ब्याच नम्बर ६९ : युनुस मार्न आएका सुटर मनमितको डायरीमा थप तीन जनाको नाम देखेपछि तनाव बढ्यो

ब्याच नम्बर ६९ : युनुस मार्न आएका सुटर मनमितको डायरीमा थप तीन जनाको नाम देखेपछि तनाव बढ्यो

नेपालमा जे जति सुट आउट भएको छ त्यो कुनै न कुनै रूपमा भारतको लखनउमा गएर जोडियो। जमिम शाहको हत्या भनौँ या नेपालगन्जतिरको हत्या घटना हुन् ती जाली भारतीय नोटको कारोबारमा त जोडियो नै। लखनउ पनि जोडियो। यसले यी सबै अप्रेसनको केन्द्र कुनै न कुनै रूपमा लखनउ हो भन्ने देखाइरहेको थियो।

युनुस अन्सारीको हत्या प्रयास पनि जाली नोटमा जोडियो नै लखनउ पनि जोडियो। लखनउ त लखनउ अपराधी हुन् या शङ्का गरेजस्तै सुरक्षाकर्मीको काम हो भन्ने खुलाउने चुनौती हाम्रो थियो। यो त्यति सहज हुनै कुरै भएन।

केन्द्रीय कागारागारभित्रै गोली हानेर युनुसको हत्या प्रयास गर्दा मनमित सिंह भाटिया पक्राउ परिहाले। उसलाई तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालयमा ल्याएर अनुसन्धान सुरु गर्यौ हामीले

सबैभन्दा चुनौती ज्यानै जोखिममा पारेर जेलभित्रै गएर गोली हान्नु हो। उ कि मारिने नत्र समातिने त पक्का थियो। यति ठुलो जोखिम सिकारु अपराधीले प्राय: लिँदैनन्।

मनमितसँग कुरा गर्दा युनुसको हत्या गरेर भाग्ने रणनीति देखिए पनि। युनुस मारिए पनि वा नमारिए पनि म कि मारिन्छु कि समातिन्छु भन्नेमा पक्का रहेछ। त्यसैले योजना बनाउँदा नै जेलभित्र हतियारसहित जाने योजना बनाएको देखियो। तर गोली हानेर भाग्ने योजना बनाएको देखिएन।

अब उसको दाबी पत्याउने हो भने १५ लाखकालागि युनुसको हत्या गर्ने जिम्मा लिएर पहिलो पटक नेपाल आएको थियो। उसले विवाह पनि गरेको थिएन।

अब मारिएको भए त्यो १५ लाखको के काम ! उसलाई के कुराले स्ट्राइक गरेर यति जोखिमपूर्ण काम गर्न राजी भएर नेपाल आएको भन्ने बढो रहस्यमय कुरा भयो नै। त्यो खुलाउने चुनौती हाम्रो थियो।

अनुसन्धानमा हामीले त्यो खुलाउने प्रयास नगरेको हैन। केही खुल्यो पनि । तर धेरै खुलाउन सकिएन।

उ समातिएकोमा भन्दा पनि युनुस अन्सारी जोगिएकोमा उसलाई पछुतो थियो। जे कामको जिम्मा लिएर आएको हो त्यो बन्दुकले धोका दिँदा सफल हुन सकेन।

उसले त सकेसम्म मार्नै खोजेको हो नि। तर युनुसको भाग्य गोली चलेन। पटक-पटक प्रयास गर्दा जम्मा एक राउन्ड गोली चल्यो। त्यो पनि भित्तामा लागेर फर्किएर आएर युनुसको कुमतिर खोस्रिएको मात्र हो।

OOO

मनमितको अनुसन्धानको जिम्मा सोमेन्द्रसिंह राठौरले पाए। अनुसन्धानको लिड उनैले गर्ने भए। विशेष ब्युरोमा काम गरेको अनुभव थियो उनीसँग। अर्को सहयोगी हृदय थापा। दुवै काबिल प्रहरी अफिसर।

मनमित पक्राउ परेर केही दिन उसको आनीबानी अनि उसको पृष्ठभूमिबारे बुझेपछि अनुसन्धान त्यति सहज छैन अनि उ जब्बर व्यवसायी सुटर हो भन्ने खुल्यो। तर जस्तो अपराधी भए पनि रहँदा बस्दा केही क्लुहरू दिएपछि खुल्दै जान्छन् पनि।

पहिलो चुनौती त हामीले नै अनुसन्धान गरेर खुलाउने अनि ऊबाट पुष्टि गराउने पनि थियो। केही पक्ष भने हाम्रो अनुसन्धानभन्दा उसबाटै मात्रै खुलाउन सकिने थियो। मुख्य गरी लखनउको पाटो।

अनुसन्धानमा उसले केही व्यक्तिहरूको नाम लियो। ती सबै नाम हाम्रा लागि नयाँ थिए। अनि केही हुलियाहरू खुलायो। अब उसले खुलाएको हुलियाको स्केच बनाउनु बाहेक अर्को विकल्प थिएन हामीसँग।

त्यो बेला प्रहरीमा व्यवसायी स्केचर थिएनन्। चाहिएको बेलामा ललितकलामा पढेकालाई बोलाएर अनुमानित स्केच बनाउने गरेको देखियो। बनाएको केही स्केचहरू हेरेको मलाई चित्त बुझेन। जो अनुसन्धान अधिकृत हो उसैको अनुहार मिले जस्तो लाग्यो।

कसैले हुलिया भनेको आधारमा स्केच बनाउनु र पोट्रेट बनाउनु त फरक हो नि। पक्राउ परेका व्यक्तिले यस्तो थियो अनि उस्तो थियो भनेर त भन्ने तर बनाउने आफ्नो अगाडि जो छ उ बाट प्रभावित भएर स्केच बनाउने गरेको देखियो। यस्तो पाराले त कहाँ फरार फेला पर्छन् र। उल्टो निर्दोष समातिने पो डर हुन्छ त।

मलाई पुरानो स्केचहरूमा चित्त बुझेन। नयाँ कोही भए बनाऊँ नत्र फरारै खोजौँ भनेर भने।

केही दिनमा हृदय मेरो कोठामा आएर ' सर तालिम केन्द्रमा एक जना स्केचर हुनसक्ने व्यक्ति देखे' भने। उनी प्रहरी एकेडेमी गएका रहेछन्। त्यहाँ असई ब्याचको तालिम चलिरहेको थियो। त्यही तालिमेमध्ये एक जनाले बोर्डमा केही स्केच बनाएको देखेको रहेछन्।

उसको नाम योगेश महर्जन थियो। तालिमे। त्यसमा पनि स्केच गर्न कतिको परफेक्ट हो केही थाहा छैन। तर बुझिहेर्दा के नै फरक पर्छ र।

पास आउट नभएकाले उसको बारेमा एकेडेमीका तत्कालीन डाइरेक्टर किरण गौतमसरसँग कुरा गरे।

'सर हजुरको असइको तालिमेमा एक जना स्केच बनाउन सक्ने व्यक्ति रहेछन्। पठाउन मिल्छ?' भनेर सोधे।

उहाँ एकदम सहयोगी मान्छे। 'लिएर जाऊँ न। पास भएपछि पनि उनीहरूले गर्ने काम सङ्गठनकै लागि त हो। पास आउटमा कुनै समस्या हुन्न' भनेर सहजै पठाइदिनु भयो।

योगेशलाई ल्याएर मनमितले जे जस्तो हुलिया भन्छ त्यही अनुसारको स्केचहरू बनाउन लगायौँ। उसले बनाएको स्केचहरू अलि भरपर्दा देखियो। कमसेकम यस अगाडिको जस्तो जो अनुसन्धान अधिकृत हो उसैको अनुहार मिलेको थिएन। एक जना बङ्गाली दादा भन्नेको अनुहार मिले मिले जस्तो लागेको थियो।

OOO

उता अनुसन्धान पनि जारी थियो। मनमितले आफ्नोबारेमा अनि अप्रेसनबारे जे जति खुलाएको थियो त्यो पक्का हो भन्ने भइसकेको थिएन। कति पत्याउने अनि कति नपत्याउने यस्तोमा समस्या हुन्छ।

उ पैसा लिएर सुट गर्ने व्यवसायी सुटर हो भन्नेमा कुनै समस्या भएन। अनि उ पनि भारतको लखनउ समूहसँग जोडिएकोमा पनि शङ्का भएन। तर कसले पठाएको हो अनि उसको नेपाल सम्बन्धबारे धेरै खुल्नै बाँकी थियो।

उसलाई बिस्तारै कन्फिडेन्समा लिँदै अनुसन्धान अगाडि बढाइरहेका थिए सोमेन्द्रले। उ काठमाडौँमा बस्दा कहाँ बसेको थियो अनि कति जना सहयोगी थिए भन्नेसम्म पनि खुलेको थिएन।

कुरैकुरामा उसले भक्तपुरको डेराहरू खुलायो। पहिलो डेरामा टोली पुग्यो। त्यो मनमित आफैँ बस्ने गरेको डेरा रहेछ। त्यहाँ केही महत्त्वपूर्ण सूचनाहरू पायौँ।

अनुसन्धान गर्दै जाँदा नजिकै उनीहरूको अर्को डेरा पनि छ भन्ने खुल्यो। त्यो डेरामा सहयोगीहरूबारे महत्त्वपूर्ण जानकारीहरू पायौँ।

मनमितले केन्द्रीय कारागारभित्र युनुसलाई गोली हान्दा उसको समूहका अन्य सहयोगीहरू त्यो बेलामा कारागार बाहिरै बसेको खुल्यो। कतै मनमित कारागारबाट उम्किएर बाहिर आए भगाउने योजना सहित उनीहरू बसेका रहेछन्।

तर मनमित समातिएपछि उनीहरू त्यहीबाट भागे। उनीहरू डेरामा आउन पाएनन्। मनमितले खुलाउँला भनेर उनीहरू त्यतैबाट लखनउ भागे। तर जब्बर मनमितले यति चाँडै के खुलाउँथे र। उनले सबै विवरण खुलाउँदा उनीहरू उम्किएर सुरक्षित ठाउँमा पुगिसकेका थिए।

तर केही डायरी अनि तस्बिरहरू फेला पर्यो। त्यहाँ भेटिएको तस्बिर कार्यालयमा ल्याएर पहिला मनमितले भने अनुसार बनेको स्केचसँग भिडाएर हेरेको मिल्यो। नेपाल प्रहरीले अपराध अनुसन्धानको महत्त्वपूर्ण स्केच गर्ने नयाँ जनशक्ति पायो।

योगेशको काम सकिएपछि तालिम केन्द्र फर्किएर पास भएर असईको रूपमा पछि अपराध महाशाखामै दरबन्दी भयो। लामो सम

योगेशको काम सकिएपछि तालिम केन्द्र फर्किएर पास भएर असईको रूपमा पछि अपराध महाशाखामै दरबन्दी भयो। लामो समयसम्म उनले काम गरे। अहिले पनि उनको जिम्मेवारी फरार आरोपीको स्केच बनाउने नै हो। उनले बनाएका धेरै स्केचका आधारमा फरार समातिएका पनि छन्।

OOO

मनमित अनि उसका सहयोगीको डेरामा फेला परेको कागजपत्रले हाम्रो तनाव बढायो। कागजबाट टार्गेट युनुस मात्रै नभई अन्य तीन जना पनि देखायो। टार्गेटमा जो-जो थिए उनीहरूमाथि जुनसुकै बेला आक्रमण हुन सक्थ्यो।

यसबारे प्रहरी प्रधान कार्यालय लगायतका महत्त्वपूर्ण ठाउँमा छलफल गर्यौँ के गर्ने भनेर। टार्गेटमा रहेकाहरू कुनै न कुनै रूपमा आपराधिक गतिविधिमा संलग्नहरू नै थिए। उनीहरूलाई सुरक्षा नदिए मारिन सक्ने जोखिम थियो। तर सुरक्षा दिए के भनेर दिने भन्ने भयो।

छलफलमा तीनै जनालाई उनीहरूमाथिको सुरक्षा जोखिम रहेको जानकारी गराउने र माने केही समय पिएसओ दिने कुरा भयो।

त्यसमध्ये एक थिए युनुस अन्सारीकै बाबु सलिममिया अन्सारी। उनी त पूर्व मन्त्री पनि भए। उनलाई थ्रेटबारे जानकारी गराएपछि उनी सुरक्षा लिन राजी भए। हामीले पिएसओ उपलब्ध गरायौँ।

अर्को एक जनाले लिन मानेनन्। अर्का सम्पर्कमा आउनै चाहेनन्। प्रहरीले बहाना बनाएको सोचे होलान्। अब लिन्न भन्दाभन्दै जवर्जस्ती दिने काम भएन। तर निगरानी भने राख्यौँ।

OOO

मनमित बिस्तारै खुल्दै आइरहेका थिए अनुसन्धान अधिकृतसँग। तर जति खुले पनि उसले लुकाउनु पर्ने तथ्य भने मरे भन्दैनथ्यो विशेष गरी युनुस हत्या प्रयासको योजनाकार अनि उसलाई कामको जिम्मा दिने व्यक्तिबारे।

कुरै कुरामा मनमित पहिलो पटक नेपाल आएको हैन भन्ने खुल्यो। उ पहिला पनि हत्याको जिम्मा लिएर आएको रहेछ। ती हाम्रो सम्पर्कमा आउन न चाहेका वीरगन्जका थिए। उसैको हत्याका लागि मनमित यस अगाडि नेपाल आएको खुल्यो।

त्यो व्यक्तिको नाम मैले लागु औषधमा काम गर्दा सुनेको थिए। अपराध महाशाखा आएपछि उ लागुऔषध मात्रै हैन जाली भारुको कारोबारमा पनि रहेको देखियो।

मनमितको टिमले टार्गेट गरेको व्यक्ति वीरगन्जबाट काठमाडौँको ठमेलको एक होटेलमा आएर बसेका रहेछन्। उनीहरू पनि उसलाई फलो गर्दै गोली हान्न उचित ठाउँ खोज्दै ठमेलको त्यही होटेलमा बसेका रहेछन्।

एक दिन बिहान मनमितसहित सबै ब्रेकफास्ट खान होटेलमा बसिरहेको बेलामा ती व्यक्ति पनि नास्ता खान झरे। दुवैको आँखा जुध्यो। तर मनमितहरुले केही गर्नै सकेनछन्। उसले चाल पाएर भागिहाल्यो।

अब नास्ता खान जाँदा भेटिएला भन्ने उनीहरूले सोचेनछन्। त्यो बेलामा उनीहरूसँग हतियारै रहेन फर्किएछन्।

मनमितबारे यति मात्रै रहस्य थिएन। रहस्य नै रहस्यले भरिएको सुटर रहेछ उ।

एक दिन म एक्लै कार्यालयको कोठामा बसिरहेको थिए। सोमेन्द्र आएर भने' सर मनमितले नेपाली बुझ्ने मात्रे हैन बोल्न पनि सक्ने रहेछ नि।'

मेरो मनै चिसो भयो।

मनमित जुन तहको क्रिमिनल हो भन्ने हाम्रो आङ्कलन थियो त्यो भन्दा पनि खतरनाक हो भन्ने लाग्यो। जसरी अनुसन्धान भइरहेको छ त्यसमा हल्का सुधार्नुपर्ने देखियो।

क्रमशः 

ब्याचका पुराना अंक

२ कात्तिक, २०७९, १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।