उकेरा कोलम

ब्याच नम्बर ६९ : नेपालमा दाउद- छोटा राजनझैँ ग्याङवार दोहोरिने त हैन !


नेपाल प्रहरीको नेतृत्वका लागि किन चलखेल हुन्छ भन्ने लेख्दालेख्दै अघिल्लो बुधवार मेरै ब्याच 'ब्याच नम्बर ६९' मा पुगेर टुङ्गिएको थियो।

यही ब्याचकै नामबाट यो सिरिजको पनि नामकरण भएको हो नि। त्यसमा पनि हाम्रो ब्याचलाई नेपाल प्रहरीको सङ्गठनात्मक र नीतिगत आधारमा टर्निङ गराउन सक्ने ब्याचका रूपमा हेरिएको थियो। आजको अङ्क यसैमा केन्द्रित गर्ने तयारी पनि गरेको थिएँ। तर एकाएक नेपाली मिडियामा आएको एक समाचारले मेरो ध्यान तान्यो। त्यो हाम्रो देशको सुरक्षासँग प्रत्यक्ष जोडिएको अनि प्रसङ्ग पनि मिलेकाले यो पाली त्यसैमा लेख्दै छु। यो सकिएपछि पुन प्रहरीको नेतृत्वका लागि भएका चलखेलमा फर्कनेछु है त।

त्यो समाचार थियो भारत पन्जाबको गायक शिद्दु मुसेवालाको हत्या अनि उसको हत्यामा संलग्न भएकाहरू नेपालमा आएर बसेको सूचनाको आधारमा नेपालमा दिल्ली प्रहरीको विशेष टोली काठमाडौँ आएको।

पहिला त्यो समाचार भारतीय मिडियामा आएको थियो। त्यसैको आधारमा नेपालका मिडियामा पनि समाचार आए। कतिले भारतको इन्डिया टुडेमा प्रकाशित समाचारलाई मात्र आधार बनाएर समाचार लेखे भने कतिपयले नेपाली सुरक्षा अधिकारीलाई स्रोतको रूपमा उल्लेख गरेर समाचार लेखे।

मैले बुझ्दा पनि एक टोली नेपाल आएको देखियो। मुसेवालाको हत्यामा संलग्नमध्येका कोही क्यानडामा देखिए, केही भारतीय जेलमै रहेका देखिए भने केही पक्राउ पनि परे। पक्राउ परेकाहरूबाट आएको सूचनाको आधारमा कुनै व्यक्ति नेपालमा रहेको सूचनाको आधारमा उनीहरू खोजीमा नेपाल आएको देखियो।

नेपाल प्रहरीले यसलाई सार्वजनिक गर्नेभन्दा पनि लुकाउन केन्द्रित भएको देखियो। सायद भारतीय प्रहरी नेपाल आउनु भनेको नकारात्मक रूपमा हेरिने अनि गोप्य अप्रेशन भएकाले हुनसक्छ उनीहरूले औपचारिक रूपमा यसबारे नबोलेको।

तर यो सामान्य प्रक्रिया हो। नेपालमा अपराध गरेर भागेर भारत पुगेकाहरूलाई पक्राउ गर्न हामी भारतमा पनि जान्थ्यौँ नै। अहिले पनि जान्छन्। हामीलाई भागेकालाई खोज्न भारतीय सुरक्षा एजेन्सीले सघाउँछ नै। पक्राउ गरेर नेपाल पनि ल्याएकै हौँ।

अनि उनीहरू पनि नेपाल आउँछन् भागेका अपराधी खोज्न। उनीहरूले पनि नेपालमा पक्राउ परेकाहरूलाई अनौपचारिक रूपमा भारत लगेका छन्। नेपाल प्रहरीले पनि सघाउँछ यसमा। सघाउनै पर्छ। नेपाल प्रहरीलाई भारतीय प्रहरीले पनि सघाउँछ। सघाउनै पर्छ।

यस्तोमा उनीहरूले महत्त्व दिने भारतीय नागरिकै हो या हैन भन्ने हो। हामीले हेर्ने पनि उनीहरूले नेपालमा खोज्न आएको व्यक्ति नेपाली नागरिक या भारत बाहेक अन्य देशको नागरिक हो या हैन भनेर हेर्ने हो।

भारतमा अपराध गरेर भागेर लुक्न नेपाल आएको भारतीय नागरिक छ भने उसलाई नियन्त्रणमा लिएर भारत लैजान सहयोग गर्नै पर्छ। यस्तो काम लुकेर गर्नुभन्दा खुलेर गर्दा पनि केही फरक पर्दैन। यदि अपराध नियन्त्रण गर्ने हो भने यसरी सहयोग नगरी सम्भवै छैन।

खुल्ला बोर्डरका कारण भारतमा अपराध गरेकाहरू एकै दिनमा नेपाल छिर्न सक्छन्। अनि नेपालमा अपराध गरेकाहरू पनि एकै दिनमा भारत पुग्न सक्छन्। अब यसलाई वैध बनाउन सुपुर्दगी सन्धि लगायतका कानुनमा हस्ताक्षर गरे अझ राम्रो। तर हस्ताक्षर भएको छैन भने पनि कानुन त छैन भनेर अपराधीलाई जोगाउन  हुन्न, सकिन्न। त्यसैले मुसेवालाको हत्यामा संलग्न भारतीय नागरिक नेपाल आइपुगेको सूचनाको आधारमा उसलाई खोज्न दिल्ली प्रहरीको टोली नेपाल आउनु सामान्य हो।

यस्तोमा भारतबाट आउने सुरक्षाकर्मीलाई आरोपी खोज्न सघाउने दायित्व नेपाल प्रहरीको हो नै। सँगै यस्ता घटनाबारे नेपाल प्रहरीले पनि सूक्ष्म रूपमा अनुसन्धान भने गर्नुपर्छ।

जो भारतमा अपराध गरेर भागेर नेपाल आएको व्यक्ति हो उ किन नेपाल आएको हो त्यो केलाउनै पर्छ सुरक्षा सङ्गठनका सदस्यले। भारतमा बस्दा तत्काल पक्राउ पर्न सक्ने भएकाले केही समय लुक्न नेपाल आएको हो कि ?, उ नेपालको हवाई मार्ग प्रयोग गरेर तेस्रो देश जान पो आएको हो कि ?, अपराध गरेपछि आत्तिएर लुक्न आएको हो कि या उसले यो बिचमा उसले भारतमै बसेर आवश्यक परेको अवस्थामा सुरक्षाका लागि प्रयोग गर्न सकिने गरी नेपालमा समूह नै पो बनाएको छ ?

यी प्रश्नहरू सुल्झाउन नेपालका सुरक्षा सङ्गठनका सदस्यहरूले भारतबाट भागेर नेपाल आएकाहरूलाई खोज्ने र उबारे भारतीय प्रहरीसँग मिलेर सूचना सङ्कलन र विश्लेषण गर्नै पर्छ।

उ नेपालको हवाई मार्ग प्रयोग गरेर भाग्न या केही समय लुक्न या आत्तिएर तत्काल पक्राउ पर्नबाट जोगिन सकिन्छ कि भनेर भारतबाट भागेर नेपाल आएको भए ठिकै छ। तर उसले नेपालमा पनि समूह बनाइसकेको र भारतमा अपराध गरेर सुरक्षित रूपमा लुक्नका लागि नेपालको प्रयोग गर्ने गरेको हो भने यो भारतीय प्रहरीका लागि हैन हाम्रै लागि टाउको दुखाइको विषय हो।

उसले नेपालमा बनाएको नेटवर्क तत्काल भत्काउन सकिएन भने केही समयदेखि रोकिएको घटनाक्रम पुन दोहोरिन सक्छ।

नेपालमा ठुला-ठुला हत्याका घटना भए। सांसद मिर्जा दिलसाद बेगदेखि जमिम शाहसम्म मारिएकै हुन् नि। त्यसको कारण के थियो?

उनीहरू नेपालमा बसेर नक्कली भारतीय रुपैंयाको कारोबारमा संलग्न रहेकाले ग्याङवारमा मारिएको देखियो हाम्रो अनुसन्धानमा। तर त्यसको कारण के थियो ?

त्यसको कारण भारतमा फैलिएको दाउद इब्राहिम अनि छोटा राजन समूहबिचको ग्याङवार नै थियो। भारतमा यी दुवै समूहबिच आफ्नो प्रभाव बढाउनेक्रममा प्रतिस्पर्धा बढ्दै गयो। त्यो प्रतिस्पर्धाको प्रभाव नेपालमा समेत विस्तार भयो।

प्रारम्भमा उनीहरूले नेपाल हुँदै भारत जानका लागि नेपालमा केही सहयोगी निर्माण गरे। पछि त्यही सहयोगीलाई आफ्नो समूहका केटाहरूले भारतमा अपराध गरेर लुक्नुपर्दा नेपालमा लुकाउनका लागि सेभ सेल्टरको रूपमा विकास गरे।

सेल्टर बनेसँगै सेल्टर दिनेहरूलाई नै आफ्नो धन्दाहरूमा प्रयोग गर्न थाले। कसैले हतियार लुकाइदिए होलान्। कसैले नक्कली भारतीय रुपैंया बोकिदिए होलान् अनि कसैले उनीहरूको समूहका सदस्यका लागि निश्चित समय लुक्न सुरक्षित स्थान बनाइदिए होलान्।

त्यसले भारतको मुम्बईमा भइरहेको उनीहरूको प्रतिस्पर्धा र दुस्मनी नेपालसम्म फैलियो। नेपालमा रहेका दाउदको सहयोगीलाई छोटा राजनले टार्गेट गरेर हत्या गर्न थाले। छोटा राजन समूहको नेपालमा रहेका सहयोगीलाई दाउद समूहकाले प्रयोग गरेर हत्या गर्न थाले।

त्यसको प्रभाव बढ्दै गएर पूर्व मन्त्री तथा सांसद मात्रै मारिएनन् नि। केन्द्रीय कारागारमा बन्दी अवस्थामा बसेका युनुस अन्सारीलाई मार्न हतियारै बोकेर सुटर कारागारभित्रै पुग्न सके। नेपालगन्जदेखि वीरगन्जसम्म भटाभट भारतीय नम्बर प्लेटमा आएका सुटरले नेपाली नागरिक मारेर भाग्न थाले।

यी सबै घटनाक्रमको प्रारम्भ त यी दुवै समूहले नेपाललाई प्रारम्भमा लुक्ने र आवतजावत गर्ने थलोको रूपमा सुरुवात गर्दा सुरक्षा सङ्गठनले अनुगमन गरेर तत्काल उनीहरूलाई प्रभाव बढाउन र सहयोगी बनाउन रोक्न नसक्नुको परिणाम थियो। अहिले त्यो क्रम ह्वात्तै घटेको छ। त्यसको कारण दाउद समूह नेपालमा निष्क्रिय हुँदै जानु अनि छोटा राजन पनि भारतीय जेलमा पर्नु हो।

यो मुसेवालाको घटना सार्वजनिक भएपछि मलाई बढो चासो लाग्यो। मुसेवाला अनि उसको हत्यामा संलग्नहरूबारे भारतीय मिडियामा आएका सामाग्री पढ्न थाले। पहिला सम्पर्कमा रहेका भारतीय सुरक्षा सङ्गठनका अवकाशप्राप्त केही प्रहरी अधिकारीहरूसँग जानकारी पनि लिए।

उसलाई थ्रेड आउँदाआउँदै प्रदेश सरकारले सुरक्षा हटाएपछि दिउसै आक्रमण गरेर मारिएको छ। घटनामा पेस्तोल हैन अत्याधुनिक हतियारको प्रयोग भएको छ।

अनि घटनापछि क्यानडामा भएको व्यक्तिले अनि भारतको जेलमै भएको व्यक्तिले जिम्मा लिइरहेका छन्। अनि जो मारिए उ पनि राजनीतिसँग जोडिएको देखियो। अनि जसले मारे उनीहरू पनि राजनीतिमा जोडिएको देखियो।

नेपालमा हत्यामा संलग्न रहेको कुनै व्यक्ति लुक्न आउनु अनि मुसेवालाको हत्याको जिम्मेवारी लिएको समूहको प्रभाव क्षेत्रबारे जानकारी आएपछि भने म झसङ्ग भएकै हो। मलाई लाग्यो हिजो दाउद र छोटा राजनको प्रतिष्पर्धाहुँदा उनीहरूको नेपालमा के चासो हुन्छ र भनेर हामीले वास्ता नगर्दा पछि जुन अवस्था आयो अहिले यो मुसेवाला घटना र त्यसको नेपालको सम्बन्ध नहेर्ने हो भने कतै पुन त्यही दृश्य दोहोरिने त हैन भन्ने मनमा लाग्यो।

त्यसै मनमा लागेको हैन। मुसेवालाको पृष्ठभूमि हेर्ने हो भने उ गायक मात्रै हैन आपराधिक गतिवधीमा संलग्न पनि देखियो। भारतको राष्ट्रिय कांग्रेसमा आबद्ध त थिए नै। अकाली दलका एक नेताको हत्या भएको थियो।

त्यो हत्याको दोष मुसेवाला अनि उसको म्यानेजरमाथि लागेको थियो। म्यानेजर यही केसपछि भागेर अस्ट्रेलिया पुगेको देखियो। अनि मुसेवालाको हत्याको कारण त्यही अकाली दलका नेताको हत्याको बदलाको रूपमा देखियो।

भनेपछि यो दाउद र छोटा राजन समूहबिच एकले अर्को समूहको सदस्यको हत्या गर्ने प्रतिस्पर्धा जस्तै एकले अर्को समूहको व्यक्तिको हत्या गर्ने प्रतिस्पर्धा सुरु भएको देखियो। यो कुनै व्यक्तिगत दुस्मनी नभई समूहगत दुस्मनी देखिएकाले अन्य घटनाभन्दा भिन्न हो। भारतीय सुरक्षाकर्मीको गम्भिरताले पनि त्यही देखाउँछ।

अर्को मुसेवालाको हत्यामा संलग्न समूहको प्रभाव क्षेत्रले समेत मलाई झस्कायो। दाउद अनि छोटा राजन दुवैले नेपालमा आफ्नो सम्पर्क विस्तार गर्न मुम्बइमा काम गर्न गएका नेपालीबाट सुरु गरेका थिए। मिर्जामा पनि त्यही देखिएकै हो अनि अन्यमा पनि।

मुसेवालाको हत्याको जिम्मेवारी लिएको 'विस्नोई ग्याङ' भनिने लरेन्स बिस्नोईको समूह अनि मुसेवालाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मनप्रित सिंहसँगै क्यानडामा रहेका गोल्डी ब्रारारको भारतमा फैलिएको जालो हेर्ने हो भने नेपालको सुरक्षा सङ्गठनका सदस्य चनाखो हुनै पर्ने देखाउँछ।

यो समूहको प्रभाव दिल्लीमा देखियो। पन्जाब, हरियाणा, राजस्थानदेखि उत्तराखण्डसम्म यिनीहरूको समूहको प्रभाव देखियो। यिनीहरू राजनीतिसँग जोडिएका छन्। पहिला जो मारिए उ अकाली दलको छात्रा सङ्गठनको अध्यक्ष देखिएका छन्। विष्णु बिस्नोई पनि राजनीतिमा संलग्न देखिए। जेलभित्रै बसेर समूह परिचालन गरिरहेका छन्। जेलभित्रबाटै सलमान खानलाई ठोक्छु भन्छन्।

उनीहरूको समूहको प्रभाव जहाँ-जहाँ देखिएको छ त्यहाँ नेपालीहरूको ठुलो समूह बस्छन् अनि ओहोरदोहोर गर्छन्। दिल्ली र उत्तराखण्डमा त नेपालीहरू टन्नै छन्। पन्जाब अनि हरियाणामा पनि नेपालीहरू ठुलो मात्रामा काम गर्न जान्छन्।

कतै यो समूहले भारतका ती सहरमा कामका लागि गएका नेपालीहरूलाई प्रयोग गरेर नेपालमा सेल्टर त बनाइसकेका छैनन् भनेर हेर्नै पर्छ। अनुसन्धान गर्दा उनीहरू लुक्न मात्रै नेपालमा आएको देखियो भने ठिकै छ। तर सेल्टरै बनाइसकेको देखियो भने दाउद र छोटा राजनको ग्याङवारको दुखद नतिजामा पुग्नु अगाडि नै उनीहरूको सेल्टर भत्काउन सकिन्छ।

त्यसैले मुसेवालाको हत्यामा संलग्न रहेका व्यक्ति भागेर नेपाल आएको शंकामा खोज्न आएका भारतीय सुरक्षाकर्मीलाई नेपालको सुरक्षा सङ्गठनले सहयोग गरेर यता आफ्नो पाटोको पनि अनुसन्धान हुनुपर्छ।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....

वर्षको तीन महिना मात्र खुल्ने पसलका साहुजी विपिन

आकाशमा उड्न कम भएसँगै चंगा पसलहरू पनि हराउँदै गएका छन्। व्यापारीहरूले चंगा बेच्नै छाडिसके। अहिलेसम्म गरिरहेकाहरू अधिकांश पनि अर्को वर्ष नगर्नेमा पुगिसकेका छन्। काठमाडौंको रक्तकालीमा....

डा. हरिहरको पोष्टमार्टम अनुभव : बलात्कारपछि हत्या गरिएकी बालिकाको रिपोर्ट प्रहरीले आत्महत्या बनाएपछि...

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. हरिहरको विद्या, सीप र काम हो। मृत्युपछि गरिने....