ब्याच नम्बर ६९ : बाफ रे, कोट भित्रको कपासमा एक किलो सेतो हेरोइन !

ब्याच नम्बर ६९ : बाफ रे, कोट भित्रको कपासमा एक किलो सेतो हेरोइन !

नेपालमा अहिलेसम्म लागुऔषध तस्करीमा अपनाउने विधि भनेको सुटकेस, मूर्ति, किताब लगायतका सामानमा लुकाउने ठाउँ बनाएर राख्ने अनि क्याप्सुल बनाएर निल्ने नै हो। तर तस्करीमा संलग्न समूहहरुले जोगिन अनेक खालका तरिका अपनाउँछन् जुन पत्ता लगाउन प्रहरीलाई हम्मे-हम्मे नै पर्छ। यसरी पनि लागुऔषध लुकाउन सक्छन् र भन्ने बनाउँछन् कुनै केसमा त। 

त्यसैले प्रहरीभन्दा अपराधी एक कदम अगाडि हुन्छन् भनिन्छ पनि। तर जति कदम अगाडि भए पनि कुनै न कुनै दिन त कानुनको फन्दामा परिहाल्छन् नै। त्यस्तै एक घटना लेख्छु आज।

त्यो बेलामा दक्षिण एसियाली हेरोइन अमेरिका लगेर एक समूहले हैरान बनाइरहेको रहेछ। दक्षिण एसियाली भनेको पाकिस्तानी र अफगानी हेरोइन नै त हो। केही मात्रामा भारतमा पनि अवैध रुपमा सेतो हेरोइन बन्छ नै। तर त्यो त्यति ठूलो मात्रामा हैरानै बनाउने गरी तस्करी हुने गरेको देखिँदैन। भारतमा अवैध रुपमा उत्पादन हुने हेरोइनको मुख्य बजार नेपाल नै हो। त्यो पनि खैरो चाहिँ।

जसले हेरोइन तस्करी गरिरहेका थिए, उनीहरुले नेपाल अनि भारत दुवैतिरको रुट प्रयोग गरेर अमेरिकी बजारमा पुर्याइरहेका थिए। अमेरिकाबाटै सो समूहलाई ट्र्यापमा पार्न उनीहरुले अनेक उपाय अपनाएका रहेछन्। तर उतैबाट मरिगए ट्र्याप सफल नभएपछि उनीहरु हाम्रो सम्पर्कमा आए।

त्यो बेलामा लागुऔषध कार्यान्वयन इकाइको प्रमुख कुमार कोइराला हुनुहुन्थ्यो। अमेरिकीहरुले सबै घटनाक्रम बताए।

उनीहरुले अफगानिस्तानको समूहमाथि शंका गरेका रहेछन्। त्यसमा पाकिस्तानी नागरिकहरु पनि हुनसक्ने देखियो। सबै कुरा बताएपछि सोधे, 'ट्र्याप थाप्न हामी नेपाल आऔँ?'

अब नेपाललाई ट्रान्जिट बनाएर कसैले लागुऔषध तस्करी गरिरहेको छ र हामीले सघाउँदा त्यो समूह समातिन सक्छ भने किन सहयोग नगर्ने। सोध्नुपर्ने ठाउँमा अनुमतिका लागि सोध्यो। अनुमति पाएपछि उनीहरुलाई 'आए हुन्छ' भन्ने सन्देश पठायौँ।

नेपालमा उनीहरु आउँदा लागुऔषध हेर्ने सुरक्षाकर्मी मात्रै थिएनन्। त्यसमा कस्टमका अधिकृत पनि थिए। अनि अन्य निकायका सरकारी कर्मचारीहरु पनि। नेपालमा त्यस्तो प्रचलन छैन। तर बाहिरतिर लागुऔषधबारे अनुसन्धान गर्ने भनिए पनि त्यसमा जोडिने सबै निकायका प्रतिनिधिहरु राखेर टास्कफोर्स बनाउने गरिन्छ।

अपराधमा जुन-जुन निकाय जोडिन्छन् सबै निकायका प्रतिनिधिहरु राखेर टास्कफोर्स गठन गरिन्छ। अनि जब काम सकिन्छ टास्कफोर्स विघटन हुन्छ। जो जहाँबाट आएका हुन् त्यहीँ फर्कन्छन्।

जस्तो, लागुऔषध हेर्ने हो भने प्रहरी त भयो नै सिधै भन्सार पनि जोडिन्छ नि। तस्करी हुने त भन्सार नाकाबाटै हो। नाका छलेरै हो। नेपालमा भने भन्सारको कर्मचारीको काम भनेको बाहिरबाट आएको सामानको बिल हेर्ने अनि कर लिने छाड्नेझैँ देखिन्छ। यति मात्रै हैन नि। भन्सार नाकाबाट हुने अपराध अनुसन्धान पनि गर्छन्।

अध्यागमन पर्ने नै भयो। त्यसमा सीमा सुरक्षाका लागि अलग फोर्स छ भने त्यसका प्रतिनिधि पनि पर्छन्। तर नेपालमा भने प्रहरीको एकल दायित्व जस्तो छ। लागुऔषध भनेपछि हाम्रो काम हैन जस्तो गर्छन्।

अमेरिकी टिमकै कुरा गरौँ।

उनीहरु नेपाल आए। टिम स्पेसल टास्कफोर्स थियो। उनीहरु यहाँ आएपछि आवश्यक संयोजन हामीले गर्यौं। सबै ठाउँ हेरेर ट्र्यापका लागि दरबारमार्ग छान्यौँ। दरबारमार्ग नै छान्नुको कारण उनीहरुलाई ग्राहक हुन् है भनेर विश्वस्त बनाउन पनि हो। एकान्त ठाउँ या अन्त बोलाउँदा शंका गर्न सक्थे।

दरबारमार्गमा त को आयो, को गयो भनेर पहिल्याउन गाह्रो हुन्छ। अनि भीडभाडमा डिल गर्न पनि सजिलो हुने भएकाले यस्ता कारोबारीहरु एकान्तभन्दा यस्तै ठाउँ रोज्छन्।

ट्र्याप भनेको पहिचान लुकाएर डिल गर्ने एक विधि हो। लागुऔषध अनि अवैध हतियार जस्ता संगठित अपराधमा समूहभित्र प्रवेश नगरी वा ग्राहक नबनी समूह भत्काउन गाह्रै हुन्छ। कतिले यसलाई प्रहरीले आफैँ ग्राहक भनेर झुक्याएर काम गर्यो भनेको पनि सुन्छु क्या! 

अब कसैले भारत हुँदै अन्तर्राष्ट्रिय रुपमा लागुऔषधको कारोबार गरिरहेको छ भने अर्कै कुरा तर नेपालबाट कसैले कारोबार गरिरहेको छ र उनीहरुबारे जानकारी नै आएन भने प्रहरी नै ग्राहक बनेर समूहमा प्रवेश गरेर आवश्यक सूचना संकलन गरेर समूह भत्काउने पनि गरिन्छ। यो नेपालमा मात्रै हैन अन्तर्राष्ट्रिय रुपमै अपनाउने अनुसन्धान शैली हो नि।

नेपालीहरु पनि अन्तर्राष्ट्रिय बजारमा हेरोइन तस्करीका कुख्यातै भए। त्यसमध्ये धादिङ सत्यदेवी गाविसको समूह अनि गोरखाको समूह प्रमुख थिए। तर त्यो बेलासम्ममा उनीहरु सक्रिय भइसकेका थिएनन्। त्यो बेलामा अफगानी र पाकिस्तानी समूह नै बढी सक्रिय थिए।

अमेरिकीहरु नेपाल आएपछि पूरै अन्डरकभर अप्रेसनको मोडल बन्यो। उनीहरुले काठमाडौँको दरबारमार्गमा ट्र्याप थापे। योजना अनुसारै काम भइरहेको थियो। जहाँ ट्र्याप थापिएको थियो त्यहाँ वरिपरि सादा पोशाकमा प्रहरी छ्यापछ्याप्ती थिए नै। 

लगभग हुलिया आइसकेको थियो सामान बोकेर आउनेको। केही समयमै हुलिया अनुसारको २ जना आए। हाम्रो टिमले उनीहरुलाई झ्यापझुप समातेर कार्यालय ल्याइहाल्यो।

अमेरिकीहरु नेपालमा भए पनि उनीहरुले न पक्राउ गर्न पाउँछन् न खानतलासी गर्न नै। उनीहरुले हामीलाई सुझाव दिने मात्र हो। शंका गरेको अफगानी तर दुवै निस्किए पाकिस्तानी। अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानका रहेछन् दुवै। उनीहरु लागुऔषधको भरिया।

दुवै जनाको शरीर तलासी लियौँ। तर कतै हेरोइन फेला परेन। इशाराले 'कोट हेर न कोट' भन्छन्। कोट खोलेर हेरियो कतै केही छैन। जुत्ता अनि कपडा सबै खोलीसकियो। छैन। उनीहरु कोटमै छ भन्छन्।

कतै कोटमा पनि लुकाउने ठाउँ बनाएका छन् कि भनेर हेरियो, छैन। मान्छे नै गलत समातियो कि जस्तो लाग्न थाल्यो। तर अमेरिकीहरु 'यिनीहरु नै हुन्, कोटमै छ, राम्रोसँग खोज न' भन्छन्। उनीहरु पूरै विश्वस्त। शंका पनि कसरी गर्ने। अप्रिन चिप्लिएको शंका नगरौँ, हेरोइन फेला पर्दैन।

कोट छामेको भित्र कपास राखेर बनाएको रहेछ। अब भएन कोट च्यातौं, फेला परेन भने बरु किनेर दिउँला भनेर दुवै कोट च्यातचुत पार्यौं। कपास झर्न थाल्यो। यसो कपास हेरेको त कपाससँगै सेतो धुलो पनि झरिरहेको थियो। जति कपास चलाउन थाल्यो सेतो धुलो त्यति नै झर्ने।

अनि दुवै कोटको कपास निकालेर हल्लाउँदै त्यसमा रहेका सबै धुलो निकाल्यौं। त्यो झन्डै एक किलो बढी थियो। परीक्षण गर्दा त्यो धुलो नै सेतो हेरोइन भएको खुल्यो।

बाफ रे! अब आफैं सम्झौँ त। अब कोटभित्र रहेको कपासमा हेरोइन हुन्छ भनेर कसले अनुमान गर्ने अनी कसरी पत्ता लगाउने? दिमाग पनि के-केमा लगाउने तस्करहरुले। छक्कै पार्छन्।

उनीहरुले कपासमा यसो छर्किएर हेरोइन ल्याएका पनि हैनन्। पूरै पहिल्यै कपाससँगै मिसाएर फिटेर कोटमा सामान्य रुपमै राखेको। चट्ट त्यही कोर्ट लगाएर हिँड्यो। सामान जाँच हुन्छ। शरीर जाँच हुन्छ अनि कोट पनि छामिन्छ। तर भित्र कपास छ कि अन्य अनि कपासमा हेरोइनको धुलो पो मिसाएको छ कि भनेर कसले अनुमान गर्छन् र!

यो अप्रेसनमा पो लक लाग्यो त। यी दुवै जनाको पक्राउपछि कहाँबाट हेरोइन आएर अमेरिका पुगिरहेको छ अनि त्यसमा कुन समूह संलग्न छ भन्ने खुलिहाल्यो। यति भए अमेरिकीलाई पुग्यो। उनीहरु धन्यवाद दिएर स्वदेश फर्किए।

हामीले अनुसन्धान सकाएर सरकारी वकिलकोमा फाइल पठायौँ। पछि थाहा भयो दुवै जनालाई १८ वर्ष कैद सजाय भएछ। ती दुवै केही वर्ष अगाडि मात्रै नेपालको जेलबाट छुटेका थिए।

यो घटना सम्झिरहनुको कारण के भने सुरक्षाकर्मीले शंका गर्न छाड्न हुन्न। अपराध गर्नेहरुले बनाउने योजना प्रहरीलाई कसरी छल्न सकिन्छ भनेरै बनाउने हुन्। हामीले सबै विकल्प हेर्न सक्नुपर्छ। ह्या! कोटभित्र के हुन्छ र भनेर छाडेको भए ती दुवै पाकिस्तानी पक्राउ पर्ने थिएनन्। अनि हामीलाई यसरी पनि हेरोइन तस्करी हुनसक्छ है भन्ने जानकारी हुन्थेन।

यस अगाडिको एक एपिसोडमा अफगानिस्तानबाट अफिमको गेडा नेपालमा अवैध रुपमा आउने गरेको बताएको थिएँ। पछि त्यो त अहिले पनि नेपालमा उस्तै गरी आइरहेको खुल्यो। त्यो अवैध नै हो नि। त्यसैगरी कुनै चलाख तस्करले अहिले पनि कपासमा हेरोइन मिसाएर चट्ट कोट बनाएर तस्करी गरिरहेको पनि हुनसक्छ नि।

कति जनाको कोट च्यातेर हेर्ने भन्ने लाग्न सक्छ। सबैको कोट च्यात्नु परेन। तर कोही शंकामा आयो भने त्यसको कोटभित्र के छ भनेर जाँच्न नछाडौँ भन्न खोजेको हो।

ब्याचका पुराना अंक

२ चैत, २०७८, २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।