आइसिसी टी-ट्वान्टी विश्व वरियता : दीपेन्द्र चौथो स्थानमा
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टी-ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत् रहेका छन्।
आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत् रहेका हुन्। वरियताअनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ।
उक्त विश्व वरियतामा जिम्बाबेका सिकन्दर रजा ३२८ अङ्कसहित शीर्ष स्थानमा रहेका छन्। त्यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा छन्। अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा रहेका छन्।
त्यस्तै एक दिवसीय वरियताको अलराउन्डरतर्फ भने दीपेन्द्र तीन स्थान सुधार गर्दै २८औँ स्थानमा उक्लिएका छन्। उनको रेटिङ अङ्क १५३ छ। त्यस्तै नेपालका अर्का खेलाडी करण केसी तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन्।
एक दिवसीय वरियताको ब्याटिङतर्फ भने दीपेन्द्र दुई स्थान सुधार गर्दै ९९औँ स्थानमा पुगेका छन्। त्यस्तै आसिफ शेख १३ स्थान सुधार गर्दै ९३औँ स्थानमा छन्।
वैशाख ३०, २०८३ बुधबार २०:४५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।