ब्याच नम्बर ६९ : जब निलो प्लेटको गाडी अन्तर्राष्ट्रिय कुख्यात तस्करको घरमा छिर्‍यो

ब्याच नम्बर ६९ : जब निलो प्लेटको गाडी अन्तर्राष्ट्रिय कुख्यात तस्करको घरमा छिर्‍यो

नेपालबाट हुने लागुऔषध कारोबारमा को-को संलग्न छन् भनेर भन्न सक्ने अवस्थै हुन्न। अनुसन्धान गर्दै जाँदा को-को संलग्न देखिन्छन् को को। यस्तै एक घटना छ जसमा नेपालमा रहेका कूटनीतिक नियोगका उपल्लैतहका व्यक्ति समेत चरेस कारोबारमा संलग्न देखिएका छन्।

मैले यसमा प्रवृत्ति मात्रै जानकारी दिन खोजेको हो। अहिलेको अवस्थामा त्यो कुन दूतावास थियो भन्नुको अर्थ छैन। कुनै कुनै सूचनाहरू यस्ता हुन्छन् जुन आफ्नो अवकाशपछि खुलाए पनि अहिले अनुसन्धानमा रहेकाहरूलाई असर पर्न सक्छ। त्यसैले म यसमा देश र डिप्लोम्याटको नाम चैँ लेख्दिन। तर केस डिटेल त उल्लेख गरिहाल्छु।

हाम्रो देशको ठुलो तस्कर तिमिहरूको देशमा आउँदै छ। के-के गर्ने रहेछ यसो हेरिदेऊँ न भनेर एक युरोपेली देशबाट आग्रह आयो। एक व्यक्ति जो युरोपेली देशको खुङ्खार तस्कर हो, उ काठमाडौँ आउँदै रहेछन्। त्यो पनि परिवार सहित।

उनीहरूले केवल उनी काठमाडौँमा बस्दा के-के गर्ने रहेछ हेरिदेऊँ न भनेर आग्रह गरेका थिए। उनीहरूको आग्रह स्वीकार गर्यौँ। किनकि यस्तो सूचना त हामीले पनि पठाइरहेका हुन्छौँ। कुनै नेपाली तस्कर युरोपतिर गयो भने हामीले पनि हेरिदेऊँ न भन्नुपर्छ।

उनीहरूले नाम, फ्ल्याट डिटेलसहितको सूचना पठाएपछि लागुऔषध नियन्त्रण इकाइबाट एक टोली विमानस्थलमा खटाइहाल्यौँ। हुन त विमानस्थलमा इकाइबाट नियमित टोली हुन्छ नै। तर यो जाँच गरेर पक्राउ गर्ने नभएर पिछा गर्नुपर्ने भएर फलो गर्न सक्षम टिम पठायौँ।

विमानस्थलबाट बाहिरियो। यसो टिमले हेर्दा त छोरा-छोरी अनि श्रीमतीसँगै केही सहयोगी लिएर आएको रहेछ। यसो हेर्दा फेमिली ट्रिप जस्तो देखियो। अब कारोबार गर्न डिल गर्न आएको भए यसरी परिवारै त को ल्याउँछ र। सायद नेपालमा छुट्टी मनाउन आएको जस्तो देखिएको थियो।

तर उनीहरूले प्लिज के-के गर्छ हेरिदेऊँ न भनेकाले कारोबार डिल गर्न आए पनि केवल फ्यामिली टुर मात्रै भए पनि सूचना सङ्कलन गर्दा के नै फरक पर्छ र। हामीले अप्रेशन गर्ने हैन। केवल पाएको सूचना दिने मात्र त हो।

एयरपोर्टबाटै हाम्रो टिमले उनीहरूलाई पच्छ्याउन थाल्यो। उनीहरू सिधै रिङरोड बाहिरको एक घरमा गएर पो बसे। अब भने शङ्का बढ्यो। उनीहरू फेमिली ट्रिपमा आएको भए होटेलतिर बस्थे नि। तर उनीहरू सिधै व्यक्तिगत घरमा गए।

टिम त्यतै खटियो। के-के गर्छ भनेर पुरै सूचना लिनुपर्ने भएर तीन सिफ्टमा तीन टोली खटायौँ।

घर ठुलो कम्पाउन्डको थियो। बुझ्दै जाँदा उनीहरूले त त्यो घर पहिल्यैदेखि भाडामा लिएको खुल्यो। उनीहरू पटक-पटक नेपाल आउने अनि त्यही घरमा बस्ने गरेको पनि देखियो।

भनेपछि त त्यो व्यक्तिबारे सूचना उताका लागि मात्रै हैन यताका लागि पनि महत्त्वपूर्ण देखियो। टिम थप टाइट गरियो।

को-को आउँछ भनेर चियाउने मात्र हो हाम्रो टिमले। ठुलो कम्पाउन्ड भएको घर थियो। टिम भित्र छिर्न सक्ने अवस्था थिएन। तर जति सम्भव हुन्छ चियाएरै भए पनि सूचना सङ्कलन गर्ने त हो।

तर बाहिरै बसेर निगरानी गरे पनि को-को भेट्न आए भन्ने त खुल्छ नि। गजब के भने त्यो घरमा यस्ता यस्ता मान्छेहरू आउन थाल्यो कि छक्कै पर्न थालियो।

काठमाडौँमा बसिरहेका विदेशी नागरिकहरू गए, हामीले शङ्का गरेका अमेरिकन नागरिकहरू गए। चरेस तस्करीमा संलग्न हुन् कि भनेर शङ्का गरेका नेपाली व्यापारीहरू गए।

त्यसले हाम्रो शङ्का केवल शङ्का मात्रै हैन रहेछ है भन्ने त भयो नि। उनीहरूले प्रयोग गर्ने गाडी नम्बरहरू फेला पर्यो। कतिको नाम थाहा हुन्छ तर गाडी नम्बर थाहा हुन्न। कतिको गाडी नम्बर थाहा हुन्छ तर को मान्छे भन्ने थाहा हुन्न।

त्यहाँ यस्ता धेरै जानकारी नभएका सूचनाहरू भेरिफाइ पनि भयो नयाँ सूचनाहरू पनि आयो।

टिम मजाले खटिइरहेको थियो। त्यहाँबाट आएका सूचना जुन भेरीफाई गर्नुपर्ने हुन्छ त्यो भेरिफाइ गरिदिने अनि जुन सिधै पठाउँदा हुन्छ त्यो उनीहरूलाई नै पठाइदिने गर्यौ।

एक दिन त्यो घरमा अलि बढी नै चहल पहल सुरु भयो। सामान्य चहल पहल थिएन। टिममा सदस्य बढाउनुपर्ने भयो निगरानीमै पनि। उनीहरूले पार्टी राखेका रहेछन्। यो त हाम्रा लागि झन् गजब भयो। पार्टी भनेपछि त अझ धेरै मान्छे आउने भए। धेरै मान्छे आउने भनेको धेरै सूचना आउने पनि हो नि।

पार्टीमा आउनेहरू अधिकांश हामीले चरेस कारोबारमा शङ्का गरेकाहरू नै थिए। केही शङ्का गरेकै विदेशी थिए केही नयाँ।

अचानक त्यही गेटमा एउटा निलो प्लेटको गाडी देखियो। निलो प्लेट त डिप्लोम्याटले चढ्ने गाडी भयो नि। गाडीमा अरू नै कोही छ कि भनेर टिमले हेर्यो। हैन डिम्लोम्याटै थिए।

गाडी सरासर भित्र छिर्यो अनि लामो समय बस्यो। टिमले गाडीको नम्बरदेखि लिएर लिनुपर्ने सूचना जति सबै लियो।

यसमा अलि बढी गम्भीर हुनुको कारण के हो भने त्यो तस्कर जुन देशको हो डिप्लोम्याट त्यो देशको थिएनन्। दोस्रो जुन डिप्लोम्याट त्यहाँ देखिएका थिए उनी चरेस कारोबारमा संलग्न हुन सक्छन् है भनेर पहिला पनि सूचना आएको थियो।

अब डिप्लोम्याटहरुलाई विमानस्थलदेखि धेरै स्थानमा विशेष छुटहरू हुन्छन् नि। त्यसमा विमानस्थलमा सामान चेकजाँच लगायतमा पनि छुट हुन्छ नै। हामीलाई केही डिप्लोम्याटहरुले आफ्नो सामानमा चरेस राखेर बाहिर लैजाने गर्छन् है भन्ने सूचना आइरहेको थियो।

त्यसमा उनको नाम पनि थियो। तर अन्तर्राष्ट्रिय सम्बन्ध त्यसमा पनि कूटनीतिक सम्बन्धको जटिलताका कारण हुनसक्छ है भनेकै आधारमा झ्याप्पै अनुसन्धानको दायरामा ल्याउन सकिन्न। त्यसका लागि पक्का प्रमाण हुनै पर्छ।

त्यो पक्का प्रमाण हामीसँग थिएन। त्यही पार्टीले दियो। अरू केही नभए पनि नेपालका लागि एक डिप्लोम्याट उसको देशको पनि हैन अर्कै देशको नागरिक जो कुख्यात लागुऔषध तस्कर हो उसको पार्टीमा किन गयो भनेर प्रश्न सोध्न सक्ने आधार त दियो नि त्यो पार्टीले।

पक्का भए पनि प्रक्रिया पुरा गरेर भेरिफाई गरे झन् सजिलो हुन्छ यस्तो केसमा। गाडी नम्बर पठाएर त्यो कसले चलाउँछ भनेर सूचना माग्यौ दूतावाससँग।

त्यही व्यक्तिको नाम आयो। अनि दूतावासका अधिकारीहरूसँग हामीसँग भएको सूचनाबारे कुराकानी गर्दै ती डिप्लोम्याटको गतिविधिबारे जानकारी गरायौँ।

उनीहरू गम्भीर भइहाले। अब विषय नै त्यस्तै पर्यो नै। एक डिप्लोम्याट। दोस्रो लागुऔषध तस्कर। दुवै गम्भीर भइहाल्यो।

उनीहरूको भारतमा रहेका प्रहरीलाई हतार हतार नेपालमा बोलाए। उनीहरू पनि सूचना पाए लगत्तै हुत्तिँदै नेपाल आए। हामीसँग भएका सूचना अनि भएका प्रमाण उनीहरूलाई उपलब्ध गरायौँ। उनीहरूले आफ्नै तरिकाले अनुसन्धान अगाडि बढाए र पछि ती डिप्लोम्याटलाई आफ्नै देशमा लगेर कारबाही गरे।

अब उताबाट जसले सूचना पठाएको थियो उसलाई आफ्नो देशको लागुऔषध तस्करले नेपालमा के गर्छ भन्नेमा मात्रै चासो थियो। हामीले उसको गतिविधि जे जति पठाउन मिल्छ हामीले पठायौँ।

उनीहरूले पठाएको सूचनालाई पच्छ्याउँदा शङ्का भएको तर प्रमाण नभएको डिप्लोम्याटको सम्बन्ध चरेस तस्करसँग छ भन्ने प्रमाणित गर्न सक्यौँ। प्रमाणित पनि भयो। अर्को पार्टी र ती तस्करलाई भेट्न आउनेहरूको सूचीले हामीलाई अन्य शङ्का मात्र भएकामाथिको शङ्का पक्का हुने अनि जोबारे जानकारी नै थिएन उनीहरूलाई शंकामा राख्ने पर्याप्त सूचना पनि आयो।

त्यसैले कुनै पनि अन्तर्राष्ट्रिय सहकार्य वा अनुसन्धान अर्काका लागि मात्रै हैन आफ्ना लागि पनि हुन्छ।

अर्को घटना पनि छ नेपालमा लागुऔषध तस्करीमा दूतावास जोडिएको। त्यो चैँ पञ्चायतकालमा हो। मैले अप्रेशन गरेको हैन। पछि अनुसन्धानकोक्रममा थाहा पाएको हुँ मैले।

त्यो दूतावास चैँ नर्थ कोरिया थियो। दूतावास आफैँ हैन कि दूतावासको गाडी कोकिन तस्करीमा संलग्न देखियो। त्यो बेलामा प्रहरीले अनुसन्धान गरिरहेको थियो।

गाडीमा कोकिन छ भन्ने पक्का भएपछि प्रहरीले गाडी समात्न खोज्यो तर गाडी भागेर सिधै नर्थ कोरियन दूतावासभित्र छिरेछ। त्यो बेलाको प्रहरी ज्याद्रा थिए। उनीहरूले गाडी र गाडीमा भएको व्यक्ति बुझाउने हो कि दूतावासभित्रै आउँ भनेर दूतावासको गेटमा धर्ना कसेछन्। जति गरे पनि नसकेपछि दूतावासले ती व्यक्तिलाई गाडीसहित बाहिर निकाल्यो।

गाडी दूतावासको थियो तर उसले नेपालीलाई बेचिसकेको रहेछ। गाडीमा कोकिन अनि कोकिन जोख्ने तराजु समेत फेला परेको थियो। अर्का एक कहलिएका व्यापारी जसले नर्थ कोरियाकै गाडी प्रयोग गर्थे उनी पनि चरेस कारोबारमा संलग्न रहेको सूचना आएर फलो गरेका थियौँ। यो चैँ मेरै पालामा हो।

तर त्यो कानुनी रूपमै पुष्टि गर्न सक्ने गरी प्रमाणहरू सङ्कलन हुन सकेको थिएन। 

ब्याचका पुराना अंक

८ भदौ, २०७९, १८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।