उकेरा कोलम

ताहाचलमा भेटियो तान्त्रिकको भेषमा अमेरिकी तस्कर


यो भन्दा पहिलाको अङ्कमा याक एन्ड यति होटलमा आएर बसेका शङ्कास्पद अमेरिकी नागरिकको लिङ्क खोज्नेक्रममा काकताली रूपमा सांसदहरूको रातो पासपोर्टको दुरुपयोगको घटना खुलेकोबारे उल्लेख गरेको थिए। त्यहीसँग यो केस पनि जोडिन्छ।

आज उल्लेख गर्न लागेको घटनाले सङ्गठित अपराधमा संलग्नहरू कुन-कुन रुपमा बसेका हुन्छन् भन्ने पनि देखाउँछ। मैले पहिला पनि उल्लेख गरेको छु कि यो सङ्गठित अपराध भनेको कार्पेट मुनी हुने अपराध हो। जबसम्म कार्पेट उठाइँदैन त्यहाँभित्र के छ थाहै हुन्न।

सङ्गठित अपराधमा पनि जबसम्म व्यक्ति प्रमाणसहित पक्राउ पर्दैन तबसम्म उ के काम गर्छ थाहै हुन्न। आफ्नै वरिपरिका, चिनेजानेकाहरु नै खुङ्खार अपराधीको रूपमा पनि भेटिन पनि सक्छन्। यसो अनुहार हेरेको भरमा थाहा हुन्न को के हो भनेर।

तर शङ्का भने गर्नुपर्छ। अपराध अनुसन्धानमा शङ्का सबैभन्दा ठुलो हतियार हो। जो शङ्का गर्न सक्छ उ सफल अनुसन्धानकर्मी बन्न सक्छ। त्यो गुण केशव खरेलमा थियो है। पाठकहरूलाई लाग्न सक्छ कति खरेलको मात्र नाम लेखेको होला। अन्य प्रहरी नै थिएनन् कि क्या हो भनेर।

मेरो प्रहरी जीवनमा धेरै सक्षम प्रहरी भेटेको छु। असल प्रहरी भेटेको छु। तर खरेल जत्तिको चमत्कारिक मान्छे भेटेको छैन। अचम्मकै गुण उनमा। त्यो जन्मजात पनि हो। उनको सम्पर्क जालो र सूचनाको कुरै नगरौँ। अहिले कतिखेर प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता हुन्छ समेत थाहा हुन्न नि। उनी यस्ता घटनाक्रम त तीन महिना अगाडि नै भनिदिन्थे'सर यस्तो हुँदै छ है' भनेर।

कति कुरा त मैले पनि पत्याइन। तर उनले भनेको ठ्याक्कै मिलेपछि नपत्याएर भयो र!

यो केस पनि त्यस्तै हो। ह्या के भन्छन् यी खरेलजी पनि भन्यो ट्वाक्कै मिल्छ।

उनले अध्यागमनमा गएर नेपालमा बसेका केही अमेरिकी नागरिकको विवरण टिपेर ल्याएका थिए। केही शङ्कामा थिए। तर डिटेल खोजिएको थिएन।

विमानस्थलमा लागु औषधको विशेष टोली बसेको हुन्छ। त्यो टोलिने नेपालबाट फर्कन लागेको एक अमेरिकी नागरिकलाई पक्राउ गर्‍यो। ती शङ्कामा रहेका थिए। उनलाई पक्राउ गरेर केरकार गरे लगत्तै 'म मात्रै हैन अरू साथीहरू पनि छन्' भनेर ठमेलको एक गेस्ट हाउसको नाम लिए।

टोली दौडियो गेस्टहाउसतिर। त्यहाँ कोठामा पुग्दा चरेस गन्हाइरहेको थियो। तर चरेस फेला परेन। भित्र ट्वाइलेटमा गएर हेरेको त केही चक्कीहरू कमोडमा तैरिरहेको थियो। उनीहरूले चक्की खाएका रहेछन्। टोली जाने कसरी पत्ता पाए कुन्नि हतार-हतार फल्स गर्ने प्रयास गरेछन्। कमोडबाट केही चक्कीहरू सङ्कलन गरेर केहीलाई पक्राउ गर्‍यौ। केही भागे।

खरेलजीले एक्कासि 'सर यो सबै काम गर्ने ताहाचलमा बस्ने एउटा अमेरिकी तान्त्रिक हो। त्यही जाऊँ' भने। अब लिङ्क केही छैन। पक्राउ परेका कसैले नाम पोलेका छैनन्। एक्कासि कसरी छापा हान्न जाने!

उनले भनेको भन्यै गरे' यी सबैको गुरु त्यही हो। जाऊँ।'

उनले कर गरेपछि टोली बोकेर अमेरिकी तान्त्रिककोमा गयौँ। उ नेपालमा बसेर विदेशबाट आउनेहरूको तन्त्र-मन्त्र गर्थ्यो। झारफुक सिकेर पुरा झाँक्री भएको क्या।

उसको आश्रममा पुगेर खोतलखातल पार्‍यो। केही धार्मिक किताब थिए। यसो पल्टाएर हेरेको त किताबको बिचमा चरेस राखेको रैछ। प्रमाण त यती भए पुगिहाल्यो। किताबहरू सङ्कलन गरेर तान्त्रिकसहित केहीलाई नियन्त्रणमा लियौँ।

एक छिनमा केही अमेरिकी नागरिक हस्याङफस्याङ गर्दै कुटीभित्र आए। उनीहरूलाई देखेर हाँसो रोक्नै सकिएन। ठमेलको गेस्ट हाउसमा छापा मार्दा जो-जो भाग्न सफल भएका थिए ती उनीहरू नै थिए।

ती सबैलाई पक्राउ गरेर ल्यायौँ।

यो घटनापछि नेपालमा बसेर चरेस कारोबार गर्ने अमेरिकी नागरिकहरू भागे। अप्रेसन पनि त्यस्तै भयो नि। नेपालमा होटल चलाएर बसेका जर्मन नागरिक पिटर कोल्च समातिए। त्यसपछि पनि टन्नै विदेशी नागरिकहरू पक्राउ परे। त्यसपछि उनीहरूमा लौ अब हामी पनि समातिन्छौँ भन्ने भयो भागे।

यो घटनाले लागु औषधको एउटा ठुलो चेन ब्रेक चैँ भयो। त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रहरीको साख पनि बढायो।

यो पालीको डायरी अलि थोरै भयो। अर्को अङ्कमा अर्को रमाइलो घटना लिएर आउँछु नि। ल आज बिट मारे है।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....

वर्षको तीन महिना मात्र खुल्ने पसलका साहुजी विपिन

आकाशमा उड्न कम भएसँगै चंगा पसलहरू पनि हराउँदै गएका छन्। व्यापारीहरूले चंगा बेच्नै छाडिसके। अहिलेसम्म गरिरहेकाहरू अधिकांश पनि अर्को वर्ष नगर्नेमा पुगिसकेका छन्। काठमाडौंको रक्तकालीमा....

डा. हरिहरको पोष्टमार्टम अनुभव : बलात्कारपछि हत्या गरिएकी बालिकाको रिपोर्ट प्रहरीले आत्महत्या बनाएपछि...

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. हरिहरको विद्या, सीप र काम हो। मृत्युपछि गरिने....