उकेरा कोलम

ब्याच नम्बर ६९ : चरेस किन्न जाँदा अपराध महाशाखाको टोलीले पक्राउ गरेर लग्यो


स्टिङका लागि २ वटा कुरा अति महत्त्वपूर्ण हुन्छ। पहिलो त आँटिलो हुनुपर्छ। अनि अर्को चैँ अवस्था अनुसार अभिनय गर्न खप्पिस हुनुपर्छ। यी दुई गुण नभएको व्यक्तिले न अन्डरकभर काम गर्न सक्छन् न त स्टिङ नै गर्न सक्छन्।

एउटा रोल प्ले गर्न गएको हुन्छ तर अवस्था बदलिन्छ। अब त्यो बेलामा आत्तियो भने त उ एक्सपोज हुन्छ। एकाएक एक्सपोज हुनु भनेको अप्रेशन बिग्रने त छँदै छ जसले स्टिङ अप्रेशन गर्न गएको हो उसको ज्यान पनि जोखिममा पर्न सक्छ नि। त्यसैले आँटिलो हुनै पर्‍यो।

आफूले सोचेको भन्दा भिन्न अवस्था आयो भने पनि नआत्तिईकन धैर्य राखेर बिस्तारै अवस्था आफू अनुकूल बनाउन सक्नुपर्छ। नत्र काम हुन सक्दैन।

अर्को एउटा भूमिकामा गएको त्यहाँ पुग्दा अर्कै भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ नि। अब किन्ने व्यक्ति बनेर जाँदा किन्ने मात्रै हैन विक्री पनि गर भनेर प्रस्ताव राख्न सक्छन्। त्यो बेलामा हैन म किन्न आएको किन्छु मात्र भनेर हिँड्नु त भएन। अवस्था हेरेर विक्रेताको भूमिका पनि निर्वाह गर्नुपर्ने हुनसक्छ।

सुराकीलाई अनेक बहानामा आपराधिक व्यक्ति वा समूहभित्र छिराएर गर्ने हो। उ त्यो समूह वा व्यक्तिको सम्पर्कमा गएपछि विश्वास जित्न अनेक भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ। त्यसका लागि महिनौँसम्म लाग्न सक्छ। यति नै समयमा त्यो काम सफल हुन्छ भन्ने हुन्न।

स्टिङ गर्न जाँदा एक्लै जाँदैन। उसलाई अर्को समूहले निगरानी गरिराखेको हुन्छ। एक्लै पठाएर स्टिङ गर्नु हुन्न। निगरानी राख्ने अनि एक्सपोज भयो भने उसलाई तत्काल थुत्ने पनि गरिन्छ। अर्को समय तोकिएको पनि हुन्छ। यति समयभित्र स्टिङ वा अन्डरभरमा गएको व्यक्तिले यति समयभित्र कुनै सन्देश दिएन वा उ निस्किएन भने उ खतरामा परेको छ हैन भनेर बुझ्ने गरिन्छ।

त्यस्तो बेलामा जे सुकै होस् स्टिङ बिग्रिए पनि बिग्रियोस् भनेर टिमले हस्तक्षेप गर्छ नै। गर्नै पर्छ। अप्रेशन सफल हुनु प्राथमिकता हो तर आफ्नो टिमको सदस्यको ज्यानै जोखिममा पारेर हैन नि। त्यसैले स्टिङ वा अन्डरकभर अप्रेशन सफल हुनुभन्दा पहिला त्यसमा संलग्न व्यक्तिको ज्यानको सुरक्षा महत्त्वपूर्ण हो।

तोकिएको समयमा कुनै सङ्केत नपाउँदा हामीले धेरै अप्रेसनमा हस्तक्षेप गरेका छौँ। त्यसरी हस्तक्षेप गर्दा अप्रेशन बिग्रिएका पनि छन्। अप्रेशन बिग्रिए केही फरक पर्दैन। फेरी प्रयास गरौँला। तर मान्छेको ज्यानै गयो भने त फर्काउँछु भनेर सकिँदैन नि।

अर्को यदि कुनै व्यक्ति स्टिङ अप्रेसनमा जाँदा फस्यो र उसलाई सही समयमा उद्धार गर्न सकिएन भने अर्को व्यक्ति स्टिङमा जान तयार हुन्न। त्यसैले टिमको आत्मबल कायमै राख्न कुनै खतराको सङ्केत मात्र आयो भने पनि हस्तक्षेप गर्नै पर्छ।

स्टिङको चरण पनि हुन्छ। आफू कसरी सुरक्षित हुने भन्ने ज्ञान पनि हुनुपर्छ स्टिङ र अन्डरकभर गर्नेमा। त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको आफूलाई सहज हुने स्थानमा पक्राउ गर्नुपर्ने व्यक्तिलाई ल्याउने प्रयास गर्नुपर्छ।

जस्तो उसको कार्यालय वा घर वा त्यस्तो प्राइभेट स्थान उसका लागि अनुकूल हुनसक्छ। आफ्नो लागी खतरा हुनसक्छ। त्यसका लागी आफू परिचित कार्यालय वा होटेल वा रेस्टुरेन्टमा ल्याउन सक्नुपर्छ। त्यसले केही गडबड भयो भने आफू सुरक्षित हुन सकिन्छ।

अर्को व्यक्ति र प्रमाण सकेसम्म सँगै नियन्त्रणमा लिने गरी योजना बनाउन सक्नु पर्छ। सामान एकातिर अनि मान्छे अर्कोतिर भयो भने काम हुन्न। प्रमाण नष्ट पनि हुनसक्छ। अर्को यस्तो स्थानको चयन गर्न सक्नुपर्छ जहाँ प्रमाण नष्ट गर्न नसकोस्।

यही सिरिजमा मैले हेरोइनको एक घटना लेखेको थिए। होटेलमा हेरोइन छ भन्ने सूचनाको आधारमा छापा मारेको। प्रहरीले ढोका ढकढक्याउन ढकढक्याउँदै उनीहरूले हेरोइन ट्वाइलेटमा फ्लस गरेर प्रमाणै नष्ट गरिसकेछन्। अब के भनेर पक्राउ गर्ने ?

प्लेनक्लोथमा अन्डरकभर वा स्टिङ अप्रेशन गर्ने एक मात्र एजेन्सी हुन्न। अन्य पनि हुन्छन्। अमेरिकामा त यति धेरै अप्रेशन जुध्न छ कुरै नगरौँ। नेपालमा त्यति धेरै समस्या त छैन तर जुध्न भने जुध्छ।

जस्तो प्रहरीमा पनि अन्डरभरमा काम गर्ने धेरै युनिट छ। लागुऔषध ब्युरो, विशेष ब्युरो, मानव बेचबिखन ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो अनि उपत्यका अपराध अनुसन्धान कार्यालय।

यी सबैले सादा पोसाकमा अन्डरकभर र स्टिङ दुवै गर्छन्। अन्य त हैन लागु औषधमा विभिन्न युनिटले काम गरिरहेको हुनसक्छ। त्यस्तोमा जुध्न पनि सक्छ।

म लागु औषधमा हुँदा यस्तै एक घटना भएको छ। लागु औषधमा रहँदा हामीलाई कसैले चरेस विक्री गर्न ग्राहकको खोजीमा रहेको सूचना आयो। त्यसपछि हामीले विक्रेता बनेर त्यो समूहलाई पक्राउ गर्ने योजना बनायौ। त्यही अनुसार परिचालन पनि भयो। अन्डरभरमा मज्जाले काम पनि भयो।

किन्न पनि गएको हो। तर चरेस किन्न गएको हाम्रो स्टाफ त पक्राउ पो परे। को रहेछ पक्राउ गर्ने भनेर बुझ्दा त्यो बेला अपराध महाशाखा भनिन्थ्यो अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय भएको छ। उनीहरू रहेछन्।

यसमा भयो के भने, उनीहरू चरेस किन्ने व्यक्ति छ भन्ने आधारमा उनीहरूले पनि पक्राउ गर्न अन्डरकभर अप्रेशन चलाएका रहेछन्। हामीले विक्री गर्ने मान्छे भनेर अप्रेशन चलायौँ। आखिरमा किन्ने र बेच्ने दुवै प्रहरी नै परे।

कहिलेकाहीँ अन्डरभरमा काम गर्दा बिचैमा फ्याट्ट चिनेको मान्छे आएर हैरान पनि भइन्छ। यस्तै एक घटना पनि छ। 

त्यो बेलामा लागु औषधमा ठुले राई पनि थिए। राईसाप प्रहरी निरीक्षक थिए। अन्डरभरमा काम गर्न भनेपछि तयार भइहाल्ने।

चरेस विक्री गर्न चाहने एक समूहबारे जानकारी आयो। किन्ने व्यक्ति बन्ने भए राई। ठमेलमा सञ्चय कोषको भवनसँगै मन्दिर छ नि त्यहाँ डिल गर्ने कुरा भयो।

कार्यालय ठमेलमै थियो। ठ्याक्कै त्यही मन्दिरको अपोजिट। विक्रेता आउने जानकारी पाएपछि राइसहितको टोली चरेस किन्न भने कार्यालयबाट निस्किएर मन्दिरमा गए। विक्रेतालाई छोप्न वरिपरि टिम छरिएर बसे। 

एक जना सरासर मन्दिरतिर आए। चरेस बेच्ने व्यक्तिको जस्तो हुलिया आएको थियो ठ्याक्कै त्यस्तै हुलिया। पछाडि ब्याग पनि बोकेको। ती व्यक्ति सरासर ठुले राई भएतिर आए लगत्तै टिमले झ्यापझुप पारेर समातेर कार्यालय ल्यायो।

कार्यालय आएपछि ठुले राई हाँस्न थाले। ती व्यक्ति चरेस बेच्न हैन कि राईलाई भेट्न उनको गाउँबाट आएका मान्छे रहेछन्। गलत व्यक्ति जालमा परे।

यो चैँ कार्यालयमा जानकारी नदिनुको बेफाइदाको कारण थियो। भयो के भने, कार्यालय अगाडि नै अप्रेशन भएकाले कार्यालयमा जानकारी किन दिनु भन्ने भयो। कसैलाई नभनी  अप्रेशन टोली बाहिर निस्किएर सरासर मन्दिरतिर गए। राई सहितको टोली मन्दिरतिर गएको कार्यालयको रिसेप्सनमा बस्ने कर्मचारीले देखेका रहेछन्।

हामी कहिलेकाहीँ यसो गफ गर्न पर्‍यो भने बाहिर पनि निस्केर बस्थ्यौँ। उनले त्यही सोचेछन्। त्यही बेलामा ठुले राईलाई भेट्न गाउँका मान्छे कार्यालयमा आइपुगे। उनी कार्यालय गएर 'राई सर कता' भनेर सोधेछन्। कार्यालयको कर्मचारीले मन्दिरमा हुनुहुन्छ भनेर देखाएपछि उनी भेट्न त्यतै आए। टोलीले चरेस बेच्न आएको ठानेर पक्राउ गर्‍यो। 

अब  जो चरेसै बेच्न आउने हो उ उम्कने जोखिम पो भयो। हतार-हतार फेरी मन्दिरमा गएर बस्यो टोली। धन्न अर्को व्यक्ति आइसकेका रहेनछन्। केही समयपछि चरेस बेच्ने आइपुगे। टिमले झ्यानाकुटी बनाउँदै कार्यालयमा ल्यायो।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....