उकेरा कोलम

ब्याच नम्बर ६९ : हाम्रो ब्याच सुपरहिट हुन्छ भन्थे तर ..!


नेपाल प्रहरीको नेतृत्व चयनका के कस्ता खेल हुन्छन् अनि आन्तरिक रूपमा साथीहरूबिच के कस्तो प्रतिस्पर्धा हुन्छ?  पछिल्लो समयमा यहीबारे लेखिरहेको थिए। बिचमा फ्याट्ट भारत पन्जाबका गायकको हत्या अनि हत्यामा संलग्न हुनसक्ने व्यक्ति भागेर नेपाल आएको शंकामा दिल्ली प्रहरीको एक टोली नेपाल आएको सार्वजनिक भएपछि अपराध अनुसन्धानमा नेपाल-भारतका सुरक्षाकर्मीबिचको सम्बन्धबारे लेख्न मन लाग्यो।

यो बिचमा नेपालमा भारतीय अपराधीको प्रभाव र ग्याङवारले निम्त्याएको चुनौती, नेपालको सीमामा जोडिएका भारतीय क्षेत्रमा मौलाउने सङ्गठित अपराधको नेपालमा परेका प्रभाव अनि अन्य देशका गुप्तचर संस्थाहरूले नेपाल-भारतविचको खुल्ला सीमालाई आफ्नो स्वार्थमा कसरी उपयोग गरे र भोलि केसम्म गर्न सक्छन् भन्ने विषयमा आफ्ना अनुभव तीन एपिसोड लेखे। त्यसमा आएका प्रतिक्रियाका लागि तपाईँहरूलाई धन्यवाद।

अहिलेसम्म लागु औषध अनुसन्धानका आफ्ना अनुभवहरू धेरै बाँडे। लामो समय त्यहाँ काम गरेकाले मेरा अधिकांश अनुभव लागुऔषध अपराधसँगै जोडिएकाले पनि यो सम्बन्धी धेरै अनुभव हुने नै भयो।

डेढ वर्ष भइसक्यो उकेरामा 'ब्याच नम्बर ६९' मा लेख्न थालेको छ। तै पनि अझैँ आफ्ना अनुभव सकिएका छैनन्। यति लामो जाला यो शृङ्खला अनी पाठकहरूले मेरा अनुभव यसरी मन पराउनुहुन्छ भन्ने लागेको थिएन। प्रहरीको गन्थन कति पढ्नु भन्ने पो हो कि भन्ने नलागेको पनि हैन। तर जति माया पाएको छु दङ्ग छु।

प्रहरी प्रधान कार्यालयका विभिन्न विभागहरूमा गरेको काम, महानगरीय प्रहरी अपराध अनुसन्धान अनि केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखको रूपमा गरेका काम र आफ्ना अनुभव बाँड्नै बाँकी छ। म फेरी बाँकी रहेको उही आइजिपी चयनमा हुने खेलबारे आफ्नो अनुभव बाँड्न जाँदै छु। केही हप्ता आइजिपी चयनका खेलबारे नै लेख्छु अनि पक्कै नयाँ विषयमा प्रवेश गर्नेछु।

OOO

कुबेरसिंह रानापछि सङ्गठनको नेतृत्वको दाबेदार मेरो आफ्नै ब्याच'ब्याच ६९' का साथीहरू नै थिए। म पनि त्यही ब्याचकै सदस्य भए पनि म यो प्रतिस्पर्धाबाट निकै टाढा पुगिसकेको थिए। जो साथी आइजिपी भए पनि अवकास नभएसम्म सघाउने मेरो योजना थियो।

हाम्रो ब्याचको बेसिक तालिममा पहिलो नम्बरमा पास भएका थिए राजेन्द्र सिंह भण्डारी। ब्याचका उपेन्द्रकान्त अर्याल, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, यादव अधिकारी, नारायणप्रसाद बस्ताकोटी, केदारप्रकाश साउद, रमेश शेखर बज्राचार्य, गणेशराज राई, वीरेन्द्र बाबु श्रेष्ठ, परशुराम खत्री, प्रताप सिंह थापा, विश्वराज सिंह शाही, सुशीलवर सिंह थापा, केशवबहादुर शाही, केशवप्रसाद अधिकारी, गोपालप्रसाद भण्डारी, श्यामबहादुर खड्का, रवि प्रताप राणा, मनोहर प्रसाद रिमाल, रामकुमार खनाल, प्रेमबहादुर चन्द, ज्ञानोदराज वैद्यलगायत थिए।

सब एक से एक प्रहरी अधिकृतहरू। ब्याचमा निकै आत्मीयता थियो, सङ्गठनमा काम गर्दा एकले अर्कालाई निकै सहयोग गर्ने। बढुवा हुँदै जाँदा हाम्रो ब्याचले पनि प्रहरी नेतृत्व गर्न पाउने देखियो।

सङ्गठनमा प्रवेश गरेपछि प्रमुख भन्ने चाहना कसको हुन्न र। तर प्रहरी महानिरीक्षक पद त एउटा हुन्छ। ब्याचका सबै प्रहरी महानिरीक्षक बन्न सम्भव हुन्न क्यार। जसले आफूलाई सङ्गठनको प्रमुखको रूपमा ग्रुम गर्न सक्छ, सार्वजनिक छवि अनि पावर सेन्टर सबैतिर भिजाउन सक्छ नेतृत्वमा पुग्ने सम्भावना उसैको हुने त हो। यो भाग्यको खेल पनि हो जस्तो लाग्छ मलाई।

समय क्रमसँगै हाम्रो ब्याचका साथीहरूमध्ये सङ्गठन प्रमुख हुनसक्नेगरी तीन जना अगाडि देखिए, उपेन्द्र, राजेन्द्र अनि सुरेन्द्र। अन्य पनि सक्षम नभएका हैनन् है। तर बढुवा, पोस्टिङ अनि सार्वजनिक छविले बिस्तारै कसैको सम्भावना बढी अनि कसैको कम हुँदै जाने त हो।

हाम्रो ब्याचबाट प्रहरी सङ्गठनको नेतृत्व गर्दा 'यिनीहरूले त रकेटै उडाउँछन्' भनेर आस गर्नेहरू पनि थिए। तर तिनीहरूलाई म सधैँ भ्रममा नबसौँ भनिदिन्थे। प्रहरी प्रमुखले चाहँदा सङ्गठनलाई सकारात्मक प्रभाव पर्ने केही काम हुनसक्छ तर पुरै परिवर्तन हुन्छ भनेर आस गर्नु बेकार हो।

यसको कारण भनेको प्रहरी ऐन र प्रहरी नियमावली नै हो। भए भरका अधिकार लगेर प्रहरी नियमावलीमा राखिदिएको छ। सरकारले चाह्यो भने क्याबिनेट राखेर एकै घण्टामा उलटफेर गर् नसक्ने गरी विभागीय प्रमुखलाई कमजोर बनाएको छ। अब त्यस्तो सङ्गठनको प्रमुख जो भए पनि चमत्कार कहाँ सम्भव हुन्छ र!

हो एक से एक प्रतिस्पर्धी थिए। उनीहरूमा आ-आफ्नै खालका गुण थिए। कोही डाङडुङ बोल्ने तर मनको सफा थिए। यस्ताको धेरै दुस्मन हुने भइनै हाल्यो। तर पारदर्शी शैलीका कारण जति दुस्मन भए पनि अन्य पदमा प्रभाव परेन। तर प्रहरी प्रमुख चयनमा त सामान्य कुराले पनि प्रभाव पार्छ।

कोही लोभ-लालच नगर्ने र सङ्गठनभित्र अनि बाहिर पनि मिलाउन सक्ने खुबी भएकाहरू थिए। कोही लोभी पनि थिए तर सबैतिर टाकटुक मिलाउन पनि सक्थे। कोही कहिकतै केही मिलाउन नसक्ने तर लोभ मात्र गर्नेहरू पनि थिए। कोही पैसाका लागि जस्तोसुकै काम गर्न पनि पछि नपर्नेहरु पनि थिए।

कसैको आन्तरिक पावर सेन्टरमा पकड थियो त कसैको बाह्य पावर सेन्टरसँग राम्रो थियो जसले नेपालको निर्णयमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा प्रभाव पार्न सक्थे। शिवको सेना भन्छन् नि हो हाम्रो समूहमा ती सबै गुण भएका साथीहरू थिए।

बढुवा अगाडि बढ्दै जाँदा जब ब्याचीहरु एसएसपी भए मलाई मनमा उपेन्द्रकान्त अर्याल आइजिपी हुने सम्भावना बढी छ भन्ने लाग्न थाल्यो। ब्याचका सबै साथीहरूसँग मेरो उत्तिकै प्रेमपूर्ण सम्बन्ध छ है अहिले पनि। त्यो बेला पनि थियो। म कसैलाई उचाल्ने अनि कसैलाई पछार्ने स्वभावको पनि हैन।

तै पनि यसो हेर्दा कसले के गर्न सक्छ भन्ने लाग्न सक्छ नि। मलाई त्यही लाग्यो। यसलाई अन्यले स्वीकार नगर्न नि सक्छन्। तर मलाई लागेको कुरा त लेख्नु पर्‍यो नै। यो बेलासम्म भावी नेतृत्वका लागि टप थ्री उपेन्द्रकान्त, राजेन्द्रसिंह अनि सुरेन्द्रबहादुर धेरै अगाडि बढिसकेको देखिन्थ्यो।

नेतृत्वका लागि को योग्य छ भन्ने बाहिर देखिन केवल कामले मात्र हुन्न। यसमा धेरै सिक्वेन्सहरु पनि मिल्नुपर्छ। अझ नेपालमा सेना र प्रहरीमा त इन्जेक्टेड लिटरशिप छवि पनि बनाउने गरिन्छ नि। यो भनेको चैँ व्यक्ति सक्षम नभए पनि उसको यस्तो खतरा माहौल बनाइदिने कि उसले नेतृत्व गर्न पायो भने त बबालै गर्छ भन्ने खालको पोजेटिभ भाइब्स दिने।

यसरी नेतृत्वमा पुगेकाहरूले कति कसरी असफल भए भन्ने त देखियो पनि नै। नेतृत्वमा पुगेपछि त क्षमताका आधारमा हो नि काम देखिने। कसैले फुलाएको भरमा त काम हुन्न। नेतृत्वमा पावर सेन्टरदेखि मिडियासम्म प्रयोग गरेर खतरा छवि बनाउने बेलुन फुले जस्तै। अनि जब नेतृत्वमा पुग्यो जसले बेलुनमा हावा भरेको हुन्छ उसैले विस्तारै-विस्तारै हावा फुस्काइदिन्छ। अनि रिटायर्डको समयसम्ममा बेलुन पहिला जुन आकारको हो त्यही आकारमा आउँछ या बिचैमा फुट्छ। कतिपय आफ्नो असली आकारमा आए। ती भाग्यमानी नै हुन् भनौँ न। कतिको छवि त बिचैमा फुट्यो नि।

यो चैँ मेरो समग्र अनुभव हो है, एकल ६९ ब्याचका सदस्यमा मात्र हैन। तर यो ब्याचमा पनि यसरी फुलाइएकाहरू पनि थिए। तर उनीहरू नेतृत्वमै पुग्न चैँ सकेनन्।

पनि थिए। तर उनीहरू नेतृत्वमै पुग्न चैँ सकेनन्।

OOO

एसएसपीसम्मको बढुवासम्म पनि हाम्रो ब्याचका साथीहरूबिचको सम्बन्ध राम्रो थियो। प्राय भेटघाट भइरहन्थ्यो। आन्तरिक प्रतिस्पर्धा त हुने नै भयो तर फेयर थियो प्रतिस्पर्धा। टप थ्रिको पोस्टिङ पनि राम्रो थियो। कोही अपराध अनुसन्धान त कोही कार्यतिर, कोही प्रशासनतिर।

डिआइजीमा क्रमसङ्ख्या तलमाथि पार्न राम्रै प्रतिस्पर्धा भएको हो। कुदाई थियो साथीहरूको। डिआइजी भनेको त नेतृत्वको मुखैमा पुगिने पोस्टिङ पनि भयो नि। त्यसमा क्रमसङ्ख्या तलमाथि पर्नु भनेको नेतृत्वका लागि ढोका खुल्नु या बन्द हुनु समान थियो।

अब साथीभाइबिच कुनै कुरामा ठाकठुक पर्नु नौलो भएन। रिसाउँथे अनि केही समयमा आफैँ बोल्थे नै। लामो समयसम्म नबोल्ने अनि एक गएको कार्यक्रममा अर्को नजाने भन्ने देखिएन। कतै असमझदारी देखिए हामी मिलाइदिन्थ्यौ पनि। सकेसम्म हाम्रो ब्याचबाट जो नेतृत्वमा पुगे पनि सबैको सम्बन्ध राम्रो होस् अनि सङ्गठनका लागि गर्न सकिने जति सकारात्मक काम होस् भन्ने नै लागेको थियो।

एसएसपीमा पहिलो नम्बरमा उपेन्द्र थिए। दोस्रोमा राजेन्द्र अनि सुरेन्द्र जस्तो लाग्छ है। अपवादका घटना छाडेर तीनै जनासँग मेरो सम्बन्ध उस्तै। जो आइजिपी भए पनि उनीहरूको रोजाइमा म पर्ने पक्का थिए सहयोगीको रूपमा। डिआइजीमा बढुवा निस्कँदा पनि क्रमसङ्ख्या हेरफेर भएन। त्यो बेलामा संविधान सभा सकिएर दोस्रो पटक संविधान सभा निर्वाचनमार्फत संविधान जारी गर्न मन्त्रीपरिषद् प्रणालीमा सरकार बनेको थियो।

अब एआइजीको एक पद रिक्त भयो। भएका डिआइजीहरूमध्येबाट जो एआइजीमा नियुक्त भयो उ आइजिपी हुने निश्चित। अब त्यो बेलामा कतिसम्म प्रतिस्पर्धा भयो होला अनुमानै काफी छ। जसले भ्याउँछ भ्याउँछ तर जो प्रहरी प्रमुख भए पनि अन्यले सहयोग गर्ने भन्नेबारेमा ब्याचीहरुविच सहमति भने थियो है। यसमा सबै राजी पनि थिए।

अब एकातिर उपेन्द्र लागेका छन्। अर्कोतिर राजेन्द्र अनि अर्कोतिर सुरेन्द्र पनि। विज्ञान पनि तीन जना सँगैको प्रतिस्पर्धामा न देखिएका चाहिँ होईनन।

मन्त्रिपरिषद्को बैठक बसेर एआइजीमा उपेन्द्रकान्त अर्याललाई एआइजीमा नियुक्त गर्ने निर्णय गरेपछि अब नेतृत्वमा उनी नै पुग्ने पक्का भयो। उनी एआइजी भएको छोटो समयमा नै आइजिपीमा नियुक्त भए पनि।

उनी आइजिपी भएको केही महिनापछि एआइजीको बढुवा निस्कियो। राजेन्द्र पहिलो नम्बरमै एआइजी भए। अनि सुरेन्द्र र विज्ञानहरू। यसमा पनि पद थप्ने र घटाउने के के खेल भयो भयो। एआइजी सङ्ख्या १३ जनासम्म पुगेको यही बेलामा त हो। छुटेका यादव अधिकारीहरू अदालत गएरै एआइजी भएर आएका हुन्। तर उनीहरूलाई लामो समयसम्म उपेन्द्रले हाजिर गराउन समेत सकेनन्।

ब्याचीहरुविच अनेक लफडाहरू आउन थाले। पहिलो नम्बरमा आइजिपीका रूपमा उपेन्द्र भइहाले। उनी आइजिपी भए पछि म उनको सहयोगी भए। दुई नम्बरमा पहिलो नम्बरमा एआइजी राजेन्द्र भए। तीन नम्बरमा सुरेन्द्र। केही समयसम्म उनीबिचको सम्बन्ध राम्रै थियो। तर एकाएक चिसोपना बढ्न थाल्यो।

स्वस्थ प्रतिस्पर्धामा रहनु ठिक हो। तर प्रतिस्पर्धामा कुनै एक व्यक्ति अगाडि बढेपछि स्वीकार गर्न पनि सक्नुपर्छ। यो संस्कार हो। किनकि आइजिपी पद त एउटा न हो। त्यसमा आफूहरूमध्ये कोही पुग्यो भने आफू ऊसँगै अवकाशमा जाने पक्का हो। त्यसैले निर्णय हार्दिकतापूर्वक स्वीकार गरेर सघाउनुको विकल्प हुन्न। तर  दृश्य र सम्बन्धहरू बाहिर सामान्य देखिए पनि बदलिँदै गए हाम्रा ब्याचका साथीहरूबिच।

उता गृहमा पनि उनी अनुकूलको नेतृत्व आएन। अच्युतकृष्ण खरेल आइजिपी हुँदा उपेन्द्रकान्त उनको सचिवालयमा थिए। त्यो बेला बामदेव गौतम गृहमन्त्री हुँदा कुन तहसम्मको लफडा भयो त्यो त यसभन्दा अगाडिकै एपिसोडमा लेखिहाले।

अब आइजिपी उपेन्द्र अनि गृहमन्त्री बामदेव भएपछि घच्याकघुचुक हुनु सामान्य नै भयो। त्यसमा टपथ्रीविचको सम्बन्धमा पनि कता कता ठिक न भएको महसुस हुन थाल्यो मलाई त्यसमा पनि विशेष गरी उपेन्द्र र राजेन्द्रबिच। पहिला पनि सम्बन्धमा तलमाथि भइरहेको हुन्थ्यो। तर केही दिन बोल्दैनथे। तर केही समयपछि उनीहरू एकै फोरममा देखिन्थे। हाम्रो ब्याचमा भने त्यस्तो हुन सकेन। आइजिपी अनि उनीपछिकाहरु एकै मञ्चमा देखिनै छाडे।

फस्ट म्यान र सेनेन्डम्यानविचै मेलमिलाप भएन भने त्यसको तलसम्म म्यासेज राम्रो जाँदैन नि। आफू मातहतकाहरुसँग चैँ अनुशासन खोज्ने अनि आफू चैँ अनुशासनमा नबस्ने भन्ने हुँदैन।

निजामती जस्तो हैन प्रहरी सङ्गठन। सचिव मन परेन भने सरुवा मागेर अन्त गए भयो त। जसले सचिवसँग कुरा नमिलेर सरुवा मागेर जान्छन् नि उनीहरूबिच आफ्नो करिअरको अवधिभर दोस्रो पटक भेटै नहुन पनि सक्छ। तर प्रहरीमा यो सम्भव छैन। सरुवा मागेर जहाँ गए पनि आइजिपीसँग त ठोकिन्छ, ठोकिन्छ।

पहिला खटपटहुँदा हामी ब्याचीहरुले केही न केही गरेर सम्बन्ध सुधारीहालिन्थ्यो। तर उपेन्द्रकान्त आइजिपी भएपछि ब्याचीहरुबाट त्यो काम पनि सम्भव भएन। असमझदारी यसरी फैलियो कि हटाउनै सकिएन। मेरो व्यक्तिगत अनुभवमा न उपेन्द्रले राजेन्द्रको अहित चिताएका थिए न राजेन्द्रले नै। तर बिचमा भएका केहीले यसरी खेलिदिए कि दुबैबिच एकले अर्काका विरुद्ध के-के न खेल भइरहेको भान पर्‍यो। कटुता बढ्दै गयो।

मैले एक पटक उपेन्द्रकान्तसँग भनेको पनि हुँ है' तिमिहरू बिच अरू कसैले खेलिरहेको छ है' भनेर। तर बेलैमा दुवैले एक अर्कालाई बुझ्ने प्रयासै गरेनन्। कमसेकम आइजिपी चयन नभसम्मको अवस्थामा सबैले प्रयास गर्नु नौलो कुरा हैन। तर प्रतिस्पर्धामा भएकाहरूमध्ये एक जना जो आइजिपी हुन्छ बाँकीले त्यो स्वीकार गर्न सक्नुपर्छ। हुनै सकेन।

मेरो ब्याचमा देखिएका टपथ्रीविच एक समझदारी भएको भए प्रहरी सङ्गठनमा केही नयाँ र प्रभावकारी काम हुन सक्थ्यो। प्रहरी सङ्गठन बलियो पनि हुन सक्थ्यो। त्यसैले उनीहरूलाई मिल्न नदिनका लागि खेल्नेहरू पनि उत्तिकै थिए बाहिर अनि सङ्गठनमै।

यो बुझ्न साथीहरू चुकेको लाग्छ मलाई। साथीहरूको इगोले बढी काम गर्‍यो। यसमा बाहिर बसेर सङ्गठनमा खेल्न चाहनेहरूको जीत भयो। जसले दुई जना मिल्नै नसक्ने वातावरण बन्यो।

त्यसको असर अहिलेसम्म पनि देखिन्छ।

 त्यसपछि पनि उनीहरू एकै ठाउँमा भेला भएका छैनन्।

OOO

त्यो बेलामा बजारमा सधैँ आइजिपी फेर्ने खेल भइरहेको छ भन्ने समाचारहरू आइरहन्थे। कहिले के भयो, कहिले के भयो भनेर समाचार आउँथ्यो। आजै आइजिपी बदलिने भए, यस्तो सहमति भयो भन्ने खालको समाचार आइरहन्थे। के हो यस्तो समाचार आइरहेका छन् नि भन्दा उपेन्द्र हाँस्थे मात्र।

आइजिपीका हाकिम पनि कति जना छन् हेरौँ त। अख्तियार दुरुपयोग अनुसन्धान आयोग,महत्त्वपूर्ण आयोग,संसदीय समिति, गृहमन्त्री, प्रधानमन्त्री अनि प्रमुख दलका नेताहरू सबै आइजिपीका हाकिम भए। अनि उनीहरूलाई रिझाउन जाने कि विभागको काम गर्ने मुख्य समस्या यही हो नि।

खरिदको अधिकार आइजिपीले हस्तान्तरण गर्दैनन्। तर उपेन्द्रकान्तले पहिलो पटक एक करोडसम्मको खरिदको अधिकार तल दिए भने केन्द्रको खरिदको अधिकार पनि एआइजीलाई लिखित रूपमा हस्तान्तरण गरे। यसरी खरिदकै अधिकार हस्तान्तरण गर्ने उनी पहिलो आइजिपी हुन् है।

चमत्कारै गर्न नसके पनि ६९ ब्याचबाट नेतृत्वमा पुगेकाले प्रहरी सङ्गठनको नीतिमा केही न केही सकारात्मक थालनी गर्न सक्थे। केही आन्तरिक थिति बसाल्न सक्थे।  तर रानिबारी हत्या घटना लगायतका अनुसन्धान हुन बाकी रहेका घटना अनि टिकापुर घटनाका आरोपी विरुद्धको मुद्दा फिर्ता बाहेक खासै सम्झनुपर्ने काम भए जस्तो लाग्दैन।

यो चैँ नछुटाऊँ क्यार, टिकापुर काण्डको अनुसन्धान र कारबाहीमा उपेन्द्रकान्तले अडान नलिएको भए त्यही बेलामा मुद्दा फिर्ता भइसक्थ्यो। त्यो रोकेकै हो।

तर उनको अधिकांश कार्यकाल कहिले विभागको आन्तरिक व्यवस्थापन त कहिले गृहमन्त्रीसँगको नोकझोकै बित्यो। अब आइजिपी र सेकेन्डम्यानका बिचमा असमझदारीले आइजिपी बलियो हुन सक्दैनन् नै।

अन्त्यमा अवकाशपछि केही प्रहरीले आइजिपीले त यो चाहेको थिएनन् तर मैले यो रोके नि, यो गरे भन्ने गरेको सुन्छु। मेरो ३० वर्षको अनुभवमा आइजिपीलाई कुनै विषयमा सहमत गराएर उनले गर्न लागेको काम रोक्नु या उनले नचाहेको काम गर्नु अर्को कुरा हो। तर आइजिपीले नमानेको हकमा सङ्गठनमा बसेर कसैले पनि कुनै काम गर्न वा रोक्न सम्भव छैन।

कुनै विषयमा आइजिपीले स्ट्यान्ड लियो भने त्यो भन्दा तलका व्यक्ति जतिसुकै शक्तिशाली भए पनि त्यसलाई रोक्न सम्भवै छैन। आइजिपीले भनेको मान्दिन भन्नेले राजीनामा दिएर हिँड्नुको अर्को विकल्प हुन्न। तर सङ्गठनमा बस्ने पनि तर आइजिपीले भनेको पनि मान्दिन भन्न सम्भवै छैन।

आइजिपी भनेको आइजिपी हो। आइजिपीको आदेश भनेको आइजिपीकै हो।

एउटा कुरा भने मनमा खट्किरहन्छ, हाम्रो ब्याच सुपरहिट हुन्छ भन्थे तर .....।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....

चुनावमा जित जनताको होइन, जसले जित्छ उसैको हुन्छ

मङ्सिर ३ गतेदेखि मेरो यो नम्बरबाट कसैलाई फोन गर्‍यो भने एनसेलबाट नेपाली र अङ्ग्रेजी भाषामा जवाफ आउँछ– तपाईंको टेलिफोन सेवा निषेधित गरिएको छ। त्यो सन्देश....

सबका घरमा मगमग बास्ना आउने तेल पुर्‍याउन खोकना ब्रान्ड ब्युँताउन कस्सिएका कान्छा

खोकनालाई तेलले र तेलले खोकनालाई परिचित गरायो। तर, अहिले यो सब 'एकादेशमा खोकनामा तोरीको तेल उत्पादन हुन्थ्यो' समान बनेको छ। भित्री बस्ती बाहेकको स्थानमा प्राइभेट....

मनोचिकित्सक डा. निदेशको उपचार अनुभव : जुरुक्क उठेर आएका युवकले च्याप्प कठालो समातेर मलाई घिसार्दै बाहिर निकाले

उनले ती महिलाको मानसिक स्वास्थ्यको अवस्था परीक्षण गरे। कारागारमा स्वास्थ्य शिविर लिएर जानुअघि पनि मनोचिकित्सकको टिमले महिलाको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो। कारागारमा भेटेपछि....