उकेरा कोलम

ब्याच नम्बर ६९ : जब बारा-पर्सामा कांग्रेस गाँजा भित्रियो


नेपालमा गाँजा त प्राकृतिकै भइहाल्यो। नरोपे पनि जताततै उम्रिन्छ। अफिम पनि यदाकदा फुलको रूपमा रोपिन्छ। तर त्यो हेरोइन बन्ने अफिम हो भन्ने थाहै नपाएर रोपिएको हो। अफिस सागका लागि पनि रोपिन्छ नेपालमा। त्यसको साग मिठो हुन्छ। मेरो घरमा पनि रोपिएको थियो।

अब कोकिन बनाउन कतै नेपालमा कोका पनि रोपेका छन् कि भन्ने शङ्का पनि लागेको हो। त्यसको पातको आकारै छुट्टै हुन्छ। चिनिइहालिन्छ। नुवाकोटतिर रोपेर उमार्ने प्रयास गरेका छन् भन्ने सुनेको पनि हो। तर फेला परेन।

कोकाको बिरुवाको लागि नेपालको हावापानी मिल्नै नमिल्ने रहेछ। त्यसैले नेपालमा कोकाको बिरुवा उम्रिन पाएन। नत्र त फुलको रूपमा भित्रिएको अफिमझैँ हाम्रा जङ्गलमा पनि कोकाको बिरुवाको खेती फस्टाइसक्थ्यो होला।

OOO

नेपालको हिमाली भेगमा किन गाँजाको खेती हुन्न? जबकि हिमाली भेगमा हुने गाँजाको गुणस्तर सबैभन्दा राम्रो हो। भारतमा हेर्ने हो भने त हिमाली भेग अझ नर्थ इस्टमा हो गाँजा धेरै उत्पादन हुने। त्यो रूपमा हेर्ने हो भने नेपालको हिमाली भेगमा अहिलेसम्म व्यवसायी रूपमा गाँजा उत्पादन भएको देखिँदैन।

यसको कारण जसले खेती गराउने हो उ त्यो भेगसम्म नपुग्नु पनि हो। अर्को भौगोलिक विकटता अनि समुदायको एकता। अर्को भाषाको समस्या अनि आर्थिक अवस्था।

यी सबै समस्याले नेपालमा व्यावसायिक रूपमा गाँजाको खेती गराउनेहरू हाम्रो हिमाली भेगमा पस्नै सकेनन्। उनीहरूको पकड तराई क्षेत्रमा फैलियो। केही पहाडी भेगसम्म उनीहरू पुगे।

नेपालमा जति पनि गाँजाको व्यवसायीक खेती हुन्छ त्यो नेपाली बजारका लागि केन्द्रित गरेर भएको हैन। नेपाली बजार त प्राकृतिक रूपमा उत्पादन हुने गाँजाबाटै पुग्छ। अब प्राकृतिक गाँजा हेर्ने हो भने सिंहदरबारभित्रै त उम्रिएको हुन्छ। यो के ठुलो कुरा भयो र!

नेपालको गाँजा अनि चरेसको उत्पादन भारतीयहरूका कारण बढ्ने हो अनि भारतीय थोक व्यापारी कै कारण घट्ने हो। सुरक्षा निकायको सक्रियता अनि सरकारी नीतिले मात्र घट्ने हैन। त्यसमा भारत जोडिन्छ नै।

भारतको नर्थ इस्ट गाँजा उत्पादन हुने केन्द्र हो। नेपालमा उत्पादन हुने गाँजा भारतको नर्थ इस्टको गाँजासँग मिसिएर विश्व बजारमा जान्छ। यो हामीलाई नि थाहा छ भारतीय सुरक्षा निकायकालाई पनि थाहा छ।

जब नर्थ इस्टमा विभिन्न विद्रोही समूहहरू बढे अनि त्यता उत्पादन गर्न कठिन भयो। सरकारी निकाय र सुरक्षा निकायलाई पैसा बुझाउनै पर्‍यो। अब विद्रोही समूह नै २०-३० वटा भए। सबैलाई पैसा बुझाउँदा उत्पादनै महँगो भयो अनि सस्तो रूपमा उत्पादन गर्ने उद्देश्यले उनीहरू नेपाल छिरे। उनीहरूले बारा, पर्सा, रौतहट लगायतका जिल्लामा व्यापक गाँजा खेती गराए।

त्यही बेलामा नेपालमा गाँजाको नयाँ प्रजाति पनि भित्रियो। सानो-सानो हुने तर झुरुप्प देखिने। अझ त्यसलाई खसी पारेपछि त उत्पादनै दोब्बर तेब्बर हुने। त्यसलाई कङ्ग्रेस जात भन्थे।

त्यसलाई कंग्रे जात भन्नुको पछाडि रमाइलो कारण रहेछ। त्यो गाँजाको प्रजाति इटलीबाट भारतमा भित्रियो। अनि भारतबाट नेपाल भित्रियो। सोनिया गान्धी इटलीको नागरिक। अनि उनी कांग्रेसको नेता। त्यो गाँजाको प्रजाति इटलीबाट आएकाले त्यसको नामै कङ्ग्रेस राखिदिए। नेपालमा पनि त्यही नाम भित्रियो।

गाँजामा पनि मेल अनि फिमेल हुन्छ। मेलको उत्पादन त्यति राम्रो हुन्न। फिमेलको उत्पादन राम्रो हुन्छ। तर नेपालीलाई मेल अनि फिमेल छुट्ट्याउन आउँदैनथ्यो। अहिले चैँ सक्छन् क्यार। मेल कुन हो अनि फिमेल कुन हो भनेर छुट्टाउन भारतबाट मान्छे आउँथे।

अर्को गाँजा खसी पार्ने हो। कलमी गरे जस्तो हो यो। यो गर्न पनि भारतबाटै आउँथे। अहिले पनि नेपालीलाई गाँजा खसी पार्न आउँदैन। उतैबाट आउँछन् जानेका।

कता कता गए जस्तो लाग्यो। फेरि उही उत्पादनमा फर्किए।

OOO

नेपालमा गाँजा उत्पादन बढ्नु अनि घट्नुमा भारतसँग प्रत्यक्ष जोडिन्छ। पछिल्लो समय अफिम खेती पनि त्यसरी नै जोडिन थालेको छ। पहिला गाँजाकै कुरा सक्काऊ।

नेपालमा जहाँ गाँजा उत्पादन भए पनि त्यो जाने भने पूर्व हुँदै हो। अनि भारतमा गाँजा खेती घटेपछि नेपालमा गाँजा खेती बढ्ने पनि पूर्व तिरै हो। किनकि भारतमा गाँजाको सिन्डिकेट चलाउनेहरू नेपालको पूर्वी जिल्लासँग नजिकका क्षेत्रहरू तिर बस्छन्। उनीहरूले नै नेपालको गाँजाको कारोबार पनि धानेका हुन्छन्।

चरेसको बजार भने भिन्न छ। पूर्वतिरबाट हुँदै कमै चरेस जान्छ। चरेसको सिन्डिकेट चलाउनेहरू भारतको दिल्ली तथा मुम्बई तिर बस्ने भएकाले नेपालमा उत्पादन हुने चरेस पनि त्यतै जान्छ। गाँजा र चरेस एकै रुटमा जाँदैनन्।

यसका आ-आफ्नै रुट छ। यसको कारण भारतमा गाँजाको कारोबार चलाउने समूह र चरेसको कारोबार चलाउने समूह नै अलग हुनु हो। त्यसैले त गाँजा उत्पादन गराउने भारतीय मधेसमा सक्रिय छन् अनि चरेस उत्पादन गराउनेहरू मकवानपुर अनि धादिङतिर बढी सक्रिय छन्।

सबैभन्दा डरलाग्दो गरी बढिरहेको भनेको अफिम खेती हो। यसको कारण पनि भारतै हो। भारतमा औषधी प्रयोजनका लागि अफिमको वैध खेती नै हुन्छ। तर वैध खेतीको धेरै दुरुपयोग भएपछि अहिले भारत सरकारले वैध रूपमा हुने अफिम खेती घटाउँदै लगेको छ।

अफिमको खेती घटे पनि यसको प्रयोगकर्ताहरू र यसबाट हेरोइन बनाउनेहरू त घटेका छैनन्। माग पनि बढिरहेको छ। अनि उताका अफिम खेतीमा संलग्नहरू नेपाल छिरे। राजस्थान, मध्य प्रदेशका केही जिल्लाका साथै युपीको नेपालसँग जोडिएका बाराबंकी  र गोन्डा वैध रूपमा अफिम खेती ठाउँ हुन्। अहिले भारत सरकारले त्यहाँ पनि नियन्त्रण गरिरहेको छ।

त्यसको प्रभाव नेपालको कर्णाली प्रदेशका क्षेत्रहरूमा परिरहेको छ। अफिसको खेती हुने सिजनमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा व्यापक अफिम खेती सुरु हुन थालेको छ। अनि दिल्लीतिर नेपालमा उत्पादित अफिम बोकेर जाँदा नेपाली समातिन थालेका छन्। यसले नेपालमा अफिम खेती बढिरहेको देखिन्छ।

गाँजा भन्दा पनि यो डरलाग्दो पाटो हो। अफिम खेती भए पनि अहिले त अफिम सङ्कलन गरेर गरेर सेतो हेरोइन या खैरो हेरोइन बनाउन त भारतै लगिरहेका छन् नि। तर जुन रूपमा खेती बढिरहेको छ त्यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने नेपालमै अफिम रिफाइन गरेर हेरोइनै यही बनाउन के बेर लाग्छ र।

यदि त्यो चरणमा अफिम खेती पुग्यो भने चैँ नियन्त्रण गर्न निकै गाह्रो हुन्छ। भारतबाट नेपालमा आउने खैरो हेरोइनले नै टाउको दुखाइरहेको बेलामा अब नेपालमै बन्न थाल्यो भने मुल्य अझ कम हुन्छ। त्यसपछि तर प्रयोगकर्ताहरू पनि बढ्छन्। त्यसले अपराध पनि बढाउँछ। अनि लागु औषधको कारोबारबाट भित्रिने सुरक्षा जोखिम र ग्याङवारहरु पनि भित्रिन समय लाग्दैन।

यसको नियन्त्रण नेपालले चाहेर मात्र पनि सम्भव छैन। किनकि भारतीय बजारको मागसँग नेपालमा हुने उत्पादन जोडिएको छ। त्यसैले यो नियन्त्रण गर्न भारतसँग सहकार्य गर्नै पर्छ।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्‍यो'

यस्तो बेलामा सुरक्षाकर्मीले अन्य स्रोत उल्लेख गरेर भन्न खोजेको कुरा भन्ने गरेका हुन्छन्। कुनै घटनामा भारतको कस्तो भूमिका छ भन्ने खुलाउन सिधै हाम्रो अनुसन्धानमा यस्तो....

चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

उदाहरणका लागि थारु आन्दोलन र मधेश आन्दोलनलाई लिन सकिन्छ। सत्ताको भाषा इन्जोय गर्याे मिडियाले। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि मिडियाले खासै भाउ दिएको थिएन।....

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्, घरमै फर्केर छोरी पाँए

OOO मेरो बुबा ज्ञानप्रसाद ढुङ्गाना अहिले स्वर्गीय हुनुभयो। आमा हेमगंगा ढुङ्गाना उहाँकै आमा अर्थात् मेरी हजुरआमालाई स्याहार गरेर गाउँमा बस्नुहुन्छ। मेरो जन्म कृषक परिवारमा भएको....

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....