उकेरा कोलम

ब्याच नम्बर ६९ : चरेस बेच्न आउनलाई टिमले यसरी गफमा भुलाए कि चिन्दै चिनेन


एउटा रमाइलो अप्रेसनबारे लेख्न मन लाग्यो यो पाली। यो स्टिङसँगै जोडिन्छ। भूमिका बदलेर काम गर्दा कस्ता-कस्ता समस्या आइपर्छन् अनि ट्याकल गर्न सक्नेले कतिसम्म चुनौती मोलेर पनि काम गर्न सक्छन् भन्ने पनि देखाउँछ यो घटनाले।

यो दुई वटा घटना छ। दुवै एक अर्कासँग जोडिन्छन्। पहिलो घटनाबारे लेखौँ है त।

कार्यालयमा बसिरहेका थियौँ। एक जनाले बजारमा साढे २ सय किलो चरेस तयार छ भन्ने सूचना ल्याए। यो त ठुलै परिमाण भयो नि। चरेस छ भन्ने पक्कापक्की भए पनि कसले कहाँ ल्याउँदै छ भन्ने चैँ आएन।

सूचनाहरू सङ्कलन गर्दा कुनै कार्गोमा आउन सक्छ भन्नेसम्मको सूचना आयो। सूचनाहरू सङ्कलन गर्ने अनि भेरिफाई गर्ने काम जारी राख्यौँ।

सूचनाहरूलाई हामीले चलाखीसाथ हेरिरहेका थियौँ। चरेस कुनै कार्गोमा आउने थप सूचना आयो। तर कुन कार्गो भन्ने अझैँ खुलेन। ठिकै छ। चरेस आउने अनि कार्गोमा आउनेसम्मको सूचना त आयो नि।  

थप सूचना आयो' ठमेलमा रहेको आउने नाम्गेल लामाको कार्गोमा चरेस आउने।' सूचना पक्का थियो। कार्गोमा आउने भनेपछि चरेस बाहिर पठाउन सक्रिय समूह भन्ने पनि भइहाल्यो। परिमाण २ सय ५० किलो भनेपछि समूह पनि ठुलै हुने भइहाल्यो।

अप्रेशन गर्ने तयारी गर्‍यौ। अब यस्तोमा सामान कुर्नुको विकल्प हुन्न। सामान आउन दिनुपर्छ। बिचतिर हस्तक्षेप गर्‍यो भने केस बिग्रन सक्छ। बाटैमा हराउन पनि सक्छ। त्यसैले चरेस राखेका सामान कुरियरमा नआएसम्म हामीले शङ्का हुने कुनै गतिविधि नै गरेनौँ। कुरेर बस्यौँ।

जब सामान आइपुग्यो अनि झ्यापझुप समातिहाल्यौँ। यसमा २ जना व्यक्ति पक्राउ परे। विभिन्न सामानभित्र चरेस राखेका रहेछन्। अमेरिका हो या जापान पठाउन लागेको हो त्यो चैँ बिर्सिए।

ठुलठुला बाकसमा थिए सामान। सामान लोड गरेर कार्यालय ल्याउनु पर्‍यो। एक व्यक्तिले सामान लोड गर्न निकै सघाए हाम्रो टोलीलाई । सहयोगी रहेछन्।

यो अन्डरकभर अप्रेशन थिएन। खुलेरै कारबाही गरेका थियौँ। हामी प्रहरी हौँ भन्ने कार्गोमा थाहा थियो। जसले चरेस ल्याउनै थिए उनीहरूसम्म प्रहरीले चाल पाएको सूचना नपुगे भइहाल्यो। पुगेन पनि। काम पनि भयो।

त्यसको ६ महिनापछि अर्को सूचना आयो। बजारमा साढे पाँच सय किलो चरेस आएर बसेको छ अनि उनीहरू ग्राहक खोज्दै छन् भन्ने थियो सूचना। अब यसमा त अन्डरकभर नखेली सम्भव हुने कुरै भएन।

राजकुमार लम्साल त्यो बेलामा प्रहरी निरीक्षक थिए। उनी चरेस किन्ने साहुजी बन्ने भए। कृष्णगोपाल पनेरु सहयोगी बनेर जाने भए।

उनीहरू जे कामका लागि गएको हो त्यो सफल भयो। उनीहरूले एक जनालाई पक्राउ गरेर ल्याए। उसलाई देख्नासाथ छक्क परे म। उनी त चिनेको मान्छे थिए त्यही कार्गोमा चरेस लोड गर्दा प्रहरीलाई सघाएका व्यक्ति।

लम्साल अनि पनेरुलाई चिनेनौ भनेर सोध्दा फिस्स हाँस्दै 'लामा सरकोमा भेटेको हैन' भन्यो। टिमै हाँस्यो। टिमको काम गर्ने शैली देखेर छक्कै परे म।

विषय पनि छक्क पर्ने खालकै भयो नि। अब अन्डर कभरमा काम गर्दा पनि प्रहरी हो भनेर चिनेको व्यक्तिले चिन्नै नसक्ने बनाएर अप्रेशन सफल बनाउनु भनेको ठुलै विषय भयो।

राजकुमार चरेस किन्ने साहु बनेर जाँदा चरेस बेच्न आउने व्यक्ति परिचितै परे। अब चरेस किन्ने साहु बनेर गएको लम्साल र पनेरु दुबैलाई उसले प्रहरी हो भनेर चिनेमा त अप्रेशन असफल हुने भइहाल्यो। प्रहरी हो भन्ने जान्दाजान्दै चरेस बेच्ने डिल त पक्कै गर्दैन।

अब डिल गर्ने कि फर्कने भन्ने दुबिधामा उनीहरूले ट्राई मार्ने निर्णय गरेछन्। चरेस किन्ने डिल गर्ने चिन्यो भने चिन्यो, चिनेन भने त काम भइहाल्छ भन्ने भयो।

टिमले उसलाई यसरी गफमा भुलाए कि चिन्दै चिनेन। चरेस किन्न पैसा लगेका थिए टिमले। उसको ध्यान पैसा गन्नतिर गयो। त्यसमा लम्साल र पनेरुको गफ। त्यसले चरेस किन्न आउने को हुन् भनेर भेउ नै पाएन।

पैसा लियो। अनि सामान दिने डिल पनि भयो। डल्लुको स्टोरमा चरेस राखेको रहेछ। उसले स्टोरमा पुर्‍याएपछि मात्रै हामी प्रहरी हौ भन्ने खुलायौँ।

स्टोरमा राखेको चरेस उसले ल्याएको पनि हैन रहेछ। अर्कैले चरेस ल्याएर उसकोमा राखिदियो। उ लोभियो। त्यत्रो चरेस बेच्न पाए त भनेर ग्राहक खोज्न हिँडेको रहेछ। हाम्रो फन्दामा परिहाल्यो।

डल्लुको गोदाममा चरेस फेला परेपछि उसलाई पक्राउ गरेर कार्यालय ल्याएपछि मात्रै उसले चिनेको थियो।

कस्तो ध्यान नदिएको के उसले। कसरी गफमा भुलाउन सकेका होलान्।

अनुभव भनेको यही हो। लम्साल अनि पनेरु दुवै पोख्त भए। त्यसैले उनीहरूले फिल्डमा परिचित मान्छे नै आउँदा पनि यसरी कुरामा भुलाइदिएकी उसले चिन्नै सकेन।

यसरी उसको ध्यान घुमाइदिए कि चरेस किन्न आउने को हुन् भन्नेतिर वास्तै गरेन। उसलाई जतिसक्दो चाँडो चरेस वेच्नुथियो। पैसा लिनु थियो। उसको ध्यान त्यसमै मात्र गयो।

पैसा पाएपछि गन्न थाल्यो। पैसामा रिस्क पनि हुन्छ। सबै पैसा सक्कली नै लगेका थिए। साथीभाईहरुसँग खोजखाज गरेर लगेको। अब कसैले लुट्दियो भने वा केही भवितव्य भयो भने त ठुलो रिस्क हुन्छ नि यस्तोमा।

यस्तोमा देखाउनुपर्ने पैसाका लागि सरकारले नै खाता खोलेर फिक्स डिपोजिट गर्ने हो भने निकै सजिलो हुन्थ्यो। काम परेपछि पैसा निकाल्यो। काम सकिएपछि लगेर डिपोजिट गर्‍यो। यसमा व्यक्तिगत रिस्क पनि हुन्न। व्यक्तिगत जमानीको समस्या पनि हुन्न। तर अझैँ यस्तो हुन सकेको छैन।

तर जे होस् यो अप्रेसनले राम्रो भूमिका निर्वाह गर्नसक्नेले गोबरलाई सक्खर भनेर पनि बेचिदिन सक्छन् भन्ने देखियो। जान्नेले यतिसम्म चुनौती मोलेर पनि काम गर्न सक्छन्। नजान्नेले अप्रेशन बिगारेर बरबाद पनि पार्छन्।

त्यो मान्छेले किन चिनेन? किन उसले ध्यान दिएन? अहिले सम्झँदा पनि हाँसो लाग्छ मलाई। कस्तोसँग गफले भुटेछन् त!

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....