसम्म त चिटिक्कै देखिन्छ। त्यसैले त संगठित अपराधको जालो भत्काउन कठिन छ। जब प्रमाणसम्म पुगिन्न यसमा को-को संलग्न छन् भन्ने थाहै हुन्न। को के काम गर्छ, अनुहार र बाहिर उसको देखिने व्यवहारबाट थाहा पाउनै सकिन्न।
यस्तै एक घटनाबारे आज उल्लेख गर्दैछु।
एक जना अमेरिकी नागरिक याक एन्ड यती होटलमा आएर बसेको थियो। ऊ कहिलिएको लागुऔषध तस्कर हो भन्ने आयो। सूचना बाहिरबाट आएको थियो।
मसँग काम गर्ने खरेलजीबारे पहिला पनि लेखेको छु। उनको बानी के भने, केही भएन भने अध्यागमन विभाग जाने अनि कुन-कुन विदेशी नागरिक नेपालमा आएका छन्, उनीहरुको भिसा एप्लिकेसनहरु हेर्ने, शंका लाग्यो भने एक कपी बोकेर आउने। उनले त्यस्तै ३/४ वटा भिसा एप्लिकेसन र पासपोर्टको कपी ल्याएका थिए। ती सबै अमेरिकीहरु थिए।
उनीहरु को हुन् भन्ने हामीलाई थाहा थिएन। खरेलजीले शंका छ भनेका थिए। तर अन्य केसमा भुल्दा फलो भएको थिएन। विदेशबाट जसको नाम आएको थियो एक पासपोर्ट डिटेल त्यसैको थियो। संयोगले हामीसँग पहिल्यै रहेछ डेटा। तर थाहा नभएको।
कुख्यात लागुऔषध तस्कर नै भएको खुलेपछि त ऊ नेपालमा के गर्न आएको हो भनेर खोज्न परिहाल्यो। ऊ यहाँ के गर्न आएको हो, को-कोसँग भेट्छ सबै सूचना संकलन गर्न होटलमा निगरानी बढायौँ।
ऊ होटलबाट बाहिर निस्कनेभन्दा पनि प्राय:सँग होटलमै भेट्ने रहेछ। बाहिर त्यति ननिस्कने। यसले हामीलाई को-कोसँग भेट गरिरहेको छ भनेर पहिल्याउन पनि सजिलो भयो। धेरै बाहिर निस्कने गरेको भए पिछा गर्न र थप सूचना निकाल्न अर्को टिम पनि खटाउनुपर्थ्यो। त्यसमा एक टिमले नै काम गर्यो।
तीन दिन जति होला हामीले निगरानी गरेको। त्यो बीचमा भेट्न आएका दुई जनामाथि शंका भयो हामीलाई। तीमध्ये एक अमेरिकी नागरिक थियो। ऊ नेपालमै बस्ने अनि नेपाली नै बोल्ने भइसकेको थियो। रातो जिप्सी चढ्थ्यो। बेलाबखत मैले ठमेलमा पनि देखेको थिएँ।
दोस्रो व्यक्ति निस्कियो अमर भट्ट। यो अमर भट्ट चाहिँ नेपाल प्रहरीको पूर्वहवल्दार। लागुऔषध केसमा पक्राउ परेर सजाय भएको। अनि जेल सजाय काटेर बाहिरिएको थियो।
अर्को, अमेरिकी नागरिकसँग होटलमा बस्ने अमेरिकी नागरिकको सम्बन्ध त्यति शंकास्पद देखिएन। अनुसन्धान गर्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने क्लु पनि आएन। तर भट्टले किन भेट्यो? हाम्रो टिमलाई शंका भयो। तर के गर्ने भन्ने भएन।
उसलाई तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्ने कुनै प्रमाण थिएन। ऊ र होटलमा बसेको अमेरिकी नागरिकबीच किन भेट भयो भन्ने मात्र हो नि शंका गर्ने आधार। होटलमा बसेको अमेरिकी पनि लागुऔषधको तस्कर अनि भट्ट पनि लागुऔषधमा जोडिइसकेको व्यक्ति। त्यो अमेरिकीले भट्टमार्फत नेपालमा केही गर्न खोजेको शंका बाहेक हामीसँग केही थिएन।
अब शंकाकै आधारमा उसलाई अनुसन्धानको दायरामा ल्याउनु त्यति जायज हुने पनि थिएन। ल्याएर किन अमेरिकी नागरिकसँग भेटिस् भनेर सोध्ने त हो। सोध्दा त्यत्तिकै वा मेरो परिचित हो मात्र भन्यो भने पनि थप सोध्ने कुरा के नै हुन्छ र।
अब भट्ट न लागुऔषध बोकेर होटल गएको हो न कुनै लागुऔषध नै बोकेर बाहिर आएको हो। उसले अर्को शंकास्पद नागरिकसँग त्यो अमेरिकीको सम्बन्ध पनि बनाइदिएको छैन। भेटेको मात्र त हो।
अब अनुसन्धान त रोकियो। यस्तो बेलामा गर्ने भनेको छापा मार्ने नै हो। कतै ती अमेरिकी नागरिक र भट्टको सम्बन्ध खुलाउने कुनै प्रमाण फेला पर्छ कि भनेर छापा मार्ने कि होटलमा कि त भट्ट जहाँ बस्छ त्यहाँ त हो। अब एकै पटक होटलमा बसिरहेको अमेरिकी नागरिकले कुनै अपराध गरेको प्रमाण नभई अमेरिकामा रहेको उसको प्रोफाइलको भरमा छापा मार्नु रिक्स थियो।
पहिलो भट्टको घरमा छापा मारेर केही प्रमाण फेला पर्यो भने अनि अमेरिकी नागरिक रहेको कोठामा छापा मार्ने वा उसलाई नियन्त्रणमा लिएर सोधपुछ त गर्न सकिन्छ।
भट्ट बस्ने ठाउँमा छापा मार्ने योजना पक्का भयो। सोधखोज गर्दा ऊ गल्फुटारमा बस्ने र घर उसकै हो भन्ने भयो। एक टिम लिएर छापा मारियो उसको घरमा। अन्यले के गर्छन् कुन्नी छापा मार्दा हाम्रो ध्यान चाहिँ कतै चरेस छ कि या अन्य लागुऔषध छ कि भन्नेमा भन्दा पनि उसकोमा के कस्तो डकुमेन्ट छ भन्नेमा जान्छ।
भट्टको घरमा पनि हामीले त्यही गर्यौं। उसको दराज खोलेर हेर्दा त छक्कै परियो। त्यहाँ त सांसदहरु रातो पासपोर्टको फोटोकपीको चाङ पो फेला पर्यो । लागुऔषधमा पक्राउ परेर सजाय पाइसकेको, त्यसमा पनि नेपाल प्रहरीको भूपू हवल्दार। अब उसको कोठामा माननीयहरुको रातो पासपोर्टको फोटोकपीको चाङ नै फेला पर्नु भनेको सामान्य घटना त पक्कै हैन। सबै डकुमेन्ट लियौँ।
अन्य कागजपत्र केही छ कि भनेर हेरेको त टन्नै हवाई यात्राका टिकटहरु किनेका बिलहरु फेला परे। कोही बैंकक उडेका छन् त कोही कता।
हामीले उसको घरमा छापा मार्नुको उद्देश्य अर्कै थियो। तर फेला पर्यो अर्कै। त्यहाँ भेटिएका कागजपत्र र रातो पासपोर्टको कपीले माननीयहरुको रातो पासपोर्ट दुरुपयोग भइरहेको देखियो। तर पासपोर्टको दुरुपयोगबारे अनुसन्धान गर्ने क्षेत्राधिकार त हाम्रो हैन।
होटलमा बसेको अमेरिकीसँग उसको आपराधिक सम्बन्ध खुलाउन सक्ने कुनै प्रमाण फेला नपरेपछि हामी माननीयहरुको नामको रातो पासपोर्ट र अन्य कागजपत्रहरु लिएर कार्यालय आयौँ। अनि एउटा पत्र लेखेर फेला परेका सबै कागजपत्रहरु गृह मन्त्रालयमा पठायौँ।
त्यो त ठूलै घटना थियो। अनि प्रमाण पनि। तत्काल गृह मन्त्रालयले माननीयहरुको रातो पासपोर्ट दुरुपयोग भएको छ कि छैन भन्ने पत्ता लगाउन छानविन समिति गठन गरेको थियो र त्यो समितिले तस्करहरुले माननीयहरुको रातो पासपोर्ट दुरुपयोग गरेर मानव तस्करी गरिरहेको पुष्टि भएको थियो।
त्यो बेलामा गृहमन्त्री गोविन्दराज जोशी थिए। उनले कतै रातो पासपोर्ट कान्ड आफ्नो पहलमा सार्वजनिक भएको भनेर भाषण गरेको पढेको थिएँ।
रातो पासपोर्ट दुरुपयोगबारे प्रहरीको कुनै निकायले अनुसन्धान गरेर थाहा पाएको घटना पनि हैन। यो एउटा केसको प्रमाण खोज्न छापा मार्दा अर्को अपराधको प्रमाण फेला परेको मात्र हो। यसलाई कागताली लागेर खुलेको गम्भीर अपराध भने पनि हुन्छ।
ब्याचका पुराना अंक
२०७८ फागुन ०४ गते १८:०० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।