इंग्ल्याण्डको पुरुष टोली नेपाल भ्रमणमा आउनेबारे छलफल, पारसले भने- हामी आतुर छौँ

इंग्ल्याण्डको पुरुष टोली नेपाल भ्रमणमा आउनेबारे छलफल, पारसले भने- हामी आतुर छौँ

काठमाडौं : विश्व क्रिकेटको महारथी इंग्ल्याण्डको पुरुष क्रिकेट टोलीले पहिलोपटक नेपालको भ्रमण गर्ने सम्भावना बलियो बनेको छ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट चक्रभित्र नेपालसँग छोटो टी-२० सिरिज खेल्ने योजनाका बारेमा गम्भीर छलफल अगाडि बढाएको छ।

यदि यो योजना सफल भएमा, नेपाल भ्रमण गर्ने इंग्ल्याण्ड अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टोली हुनेछ। हालसम्म नेपालले कुनै पनि ‘फुल मेम्बर’ वा टेस्ट खेल्ने राष्ट्रलाई पूर्ण अन्तर्राष्ट्रिय भ्रमणका लागि घरेलु मैदानमा आतिथ्यता प्रदान गर्न सकेको छैन।

यसै वर्षको फेब्रुअरीमा मुम्बईको वानखेडे स्टेडियममा भएको टी-२० विश्वकपमा नेपाल र इंग्ल्याण्ड पहिलोपटक आमनेसामने भएका थिए। उक्त खेलमा नेपालले इंग्ल्याण्डलाई अन्तिम बलसम्म निकै कडा टक्कर दिएको थियो।

इएसपीएन क्रिकइन्फोका अनुसार, सोही खेलपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले भारतमै इसिबीका अधिकारीहरूसँग नेपाल भ्रमणबारे छलफल गरेका थिए।

इसिबीले २०२७-३१ को आफ्नो कार्यतालिकामा नेपाल भ्रमणलाई समेट्ने तयारी गरेको छ। विशेषगरी भारत भ्रमणमा आउनुअघि वा पछि नेपालमा २ वा ३ वटा टी-२० खेल खेल्न सकिने विषयमा बोर्ड सकारात्मक देखिएको छ।

इंग्ल्याण्डसँगको सम्भावित सिरिजलाई लिएर क्यानका सचिव एवं पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जालमार्फत उत्साह व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘म पर्खनै सक्दिनँ। हामी तयार छौँ। नेपाल र इंग्ल्याण्डबीचको खेल हाम्रै टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा!’

नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि विश्वकपका दौरान इंग्ल्याण्ड वा अष्ट्रेलिया जस्ता ठूला राष्ट्र नेपाल आउनुले नेपाली क्रिकेटलाई विश्वव्यापीकरण गर्न मद्दत पुग्ने बताएका थिए।

नेपाली क्रिकेटले पछिल्लो समय विश्वस्तरमा आफ्नो पहिचान बनाउँदै गएको छ। गत वर्ष नेपालले वेस्ट इन्डिजलाई हराएर पहिलोपटक कुनै पूर्ण सदस्य राष्ट्रमाथि सिरिज जित्दै इतिहास रचेको थियो।

हालै स्काई स्पोर्ट्सले ‘नेपाल : क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ नामक वृत्तचित्रमार्फत नेपाली समर्थकहरूको क्रिकेटप्रतिको मोहलाई विश्वमाझ प्रस्तुत गरेको थियो।

इंग्ल्याण्डबाहेक आयरल्याण्डले पनि क्यानसँग पाँच वर्षे रणनीतिक साझेदारी गरिसकेको छ र सन् २०२६-२७ को हिउँदमा ह्वाइट बल सिरिजका लागि नेपाल आउने तयारी गरिरहेको छ।

वैशाख २८, २०८३ सोमबार १५:३१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।