ब्याच नम्बर ६९ : गृहमन्त्रीहरूको भविष्य किन चौपट हुन्छ !

ब्याच नम्बर ६९ : गृहमन्त्रीहरूको भविष्य किन चौपट हुन्छ !

प्रहरी सङ्गठनको २९ औँ प्रहरी महानिरीक्षक नियुक्तिमा जे नहोस् भन्ने लागेको थियो त्यही भयो। अवस्था असन्तुष्टि र मुद्दा मामिलासम्म पुग्दा मिलेर काम गर्नु पर्ने सङ्गठनको भाइचारामा यसले के असर गर्ला? यस्तो अवस्था हामीले विगत देखि भोग्दै आएकै हो। यस्तै दोहोरिइरहन्छ यो नै  दुर्भाग्य हो सुरक्षा सङ्गठनको।

२०७३ मा सरकारको प्रशासनिक अधिकार जसरी सर्वोच्च अदालतमा परीक्षण भयो अनि सरकारको प्रयास असफल भयो अहिले त्यसरी नै नयाँ आइजिपी नियुक्तिको निर्णय पनि सर्वोच्च अदालतमा पुगेको छ। अबको के होला त्यो अदालतलाई नै छाडौँ।

नेपाल प्रहरीको प्रमुखको नियुक्तिमा यति धेरै चासो र हस्तक्षेप किन हुन्छ? आफ्नो अनुभव बाँड्न थालेको २ एपिसोड भयो। त्यो अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई नियुक्तिपछिको अवस्थामा पुगेको थियो। त्यसपछि एक एपिसोड प्रहरी र चुनावको नतिजाको सम्बन्धबारे लेखेको थिए। अब म खरेलसर र ध्रुवसरकै पालामा फर्किन्छु है त।

OOO

खरेलसर अदालतको आदेशमा फर्किएर आएपछि बामदेवलाई अप्ठ्यारै परेको हो। नैतिक रूपमा त उनले राजीनामा दिनुपर्ने थियो। तर दिएनन्। खरेलसरले उनलाई टेर्दै छाडे। बामदेव त्यो बेलामा चर्कै रूपमा आएका हुन् नि। तर एक गलत कामले उनी तह लाग्न बाध्य भए।

धेरैले खरेलसर फर्किएर आएपछि बामदेवसँग मिलेर काम गरेको भन्छन्। मेरो अनुभवमा त हैन है। उनले त टेर्नै छाडेका थिए गृहमन्त्रीलाई। बिचरा निरीह नै बनाइदिएका थिए खरेलसरले। खरेलसर पनि चर्कै हुन् नि। कसैलाई साथ दिए भने पक्षमा पनि भिड्ने मज्जाले। कसैलाई भित्तामा पूर्याउनुपर्यो भने पनि दयामाया नराख्ने। अब त्यति धेरै दुख दिएको गृहमन्त्रीलाई उनी के छाड्थे। जति समय कुर्सीमा बसे पेलेकै हुन् गृहमन्त्रीलाई।

खरेलसर फर्किएर आएपछि त्रिभुवन विमानस्थलबाट भारतीय विमान अपहरण भयो। त्यो केसको अनुसन्धानमा केही व्यक्तिलाई गृहले कारबाही गर भनेर निर्देशन दिएको थियो। सहवीर थापाको नाम थियो कारबाहीमा। तर विमान अपहरणको केसमा हैन दुर्व्यवहार गरे भनेर।

एयरपोर्टमा गृहमन्त्रीहरू अनुगमनमा आएको बेलामा उनले ' नाटक गर्न आउने! यी सब गर्ने तिमिहरू नै हौँ' भनेर गाली गरेका थिए। त्यही केसमा उनलाई कारबाही गर्न गृहले निर्देशन दिएको थियो। तर खरेलसरले वास्तै गरेनन्। गृहले मात्रै कारबाही गर्ने हिम्मतै गरेन।

उनले एयरपोर्टको तस्करी बन्द गरिदिए। जो पायो त्यसलाई टेर्ने खाले नै हैन नि खरेलसर। उनी फर्किएपछि भत्किन खोजेको प्रहरी सङ्गठनको चेनअफ कमान्ड कन्ट्रोलमा ल्याएका हुन्।

उनकै कार्यकालमा पारस शाहको काण्ड भयो। उनले चलाएको गाडिले गायक प्रवीण गुरुङलाई ठक्कर दिएर मृत्यु भयो। ठुलै हङ्गामा भएको थियो त्यो बेलामा। यता सरकारलाई नागरिकतहबाट दबाब बढ्दै थियो कारबाहीको। उता दरबारको दबाब हुने नै भयो।

खरेलसरकै पालामा माओवादी द्वन्द्व सुरु भयो। जे भए पनि खरेलसर परिआए गृहमन्त्रीसँगै भिड्न तयार हुने आइजिपी हो। एक घटना। त्यो बेलामा गृहमन्त्री खुमबहादुर खड्का थिए। खरेलसर र गृहमन्त्रीबिच टसल सुरु भयो। गृहमन्त्री खड्काको मन्त्रालय नै बदलियो।

त्यसको कारण खरेलसरकै अडान थियो। उहाँ प्रधानमन्त्रीकोमा गएर के कारण द्वन्द्व बढेको हो भनेर कन्भिन्स गरेर आउनुभयो। ल त्यसो भए भनेर प्रधानमन्त्रीले मन्त्रालय बदलिदिए। त्यो बेलामा आइजिपीसँग टसलहुँदा मन्त्री बदलिन्थे। त्यो संस्थाको त्यही पदको अहिलेको हालत के छ हेरौँ त! दिक्कै लाग्छ हो सम्झँदा पनि।

उहाँकै कार्यकालमा होलेरीकान्ड भयो। अनि उहाँले राजीनामा दिनुभयो। उहाँको राजीनामापछि प्रदीप शमशेर राणा आइजिपी हुनुभयो। सहजै भयो हस्तान्तरण। त्यस्तो खेल केही भएन। राणापछि अनन्तराम भट्टराई र श्यामभक्त थापाबिच प्रतिस्पर्धा थियो। ज्ञानेद्र शाहले सत्ता लिइसकेका थिए। सिनियारिटीमा जो पहिलो छ उही आइजिपी भन्ने दरबारको आदेश आयो। थापासर हुनुहुन्थ्यो पहिलो नम्बरमा। उहाँ नै आइजिपी हुनुभयो।

OOO

त्यो समयमा खरेलसरलाई हटाएर प्रधानसरलाई आइजिपी बनाएर निरन्तरता दिन नसकेको घटनालाई अहिले बामदेव गौतमले कसरी विश्लेषण गर्छन् कुन्नि त्यो उनको कुरा भयो। तर एक नेताको सार्वजनिक छविको रूपमा हेर्ने हो भने उनको सार्वजनिक छविमा धुलो टाँसिन थालेको त्यही घटनाबाटै हो। त्यसले नेपाल प्रहरीलाई नराम्रो धक्का त दियो तर नेताहरूको स्वार्थ पनि नङ्ग्याइदियो।

त्यसपछि पनि गौतम गृहमन्त्री भएका हुन् नि। तर उनको छवि सुधारियो र! जति पटक उनी गृहमन्त्री बने त्यति पटक बदनाम मात्रै भए। जहिले गृहमन्त्री हुँदा पनि विवादै विवाद। बदनामी। केही राम्रा काम पनि भए होलान् उनको कार्यकालमा। तर मलाई सम्झना छैन उनका राम्रा काम। उनका राम्रा काम मलाई मात्रै हैन सर्वसाधारणलाई पनि पक्कै याद नहोला। याद छ त बदनामी मात्रै।

आफू अनुकूल आइजिपी ल्याएर आफू अनुकूल गलत काम गराएको। ठाडै भन्दा सुन तस्करी गराएको नै भनौँ न। उनकै सहयोगीले स्विकारेको विषय लेख्न किन हिचकिचाउनु। त्यो बेला उनका अति निकट मानिने केशव स्थापितले भनेकै हुन् नि प्रधान आइजिपी भएपछि एयरपोर्टबाट कसरी सुन तस्करी गरियो भनेर। एमाले-मालेहुँदा खुल्ला मञ्चबाटै नम्बर वान भ्रष्टाचारी घोषणा गर्ने पनि उनकै पार्टी त थियो।

अब नेताहरूलाई यो राजनीतिक दाउपेच लाग्न सक्छ। तर पब्लिकले त यस्ता अभिव्यक्ति अनि गतिविधिलाई त गम्भीर रूपमा लिएका हुन्छन् नि। अब अहिले हेरौँ त बामदेव कहाँ छन्?

धेरैले गृहमन्त्री हुँदा नेताहरूको हाइट बढ्छ भन्छन्। उनीहरूको राजनीतिक उचाइ बढ्छ भन्छन्। तर मलाई त्यस्तो लाग्दैन। गृहमन्त्री भएपछि केही समय झलमल त देखिन्छ। तर गृहमन्त्रीको भविष्य चैँ राम्रो हुन्न भन्थे। केही अपवाद हुन सक्छन् जस्तो शेरबहादुर देउवा अनि केपी ओली। तर अधिकांशको अवस्था राम्रो छैन।

धेरै गृहमन्त्रीको करिअर बिग्रिएको छ। खुमबहादुर खड्काको हालत देखियो नै। गोविन्दराज जोशीको हालत हामीले देखिराखेकै छौँ। बामदेव कुन अवस्थामा पुगे देखियो नै। विजयकुमार गच्छदारको अवस्था कतै लुकेको छैन। कृष्णबहादुर महरा हेरौँ, भीम रावल अनि विमलेन्द्र निधीको अवस्था नै हैनौ न। गृहमन्त्री भएपछि कसको करिअर उँभो लागेको छ? 

ब्याचका पुराना अंक

२१ बैशाख, २०७९, २१:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।