वेस्ट इन्डिज 'ए'विरुद्ध नेपालको रोमाञ्चक जित, कप्तान रोहितको शतक

वेस्ट इन्डिज 'ए'विरुद्ध नेपालको रोमाञ्चक जित, कप्तान रोहितको शतक

काठमाडौं : पाँच खेलको टी-२० श्रृंखलाको सुरुवाती खेलमा नेपालले वेस्ट इन्डिज 'ए'लाई ४ विकेटले पराजित गरेको छ। 

कप्तान रोहितकुमार पौडेलको शतकमा नेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको हो। 

नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए। उनले १० चौका र ६ छक्का प्रहार गरे। 

यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। 

वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाए। ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाएका थिए। 

नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहोराले एक/एक विकेट लिएका थिए। 

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले घरेलु टिमसँग पाँच खेलको टी-२० शृंखला खेल्ने तालिका छ। अब यी दुई टिम बीचको दोस्रो खेल भोलि हुनेछ। तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल आउँदो शनिबार तय हुनेछ। 

१५ बैशाख, २०८१, १६:२०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।