उकेरा कोलम

ब्याच नम्बर ६९ : अमेरिकी ज्वाइँलाई  चरेस खोज्न ठमेलभरि घुमाउँदा...


स्टिङ अप्रेशन र अन्डरकभर अप्रेशन उस्तै हो कि क्या हो जस्तो भ्रम देखिन्छ। अझ सादा पोसाकमा खटिनु नै अन्डरकभर हो भन्ने भ्रम पनि देखिन्छ। यो सर्वसाधारणमा मात्रै हैन सङ्गठनमा काम गर्नेहरू पनि भ्रममा देखिन्छन्। सादा पोसाकमा खटिँदैमा अन्डरकभर अप्रेशन हुन्न। अनि अन्डरकभर अप्रेसनमा संलग्न हुँदैमा त्यो स्टिङ पनि हुन्न। अनि स्टिङमा सधैँ सुरक्षाकर्मी नै संलग्न हुन्छन् भन्ने पनि हुन्न।

अप्रेसनको मोडालिटी बनाउने सुरक्षाकर्मीले हो। तर अवस्था अनुसार सुरक्षा सङ्गठनमा संलग्न भएका व्यक्तिलाई पनि स्टिङमा प्रयोग गर्न सकिन्छ।

पहिला एउटा घटना नै उल्लेख गरौँ न योबारे। अनि अलि बुझ्न सजिलो होला। नत्र त यो कालो हो तर कालो हैन, यो सेतै हो तर सेतो हैन भनेजस्तो लाग्न सक्छ।

काठमाडौँको ठमेलमा स्ट्रिट सेलरहरु टन्नै बढेको सूचना आयो। उनीहरू बाटोमा हिँड्ने विदेशी नागरिकहरूलाई चरेस बेच्न सक्रिय थिए। लागुऔषध सेवन नगर्ने पर्यटकहरूलाई पनि उनीहरूले हैरान बनाउने रहेछन्।

उनीहरूले नेपाली वा भारतीय नागरिकलाई चरेस किन्न अफर गर्दैनथे। प्राय अमेरिकन, युरोपियन नागरिकहरूलाई सडकमा हिँडिरहेकै बेला चरेस चाहिन्छ भन्दै सोध्ने रैछन्।

त्यस्तो समूहलाई पक्राउ गर्न सादा पोसाकमा खटिने प्रहरीबाट मात्र सम्भव हुन्न। सादा पोसाकमा खटिदा केही कारोबारी पक्राउ पर्न सक्छन्। तर समूह नै भत्काउन त सकिन्न।

संयोग त्यही बेला मेरो ज्वाइँ नेपाल घुम्न आएका थिए। उनी अमेरिकी नागरिक थिए। यसो सोचे ज्वाइँ मेरा लागी सहयोगी हुन सक्छन्। मैले उनलाई आग्रह गरे' मेरा लागी ग्राहक बनेर ठमेलमा हिँड्ने हो?' उनी राजी भए।

ठमेलमा सादा पोसाकमा प्रहरी खटिए। अनि ज्वाइँ मजाले घुम्न थाले। उनी हिँडेको केही समयमै एक जना आएर चरेस किन्ने हो भनेर सोध्यो। उनले हो भने। हामीले केही पनि गरेनौँ। हामीलाई विक्री गर्ने व्यक्ति मात्रै हैन सामान पनि चाहिएको थियो।

ज्वाइँलाई उसले 'फलो मि' भन्दै पछि लगायो। हाम्रो टोली उसले थाहा नपाउने गरी पछि लागिरहेको थियो। उसले सरासर वसन्तपुर क्षेत्रमा गएर एक मन्दिरको कापबाट चरेस निकाले लगत्तै सादा पोसाकको टोली झ्यापझ्याप पारिहाल्यो।

यसरी नै २-३ दिनसम्म ज्वाइँलाई ठमेलको विभिन्न स्थानमा हिँडाएर सडकमा चरेस कारोबार गर्ने १५ जनाभन्दा बढी व्यक्तिलाई पक्राउ गर्‍यौ। त्यो अप्रेसनबाट हामीलाई यस्ता कारोबारीले चरेस कता लुकाएर राख्छन् भन्ने पनि थाहा भयो नि। हामीले त उनीहरूले कोठामा राख्छन् भन्ने लाग्थ्यो। तर उनीहरूले त मन्दिर क्षेत्रको प्रयोग गरेर प्वालहरूमा लुकाएर राख्ने रहेछन्।

अनि ग्राहक फेला पारेपछि त्यहाँ गएर निकालेर दिने। बेलुका मात्र सङ्कलन गरेर घर फर्कने। परिमाण सानै हुन्छ यस्ता कारोबारीसँग। तर उनीहरूले दिनभर पटक-पटक विक्री गर्दा ठुलै परिमाणको चरेस बेच्न सक्छन्। यदि यस्तो समूहलाई बेलैमा ब्रेक गरेन भने उनीहरूलाई लागु औषधको कारोबारमा संलग्न ठुलो समूहले प्रयोग गर्न सक्छन्। यस्ता कारोबारीमध्ये नै कोही ठुलै कारोबारी र सङ्गठित हुन पनि सक्छन्।

यसमा हामीले जुन ट्रिक अपनायौँ नि त्यो स्टिङ अप्रेसनकै भाग हो। स्टिङ भनेको ठुङने हो क्या ट्वाक्क। अपराधमा संलग्न रहेको व्यक्तिलाई प्रमाणसहित दुलोबाट निकाल्ने अनि ट्वाक्क कानुनी दफाले ठुङने। यही त हो स्टिङ भनेको।

OOO

अब अहिले विवादमा आएको २ घटना। एउटा रौतहटको घटना जहाँ एक पत्रकारको मोटरसाइकलमा लागुऔषध बरामद भएको भन्दै पक्राउ गरियो। तर पछि त्यो उनलाई फसाउन अर्कै व्यक्तिले जानाजान राखिदिएको र त्यसमा प्रहरी प्रयोग भएको देखियो।

अर्को घटना काठमाडौँ चाबहिलको। यसमा पनि कुनै व्यक्तिको मोटरसाइकलमा कस्तुरीको विना छ भन्ने सूचनाको आधारमा प्रहरी गएर समातेर ल्यायो। तर त्यो पनि अर्कै व्यक्तिले फसाउन प्रहरीलाई प्रयोग गरेको देखियो।

अँ हालसालै ललितपुरमा पनि यस्तै केस सार्वजनिक भएको थियो सहकारीको अध्यक्षले आफ्नै संस्थाको व्यवस्थापक फसाएको। प्रहरीलाई कुनै व्यक्तिसँग हतियार छ भन्ने सूचना आयो, प्रहरी खटिएर पक्राउ गरेर ल्यायो। पछि उसले हतियार राखेको हैन अर्कै व्यक्तिले फसाउन उसले चलाउने स्कुटरको डिक्कीमा राखेको खुल्यो।

कुनै सरकारी कर्मचारीले घुस खान्छ भन्ने सूचना आएपछि पहिला सादा पोसाकमा गएर निगरानी गर्ने। हो भन्ने पक्का भएपछि अन्डरकभरका खटाएर प्रमाण र थप सूचना सङ्कलन गर्ने। घुस खाने पक्का भयो। तर जति गरे पनि पुष्टि हुने प्रमाण सङ्कलन सम्भव भएन भने अनि स्टिङ गरे पो नियत पनि राम्रो हुन्छ।

कतिले यी तीनै कुरालाई अन्डरकभर अप्रेशन पनि भन्छन् है। तर हैन। स्टिङ त हुँदै हैन यी तीनै घटना। यो सामान्य सादा पोसाकमा गरिने काम मात्रै हो।

यी तीनै घटनामा प्रहरीले सुराकी जसले सूचना दियो उसलाई पुरै विश्वास गरेर तत्काल अप्रेशन गरेर पक्राउ गरिहाल्यो। धन्न तीन वटै घटनामा क्लोज सर्किट टेलिभिजनको फुटेज फेला पर्‍यो जसले समातिएका व्यक्ति अपराधमा संलग्न हैनन् भन्ने देखायो। यदि सिसिटिभी नभएको ठाउँमा घटना भएको भए ती तीनै जना फस्ने पक्का थियो।

यो सरासर प्रहरीको कमजोरी हो। जब कुनै सुराकीबाट सूचना आउँछ त्यो झुटो पनि हुनसक्छ हैन भनेर शङ्का गर्नुपर्छ। सूचना आए लगत्तै के-के न भयो भने जसरी हुर्रिएर जान हुन्न। कसैले मार्न खोज्दै छ या तत्काल प्रहरी परिचालन नभए आपराधिक घटना हुनसक्ने घटना अपवाद हुन्। यस्तोमा त जतिसक्दो चाँडो जानै पर्छ।

तर जसमा प्रमाण नष्ट हुँदैन अनि शङ्कास्पद व्यक्ति तत्काल भागी हाल्न सक्ने अवस्था छैन भने गइहाल्ने अनि समातिहाल्ने गर्नुको अर्थ छैन। यी तीनै घटनामा प्रहरीले सुराकीलाई पुरा विश्वास गर्‍यो वा प्रहरी जानाजान दुरुपयोग भए।

नत्र जब सुराकीबाट यस्ता सूचना आउँछन् नि अनि अन्डरकभरको काम सुरु हुन्छ। जो व्यक्ति अपराधमा संलग्न छ भन्ने सूचना आउँछ तत्काल उ भएको ठाउँमा जाने, उसलाई फलो गर्ने। उ जुन प्रकारको अपराधमा संलग्न छ भनिएको छ नि त्यससँग सम्बन्धित कुनै गतिविधि गर्छ गर्दैन भनेर पच्छ्याउने। आवश्यक परे फोटो अनि भिडियो खिच्ने।

जस्तो लागु औषधको सूचनामा प्रहरीले मोटरसाइकलवाला पत्रकार खाजा खाएर बाहिर ननिस्किएसम्म कुरेर उसलाई पच्छ्याउँदै गएको भए निर्दोष हो कि कारोबारी थाहा भइहाल्थ्यो। उ कारोबारी भएको भए कतै गएपछि मोटरसाइकलमा लुकाएको सामान त निकाल्थ्यो नि।

सामान निकालेन भने उसलाई मोटरसाइकलमा के छ भन्ने थाहा छैन भन्ने हुन सक्थ्यो नि। तर केही नगरी सूचना आए लगत्तै गएर समातिहाले। धन्न सिसिटिभीमा पहिल्यै अर्कै व्यक्ति आएर उनको मोटरसाइकलमा त्यो लागुऔषध राखिदिएको देखियो। नत्र बेकारमा जेल जानुपर्ने हुन सक्थ्यो।

अब यसलाई अझ बुझ्न सकिने गरी लेख्ने प्रयास गर्छु।

कुनै अपराधबारे प्रारम्भिक जानकारी आएपछि जे अपराध भनिएको हो र जो सङ्कलन हो हैन भन्ने यकिन गर्न सुरक्षाकर्मीले गर्ने गतिविधि अन्डरकभरको काम हो। यसमा पच्छ्याउने, उसका दैनिक गतिविधि, उ सम्पर्कमा रहेका व्यक्तिको पृष्ठभूमि र उनीहरूको सम्भावित संलग्नताबारे सबै सूचना र थप प्रमाण सङ्कलन गर्छन् उनीहरूले।

यो अन्डरकभर काम भयो। अब अझैँ बुझ्नुपर्ने भयो र नजिक भएर थप प्रमाण  सङ्कलन गर्नुपर्ने आवश्यकता परे कुनै सुरक्षाकर्मी उसको ग्राहक भएर वा अन्य केही बहानामा उसको नजिक हुने वा उसको नजिक भएको व्यक्तिको नजिक भएर उसको सम्पर्कमा जाने अनि उसले के-के गर्छ भन्ने प्रमाणहरू सङ्कलन गरेर सूचना पक्का हो भन्ने भएपछि उसलाई पक्राउ गरिन्छ भने यो स्टिङ भयो।

तर हाम्रोमा त सरकारी कार्यालय गएर मेरो यो काम छ गर्देऊ न म यती पैसा दिन्छु भनेर भिडियो खिचेर घुस खाएको स्टिङ अप्रेशन भनिदिने त कसैलाई झुक्क्याएर भिडियो खिचेर सार्वजनिक गरेर स्टिङ भन्ने गरियो। यो बुझ्नेहरूले गरेको काम हैन। त्यसैले त सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रोक्न भन्दै गर्ने स्टिङलाई प्रतिबन्ध लगायो नि।

कुनै सरकारी कर्मचारीले घुस खान्छ भन्ने सूचना आएपछि पहिला सादा पोसाकमा गएर निगरानी गर्ने। हो भन्ने पक्का भएपछि अन्डरकभरका खटाएर प्रमाण र थप सूचना सङ्कलन गर्ने। घुस खाने पक्का भयो। तर जति गरे पनि पुष्टि हुने प्रमाण सङ्कलन सम्भव भएन भने अनि स्टिङ गरे पो नियत पनि राम्रो हुन्छ।

अब आफैँ पहिला घुसको अफर गर्ने अनि भिडियो खिचेर यसले घुस खाएको प्रमाणसहित पक्राउ भन्ने पनि कहीँ स्टिङ हुन्छ र? मैले बुझेको स्टिङमा त यो दुरुपयोग हो।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....

चुनावमा जित जनताको होइन, जसले जित्छ उसैको हुन्छ

मङ्सिर ३ गतेदेखि मेरो यो नम्बरबाट कसैलाई फोन गर्‍यो भने एनसेलबाट नेपाली र अङ्ग्रेजी भाषामा जवाफ आउँछ– तपाईंको टेलिफोन सेवा निषेधित गरिएको छ। त्यो सन्देश....

सबका घरमा मगमग बास्ना आउने तेल पुर्‍याउन खोकना ब्रान्ड ब्युँताउन कस्सिएका कान्छा

खोकनालाई तेलले र तेलले खोकनालाई परिचित गरायो। तर, अहिले यो सब 'एकादेशमा खोकनामा तोरीको तेल उत्पादन हुन्थ्यो' समान बनेको छ। भित्री बस्ती बाहेकको स्थानमा प्राइभेट....

मनोचिकित्सक डा. निदेशको उपचार अनुभव : जुरुक्क उठेर आएका युवकले च्याप्प कठालो समातेर मलाई घिसार्दै बाहिर निकाले

उनले ती महिलाको मानसिक स्वास्थ्यको अवस्था परीक्षण गरे। कारागारमा स्वास्थ्य शिविर लिएर जानुअघि पनि मनोचिकित्सकको टिमले महिलाको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो। कारागारमा भेटेपछि....