छोराको ‘घेवा’ नगर्दै घरमा डोजर, आँसु सुक्न नपाउँदै उजाडिएको हस्तबहादुरको संसार
काठमाडौं : लोकन्थलीको भित्री बस्तीहुँदै जस्ताको सानो टहरामा धुमधुम्ती बसिरहेको अवस्थामा भेटिए, ५५ वर्षीय हस्तबहादुर तामाङ।
उनी अहिले आफन्तको आश्रयमा छन्। उनी बसिरहेको टहराअगाडि नै वैशाख १३ गते भत्काइएको उनको घरको अवशेष देख्न सकिन्छ। मनोहरा खोला किनारमा सरकारले चलाएको डोजर आतंकको कारुणिक दृश्य उनको आँखामा अझै घुमिरहन्छ।
निकै सानो आवाजमा बोल्न रुचाउने उनी जबर्जस्ती हाँसेर बोल्ने कोसिस गरिरहेका थिए। जुन दिन उनको घरमा डोजर चल्यो, त्यसबेला उनी कलिलो सन्तान गुमाएको गहिरो शोकमा थिए। तामाङ संस्कारअनुसार छोराको घेवा (मृत्यु संस्कार) कसरी र कहाँ गर्ने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको थियो।
वैशाख १० गते बिहान, सरकारले बस्तीमा डोजर चलाउनुपूर्व नै उनका १९ वर्षीय छोरा रविन तामाङ आफ्नै घरको शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए। अघिल्लो रातसम्म सामान्य देखिएका छोराले किन त्यस्तो अप्रिय कदम उठाए? हस्तबहादुरले अहिलेसम्म बुझ्न सकेका छैनन्।

उल्टै, ‘बालेन सरकारले डोजर चलाउने भएपछि चिन्तामा रहेका उनलाई मार्ने बालेन हो’ भन्नेजस्ता युट्युबमा आएका भ्रामक सामग्रीले उनलाई थप मानसिक तनाव दियो। बाटोमा हिँड्दा नचिनेका मानिसले समेत गिज्याउने र अपमान गर्न थालेपछि परिवारले उनलाई मिडियासँग दुःख नसाट्न खबरदारी गर्यो।
मंगलबार भिडियो नखिच्ने सर्तमा उनले आफ्नो व्यथा सुनाए।
“मैले बिहान पाँच बजे ड्युटीमा जानुपर्ने, त्यसबेला हाँडीगाउँमा ड्युटी थियो। बिहान उठ्नेबित्तिकै शौचालय जाँदा भित्र बत्ती बलेको र भित्रबाट चुकुल लगाएको देखेँ,” उनले एकनासले सुनाउँदै गए, “म आफैँ शौचालय नगई सिधै ड्युटीतिर लागेँ। ठ्याक्कै ड्युटीमा पुगेको मात्र थिएँ, फोनमा छोराको खबर सुनेँ।”
शोकमाथि राज्यको आतंक
सुरुमा त उनले पत्याउनै सकेनन्। हतार-हतार घर फर्किंदा बाटोभरि ‘होइन होला’ भन्दै मनलाई सम्झाए। तर, घर आइपुग्दा छोराको शव एम्बुलेन्समा हालिसकिएको थियो। प्रहरीले मुचुल्का उठाइरहेको देखेपछि उनी छाँगाबाट खसेजस्तै भए। प्रहरी अनुसन्धानले पनि आत्महत्या नै भएको पुष्टि गरेको उनले बताए।
“मेरी जहान र छिमेकी मिलेर छोरालाई बाहिर निकालेका रहेछन्। सोच्दै नसोचेको कुरा भयो, पत्याउनुबाहेक केही विकल्प नै भएन। पछि चिरफार गर्नका लागि प्रहरीले लग्यो अनि दिउँसो तीन बजेतिर हामीले उसलाई घरमा ल्यायौँ”, उनले सुनाए।

वैशाख १२ गते बिहानैदेखि थापाथली हुँदै शान्तिनगरमा डोजर आतंक चलिरहँदा उनी भने छोराको दाहसंस्कारमा व्यस्त थिए। ११ गते घरमा लामाहरू बोलाएर उनले स्वयम्भूमा छोराको अन्त्येष्टि गरे। घर फर्केलगत्तै डोजर मनोहराको पुछारमा आइपुगेको उनले थाहा पाए।
वृद्धा तथा बालबालिकालाई लिएर तुरुन्तै बस्ती खाली गर्न सरकारले गरेको माइकिङले नै उनको मुटुमा ढ्यांग्रो बजाइसकेको थियो। पक्षघात भएकी वृद्ध आमा, मुटुरोगी बुवा, बिरामी श्रीमती र चार सन्तानलाई कहाँ लाने? थामथुम परेका उनी बेहोसी हालतमै हिँडिरहेका थिए। त्यसबखत छोराले त्यस्तो निर्णय लिँदा उनले केही सोच्नै सकेनन्।
१२ गते राति डोजर मनोहरा पुग्दा बस्तीका स्थानीयले विरोध नगरेका होइनन्। विरोधपछि त्यस दिन पछाडि हटेको प्रशासन र डोजर १३ गते बिहानै फेरि मनोहरा घेर्न पुगिसकेको थियो। त्यस्तो दयनीय अवस्थामा हस्तबहादुरको परिवार पनि सकेको जति सामान बाहिर निकाल्न थाल्यो।
मनोहरा क्षेत्रमा सामान ओसार्ने चटारो, डोजरले घेरेको र प्रहरी घरभित्रै छिरेर सामान बाहिर निकालिरहेको दृश्य देखिन्थ्यो। आफ्नो छाना, झ्याल-ढोकादेखि हरेक सामान आफैँले निकालिरहेको कारुणिक दृश्यका बीच कुनै पनि स्थानीय प्रतिवाद गरेर बोल्न सक्ने अवस्थामा थिएनन्। कतिले त आफैँ घर भत्काएर इँटासमेत जम्मा गरिरहेका थिए।
त्यही बेला हस्तबहादुरको घरमा डोजर चल्न थाल्यो। उनी एकटकले आफ्नो भत्किँदै गरेको घर हेरेर बस्न बाध्य भए।
“तीन भागको एक भाग मात्र सामान बाहिर निकाल्न पाएँ,” उनले पीडा लुकाउँदै हाँस्न खोजेर भने, “घर भत्किएपछि जाँदा त कवाडीले केही पनि बाँकी राखेको थिएन। काम लाग्ने सामान पनि बचेन। आफैँले ज्यान लिएको मान्छेको आत्माले शान्ति पाउँदैन भनेर पछि त्यही भत्किएको घरमै छोराको पूजा गरेँ।”

मनोहरा खोला किनारमा अहिले उनको घर खोज्न जाँदा कुनै युद्धग्रस्त क्षेत्रभन्दा कम देखिन्न। उनको घर चिनाउने निसानी भनेकै उनले छोराको आत्माशान्तिका लागि गरेको पूजाको प्रतीक ‘लुङ्दार’ मात्र हो। त्यो नयाँ लुङ्दारमा उनको छोराले ज्यान गुमाएको र दश वर्षसम्म आफ्नो परिवारले घर मानेर बसेको यादहरू गढेर बसेका छन्।
बस्तीमा उजाडिएको परिवार
बस्तीमै घर भएकी कमला योञ्जनले रविन तामाङलाई यसरी सम्झिइन्, “उमेर मात्र सानो हो, तर सानैदेखि काम गर्ने ऊ निकै मिहिनेती थियो। अर्को बस्तीमा माइकिङ चलेपछि ऊ हामीसँग ‘आन्टी, अब हामी कहाँ जाने होला? मेमे र माम (हजुरबुवा-हजुरआमा) पनि बिरामी हुनुहुन्छ हाम्रो त’ भन्थ्यो। यस्तो अवस्थामा उसलाई ध्यान दिनुपर्छ भनेर त कसैले सोचेन नि! बस्तीमा सबैजनाको मनस्थिति त्यस्तै थियो।”
घर भत्किएदेखि हस्तबहादुरको परिवार साइँली बहिनीको घरमा आश्रित छ। बहिनी मनोहरा किनारकै अलिकति माथि जग्गा भाडामा लिएर टहरा बनाएर बसेकी छन्।
“बहिनी नजिकै नभएको भए त हाम्रो पाटीमा बास हुने रहेछ। धन्न ! बहिनीले साथ दिई। नत्र सरकारले राखेको होल्डिङ सेन्टरमा बस्न गएको भए हाम्रो परिवार झन् तितरबितर हुन्थ्यो होला”, उनी बोल्दाबोल्दै गमे।
उनको घर भत्किएदेखि मोबाइलमा सुकुमबासीकै समाचार मात्र आइरहेको छ। समाचार हेरेर रुने, रिसाउने र अरूबाट लुक्नेबाहेक उनी केही गर्न सक्दैनन्।
बिरामी आमा र बुवालाई अहिले अर्की बहिनीको घरमा राखिएको छ। कान्छो छोरा आठ कक्षामा पढ्दै छन् भने एउटी छोरी १२ कक्षा पास गरेर बसेकी छन्। जेठी छोरी वैदेशिक रोजगारीका लागि खाडी जाने तयारी गर्दैछिन्। उनकी श्रीमती पार्टी प्यालेसमा भाडा माझ्ने काम गर्छिन्। घरमा उनी र श्रीमतीपछि बाहिर काम गरेर सघाउने रविन नै थिए।

चार कक्षासम्म मात्र पढेका रविनले बस्तीमा हुर्कंदै गर्दा सानैदेखि काम गर्ने सोच बनाएका थिए। त्यही भएर उनले ड्राइभिङ सिके र केही वर्षदेखि ट्रक चलाउँदै आएका थिए। अठार वर्षको उमेरमै गाडी चलाउने लाइसेन्स निकाल्दा परिवारका सबै सदस्य खुसी भएका थिए। आफूले कमाएको रकम उनले आमाबुवाको हातमा राखिदिन्थे।
डोजर चल्नुभन्दा केही समयअघिदेखि भने ऊ घरपरिवारसँग बेस्सरी रिसाएको रहेछ। कसैसँग पनि धेरै खुलेर कुरा नगर्ने स्वभाव बन्दै गएछ।
“अब घर पनि भत्किने भयो, माम-बाजेलाई फुपूहरूले लगिहाल्नुहुन्छ, तँ एक्लै बस भनेर सम्झाउनुभएको थियो रे भन्ने हदसम्म चाहिँ सुनेको हुँ,” एक आफन्तले नाम नखुलाउने सर्तमा भने, “अब के भयो भनेर त कसैलाई पनि थाहा छैन। जे नहुनु थियो, भइसक्यो। हामीलाई कसैलाई आरोप लगाउनु पनि छैन, केही गरिदिनु भन्नु पनि छैन।”
उनले बोल्दाबोल्दै हस्तबहादुरले थपे, “अरूको हातमा पर्यौँ हामी। अब सानै भए पनि घेवा गर्नुपर्नेछ। १३ दिनमै गर्नुपर्ने काम अहिलेसम्म गर्न सकेको छैन। अब जेठ ७ गते स्वयम्भूमै लामा लगेर परिवारहरू बसेर गर्ने भनेर तय गरेका छौँ।”
दश वर्षअघि भूकम्पले विस्थापित गर्यो, अहिले राज्यले
२०७२ सालको भूकम्पले घर भत्काइदिएपछि उनी परिवारसहित काठमाडौं पसेका थिए। सिन्धुपाल्चोकको भीरमा रहेको घरमा ढुंगा खस्ने जोखिम र तल ठाडो खोलाको त्रास भएपछि उनीहरूले काठमाडौँ रोजेका थिए। भूकम्पको राहतमा पाएको जस्ताको छाना बोकेर उनी मनोहरा आइपुगेका थिए।
मनोहरा क्षेत्रमा उनका बहिनीहरू बसिरहेकै थिए। उनीहरूकै सल्लाहमा एकल महिला बसिरहेको ठाउँ खाली भएको चाल पाएर उनले दुई कोठे सानो टहरा बनाए। भूकम्पले गाउँबाट विस्थापित उनीहरूलाई यहाँ सरकारले नै विस्थापित बनाइसकेपछि अब कहाँ जाने ? उनले सोच्न सकेका छैनन्।

गाउँमा बाँदर आतंकको खबर सुनेका उनले फेरि सिन्धुपाल्चोक नै फर्किने सोचेका छैनन्। यतै डेरा खोज्न जाँदा पनि ‘सुकुमबासी’ भएकै कारण अपमान भोगेका उनी बारम्बार रित्तो हात फर्किसकेका छन्। रंगशालामा नाम टिपाउन गएको दुई साता बितिसक्दा पनि ‘पछि फोन गर्छु, जानुस्’ भन्नेबाहेक केही जवाफ पाएनन्। अहिलेसम्म फोन आएको छैन।
“अहिलेसम्म फोन आएको छैन। दिए पनि ठिकै छ, नदिए पनि हामीले के नै गर्न सक्छौँ र ? दुःख-सुख भनेको यस्तै रहेछ। अहिले यस्तो माहोल छ। सबभन्दा अगाडि छोराको घेवा राम्रोसँग गर्न पाए उसलाई पनि शान्ति हुन्थ्यो होला। अब बाँचेकाहरू पनि जसोतसो केही गरौँला”, उनले भने।
वैशाख ३१, २०८३ बिहीबार ०८:४१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।