उकेरा कोलम

ब्याच नम्बर ६९ : कार्गो र कुरियर भनेका लागुऔषध कारोबारी नै हुन् त?


एउटा कार्गो कम्पनीमा युरोप पठाउन लागेको क्यान्डलहरु शङ्कास्पद रहेको सूचना आयो। सूचना कार्गोबाटै आएको थियो। उनीहरूले जोख्दा अस्वाभाविक तौल देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

खबर आए लगत्तै ठमेलमा रहेको कार्गोको कार्यालयमा टोली पुग्यो। सामान खोलेर हेर्दा जे शङ्का गरेको सही निस्कियो। त्यसमा त चरेस राखिएको रहेछ।

सामान एक ग्रिक नागरिकले ल्याएका रहेछन्। तीनको सबै विवरण कार्गोमा थियो नै। हामीले ग्रिक  नागरिकको खोजी सुरु गर्‍यौ। फेला परिहाल्यो। अनि अदालतको अनुमति लिएर अनुसन्धान सुरु गर्‍यौ। पछि सजाय नै भयो।

पहिला पनि कुरियर कार्गोका सामानमा लागुऔषध नभेटिने हैन। तर अधिकांश एयरपोर्ट पुगेपछि मात्र फेला पर्थ्यो। एयरपोर्टमा आएका सामानको डङ्गुरमा शङ्का लागेमा जाँच गर्ने त हो। यस्तोमा सामान फुत्कने जोखिम पनि हुन्छ नै।

अर्को समस्या कुरियर या कार्गो हुँदै एयरपोर्टसम्म सामान पुग्दा मूल व्यक्ति बिचैमा हराउने जोखिम हुन्छ। कि फेलै पर्दैनन्। फेला परे पनि पछि निकै मिहेनतमा मात्र फेला पर्छन्।

कार्गोको यो केसपछि यदि कार्गो या कुरियरबाट सहयोग भयो भने त सामान पनि फेला पर्ने अनि मान्छे पनि भाग्न नसक्ने रहेछ भन्ने भयो। तर यो त्यति सजिलो थिएन।

कार्गो अनि कुरियर सञ्चालन गर्नेहरूमा प्रहरीले बेकारमा दुख मात्र दिन्छ भन्ने थियो। यसले उनीहरूले कुनै शङ्का लागेको सामान आयो भने बहाना बनाएर अर्कैकोमा पठाइदिने तर प्रहरीलाई खबरै गर्दैनथे। उनीहरूलाई बेकारमा प्रहरीले फसाइदिन्छ भन्ने लाग्ने रहेछ।

यता प्रहरीको सोच अलग। प्रहरीहरू पनि यी कार्गो र कुरियर भनेका त लागुऔषध कारोबारी नै हुन्, यिनलाई ठिक पार्नुपर्छ भन्ने सोच हाबी थियो।

यसरी एक अर्कालाई नै शङ्का गर्ने वातावरणका कारण लागुऔषधको सबैभन्दा ठुलो स्रोतबाट प्रहरीले पाउन सक्ने सूचनै पाउन सकिरहेको थिएन। कार्गो अनि कुरियर सञ्चालकहरू पनि शङ्काबाट बाहिर निस्कन सकेनन्।

अब यो समस्या समाधानका लागि जसरी पनि कुरियर र कार्गो सञ्चालकहरूसँग सम्बन्ध बढाएर उनीहरूको विश्वास नजिती हुन्न भन्ने भयो।

त्यसका लागि संयुक्त सहकार्य प्रभावकारी हुनसक्छ भन्ने लाग्यो। त्यसबाट २-४ वटा काम भयो भने उनीहरूको विश्वास जित्न सकिन्छ नि त।

पहिला उनीहरूको मनमा रहेको प्रहरीले बेकारमा दुख दिन्छ अनि फसाइदिन्छ भन्ने भावना हटाउन सक्नुपर्‍यो। त्यो हटाउने काम त हाम्रै हो।

अनि प्रहरीमा सबै कार्गो र कुरियरवाला लागुऔषधका कारोबारी हुन् भन्ने भ्रम पनि हटाउनुपर्‍यो। उनीहरूको सहयोगमा कारोबारी पक्राउ पर्न थालेपछि प्रहरीमा भएको त्यो भ्रम पनि हट्थ्यो।

एक्सपोर्ट काउन्सिलको अध्यक्ष थिए राजु श्रेष्ठ। उनीसँग भेटेर लागुऔषधको समस्या अनि कार्गो र कुरियरसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल भयो।

उनी निकै सहयोगी व्यक्ति। तत्काल सबै कार्गो र कुरियरले प्रहरीलाई सघाउन तयार नहुन सक्छन्। केहीबाट सहकार्य सुरु गर्दै अगाडि बढाउने भनेर पार्टनरसिप कार्यक्रम ल्यायौँ।

त्यो बेलामा कार्यालयमा त्यति धेरै बजेट थिएन। गृह मन्त्रालयबाट जनचेतना जगाउन भनेर आउने बजेटबाट केही रकम झिकेर कार्गो र कुरियरमा काम गर्नेहरूलाई तालिम दियौँ।

लागुऔषध कारोबारीहरूले सामान पठाउन अधिकांश ठुला कार्गो र कुरियर कम्पनी छान्छन्। ठुलो कम्पनीबाट पठाउँदा धेरै सामान हुन्छ। एक-एक सामान जाँच गर्न भ्याउँदैनन् भनेर उनीहरूले ठुलो कम्पनी छान्ने हो।

अब सानो कम्पनीमा गयो भने त सामानै थोरै हुन्छ। उनीहरूले चाहेमा सबै सामान एक-एक गरेर सबै हेर्न पनि भ्याउँछन् नि।

हामीले उनीहरूलाई कस्ता-कस्ता सामानमा कसरी चरेस या अन्य लागुऔषध लुकाएको हुनसक्छ भनेर सिकायौँ। व्यक्तिको हाउभाउको आधारमा कसरी शङ्का गर्ने, सामानको तौल अनि कार्गो अनि कुरियर गर्न आएको व्यक्तिको व्यवहार आदी हेरेर पनि शङ्का स्क्यानिङ गर्न सकिने टेक्निकहरू सिकायौँ।

जस्तो अमेरिका सामान पठाउन पाँच डलर लाग्छ। तर कार्गोमा ७ डलर भन्दा उसले कुनै वादविवाद वा बार्गेनिङ नगरी सामान पठाउन जारी हुन्छ भने शङ्का गर्नुपर्‍यो। अपवाद बाहेक जो व्यक्ति कानुनी सामान पठाउन कार्गो गएको हुन्छ उसले रेटमा तलमाथि गर्न खोजिहाल्छ। किन महँगो वा अलिकति डिस्काउन्ट भन्छन् नि। केही पनि नभनी जति भन्यो त्यति दिनेहरू पनि नहुने हैन। तर यस्तोको सङ्ख्या कम हुन्छ।

तिनीहरूलाई शङ्का गरेर सामान परीक्षण गर्दा यस्ता स्वभाव भएकाहरूको सामान क्लिन नै फेला पर्ला। तर जो कारोबार हो उ पनि फेला पर्छ नि। यसरी स्क्यान गर्दा सङ्ख्या पनि कम हुन्छ। प्रोफाइलिङ गर्न पनि सजिलो हुन्छ।

अर्को भनेको सामानको तौल हो। सामान्य रूपमा कुन सामान कति किलोको हुनसक्छ अन्दाज गर्न सकिन्छ नै। सामान जोख्दा सामानको सङ्ख्याभन्दा तौल बढी छ भने शङ्का गर्नुपर्ने भयो। त्यो सामान भित्र चरेस राखेको हुनसक्ने भयो।

अर्को हेर्ने भनेको हाउभाउ हो। अब सामानमा चरेस राखेर कुरियर या कार्गो गर्न आएको व्यक्ति अन्य जस्तो सामान्य त पक्कै हुन्न। थाहा पाउलान् कि भनेर उ डराएको हुन्छ नै। जस्तो जाडो महिनामा कार्गो गर्न आएको मान्छे छ तर उसको अनुहारमा पसिना देखियो भने शङ्का गर्नुपर्ने भयो। सामान्य ब्यक्तीलाई जाडोमा पसिना त आउदैन। केही न केही गडबड त पक्कै हुन्छ।

कोही अनावश्यक रूपमा हतार गरिरहेको छ भने शङ्का गर्नुपर्ने भयो। कोही केही नभए पनि हडबडाइरहेको छ भने शङ्का गर्नुपर्ने भयो। कसैले अनावश्यक अटेन्सन दिइरहेको छ, विना प्रसङ्ग निकट हुने प्रयास गरिरहेको छ भने पनि शङ्का गर्दा राम्रो।

हामीले सुरु गरेको सहकार्यको सकारात्मक प्रभाव देखिन थाल्यो। कुरियर अनि कार्गोहरूबाट सूचना आउन थाल्यो।

क्यानडा पठाउन लागेको ६ सय ६९ किलो चरेस कार्गोकै सहयोगमा फेला पारेका थियौँ हामीले। त्यसपछि यस्ता धेरै केसहरू सफल भयो। सहकार्य राम्रो भयो।

त्यसको कारण भनेको एक अर्काप्रतिको विश्वास हो। प्रहरीले कार्गो-कुरियरमा काम गर्नेलाई विश्वास गर्नुपर्‍यो। अनि उनीहरूले प्रहरीलाई पनि विश्वास गर्नुपर्‍यो।

उनीहरूको विश्वास जित्ने जिम्मेवारी प्रहरीको हो। यसका लागि उनीहरूलाई जति सहज वातावरण बनाउन सकिन्छ बनाउन सहयोग गर्नुपर्छ।

जस्तो प्रहरीलाई कुनै अपराधबारे भन्यो भने प्रहरी कार्यालय बोलाउँछ, बयान दिन भन्छ। पछि अदालतमा पनि जानुपर्छ। बेकारमा सुरक्षा जोखिम होला, आफैँ फसिएला अनि दुख पाइएला भनेर पनि नभन्नेहरू हुन्छन्। अहिले पनि छन्।

उनीहरूको विश्वास जित्न प्रहरीले सहजीकरण गर्न सक्नुपर्छ। अत्यावश्यक बाहेक प्रहरी कार्यालयमा नबोलाउने, अदालत या अन्य कुनै सरकारी कार्यालयमा उनीहरू जानुपर्ने भयो भने कार्यालयबाट सहयोग गर्ने मान्छे पनि सँगै पठाउने अनि उनीहरूलाई सघाउने गर्‍यो भने उनीहरूको मनमा ए प्रहरीले काम गर्ने काम त हाम्रै लागि त हो नि सहयोग गर्नुपर्छ भन्ने हुन्छ। आम नागरिकले यस्तो सोचेर सहयोग गर्न सुरु भयो भने जटिल भन्दा जटिल अपराधको अनुसन्धान पनि सफल भइहाल्छ।

तर यो पाटोमा प्रहरी सङ्गठनले अझै ध्यान दिन सकेको छैन। यो पाटोमा धेरै काम गर्नै बाँकी छ।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....