व्याच नम्बर ६९ : अमेरिकी गुप्तचरले नेपालबाटै भारतीय गुप्तचरलाई भगायो

व्याच नम्बर ६९ : अमेरिकी गुप्तचरले नेपालबाटै भारतीय गुप्तचरलाई भगायो

नेपाल अपराधीको क्रिडास्थल मात्रै हैन खुफिया एजेन्सीको पनि उत्तिकै चलखेल हुन्छ नै। खुल्ला सीमा यसको मुख्य कारण हो। अब खुफिया एजेन्सी भन्नासाथ प्राय नेपालीहरूले भारतको रिसर्च एन्ड एनालाइसिस विङस् रअ र पाकिस्तानको आइएसआई मात्रै सम्झन्छन्। त्यति मात्रै हैन। नेपालमा सिआइएको पनि चासो छ नै। उसले पनि नेपालको खुल्ला सीमालाई आफू अनुकूल उपयोग गर्ने गरेको देखिन्छ नै।

एक यस्तै घटना आज लेख्न मन लाग्यो।

२०१७ मा नेपाल आएका एक पाकिस्तानी सेनाका पूर्व अधिकारी कर्नेल मोहम्मद हबिब जाहिर एकाएक हराए। उनी पाकिस्तानबाट नेपाल आएकोसम्म पुष्टि हुन्छ। त्यसपछि उनी एकाएक बेपत्ता भए। उनी अन्तिम पटक लुम्बिनीमा देखिएको भनियो। त्यसपछि उनी कहाँ गए अहिलेसम्म खुल्न सकेको छैन।

पाकिस्तानले भारतीय सुरक्षा अधिकारीलाई आफ्नो पूर्व सैनिक अधिकारीको अपहरण गरेको आरोप लगाए। भारतले हैन भन्यो। यता नेपालमा प्रहरीले उनीबारे केही अनुसन्धान गरेको थियो। अनुसन्धानमा उनी नेपाल आएको पुष्टि भयो।

उनको परिवारबाट मार्क नाम गरेका व्यक्तिले उनलाई टेलिफोन गरेर जागिरका लागि अन्तर्वार्ता दिन नेपाल बोलाएको भन्ने आयो। अवकाश पनि उनी जागिरको खोजीमा रहेको र जागिरका लागि केही वेभसाइटहरुमा आफ्नो बारे लेखेको देखिएको थियो।

उनलाई भैरहवामा कसैले अन्तर्वार्ताका लागि बोलाउनु नै शङ्कास्पद घटना हो नि। उनी अन्तर्वार्ताका लागि लाहोरबाट ओमानहुँदै नेपाल आएकोसम्म देखियो। उनी काठमाडौँमा उत्रिएकै दिन भैरहवा पुगेको देखिन्छ। त्यसपछि उनी कता हराए कता।

उनले परिवारलाई भैरहवा विमानस्थलको फोटो र बोर्डिङ पास सहितको फोटो पठाएकाले उनी नेपाल आएकोमा कुनै शङ्का भएन। तर उनी जुन कारण नेपाल आएको भनियो नि त्यो नै शङ्कास्पद देखिन्छ। युएनसँग सम्बन्धित जागिरका लागि नेपाल आउनु अनि भैरहवा जानुले पनि जे भनियो यसमा त्यही मात्र हो भन्ने देखिँदैन। उनी कुनै बहानामा नेपाल आएर अन्य कुनै देश गएको वा अन्य केही हुनसक्छ। 

के भयो भन्ने नखुलेकाले उनको बारेमा अहिले शङ्का मात्र गर्न सकिन्छ। तर जे जस्ता दाबीहरु आए नि त्यति मात्र हैन भन्नेमा मलाई गम्भिर शंका छ।

अब अर्को एक घटना लेख्छु। यसले मलाई किन माथिको घटनामाथि गम्भिर शंका लागेको हो भन्ने यसले बुझाउन सहयोग पुग्छ।

यो सन् २००४ को घटना हो। 

भारतीय गुप्तचरी निकाय रिसर्च एन्ड एनालाइसिस विङसका जोइन्ट सेक्रेटरी रवीन्द्र सिंह एकाएक भारतमै हराए। भारतीय सुरक्षा निकायले उनी नेपाल आएको हुनसक्ने शङ्का गरेर खोजिदिन यता आग्रह गरे। गृह मन्त्रालयबाट सहयोगका लागि भनिएपछि विशेष ब्युरो यसबारे अनुसन्धानमा जुट्यो।

उनी श्रीमतीसहित नेपालको सीमासम्म गाडीमा आएको पुष्टि भयो। अनि उनी काठमाडौँ आएको पनि देखियो। एक ट्राभल्स थियो जसले नेपालका अधिकांश कूटनीतिक नियोगहरूका लागि टिकट दिने काम गर्थ्यो। शङ्का लागेर विशेष ब्युरोले छापा मार्दा भारतीय सुरक्षा अधिकारीको शङ्का पनि पक्का भयो। उनी र उनको श्रीमतीको नाममा रहेको अमेरिकी पासपोर्टको कपी फेला पर्यो।

उनीहरूले के नाम राखेका थिए भन्ने त मलाई एकिन भएन। भारतीय मिडियाहरूले भने राजपाल प्रसाद शर्मा र दीपा कुमार शर्माको नाममा पासपोर्ट बनाएर अमेरिका गएको दाबी गर्ने गर्छन्। यो सन् २००४ को कुरा भयो।

भारतीय सेनामा काम गरेका सिंह मेजर पदसम्म पुगेपछि स्वैच्छिक रूपमा रअमा गएका थिए। उनले आफ्नो कार्यक्षेत्र र जिम्मेवारीभन्दा बाहिरका सूचनाहरू पनि सङ्कलन गर्ने गरेको सूचनापछि कतै उनी अन्य गुप्तचरी निकायका लागि काम त गर्दैनन् भनेर रअले नै अनुसन्धान सुरु गरेको थियो।

उनको हरेक गतिविधि निगरानी गर्दा उनले अमेरिकी गुप्तचरी निकाय सिआएएका लागि काम गर्ने गरेको र देशका महत्त्वपूर्ण सूचनाहरू उनीहरूलाई पठाउने गरेको देखिएपछि पक्राउको तयारी गर्दागर्दै उनी भागेर नेपाल छिरे। अनि नेपालबाट अमेरिका पुगे।

पहिला त अमेरिकामा उनी गुमनामै बसे। पछि उनले शरणार्थीको मान्यताका लागि कोर्टमा निवेदन दिएपछि उनी भारतबाट भागेर नेपाल हुँदै अमेरिका गएको गफ मात्रै हैन भन्ने पुष्टि भयो। धेरै भएको छैन। त्यस्तै सन् २०१६ मा हुनुपर्छ उनको सवारी दुर्घटनामा मृत्यु भएको समाचार आएको थियो।

पछि भारतीय मिडियामा उनीबारे समाचारहरू आए। भारतमा पक्का कारबाही हुने भएपछि सिआइएको सहयोगमा उनी नेपाल आएर अमेरिका त पुगे तर उता पुगेपछि उनको वास्ता गरेनछन्। साह्रै दुख पाएपछि उनले शरणार्थीको मान्यता पाउन निवेदन दिए। उनले काम खोज्ने प्रयास गरे तर पाएनन्।

नेपालमा रहेको जर्मन दूतावासको सामान रातारात चोरी भएको छ। चोरीको कारण त्यहाँ रहेका महत्त्वपूर्ण दस्ताबेजहरू लुकाउन खोजेको देखिएको थियो त्यो बेलामा। जे होस् त्यो सामान्य चोरीको मात्र घटना थिएन।

त्यसैले नेपाल-भारत खुल्ला सीमाको उपयोग केवल अपराधीले मात्र गरिरहेका छन् भन्ने हैन। जसले जुन रूपमा उपयोग गर्न सक्छ उपयोग गरिरहेकै छन्। त्यसले नेपाललाई मात्र समस्या छैन। नेपालभन्दा ठुलो समस्या त भारतलाई छ। उसका लागि त खुल्ला सिमाले सुरक्षा खतरा बढाएको छ।

नेपाललाई समस्या भनेको भारतीय अपराधीहरू नेपालमा आएर लुकेर बसिदिन्छन्। अपराधी मात्रै हैन आतङ्कवादी नै नेपालमा आएर बसिदिन्छन्। भारतकालागि सबैभन्दा ठुलो चुनौती बनेको इन्डियन मुज्जाहिद्दिनको कमान्डर यासिन भट्कल पोखरामा फेला परेकै हुन् नि।

त्यसैले जबसम्म कानुनी रूपमा अपराध नियन्त्रणका लागि सहकार्य गर्ने वातावरण बन्न सक्दैन अनौपचारिक रूपमा भए पनि नेपाल र भारतका सुरक्षाकर्मीबिच सहकार्य हुनै पर्छ। नत्र त्यसले दुवै देशको सुरक्षा खतरा बढाउँछ।

ब्याचका पुराना अंक

८ असार, २०७९, १९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।