ब्याच नम्बर ६९ : फोनमा छोटा राजनले भन्यो- कुछ चिन्ता नही, सबकुछ होगा

ब्याच नम्बर ६९ : फोनमा छोटा राजनले भन्यो- कुछ चिन्ता नही, सबकुछ होगा

भारतको मुम्बई अन्डरवर्ल्डका नाइके छोटा राजन अनि दाउद इब्राहिमको प्रभाव नेपालसम्मै छ। हिजो यसको मात्रा अलि बढी नै थियो। हिजोआज अलि कम भएको हो कि या अनुसन्धान हुन नसकेको हो यकिन भन्न सकिन्न। 

प्रहरी जीवनमा मुम्बई अन्डरवर्डसँग जोडिएका चार जना हार्डकोर क्रिमिनलसँग मेरो पनि भेट भएको छ। उनीहरुसँग मजाले बसेर कुराकानी गरेको छु। त्यसका अनुभवहरु निकै रोचक छन्। मेरो अनुभवले यस्ता क्रिमिनलहरु चिन्न सघाउन सक्छ। त्यसैले आज त्यही अनुभव लेख्न मन लाग्यो।

घटना चैँ चरेसकै हो। के भो भनेपछि, एयरपोर्टको कार्गोमा चरेस समातियो। चरेस त्यति ठूलो परिमाणको हैन। त्यस्तै २० किलोजति थियो कि! ठ्याकै यति नै भन्ने चाहिँ बिर्सिएँ।

यो केसको अनुसन्धानमा ९ जना समातिएका थिए। कसले कार्गो गर्यो चरेस भनेर बुझ्दै जाँदा डेलिभरी गर्न आउने व्यक्ति नयाँ देखिए। भनेपछि चरेस तस्करीमा नयाँ समूह जन्मियो। नयाँ समूह भनेपछि हामी झन् गम्भीर हुन्छौँ। किनकी, उनीहरुबारे त्यति धेरै सूचनाहरु आइसकेका हुँदैनन्।

अनि, कृष्णगोपाल पनेरु लगायतकाहरु समूहका सदस्यहरु खोज्नतिर लागे। उनीहरूले एक- दुई गर्दै ९ जना समातेका थिए। समातिएकाहरुबाट एकाएक अमर टण्डनको नाम आयो। टण्डन हाम्रो नोटिसमै भएको व्यक्ति थियो। ऊ कुनै न कुनै खराब काममा छ र भारतको अन्डरवर्ल्डसँग सम्बन्ध हुनसक्छ भनेर हामीले उसबारे पाएका जानकारीहरु राख्ने गरेका थियौँ। तर लागुऔषधमा ऊ छ भन्ने लागेको थिएन।

खोज्दै जाँदा महाराजगञ्जमा फेला परिहाल्यो टण्डन। किरिपझ्याप बनाए ल्याइहाले केटाहरुले। टण्डन पक्राउ परेपछि उसले जसको नाम लियो नि, हामी छक्कै पर्यौं। उनी थिए हिरा गुरुङ।

गोर्खाको पुन अन्तर्राष्ट्रिय रुपमै कहिलएको लागुऔषध तस्कर। तर चरेस हैन है! उसको काम त सेतो हेरोइन तस्करी थियो। अमेरिका, हङकङ, थाइल्यान्ड सबैको हिट लिस्टमा थियो उसको नाम। ऊ पहिला हङकङ बस्थ्यो। त्यहाँबाट लखेटेपछि बैंकक पुगेकोसम्म थाहा थियो। ऊ नेपालमा आएर बसिरहेको रहेछ।

नेपालमा हिरा बस्नु छक्क पार्ने विषय थिएन। ऊ चरेस तस्करीमा जोडिनु चैँ छक्क पार्ने विषय भयो हाम्रा लागि। किनकी ऊ निकै ठूलो मात्रामा सेतो हेरोइनको कारोबार गर्ने व्यक्ति थियो नि। २० किलो चरेस उसका लागि ठूलो हैन। अब कता सेतो हेरोइनको कारोबार अनि त्यसबाट हुने कमाइ, कताको चरेस। पहिला त ऊ चरेस कारोबारमा आयो भन्ने विश्वासै भएन।

खोज्दै जाँदा काठमाडौंमै फेला पर्यो ऊ। दिदीको घरमा बसिरहेको रहेछ। इकाइका केटाहरुले पक्राउ गरेर ल्याए। सोध्दा त हो रैछ। लखेट्दा-लखेट्दा सेतो होरोइन तस्करीबाट कमाएको सबै पैसा सकिएपछि चरेसतिर लागेको रहेछ। इन्टरनेसनल तस्करबाट स्थानीय तस्कर भइसकेको रहेछ। अनि टण्डन चैँ लगानी नगर्ने, यसो केटाहरु मिलाएर बीचबाट कमिसन खाने रहेछ।

सबै जना पक्राउ परेपछि एकातिर मुद्दा प्रक्रिया चल्दै गयो। लागु औषध इकाइमा हिरासतमा रहेकाहरुलाई पनि बेलाबखत कोठामा ल्याएर चिया खुवाउँदै अनौपचारिक कुराकानी गर्ने गर्थ्यौँ। यसले उनीहरुबाट नजानेझैँ गरी थप सूचनाहरु आइरहेको हुन्छ। बयान सकिएपछि अब औपचारिक प्रक्रिया सकियो भन्ने लाग्छ नि त उनीहरुलाई।

त्यो बेलामा दिवस उदास पनि थिए। म, दिवस अनि पनेरु लगायतकाहरु कोठामा बस्यौं। उनीहरुलाई पनि बोलायौं अनि अनेक गफ गरेर बस्यौं। 

टण्डनलाई एक दिन त्यसैगरी कोठामा बोलाएर मजाले कुरा गरेर बस्यौँ। नम्र कुरा गर्ने। भलाद्मी पाराको व्यवहार। पूरै खुलेर कुरा गर्ने। उसको कुरा सुन्दा त हैट यस्तो सज्जनले पनि चरेस तस्करी गर्ला त जस्तो पारिदिने।

यो हार्डकोर क्रिमिनलको विशेषता हो। टण्डनभन्दा अगाडि पनि मैले यस्ता हार्डकोर क्रिमिनलसँग कुराकानी गरेकाले मलाई उनीहरुको प्रभाव पार्ने शैलीबारे जानकारी थियो। 

टण्डनभन्दा पहिला मैले मग्गा सरदारलाई पनि भेटेको थिए। मग्गापछि मिर्जा दिलसाद बेगको हत्यामा जोडियो नि। ऊ काठमाडौमै हुँदा भेट भएको थियो मेरो। ऊ भारतीय क्रिमिनल हो भन्ने थाहा थिएन। यति भद्र अनि यति नम्र व्यवहार गर्ने कि ऊ मुम्बई अन्डरर्ल्डको छोटा राजन समूहको मान्छे हो भनेर कसरी पत्याउनु। मिर्जा मारिएपछि उसको नाम आयो। फोटो हेर्दा पो आफैँले भेटेको व्यक्ति रहेछ भन्ने थाहा भयो।

अनि, अर्को चैँ विक्रम वाही। भारतमा गुलशन कुमारको हत्या गरेर ऊ नेपालमा आएर लुकेको रहेछ। यतै ऊसँग भेट भएको थियो मेरो। उसको व्यवहार पनि उस्तै नम्र र भद्र। पछि उसको शव कपिलवस्तुपारि भारतमा फेला पर्यो । टाउको काटिएको अवस्थामा थियो शव। कसले मार्यो खुलेन।

जमिम शाह मारिएपछि केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीलाई मार्न पेस्तोल लिएर जेलभित्रै गएका मनमित सिंह भाटिया पक्राउ परेका थिए। त्यो बेलामा म महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख थिएँ। ऊ पनि हार्डकोर क्रिमिनल। त्यसबारे विस्तृत कुनै दिन पक्कै लेख्नेछु। उदय सेट्टी भन्ने पनि समातियो। ऊ चाहिँ बी ग्रेडको क्रिमिनल हो। तर नेपालमा मुम्बई अन्डरवर्ल्डको सदस्य भनेर धेरै बढाइचढाई भयो उसको।

सेट्टीबाहेक अन्यसँगको संगतले हार्डकोर क्रिमिनलहरुको स्वभाव थाहा भयो। बोलीचाली निकै सभ्य। एकदम नरम। सम्मान गर्ने उस्तै। गफमा मजाले सहभागी हुन्छन् उनीहरु। सबै कुरा सत्य होझैँ गरेर खररर भन्छन्। उनीहरुले आफ्नो कुरामा यसरी इन्गेज गराइदिन्छन् कि हो-होझैँ बनाउँछन्। कति उनीहरुबाट प्रभावित भएर समूहका लागि काम गर्नेहरु पनि भेटिन्छन्। उनीहरुले प्रहरीलाई समेत इन्फ्लुयन्स गर्छन्। जोगिन सक्नुपर्छ उनीहरुको कुराबाट।

टण्डन पनि उस्तै स्वभावको हो। निकै भद्र अनि निकै नम्र। उसले बोलेका सबै सत्य हुन् जस्तै लाग्ने बनाउन सक्ने। उसको अन्डरवर्ल्डसँग सम्बन्ध हुनसक्छ भन्ने मात्रै अनुमान हो हाम्रो। तर सम्बन्ध छ भन्ने उसैले पुष्टि गरिदियो।

एक दिन कार्यालयमा चिया खाँदै अनेक कुरा गर्दै बसिरहेका थियौँ। अन्डरवर्ल्डबारे गफ भइरहेको थियो । उसले एक्कासि 'सर छोटा राजनसँग कुरा गर्ने हो?' भन्यो। गरौँ न कुरा के नै हुन्छ र!

उसले फटाफट नम्बर डायल गर्यो। नम्बर सिंगापुरको थियो। तर कता-कता फोन डाइभर्ट हुँदै गयो। उसले 'भाइसाब प्रणाम' भन्दै 'सरजीसे बात किजिए' भनेर फोन दियो।

मैले हलो मात्र भनेको थिएँ, उताबाट एकोहोरो 'ठिक है ना भाइ, कुछ चिन्ता नही। सबकुछ होगा' भन्छ। मलाई उसको स्वर चिन्नु थियो। पछि उसको स्वर हो/हैन भनेर भेरिफाई गरेपछि छोटा राजन नै हो भन्ने पक्का भयो। टण्डनले नजादिँदो गरी 'देखिस् मेरो पहुँच कहाँसम्म छ' भनेर देखाउनै मलाई कुरा गराएको थियो। यति त बुझिहालियो। 

अहो! यो त छोटा राजनको मान्छे पो रैछ भनेर प्रभावित हुनेहरु पनि हुन्छन् नि। डराउने पनि हुन सक्छन्। तर हामीलाई त बानी परिसकेको थियो। अनि उनीहरुको चलाखी पनि बुझिहालिन्थ्यो।

यो नै छोटा राजनसँगको मेरो पहिलो इन्काउन्टर थियो। पछि दुई पटक यसैगरी इन्काउन्टर भयो ऊसँग। ती कुनै न कुनै एपिसोडमा लेख्छु नै। 

उसले कुरा गराएर हाम्रा लागि राम्रै काम गरायो। पछि हिरा र टण्डन दुवै जेल परे।

ब्याचका पुराना अंक

९ चैत, २०७८, १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।