आईसीसी विश्वकप लिग-२: कीर्तिपुरमा आज नेपाल र स्कटल्याण्ड भिड्दै, तालिकामा सुधार गर्ने नेपालको लक्ष्य

आईसीसी विश्वकप लिग-२: कीर्तिपुरमा आज नेपाल र स्कटल्याण्ड भिड्दै, तालिकामा सुधार गर्ने नेपालको लक्ष्य

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज घरेलु मैदान कीर्तिपुरमा नेपालले बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डको सामना गर्दैछ। श्रृंखलाको १०३औं खेलमा नेपाल र स्कटल्याण्डबीचको प्रतिष्पर्धा बिहान ९:३० बजे त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

अंक तालिकामा स्कटल्याण्ड निकै बलियो स्थितिमा छ। २८ खेल खेलिसकेको स्कटल्याण्ड १४ जित र ८ हारसहित ३४ अंक बटुलेर तालिकाको दोस्रो स्थानमा सुरक्षित छ।

अर्कोतर्फ, घरेलु टोली नेपालका लागि यो खेल महत्वपूर्ण हुनेछ। नेपाल २४ खेलमा ८ जित र १४ हारसहित १८ अंकका साथ तालिकाको सातौं स्थानमा छ। नेपालका लागि माथिल्लो स्थानमा उक्लिन आजको खेलमा जित निकाल्नु अनिवार्य देखिन्छ।

स्कटल्याण्डविरुद्धको पुराना तथ्याङ्कलाई हेर्दा नेपाल केही हाबी देखिएको छ। पछिल्ला पाँच भेटमा नेपालले ३ खेलमा जित निकालेको छ भने स्कटल्याण्डले १ खेल मात्र जितेको छ। एक खेल भने वर्षाका कारण नतिजाविहीन बनेको थियो।

पछिल्लो पटक सन् २०२५ जुन ८ मा भएको खेलमा स्कटल्याण्डले नेपाललाई मात्र २ रनको रोमाञ्चक अन्तरले पराजित गरेको थियो। त्यसअघि जुन २ मा भएको खेलमा नेपालले १ विकेटको नाटकीय जित निकालेको थियो।

हालै स्कटल्यान्ड नेपाल ए सँग खेलेका दुवै खेलमा पराजित भएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको दुई खेलमा स्कटल्यान्ड नेपाल एसँग स्तब्ध बनेको हो।

नेपालको पछिल्लो प्रदर्शन मिश्रित रहेको छ। पछिल्ला पाँच खेलमध्ये नेपालले ३ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। स्कटल्याण्डको पछिल्लो प्रदर्शन केही निराशाजनक छ, जसमा दुई खेल रद्द भएका छन् भने एकमा हार र एकमा जित निकालेको छ।

विश्वकप छनोटका लागि लिग-२ को शीर्ष स्थानमा रहनु महत्वपूर्ण हुन्छ। स्कटल्याण्ड आफ्नो दोस्रो स्थानलाई थप मजबुत बनाउन चाहन्छ भने नेपाल घरेलु समर्थकको साथ लिएर अंक तालिकामा पुछारबाट माथि उक्लने प्रयासमा हुनेछ।

वैशाख २९, २०८३ मंगलबार ०७:१६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।