उकेरा कोलम

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'


महानगरीय प्रहरी अपराध महाशाखाको जिम्मेवारी काठमाडौँ उपत्यकामा हुने गम्भीर प्रकृतिको अपराधको अनुसन्धान भए पनि प्रहरीको दैनिक गतिविधिमा पनि इन्गेज गराउने गरेको थाहा थियो मलाई।

दैनिक गतिविधिमा संलग्न हुन त अन्य प्रहरी कार्यालयहरू छन्। त्यसैमा महाशाखा किन थपिनु पर्‍यो! महाशाखाको जनशक्ति दैनिक शान्ति सुरक्षाको काममा अल्झिएपछि अनुसन्धानको काम प्रभावित भइहाल्छन्।

त्यसैले प्रहरी प्रधान कार्यालयबाट अपराध महाशाखामा आउनु अगाडि नै मैले तत्कालीन विभागीय प्रमुख रमेश चन्द ठकुरीलाई चार वटा सर्त त भन्न नमिल्ला अनुरोध प्रस्ट रूपमा राखे। यदि ती कुरा मान्ने भए जान्छु नत्र काम छैन भने।

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा गेस्ट हाउस गएका छन् भने अवाञ्छित गतिविधि गरेकोमा समाजको गुनासो आउँछ भने त्यो हेर्ने काम स्थानीय प्रहरीको हो। अपराध महाशाखाको काम ढोका  ढक्ढक्याउंदै हिँड्ने हैन।

कतै-कतै समस्या आएको हुनसक्छ। त्यो सम्बोधन गर्ने काम स्थानीय प्रहरी कार्यालयको हो न कि महाशाखाको। पहिलो अनुरोध ओके भयो।

दोस्रो अनुरोध म क्यासिनोमा छापा मार्दिन। त्यो पनि प्रहरीको काम हैन, पर्यटन मन्त्रालयको काम हो अनुगमन गर्ने। अनुमति दिने मन्त्रालय अनि नेपाली नागरिक छिराएर जुवा खेलायो कि खेलाएन भनेर प्रहरीले दिनकै छापा मार्नुपर्ने ?

अनुगमन गर्दा यदि सर्त विपरीत नेपाली नागरिक छिराएर जुवा खेलाएको फेला पारे नियमन गर्ने निकायलाई  लाइसेन्स खारेज गरिदिनेसम्मको अधिकार छ भने उसले आफ्नो जिम्मेवारी निभाउनु पर्‍यो। प्रहरीले दिने भनेको सहयोग हो। त्यसमा क्यासिनोमा छापा मार्दा प्रहरी बदनाम भइसकेको थियो। पैसा पाएन भने छापा मार्छन् भन्ने भएको थियो।

मेरो यो दोस्रो अनुरोध पनि स्वीकार भयो।

तेस्रो हुण्डीकोपछि लागि हिँड्ने काम गर्दिन। नेपाल राष्ट्र बैङ्क नियमनकारी निकाय हो र प्रहरी सहयोग गर्ने निकाय हो। राष्ट्र बैङ्क आफै पनि अगाडि सर्नु पर्‍यो। प्रहरीसँग कुन किसिमको सहयोग चाहिन्छ हामी दिन्छौँ। एउटा पनि मुद्दा खोजौँ त हुन्डीमा, जति मुद्दा चलेका छन् ती विदेशी विनिमयमा चलेका छन्।

तसर्थ राष्ट्र बैङ्कले सहयोग मागे सहयोग गर्नुपर्छ यदि प्रोफेशनल्ली कुरा गर्ने हो भने आफैँ खोज्दै हिँड्दिन भने। यो पनि स्वीकार भयो।

अर्को जुवा-तास खेलेको ठाउँ खोज्दै हिँड्ने काम पनि गर्दिन भने। यो स्थानीय प्रहरीको काम हो। मैले आफूलाई चोरी,डकैती,हत्या,अपहरण जस्ता सामाजिक अपराध तथा केही जघन्य अनि सुल्झिन नसकेका अपराधमा आफूलाई केन्द्रित गर्छु भने।

रमेश चन्दको म माथिको  विश्वास र सहृदयता हो। मैले भनेको सबै कुरा स्वीकार भयो। म महाशाखा आए। जति समयसम्म अपराध महाशाखामा बसे चन्द, उपत्यका प्रहरी प्रमुख अर्जुनजंङ्ग शाही र कुबेर सिंह रानाले मलाई पूर्ण रूपमा स्वतन्त्र रूपले काम गर्न दिए ।

OOO

हनुमानढोकामा महाशाखा माथि अनि तल चैँ काठमाडौँ परिसर थियो। परिसरमा तत्कालीन एसपी पुष्कर कार्की प्रमुख थिए।

पहिल्यैबाट परिसर र महाशाखाका प्रमुखबिच समन्वय नहुँदा काम गर्न अप्ठ्यारो पर्ने गरेको देखेको थिए मैले। त्यसैले पहिला त परिसरसँग सहकार्यको राम्रो वातावरण बनाउनुपर्‍यो।

अनि समन्वयमा समस्या आउने एक महत्त्वपूर्ण पक्ष चैँ कामको जस कसले लिने भन्ने होडबाजी देखिन्थ्यो। इकाइमा काम गर्दा पत्रकार सम्मेलनै हुँदैनथ्यो। म हिँड्ने बेलामा कहिलेकाहीँ पत्रकार सम्मेलन गर्ने काम सुरु भएको थियो।

महाशाखाले अनुसन्धान गरे पनि बयान लगायतका मुद्दा चलाउने सबै प्रक्रिया परिसरले गर्ने भएकाले महाशाखाले अनुसन्धान गरेको घटनाको पनि परिसरले पत्रकार सम्मेलन गरे भइहाल्छ।

मैले पुष्करसँग यही विषयमा कुरा गरेर बरु सबै पत्रकार सम्मेलन आफैँले गरे हुन्छ तर अनुसन्धानमा समन्वय र सहकार्य गरौँ भने। उनले 'सरले नै गर्नु भए पनि भइहाल्छ। म बाट त्यस्तो केही हुन्न' भने।

पछि पत्रकार सम्मेलन गर्दा दुवै कार्यालयका प्रमुख बसेर गर्न थाल्यो। सहकार्य राम्रो भयो। महाशाखाले परिसरको अनुसन्धानमा पनि सघायो अनि परिसरले महाशाखालाई पनि सघायो। त्यसको नतिजा गम्भीर प्रकृतिका आपराधिक घटनाको अनुसन्धानहरू पनि सफल भए।

महाशाखा प्रमुखको रूपमा नौ महिना काम गर्दा अन्य अपराधसँगै अन्तरदेशिय अपराध जोडिने तीन वटा गम्भीर घटना भए काठमाडौँमा।

पहिलो केन्द्रीय कारागारभित्र रहेका युनुस अन्सारीको हत्या प्रयास भयो। दोस्रो नेपालस्थित पाकिस्तानी दूतावासको कर्मचारीमाथि गोली प्रहार भयो महाराजगन्जमा। तेस्रो घण्टाघरमा फैजान अहमदको गोली हानेर हत्या भयो।

फरक-फरक मितिमा यी घटना भए पनि एकै रणनीति अनुसार भएको देखिएको थियो। गत सोमबार गोठाटारमा लाल मोहम्मद मारिएपछि त्यो घटना पनि त्यही पुराना तीन घटनासँगै जोडिने देखियो। पुराना घटना उल्लेख गर्दा त्यो के हुनसक्छ भन्ने देखिन्छ। त्यसैले यस्तै पुराना घटनाको अनुसन्धान लेख्छु केही हप्ता अब।

आज युनुसको केसबाट सुरु गर्छु। पछि फैजान अनि पाकिस्तानी दूतावासको कर्मचारीमाथि भएको गोली प्रहारका घटना अनि त्यसले भारत र पाकिस्तानका दूतावासका अधिकारीबिच बढेको तनावबारे लेख्छु। आज युनुसको प्रसङ्ग।

OOO

म महाशाखा आएको केही समय भएको थियो। काम विशेषले त्यो बेलाका डिएसपी सोमेन्द्र राठौरलाई लिएर म कार्यालय बाहिर गए। अहिले सोमेन्द्र एसपी भइसके।

हामी फिल्डमा भइरहेको बेला अचानक सेटमा 'केन्द्रीय कारागारमा युनुस अन्सारीमाथि गोली फायर भयो। गोली हान्ने व्यक्तिलाई होल्ड गरेका छौँ' भन्ने सन्देश आयो।

युनुस जाली भारतीय रुपैंयाको कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागारमा थिए त्यो बेलामा। जमिम शाहको हत्यापछि अनुसन्धान गर्दा पहिलो टार्गेट युनुस भएको तर उनलाई मार्न सम्भव नदेखिएपछि टार्गेट बदलेर जमिमको हत्या भएको खुलेको थियो।

उनीमाथि गोली हान्नु भनेको त्यही घटनाको निरन्तरता हो भन्ने भइनै हाल्यो। अर्को त्यत्रो सुरक्षा घेरामा रहेको स्थानमा कुनै व्यक्तिले हतियार बोकेर लगेर भित्रै गोली हानेको घटना अति गम्भीर हुने नै भयो।

म र सोमेन्द्र तत्काल घटनास्थलतिर लाग्यौँ।

घटनास्थलमा पुगेपछि थाहा भयो युनुसलाई भित्तामा ठोकिएर आएको गोलिले खोस्रेको रहेछ। उनी सकुशल थिए।

युनुस भाइ-बुहारीसँग कुरा गरिरहेको बेलामा उनको हत्या प्रयास भएको रहेछ। कैदी-बन्दी भेट्न आउनेहरूले चाहिने-नचाहिने कुरा गर्लान् र सुरक्षाका लागी भनेर भेटघाट गर्ने ठाउँमा प्रहरी पनि बस्छन्।

सुटरले लगातार ६ राउन्ड गोली हानेका रहेछन्। पाँच राउन्ड मिस फायर भयो। भटाभट मिस फायर हुँदा त्यहाँ रहेको प्रहरी पनि सतर्क हुन पाए अनि युनुसले केही गडबड भयो भन्ने भएर सतर्क हुने मौका पाए।

छैटौँ पटक गोली चल्यो। तर पहिल्यै मिस फायर भएकाले सचेत हुन सक्दा युनुसलाई गोली नलागी जेलको भित्तामा लागेर फर्किएर आएको गोलीले उनको हातको पातामा लागेछ। सामान्य छाला मात्र खोस्रिएको थियो। धन्न मिस फायर भयो र उनको ज्यान जोगियो। तयारी जेलभित्रै मार्ने थियो।

गोली प्रहार हुँदा त कति धेरै बबाल भयो। हत्या नै भएको भए त बर्बाद हुने थियो। धन्न उनीहरूको योजना सफल भएन। तर कस्तोसम्म हिम्मत क्या। जेलभित्र हतियारै लिएर गएर हान्ने!

युनुसलाई अस्पताल पठाएर सुटर राखिएको ठाउँतिर गयौँ। सुटरलाई कारागारको सुरक्षाका लागि खटिने प्रहरीको कार्यालयमा लगेर राखिएको थियो। हातमा हतकडीसँगै बाँधिएको पनि थियो।

यसो हेर्दा कडक ज्यान। अनि पन्जाबी जस्तै देखिएका थिए सुटर। हामी पुग्दा हल्का केराकार गरेर नाम पत्ता लगाएका रहेछन् मनमित सिंह भाटिया।

अब उसलाई त्यहाँ राखेर के नै काम हुन्थ्यो र! उसलाई गाडीमा राखेर हनुमानढोकाको कार्यालयमा ल्याएर सोधपुछ सुरु गर्‍यौँ। यो अनुसन्धानको लिडको जिम्मा सोमेन्द्रलाई दिए। आवश्यक सहयोग सिनियर डिएसपी हृदय थापाले गर्ने कुरा भयो। यसरी काम गर्ने कारण दुवै विशेष ब्युरोका राम्रा र शिक्षित प्रहरी अधिकृत थिए।

उसले आफ्नो ठेगाना भारतको लखनउमा भएको बतायो। अनि धन्दा अपराध। पैसा लिएर मान्छे मार्ने गरेको सहजै स्विकार्‍यो उसले। यस अगाडि साढे २ लाख लिएर एक व्यक्तिको हत्या गरेको रहेछ। चार जना जति घाइते बनाएको रहेछ। अर्को एक व्यक्तिको पनि हत्या गरेको रहेछ।

उसको भनाइबाट उ कनट्र्याक्ट किलर भएको देखियो। तर पत्याइहाल्ने अवस्था त हुन्न यस्तोमा। खाली उसको भनाई सुन्ने अनि बिच-बिचमा अन्य प्रश्न सोध्ने गरिरहेका थियौँ।

अनि युनुसलाई मार्ने ठेक्का चैँ कसले दिएको त ?

उसले नाम भनेन। हुलियाहरू भने खुलायो। अपरिचित व्यक्तिले दुबईबाट फोन गरेर 'नेपाल गएर जेलमा भएको एक जनालाई गोली हान्नु छ। नाम युनुस हो। काम गर्ने हो?' भनेर सोधेको र डिटेल अनि काठमाडौँमा सघाउनेहरू 'हुन्छ' भनेमा केही दिनमा भेट्न आउँछन् भनेको भन्यो।

सुटर मनमित सिंह भाटिया

कसले फोन गरेको हो आफूलाई थाहा नभएको दाबी गर्‍यो। उसले हुन्छ भन्यो। १५ लाखमा काम डिल भएको दाबी गर्‍यो । हामी उसको कहानी सुनेर बस्यौँ।

उसले हुन्छ भनेको केही दिनमा केही व्यक्ति लखनउमा भेट्न आए। उसलाई १५ लाखमध्ये साढे सात लाख क्यासै दिए। अनि युनुसको फोटो दिएर 'अलि दिनमा खबर आउँछ अनि काठमाडौँ आउनु' भनेर फर्किए।

केही दिनपछि 'काठमाडौँको कलङ्कीमा आएर फोन गर्नु' भन्ने मेसेज आएपछि उनी बस चढेर आए। कलकीमा उत्रिएपछि फोन गरे। मोटरसाइकलमा २ जना लिन आए। अनि कतै कोठामा लगेर राखे।

उसले आफू पहिलो पटक काठमाडौँमा आएकाले उनीहरूले कहाँ लगेको थाहा नभएको दाबी गरिरहेको थियो। तर उसले जसरी सरर कहानी सुनाइरहेको थियो त्यसले नै उसले ढाँट्दै छ भन्ने देखाइसकेको थियो।

केरकार गर्ने काम त बाँकी छ नै। कसरी सत्य ओकल्ने त्यो पछि गरौँला। पहिला उसले जे कहानी सुनाउँछ सुनौँ भन्ने भयो। अनि बसेर सुनियो।

उसको दाबी अनुसार काठमाडौँ आएको २-४ दिनपछि एक जनाले उसलाई सुन्धारामा लगेर केन्द्रीय कारागार देखायो। अनि टार्गेट यही जेलमा छ भन्यो। त्यसपछि उ मनमित एक्लै जेलमा जान थाल्यो।

उ जेलभित्र गएर सिरियल किलर चार्ल्स शोभराजलाई भेट्थ्यो। कुरा गर्थ्यो। उसले चार्ल्स भेटे पनि टार्गेट त युनुस थिए। उसले चार्ल्ससँग भेटघाट गर्नेक्रममा युनुसलाई पनि देख्यो।

उसलाई काठमाडौँमा सघाउनेहरू पहिल्यैदेखि यतै बसेका रहेछन्। उसको दैनिक काम नै जेलमा आउने, चार्ल्स भेट्ने, युनुसलाई हेर्ने फर्कने।

२०६७ फागुन २४ को दिन। उसलाई जसले कलङ्कीबाट लिएर कतै डेरामा लगेर राखेका थिए उनीहरूले ल आज टार्गेटलाई सक्काउने हो भनेर मनमितलाई तयार गर्न लगाए।

मनमित तयार भएपछि तीन जना ट्याक्सी चढेर  सिभिल मल अगाडि ओर्लिए। एक जनाले उनलाई सिभिल मलको शौचालयमा जाऊँ भनेर लग्यो। अनि शौचालयमै उसलाई बन्दुक दियो। उसले बन्दुक कट्टुभित्र अगाडिपट्टि अड्किने गरी राख्यो।

यो सबै उसको भनाई हो है।

सिभिल मलबाट बाहिर निस्किएर उसले एक झोला फलफूल किन्यो अनि दुवै हातले अगाडि झुन्ड्याउँदै कारागारतिर लाग्यो। दुवै जना बाहिर बसे। उ यति धेरै पटक जेल गइसकेको थियो प्राय सबै सुरक्षाकर्मीले चार्ल्सलाई भेट्न आउने भारतीय भनेर चिनिसकेका थिए।

जेलभित्र जानु अगाडि मेटल डिटेक्टरले जाँच्दा एक पटक करायो। तर उसले हत्तपत्त बेल्टको बगल्स देखाउँदै'फलाम हो' भन्दै फिस्स हाँस्यो। प्रहरीले शङ्का नगरी भित्र जान दिए।

उ भित्र जाँदा युनुस आफन्तसँग कुरा गरिराखेका रहेछन्। अनि सिधै गएर गोली हान्न थाल्यो।

जमिम शाहको हत्या, फैजान अहमदको हत्या त बाहिर सार्वजनिक स्थानमा भएको थियो। बाहिर हत्या गर्दा भागेर जोगिन सकिन्छ। तर जेलभित्र गोली हान्दा पक्राउ पर्ने मात्र हो र प्रहरीले गोली हानेर मार्न पनि सक्थ्यो। बढो रिस्की कामको जिम्मा लिएर आएको थियो मनमित।

'अनि पक्राउ त पक्का हो मारिन पनि सकिन्छ' भन्ने लागेन?

उसले हाँस्दै जवाफ दियो' जी साहाब मालुम था। पर किसिने बुझे मारा तो नही ना।'

यो कच्चा अपराधी हैन भन्ने उसको भनाइबाटै देखिइसकेको थियो। योजना र योजनकार खुलाउन कडा मिहेनत लाग्ने देखियो। हामी त्यसका लागि मानसिक रूपमा तयार थियौँ

क्रमशः 

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....

चुनावमा जित जनताको होइन, जसले जित्छ उसैको हुन्छ

मङ्सिर ३ गतेदेखि मेरो यो नम्बरबाट कसैलाई फोन गर्‍यो भने एनसेलबाट नेपाली र अङ्ग्रेजी भाषामा जवाफ आउँछ– तपाईंको टेलिफोन सेवा निषेधित गरिएको छ। त्यो सन्देश....

सबका घरमा मगमग बास्ना आउने तेल पुर्‍याउन खोकना ब्रान्ड ब्युँताउन कस्सिएका कान्छा

खोकनालाई तेलले र तेलले खोकनालाई परिचित गरायो। तर, अहिले यो सब 'एकादेशमा खोकनामा तोरीको तेल उत्पादन हुन्थ्यो' समान बनेको छ। भित्री बस्ती बाहेकको स्थानमा प्राइभेट....

मनोचिकित्सक डा. निदेशको उपचार अनुभव : जुरुक्क उठेर आएका युवकले च्याप्प कठालो समातेर मलाई घिसार्दै बाहिर निकाले

उनले ती महिलाको मानसिक स्वास्थ्यको अवस्था परीक्षण गरे। कारागारमा स्वास्थ्य शिविर लिएर जानुअघि पनि मनोचिकित्सकको टिमले महिलाको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो। कारागारमा भेटेपछि....