दिल्लीविरुद्धको खेलपछि सञ्जु सामसनलाई जरिवाना

दिल्लीविरुद्धको खेलपछि सञ्जु सामसनलाई जरिवाना

एजेन्सी : राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई इन्डियन प्रिमियर लिग आईपीएलले म्याच फिको ३० प्रतिशत जरिवाना गरेको छ।

आईपीएलले जारी गरेको विज्ञप्ति अनुसार सञ्जु सामसनले दिल्लीविरुद्धको खेलमा आचारसंहिता उल्लंघन गरेको उल्लेख छ।

तर, सञ्जु सामसनलाई कुन अवस्थामा यो जरिवाना लगाइएको हो भन्ने कुरा आईपीएलको विज्ञप्तिमा उल्लेख गरिएको छैन।

खेलमा सञ्जु सामसनले आफ्नो विवादास्पद क्याचलाई लिएर आपत्ति जनाएका थिए र अम्पायरसँग झगडा गरेका थिए। यसै कारण उनलाई यो जरिवाना लगाइएको हुनसक्ने बताइएको छ।

यो खेलमा सञ्जु सामसनको टोली २० रनले पराजित भएको थियो। सामसन आउट नहुँदासम्म राजस्थानको टिम निकै बलियो देखिएको थियो।

सामसनले ८६ रन बनाएर खेल्दा बाउन्ड्री लाइनमा साइ होपको हातमा क्याच आउट भएका थिए। क्याच लिने क्रममा उनको खुट्टाले बाउन्ड्री लाइन छोएको हुनसक्ने भन्दै पक्का गर्न मैदानमा उपस्थित अम्पायरले थर्ड अम्पायरलाई भनेका थिए।

थर्ड अम्पायरले सञ्जु सामसनलाई आउट घोषित गरेका थिए। उनी आउट हुनेबित्तिकै खेलमा दिल्ली हावी भएको थियो।

सञ्जु सामसनको यो क्याच निकै विवादास्पद बन्यो। कतिपयले साइ होपको खुट्टाले बाउन्ड्री लाइन छोएको भन्दै छक्का दिनुपर्ने दाबी गरेका थिए।

यो पराजयका बाबजुद सञ्जु सामसनको टोली राजस्थान रोयल्स १६ अंकसहित दोस्रो स्थानमा छ। कोलकाता पहिलो नम्बरमा छ।

२६ बैशाख, २०८१, १४:३१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।