ब्याच नम्बर ६९ : भारतीय कन्ट्रयाक्ट किलर मनमितले भन्यो' म त ग्यालेक्सीको स्टुडेन्ड, गीता म्यामले पढाएको'

ब्याच नम्बर ६९ : भारतीय कन्ट्रयाक्ट किलर मनमितले भन्यो' म त ग्यालेक्सीको स्टुडेन्ड, गीता म्यामले पढाएको'

पछिल्लो समय मैले नेपालमा भारतीय अपराधीहरू आएर गर्ने हत्याका घटनाबारे लेखिरहेको छु। त्यसमा पनि विशेष म तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुखहुँदा भएको युनुस अन्सारीको हत्या प्रयासबारे।

लाजिम्पाटमा जमिम शाह मारिए। तर त्यस्तै खालको योजनामा युनुस अन्सारी जोगिए। उनी जोगिनुको कारण केन्द्रीय कारागारमा हुनु नै हो। यदि बाहिर भएको भए यसै हुन्थ्यो भन्न सकिँदैनथ्यो। किनकि उनको हत्याको योजना नै त्यस्तै खालको योजनाबद्ध र निकै सङ्गठित थियो।

जमिम हत्या होस् या यस्तै प्रकारका अन्य घटना हुन् त्यसका सहयोगी पक्राउ परे पनि योजनामै संलग्न व्यक्ति पक्राउ नपर्दा अधिकांश क्लु र घटनामा संलग्नहरूबारे अनुसन्धानमा फेला पर्ने तथ्यहरू जोडेर यसो भएको हुनसक्छ भन्नुपर्ने अवस्था थियो।

तर युनुस हत्या प्रयासमा भने सुटरै पक्राउ परेकाले अन्य घटनाको अनुसन्धानमा जस्तो अनुमान मात्र हैन धेरै महत्त्वपूर्ण सूचनाहरू फेला परे।

सबैभन्दा पहिलो त यस्ता घटनामा कस्ता खालका व्यक्तिको प्रयोग हुने गर्छ भन्ने खुलायो मनमित सिंह भाटियाको पृष्ठभूमिले। अनि नेपालमा देखिने आपराधिक सुटरको सम्पर्क जालो र उनीहरूलाई कसले नेपालमा पठाइरहेको छ भन्ने पनि खुल्यो।

सबैभन्दा महत्त्वपूर्ण जमिम हुन् या अन्य जो-जो मारिए उनीहरू भारतीय सुरक्षा निकायले सधैँ शङ्का गरिरहेकाहरू नै मारिए।

त्यसैले यो हत्या शृङ्खला कतै भारतीय सुरक्षा सङ्गठनका व्यक्तिबाटै चलेको त हैन भन्ने थियो। युनुस हत्या प्रयासमा पक्राउ परेका मनमितबाट यो शङ्का निवारणका लागि निकै महत्त्वपूर्ण तथ्यहरू फेला पर्यो। जसले नेपालमा आपराधिक पृष्ठभूमिका व्यक्तिहरू संलग्न रहेर भएका ठुला हत्याका घटनामा लखनउ अनि शङ्का भएको राज्य प्रायोजित अपराध हो या हैन भन्नेमा धेरै शङ्का रहेन।

अब पुन घटनाक्रममा जाऊँ।

अघिल्लो अङ्कमा तत्कालीन डिएसपी सोमेन्द्रसिंह राठौरले मनमितबारे ल्याएको एक सूचनाले मेरो मनै चिसो भएको प्रसङ्गमा पुगेर टुङ्गिएको थियो। यसपालि त्यहीबाट सुरु गर्दैछु।

OOO

युनुस हत्या प्रयासको घटनाको अनुसन्धानको लिड सोमेन्द्रले गरिरहेका थिए। अन्यले सहयोग गरिरहेका थिए।

हामीले उसलाई पक्राउ गरेर अनुसन्धान सुरु गर्दा उसले नेपाल अझ काठमाडौँ पहिलो पटक आएको अनि नेपाली पनि नबुझ्ने दाबी गरेको थियो। अब होला नि भन्ने पनि भयो। सबै भारतीयले कहाँ नेपाली बुझ्छन् र अनि सबै काठमाडौँ आएका पनि त हुँदैनन् नै।

एक दिन अपराध महाशाखाको कोठामा एक्लै बसिरहेको थिए। 'जय नेपाल सर' भन्दै सोमेन्द्र आइपुगे। उनी अगाडिको कुर्सीमा बस्दै भने' सर मनमित नेपाल पहिलो पटक आएको हैन रहेछ नि। अनि उसले नेपाली बुझ्ने मात्रै हैन मज्जाले बोल्छ पनि।'

साँच्चै मन चिसो भयो मेरो। मनमित हामीले सोचे अनुसारको केवल कन्ट्रयाक्ट किलर मात्रै हैन रहेछ भन्ने लाग्यो। अनि सोमेन्द्रले खुलाएको मनमित र उसको काठमाडौँको सम्बन्धबारे खुलाउन थाले।

लखनउकै मनमित सिंहको काठमाडौँसँगको सम्बन्ध निकै पुरानो थियो। उनी मात्र हैन उनको परिवारै काठमाडौँमा बसेको मात्रै हैन मनमितको प्रारम्भिक शिक्षा काठमाडौँमै भएको थियो।

मनमितका बुबा स्पोर्टसको खेलाडी। नेपालमा खेल खेल्न आउने क्रममा नेपालको कुपोन्डोलमा बस्ने सरदार परिवारको छोरीसँग उनको माया बस्यो। अनि उनी ती युवतीसँग विवाह गरेर यतै नेपालमा बसे।

उनीहरू नेपालमा बस्दा मनमितको जन्म नेपालमै भयो। उनको प्रारम्भिक शिक्षा ग्यालेक्सी स्कुलमा सुरु भयो। उनी ग्यालेक्सीको विद्यार्थी थिए। उनलाई काठमाडौँबारे सबै राम्रोसँग जानकारी थियो नै। नेपाली फरर बोल्न सक्थे। अब नबुझ्ने त कुरै भएन।

'म त यही ग्यालेक्सीमा पढेको हो नि। गीता राणा त मेरो म्याडम हो। मलाई पढाउनु भएको छ उहाँले' भनेको रहेछ युनुस मार्न आएको कन्ट्रयाक्ट किलर मनमितले।

उसले नेपाली बोल्छ अनि बुझ्छ भन्नेमा त कुनै शङ्का भएन फरर नेपालीमै कुरा गरेपछि। ग्यालेक्सीको कुरा हो कि हैन भनेर बुझ्दा हो रहेछ। उसको शिक्षा नेपालमै भएको रहेछ। पछि मात्र उसको परिवार भारत फर्किएको देखियो।

यसले हामीले पहिला अनुमान गरेजस्तो सुटर र योजना कार्यान्वयन गर्ने व्यक्ति खोज्दा कुनै न कुनै रूपमा नेपालसँग सम्बन्ध भएको र नेपाली बुझ्ने र बोल्ने व्यक्तिकै छनौट हुने गरेको खुल्यो।

किनकि युनुसको हत्या प्रयास अगाडि काठमाडौँमा बसेर योजना कार्यान्वयन गर्ने त्रिलोक सिंह भन्नेको पनि नेपालसँग सम्बन्ध थियो। उसले नेपाली बोल्ने, बुझ्ने मात्रै हैन नेपाली नागरिकता नै बनाएको थियो। अनि नेपाल- भारत सीमामा काम गर्ने प्रहरीहरूसँग सम्बन्ध बनाएर जमिम हत्यामा त्यसको उपयोग गरेको थियो।

मनमित काठमाडौँमै हुर्किएको देखियो। अनि हालसालै गोठाटारमा मारिएका लाल मोहम्मद दर्जीको हत्या योजनामा लामो समयदेखि नेपालमा बसेका भारतीय नागरिक संलग्न देखियो। यसले सुटर र योजना जसले बनाउने हो उसले नेपालसँग जोडिएको व्यक्तिलाई नै पठाउने गरेको प्रस्टै देखियो।

यति मात्रै हैन मनमित युनुसलाई केन्द्रीय कारागारमा हत्या प्रयास गर्नुभन्दा पहिला पनि युनुसकै हत्या योजनामा संलग्न रहेको खुल्यो। युनुसमाथि केन्द्रीय कारागारमै गोली प्रहार भएको त दोस्रो योजना पो देखियो।

पहिलो योजनामा त उसलाई कानुनी र मुद्दा प्रक्रियाका लागि जिल्ला अदालत बबरमहलमा लैजाँदा र ल्याउँदा प्रहरी सुरक्षा घेरामै रहेको बेला बाहिर गोली हानेर मार्ने योजना बनेको थियो।

त्यसका लागि मनमित पटक-पटक जिल्ला अदालत काठमाडौँमा गएको पनि खुल्यो। तर खै के मिलेन उसले त्यहाँ गोली हान्न सकेन। अनि योजना बदलेर जेलभित्रै मार्ने योजना बनेको रहेछ।

अझ अर्को तथ्य पनि खुल्यो। युनुस हत्याको योजना बनाएर काठमाडौँमा त्यो बेलामा मनमित समूह मात्रै हैन अर्को दोस्रो समूह पनि सक्रिय रहेको खुल्यो। उनीहरूले पनि युनुसलाई अदालत लैजाँदा त्यतै हत्या गर्न योजना बनाएका रहेछन्। तर उनीहरूले पनि सकेनन्। मनमितले जेलभित्रै मार्ने असफल प्रयास गरे। उनी पक्राउ परेपछि दोस्रो समूह हरायो।

मनमित पक्राउ परेपछि उसको समूहका रहेका अधिकांशबारे जानकारी आयो। तर दोस्रो समूहबारे केही खुलेन। कतै मनमित जानकार छ कि भनेर अनुसन्धान गर्दा उ जुन बेला युनुस मार्न जिल्ला अदालत काठमाडौँ गएको थियो त्यो बेला युनुस मार्न भनेर अर्को समूह पनि आएको थाहै रहेनछ।

उसले ढाँटेको पो हो कि भनेर धेरै कोणबाट अनुसन्धान गर्यौ पनि। तर दोस्रो समूह र मनमितविचको सम्बन्ध स्थापितै भएन।

जसले युनुसको हत्याको योजना बनाएको हो उसले एकै पटक २ समूह परिचालन गरेको तर एक समूहलाई अर्को समूह पनि यही कामका लागि आएको छ भन्ने जानकारी नै नदिने गरेको खुल्यो।

भनेपछि यसले जमिम शाह लगायतकाले हत्यामा पनि यसरी नै एक समूह असफल भए अर्को समूहले काम गर्ने गरी एकै पटक २ समूह परिचालन गर्ने गरेको देखियो। तर प्रहरीको अनुसन्धान भने एक समूहको खोजीमा मात्रै केन्द्री हुँदा दोस्रो समूह कहिल्यै एक्सपोज भएन। मनमित नसमातिएको भए यो एक्सपोज हुन पनि समय लाग्थ्यो।

यसले नेपालमा भइरहेका एकै प्रकारका हत्याका घटना केवल आपराधिक समूहबिचको द्वन्द्वका कारण मात्र भइरहेको हैन अनि यसको योजना बनाउन केवल आपराधिक पृष्ठभूमिका व्यक्तिहरू मात्रै संलग्न छैनन् सुरक्षा रणनीति निर्माणबारे जानकार व्यक्तिहरू पनि योजनामा छन् है भन्ने देखायो।

यो हाम्रा लागी अर्को चुनौती थियो।

आखिर उनीहरूलाई सघाइरहेका व्यक्ति वा समूह कुन होला जसले पुरै सुरक्षा रणनीति सहित उनीहरूलाई यस्तो जोखिमपूर्ण काममा नेपालमा पठाउन सकिरहेको छ ?

अब खोज्नुपर्ने पक्ष यो पो देखियो। जुन त्यति सहज थिएन।

तर हाम्रो हिरासतमा पनि मनमित सिंह भाटिया थियो। अनि हाम्रो अनुसन्धान समूहमा पनि यस्ता कुरा खुलाउन माहिर प्रहरी अधिकारी थिए। उनीहरूले मनमितले जति लुकाए पनि युनुस हत्या प्रयासको योजनामा संलग्न लखनउ समूहबारे धेरै कुराहरू खुलाउन सके। बाहिर त आएन तर नेपाल प्रहरीमाझ लखनउको त्यो समूह एक्सपोज भने भयो। धेरै समय लुक्न सकेन।

ब्याचका पुराना अंक

९ कात्तिक, २०७९, १७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।