उकेरा कोलम

ब्याच नम्बर ६९ : प्रहरी सङ्गठनमा आपराधिक सूचना हैन त्यस भित्र 'अर्थशास्त्र' खोज्नेहरू बलिया हुँदै गए


नेपालमा विदेशबाट आउने लाफिङ बुद्धका साना मूर्तिहरू हङकङ लैजान लागेका एक व्यक्तिमाथि शङ्काकै आधारमा अनुसन्धान अगाडि बढाउँदा चरेस राखेर मूर्ति बनाउने कारखाना मात्रै हैन १५ किलो चरेस नै बरामद भएको घटना यस अगाडिको अङ्कमा उल्लेख गरे।

त्यो सम्भव भएको थियो प्रोफाइलिङबाट। प्रोफाइलिङ अर्थात् शङ्काको नजर। हिँडाई,बोलाई हेराइ, के खायो अनि के खाएन भन्ने गतिविधिका आधारमा शङ्कास्पद व्यक्तिको पहिचान गरी गरिने अनुसन्धान पद्धति। धेरै भिडभाड हुने स्थानमा सबैलाई मेसिनबाट परीक्षण गर्न सम्भव हुन्न। यस्तोमा व्यक्तिको निगरानीबाट शङ्कास्पद व्यक्ति पहिल्याउने हो। कतै कुकुर पनि प्रयोग हुन्छ। तै पनि कुनै अपराधमा संलग्न व्यक्तिहरू उम्किन सक्छन्।

प्रविधिको आधारमा मात्रै अपराधमा संलग्न रहेकाहरू फेला पर्ने भए अमेरिकामा त एक डोज पनि हेरोइन अनि चरेसहरू पुग्न नसक्नुपर्ने हो नि। तर हरेक वर्ष लाखौँ टन कोकिन अनि चरेसहरू अमेरिकी सहरमा पुगिरहेका छन्। यसले पनि देखाउँछ सबै कुरा प्रविधिबाट मात्रै सम्भव हुन्न। त्यसमा मानवीय निगरानी पनि उत्तिकै आवश्यक छ र सबै देशमा यो कार्यान्वयन गरिन्छ नै।

प्रोफाइलिङ कसरी गर्ने भन्ने तालिम पनि हुन्छ। नेपालमा पनि यसको तालिम हुन्छ तर विशिष्टीकृत हैन आधारभूत तालिम मात्र। फेरि यस्तो क्षमताको विकास तालिमबाट मात्रै सम्भव हुन्न। तालिम भनेको कुनै व्यक्तिमा भएको क्षमतालाई निखार्ने अनि तिखार्ने मात्रै हो। उसमा पहिल्यै त्यो क्षमता भने हुनुपर्छ।

एउटा उदाहरण है त।

लागु औषधमा काम गर्दा जीवराम पाण्डे भन्ने जुनियर थिए। पहिला पनि कुनै अङ्कमा उनीबारे लेखेको थिए मैले। उनले यसो मान्छेहरू हेरेर यो यस्तो हुनसक्छ है भन्थे। त्यत्तिकै भनेको जस्तो लाग्ने क्या। हो त भनेर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले गरेको शङ्का मिल्ने। उनी त काम गर्दा गर्दा गजबको प्रोफाइल भइसकेका रहेछन्। उनले विशेष तालिम लिएका हैनन्। लामो समय लागु औषधमा काम गर्दाको अनुभवले खारिएका थिए। त्यसैले तालिमले मात्र सम्भव हुन् अपराध अनुसन्धानको गुणका लागि।

त्यसैले प्रोफाइलिङमा दक्ष हुनसक्ने व्यक्तिको पहिलो गुण शङ्कालु हुनु नै हो। हामी सामान्य रूपमा पनि आफ्ना नजिकका परिचितको गुणको आधारमा कुनै कुनै व्यक्तिलाई यो कति शङ्कालु छ है भन्छौँ नि। त्यस्तो व्यक्ति प्रोफाइलिङका लागि दक्ष व्यक्ति हुन सक्छन् नै।

जस्तो अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय भनिन्छ नि। त्यहाँ एकै क्षेत्रमा लामो समय काम गरेका प्रहरी कर्मचारी छ भने उसले को के काम गर्छ फ्याट्टै भन्न सक्छ नि। जस्तो चोरी शाखामा लामो समयदेखि एक कर्मचारी काम गर्थे। सायद उनी त्यहीबाट अवकाश पाए क्यार।

चोरी शाखामा काम गर्दा गर्दा बाटोमा हिँडेको बेलामा समेत कुन चोर हो कुन हैन भनेर थाहा पाइदिन्थे उनले। बाटोमा हिँड्दाहिँड्दै पकेटमार समातेर ल्याउन सक्थे। चोर अनि पकेटमारको हाउभाउ,हिँड्ने शैली, उनीहरूको लवाइबाट पनि चिन्न सकिन्छ। लामो समय काम गर्दा उनले त्यसमा विज्ञता पाइसकेका थिए।

अर्को एकै कार्यालयमा लामो समय एकै काम गर्दा त्यो अपराधमा संलग्नहरू पनि चिनिन्छ नि। उनी कतै बाटोमा हिँड्दा कतिपय त भाग्थे रे उनलाई देख्दा चिन्छ भनेर। त्यो लामो समय काम गर्दाको सिपले विकास भएको क्षमता हो।

मैले लेखिहाले प्रोफाइलिङ दक्षता केवल तालिमबाट मात्र सम्भव हुन्न। यसका लागि आवश्यक भनेको अनुभव हो। लामो समयको अनुभव। यसका लागि कुनै एक अनुसन्धान अधिकारी लामो समय एकै स्थानमा काम गर्नुपर्छ।

तर प्रहरीको कुरा गर्ने हो भने एक-एक वर्षमा सरुवा हुन्छन्। कसैलाई विमानस्थलमा प्रोफाइलिङका लागि खटाउने हो भने उसलाई एक-दुई वर्ष खटाएर हुन्न। लामो समय घटाउन सक्नुपर्छ। कुनै प्रहरीलाई लामो समय प्रोफाइलिङमै खटाउने हो भने असम्भव नतिजाहरू दिन सक्छन्। दिएका छन्। तर एकै व्यक्तिलाई लामो समय एकै जिम्मेवारीमा खटाउने वातावरण भने छैन प्रहरी सङ्गठनमा।

तर नेपालमा एकै व्यक्तिलाई लामो समय एकै पोस्टिङमा खटाउन गाह्रो छ। एक त वृत्ति विकासको संरचना नै त्यस्तै छ हाम्रो। बढुवाका लागि इन्चार्ज हुनु पर्ने, जिल्लामा खटिएको हुनुपर्ने लगायतका यस्ता प्रावधानहरू छन् कि अपराध अनुसन्धानमा लामो समय काम गर्न इच्छुक प्रहरी कर्मचारी बढुवामा छुट्ने डरले पनि सामान्य काममा खटिनुपर्ने बाध्यता छ।

केही विशेष युनिट छन् जहाँ लामो समय काम गर्नेहरू पनि छन्। तर उनीहरूको सङ्ख्या निकै कम छ। यसको कारण भनेको वृत्ति विकासका सर्तहरू, सङ्गठनले दिने जिम्मेवारी अनुसारको अतिरिक्त सुविधाको कमी अनि जोखिम अनुसारको सुरक्षाको प्रत्याभूतिको कमीले पनि हो।

अर्को विश्वासको अभाव पनि हो। एकै व्यक्ति एकै स्थानमा लामो समय खट्दा उसले नै समूह निर्माण गरेर अपराध गरिदिने जोखिम पनि हुन्छ। भएका पनि छन् नै।

एकै व्यक्ति लामो समय एकै स्थानमा खटिँदा त्यहाँको बलियो पक्षदेखि लिएर कमजोरीसम्म सबै थाहा हुन्छ। जस्तो अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समय खटिएको प्रहरी कर्मचारीले कुन चोर बाटो हो, कुन ढोकाबाट जाँदा कहाँ पुगिन्छ, कुन क्लोज सर्किट टेलिभिजनले कतिसम्म कभर गर्छ, कुन बिग्रिएको छ भन्ने मात्रै हैन विमानस्थलमा नियमित ओहोरदोहोर गर्ने व्यक्तिहरू को-के काम गर्छन् भन्नेसम्म सबै थाहा पाइसकेका हुन्छन्। उनीहरूले त्यो अनुभवको दुरुपयोग पनि गर्न सक्छन् व्यक्तिगत फाइदामा। यदि उही अपराधमा संलग्न भयो भने त्रुटि हुने सम्भावना पनि कम हुन्छ।

अर्को अपराध गर्ने व्यक्तिहरूले आफूलाई सहयोग गर्न सक्ने व्यक्ति खोजिरहेको हुन्छ। अब विमानस्थलको प्रोफाइल नै सहयोगी भयो भने त्यो भन्दा बलियो सहयोग उसका लागि के नै हुन्छ र! त्यसका लागि उसले प्रोफाइलहरुलाई प्रभावमा पार्न खोज्छन् नै।

विमानस्थलमा खटिएका प्रहरीहरू कोही डलर तस्करीमा पक्राउ परे त कोही सुन तस्करीमा पक्राउ परेका छन् पनि। तीनको पृष्ठभूमि हेर्ने हो भने उनीहरू लामो समय विमानस्थलमा खटिएका प्रहरी हुन्। उनीहरूलाई विमानस्थलको सुरक्षाका कमजोरीहरू सबै थाहा थियो। उनीहरूले अपराधमा सक्रिय समूहको सहयोगका लागि आफ्नो अनुभवको दुरुपयोग गरे।

त्यसैले लामो समय प्रोफाइलरलाई एकै स्थानमा खटाउँदा जोखिम हुन्छ। त्यसका लागि उसले पाउने सेवा-सुविधामा राज्यले विशेष ध्यान दिने अनि उसका गतिविधिमाथि पनि निगरानी राख्न सक्ने संयन्त्रको निर्माण गरेर यस्ता समस्या समाधान गर्न सकिन्छ। तर प्रोफाइलरमाथि पनि निगरानी राख्ने अर्को प्रोफाइल खटाउनु गाह्रै काम हो।

अर्को समस्या भनेको आउने कार्यालय प्रमुखको नेचर अनुसार मातहतका कर्मचारीले काम गर्ने हो। प्रोफाइलर लामो समय एकै कार्यालयमा खटिए पनि बदलिने कार्यालय प्रमुखको स्वभाव अनुसार पनि प्रभाव परिरहेको हुन्छ। इमानदार कार्यालय प्रमुख आए काम गर्न सहज हुन्छ। अब कमाउने नै उद्देश्यले आएको कार्यालय प्रमुख पर्‍यो भने त प्रोफाइल नै उसका लागि भिलियन हुन्छन्। अनि असहयोग गर्ने, लामो समयदेखि कतै नगई एकै ठाउँमा बसेको, पावरको दुरुपयोग गरेको भन्दै समाचार लेखाएर हैरान बनाउने, काम गर्ने उत्साह नै मार्ने काम पनि हुन्छन्। भएका छन्।

नेपाल प्रहरीमा जिल्लादेखि लिएर कार्यालयपिच्छे घुमुवा भनेर परिचालित गर्ने गरिन्छ। घुमुवा भनेको सो क्षेत्रमा के-के हुन्छ भनेर सूचना सङ्कलन गर्नेदेखि लिएर प्रोफाइल पनि हो। तर यसको सदुपयोग हुनुपर्‍यो। लामो समय काम गरेको व्यक्तिलाई त्यो क्षेत्रको सबै जानकारी हुन्छ। तर त्यस्ता अनुभवीको प्राय दुरुपयोग हुने गरेको देख्छु म। ल्याउनुपर्ने आपराधिक सूचना हो नि। तर उनीहरूलाई उठ्तिपुठ्तीमा बढी खटाउने गरेको पनि देखियो।

महिनामा कस्ता आपराधिक सूचना ल्यायो हैन कि महिनामा कति पैसा उठाएर दियो भन्ने आधारमा कामको मूल्याङ्कन गर्ने प्रहरीहरू पनि छन्। यी सङ्गठनका लागि घातक हुन्। तर यस्तै प्रवृत्ति भएकाहरू समयानुसार बलिया हुँदै गएका छन्।

तर यस्तो भन्दैमा सबैमाथि शङ्का गरेर पनि हुन्न। अपराध अनुसन्धानमा प्रोफाइल चाहिन्छ नै। सकेसम्म दुरुपयोग नहोस् भनेर निगरानी बढाउने, उसको चाल-चलन अनि आनीबानीदेखि आर्थिक हैसियतको उतारचढावमाथि निगरानी राखेर भए पनि प्रोफाइलरहरु बढाउनै पर्छ।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....

चुनावमा जित जनताको होइन, जसले जित्छ उसैको हुन्छ

मङ्सिर ३ गतेदेखि मेरो यो नम्बरबाट कसैलाई फोन गर्‍यो भने एनसेलबाट नेपाली र अङ्ग्रेजी भाषामा जवाफ आउँछ– तपाईंको टेलिफोन सेवा निषेधित गरिएको छ। त्यो सन्देश....

सबका घरमा मगमग बास्ना आउने तेल पुर्‍याउन खोकना ब्रान्ड ब्युँताउन कस्सिएका कान्छा

खोकनालाई तेलले र तेलले खोकनालाई परिचित गरायो। तर, अहिले यो सब 'एकादेशमा खोकनामा तोरीको तेल उत्पादन हुन्थ्यो' समान बनेको छ। भित्री बस्ती बाहेकको स्थानमा प्राइभेट....

मनोचिकित्सक डा. निदेशको उपचार अनुभव : जुरुक्क उठेर आएका युवकले च्याप्प कठालो समातेर मलाई घिसार्दै बाहिर निकाले

उनले ती महिलाको मानसिक स्वास्थ्यको अवस्था परीक्षण गरे। कारागारमा स्वास्थ्य शिविर लिएर जानुअघि पनि मनोचिकित्सकको टिमले महिलाको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो। कारागारमा भेटेपछि....