उकेरा कोलम

ब्याच नम्बर ६९ : नक्कली अपराधी बनेका प्रहरी जब सक्कलीझैँ जेल पर्न थाले


अघिल्लो अंकबाट अन्डरकभर र स्टिङ अप्रेसनबारे लेख्न सुरु गरेको थिए। यो साताको विषय पनि त्यही नै छ है। सायद तपाइँहरुलाई रुचिकर नै लाग्ला।

आफूले चाहेको सामान पनि निस्कियोस्, व्यक्ति पनि भाग्न नसकोस् अनि अन्डरकभरमा काम गरेका प्रहरी पनि सुरक्षित हुन्। स्टिङ अप्रेशनमा खोजिने नतिजा यही हो। 

अर्को चैँ  ब्यक्ती अपराधी हो भन्ने थाहा छ तर जति गरे पनि प्रमाण सङ्कलन गर्न सकिन्न। त्यस्तोमा प्रमाणसहित त्यो व्यक्तिलाई पक्राउ गर्न पनि स्टिङ अप्रेशन गर्ने गरिन्छ।

अपराधमा संलग्न व्यक्तिलाई प्रमाणसहित पक्राउ गर्न वा अन्य प्रमाण सङ्कलन गर्न प्रहरी बनेर सम्भव हुन्न नि। त्यस्तो बेलामा त प्रहरीले अपराधीको सहयोगी नै बन्नुपर्ने हुनसक्छ। त्यसैले अन्डरकभरमा खेलिरहेको प्रहरीले विभिन्न भूमिका निभाइरहेका हुन्छन्।

अन्डरकभर र स्टिङमा जस्तो अवस्था आउँछ त्यस्तै अभिनय गर्ने अनी त्यस्तै बोल्ने हो। मान्छे मार्नुपर्छ भन्यो भने हो मार्ने नै हो त्यसलाई भन्ने त हो। हुन्न भन्नथाल्यो भने त कहाँ पत्याउछन् त! तर उदेश्य मार्ने प्रयास गर्दागर्दै समात्ने हो नि। तर म पनि मार्छु त भन्नैपर्‍यो। ए यसले त मार्छु भनेको थियो भनेर कारबाही गर्न थाले कसले बोल्छ यस्तो?

त्यसैले स्टिङ अप्रेसनमा संलग्न प्रहरीको कुराकानी अनि उसको व्यवहार अनि सम्पर्क जालो केलाउने हो भने उनीहरू पनि अपराधी नै हो भन्ने लाग्छ। तर उसको भुमिकाबारे जानकारी नभएकाको हकमा हो यो। जसले उ अन्डरकभर वा स्टिङ अप्रेशनमा संलग्न हो भन्ने जानकारी हुन्छ उसका लागि भने जस्तो ब्यवहार पनि नौलो हुन्न।

प्रहरीको अप्रेशन र त्यसको शैलीबारे जानकारी नै नभएको व्यक्तिले यो बुझ्दैन। उसले संवादहरू सुन्दा त प्रहरीले पनि अपराधीसँग मिलेर अपराध गरिरहेजस्तो लाग्न सक्छ।

जस्तो बहुचर्चित ३५ किलो सुनको घटनालाई नै लिन सकिन्छ। त्यो केसमा प्रहरी नै अपराधीलाई जोगाउनतिर लागेको, प्रहरीकै मिलेमतो रहेको भनेर दिवेश लोहनी, प्रजित केसी लगायतका प्रहरीमाथि नै मुद्दा लगाइयो।

त्यो घटना भनेको जो यो घटनाको अनुसन्धानमा जुटेको हो उसले सुरक्षाकर्मीले गर्ने स्टिङ र अन्डरकभर अप्रेसनबारे नबुझेको हो।

प्रहरीको व्यवहारबारे शङ्का भएपछि गृहबाट अनुसन्धान अगाडि बढ्यो। अनुसन्धानको जिम्मा सुरक्षा निकायले गर्ने अन्डरकभर र स्टिङ अप्रेसनको शैलीबारे जानकारी नै नभएको निजामती कर्मचारीले अनुसन्धानको जिम्मेवारी पाए।

अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीले समितिलाई अन्डरकभर र स्टिङ अप्रेसनको शैली बुझाउन सकेनन्। अनि दिवेश लोहनी होस् या प्रजित केसीले गरेको संवाद होस् उनीहरुका लागि त उनीहरू अपराधीकै सहयोगी जस्तो लाग्ने नै भयो।

सार्वजनिक भएको संवाद सुन्ने हो भने त्यो स्टिङ भन्ने प्रष्टै हुन्छ। उनीहरू सनम शाक्यको हत्यामा संलग्न समूह सकेसम्म नभागुन् भनेरै गोरेलाई सहयोग गर्ने गरी संवाद गरिरहेका छन्। तर त्यसैलाई अपराधमा संलग्न रहेको प्रमाणको रूपमा लिइयो।

स्टिङ अप्रेसनको शैली बुझ्ने केही प्रहरीले पनि यसलाई सुल्झाउनुको साटो आन्तरिक प्रतिस्पर्धाको माहौल हेरेर अपराधै गरेको हो भन्ने पार्नतिर लागे। त्यसको असर उनीहरुले पनि पछि भोगे वा नभोगेको भए भोग्नलान्। 

यस्तोमा अन्डरकभर अप्रेसनबारे जानकार नेतृत्वले अप्रेशनको शैलीबारे जानकारी दिन सक्नुपर्ने हो। तर यसमा त्यो काम पनि हुन सकेन। बाहिरिएको संवादै सुन्दा पनि तत्कालीन निमित्त प्रहरी प्रमुखसँग तत्काल अपराध महाशाखाको प्रमुखले अनुमति लिएर टोली खटाएको देखियो। तर उहाँबाट प्रष्ट्याउने काम भएको देखिएन।

टोलीसँग तत्कालीन एसएसपी दिवेश लोहनीले गरेको संवादहरू सुन्दा पनि त्यो आपराधिक मनसायले हैन अपराधीलाई पक्राउ गर्ने मनसायले गरेको संवाद हो भन्ने त देखाउँछ। तर नेतृत्वले त्यसलाई चिर्न सकेन। निजामती नेतृत्वको अनुसन्धान समितिलाई यो अन्डरकभर अप्रेशन हो भनेर बुझाउने प्रयासै भएको देखिएन।

उनीहरूले अन्डरकभर अप्रेसनमा बोलेका संवादहरूलाई अपराधमा संलग्नको प्रमाणको रूपमा अपव्याख्या गरेर अनुसन्धानमा संलग्न प्रहरीलाई नै अपराधी बनाउने प्रयास गरियो। जेल हालियो।

धन्न अदालतले अन्डरकभर र स्टिङ अप्रेसनको नेचर बुझ्दा उनीहरू अपराधी नै प्रमाणित हुनबाट जोगिए। अदालतले पनि अडियो संवाद मात्र सुनेर निर्णय गरिदिएको भए त फस्ने थिए नि प्रहरी।

लागु औषधमा काम गर्दा हाम्रै एक जना प्रहरी जवानबारे पनि यस्तै अडियो बोकेर आएका थिए। त्यो संवाद मात्र सुन्ने हो भने उ आफैँ चरेस कारोबारमा संलग्न छ भन्ने जस्तै लाग्थ्यो। अब उसलाई चरेस कारोबारी नै बनाएर चरेस किन्न पठाएका थियौँ हामीले।

अब उसले कारोबारी नै बनेर संवाद नगरी त बेच्नेले कसरी पत्याउँछ त। म प्रहरी हुँ चरेस निकाल भनेर कसैले निकाल्छ र ! त्यसो हुने हो भने किन स्टिङ अप्रेशन चलाउनु अनि किन अन्डरकभर अप्रेशन चलाउनु ? अन्डरकभरै चाहिएन नि।

विश्वका देशहरूमा अन्डरकभर कामै गर्न नपाइने देश जापान मात्र होला। मलाई जानकारी भएको त्यही हो। नत्र हरेक देशमा अन्डरकभर अप्रेशन हुन्छन्।

नेपालका एयरपोर्टबाट ठुला-ठुला परिणाममा कोकिन अनि हेरोइन काठमाडौँ भित्रिएर ठमेलमा पक्राउ परेका समाचाहरु आउँछन् नि। ती सामान्य अनुसन्धानका नतिजा हुन् र? हैन।

त्यो त अन्तर्राष्ट्रिय अन्डरकभर र स्टिङ अप्रेसनको नतिजा हो। युरोप या अमेरिकामा यस्ता लागु औषध सप्लाई गर्ने समूहसम्म सुरक्षा निकायका सदस्य वा सहयोगी क्रेता बनेर सम्पर्कमा पुगेदेखि नै काम सुरु हुन्छ।

समूहको सम्पर्कमा जाने, उनीहरूको विश्वास जित्नका लागि जे-जे गर्नुपर्ने हो गर्नुपर्छ। ठुलो परिणामसहित पक्राउ गर्ने योजना हो भने आफैँ संलग्न भएर सानो परिणाम सप्लाई गराउनु पर्ने हुन पनि सक्छ।

के गर्ने अनि के नगर्ने, के बोल्ने अनि के नबोल्ने भन्ने अवस्थामा भर पर्ने कुरा हुन्छ। अन्डरकभर या स्टिङअप्रेशन गर्नु भनेको अभिनय गरे समान हो। कहिले हिरो बन्ने त कहिले भिलियन बन्ने काम त हो।

जहाँ जस्तो अभिनय गर्दा पत्याउँछन् त्यस्तै अभिनय गरेन भने त एक्सपोज भइहाल्छ नि। कतै सहयोगी बन्ने, कतै विक्रेता बन्ने अनि कतै क्रेता बन्ने, कतै समूहको सदस्य नै बन्ने। जे गर्दा उनीहरूको चाँडै विश्वास जितिन्छ त्यही त्यही गर्ने र सकेसम्म क्वालिटी अरेस्ट गराउने।

क्वालिटी अरेस्ट भनेको चैँ सकेसम्म समूहका उपल्लो तहका सदस्य नै पक्राउ पर्ने अनि अधिकतम धेरै सामानसहित पक्राउ गर्ने हो।

नेपाल भित्रिने कोकिनको अन्तर्राष्ट्रिय अन्डरकभरमा जुनसुकै देशको सुरक्षा युनिटले सघाएको हुनसक्छ। उनीहरू भारत या अन्य देश हुँदै कोकिन अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सक्रिय समूहलाई पक्राउ गर्न उनीहरूको समूहमा प्रवेश गर्ने, सूचनाहरू लिने अनि उनीहरूलाई सहज र सुरक्षित हुने स्थानसम्म पूर्याएर पक्राउ गराउने रणनीति हुनसक्छ।

उनीहरूले रुट तय गर्दा नेपाल रुटमा ल्याएर पक्राउ गर्न सहज हुने हो भने त्यसै गर्छन्। उनीहरूलाई नेपाल हुँदै कुन देश भन्नुपर्ने हो भन्छन्। अनि उनीहरू सामान लिएर नेपाल आउँछन्। विमानस्थलमा खटिने सुरक्षाकर्मीलाई उनीहरूबारे जानकारी हुन्छ तर त्यहाँ समात्दैनन्।

विमानस्थलमै पक्राउ गर्‍यो भने नेपालमा रहेका उनीहरूको सहयोगी या अन्य कुनै सदस्य बच्न सक्छन् नि त। त्यसैले उनीहरूलाई सहजै विमानस्थलबाट होटेलमा जाने अनि घुमघाम गर्ने र भेटघाट गर्न दिन्छन्।

उनीहरूले गर्ने फोन कल अनि उनीहरूले भेट्ने मान्छेहरू पुरै निगरानीमा हुन्छ। जब अब नयाँ व्यक्ति र नयाँ सूचना आउँदैन भन्ने हुन्छ वा उनीहरू भाग्न सक्ने वा उनीहरूले थाहा पाउने जोखिम हुन्छ अनि मात्र उनीहरू समातिन्छन्। यस्तोमा पक्राउ गर्दा देखिएका जति सबैलाई एकै पटक पक्राउ गर्ने प्रयास हुन्छ।

अब यसलाई सहज रूपमा हेर्दा विमानस्थलको सुरक्षा चुक वा विमानस्थलको प्रहरीले जानाजान छाडेको भन्ने देखिँदैन र। अनुसन्धान समिति गठन गरेर उनीहरू विमानस्थलबाट कसरी सहजै काठमाडौँ भित्रिए भनेर हेर्ने हो भने उनीहरूले थाहा पाउँदापाउँदै पनि पक्राउ नगरेको देखिँदैन र ?

विमानस्थलमा उनीहरूको सामान जाँच्ने अनि सामान छ भन्ने पक्का हुँदाहुँदै पनि नसमात्ने त हो। यस्तोमा कसैलाई फसाइदिऊँ न त भन्ने हो भने अन्डरकभर र स्टिङ अप्रेशन गर्ने जो कोही पनि फस्न सक्छन्। फसाइएका पनि छन्।

तर त्यसको प्रत्यक्ष नकारात्मक असर त्यसपछि हुने अन्डरकभर र स्टिङ अप्रेसनमा पर्छ। प्रहरी कर्मचारीमा आत्मबल कमजोर हुन्छ। उनीहरू अन्डरकभर वा स्टिङमा संलग्न हुन राजी नै हुँदैनन्।

जवर्जस्ती हाकिमले खटाए पनि उनीहरूले सेफजोनमा बसेर मात्र अप्रेसनमा परिचालित हुन्छन्। म कतै यसमा फस्न त फस्दिन भन्ने सोचेर कुनै अन्डरकभर अप्रेशन र स्टिङ अप्रेशन सफल हुनै सक्दैन।

३५ किलो सुन काण्डपछि नेपाल प्रहरीमा गतिलो अनुसन्धान हुन नसक्नुको कारण प्रहरीले खेलेको नक्कली भूमिकालाई सक्कली भनेर कारबाही चलाएको घटनाले नै हो। यो सङ्गठनका कतिले बुझ्नै सकेनन्। जो बुझ्न सक्षम थिए उनीहरूले नबुझेजस्तै गरिदिए।

सुरक्षाकर्मी बनेर साँच्चिकै अपराध गर्नेहरू पनि छन्। ती अपवाद हुन्। त्यस्ता सदस्य जुनसुकै सङ्गठनमा पनि हुन्छन् नै। यहाँ लेखिएको वास्तविक अपराधै गर्ने प्रहरीबारे हैन सङ्गठनको हितका लागि अपराधमा संलग्न भएको अभिनय गर्ने प्रहरीबारे लेखेको हुँ।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....