भक्तपुर अस्पताल प्रमुख डा. सुरेन्द्रको बदमासी, भक्तपुरमा बिदा नलिई नियम विपरीत प्रसूतिमा फेलोसिप गर्दै

भक्तपुर अस्पताल प्रमुख डा. सुरेन्द्रको बदमासी, भक्तपुरमा बिदा नलिई नियम विपरीत प्रसूतिमा फेलोसिप गर्दै
१- भक्तपुर अस्पतालको वेभसाइटमा बिहीबार बेलुकासम्म भट्टको पद, २- प्रसुती गृहको प्रांगणमा डा भट्टले प्रयोग गरेको गाडी र प्रसुती गृहको कोठामा फेलोसिप अन्तर्गत काम गर्दै गरेका भट्ट।

काठमाडौंः भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र प्रसाद भट्टले नियम विपरीत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा ‘इनफर्टिलिटी’ सम्बन्धी एक वर्षे फेलोसिप गरिहरेको खुलेको छ। उनले भक्तपुर अस्पताल र प्रसूति गृह दुवैतिर एकै समयमा हाजिर गर्दै नियम विपरीत फेलोसिप गरिरहेका छन्। उनले नियम विपरित एकै समयमा दुईतिर काम गरिरहेको सूचनाको आधारमा उकेराकर्मीले स्थलगत भेरिफाई गरेको थियो। यसमा उकेराले जे सूचना पाएको थियो त्यो पुष्टी भयो।

OOO

उकेराकर्मी बिहीबार मध्याह्न परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) को ललितपुरतर्फको कुपण्डोलस्थित रहेको भवनमा पुगेर मध्याह्न १ ५९ मा भक्तपुरस्थित भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. भट्टलाई सम्पर्क गरेर उनी कहाँ छन् भन्ने जिज्ञासा राखेको थियो। उनले जवाफमा आफू केहीबेर भक्तपुर अस्पताल बाहिर रहेको दाबी गर्दै केही छिनमा अस्पताल आउने बताए। उनले चार बजेपछि भेट्न आउन भने। आफू कहाँ छु भन्ने विषय खुलाएनन्।

भक्तपुर अस्पतालको निमित्त निर्देशक पद परिवर्तन त भएको छैन नि भन्ने जिज्ञासामा भने , “छैन, छैनअहिलेसम्म भएको छैन।

भट्टसँगको कुराकानीपछि उकेराकर्मी कुपण्डोलस्थित प्रसूति गृहको अर्को भवनतर्फ जाँदा ‘भक्तपुर अस्पताल’लेखिएको ‘प्रदेश ३–०१००२ झ ५३३४’ नम्बर प्लेटको ‘महिन्द्रा पिकअप’ रातो गाडी प्राङ्गणमा देखियो। त्यो गाडीको पछाडितर्फको सिटमा निजामती कर्मचारीको पोसाक लगाएका एक कर्मचारी बसिरहेका देखिए। ती चालक थिए।

प्रसूति गृहको ‘निःसन्तान उपचार केन्द्र: इनफर्टिलिटी ओपिडी’लेखिएको भवनभित्रको ‘इनफर्टिलिटी ओपी’ भित्रको ‘कन्सल्टेन्ट रुम (ओपिडी) लेखिएको कोठामा पुग्दा भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र प्रसाद भट्ट त्यहाँ देखिए।

उकेराकर्मीलाई देखेपछि उनी अलि झस्किए। प्रसूति गृहको ओपिडीमा देखिएका डा. भट्टसँग उकेराकर्मीले केहीबेर अनौपचारिक कुराकानी भयो। डा. भट्ट नियम विपरीत प्रसूति गृहमा ‘इनफर्टिलिटी ओपिडी’ सम्बन्धी एक वर्षे फेलोसिप गर्दैछन् भन्ने सूचनाको आधारमै उकेराकर्मी भेरिफाइ गर्न त्यहाँ पुगेको थियो। भक्तपुर अस्पतालमा हुनुपर्ने उनी प्रसूतिमा फेलोसिप गरिरहेको पुष्टि भयो।

डा. भट्टले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत प्रसूति गृहमा नियम विपरीत फेलोसिप गरिरहेको प्रस्ट भयो। प्रतिष्ठानले डा. भट्ट ‘इनफर्टिलिटी’को फेलोसिप अध्ययनका लागि प्रवेश परीक्षामा खुलातर्फबाट छनोट भएको नतिजा २०८२ मंसिर २० मा सार्वजनिक गरेको खुल्यो।

डा. भट्ट खुलाबाट र अर्को एक जना चिकित्सक सरकारी (एमओएच)कोटामा छनोट भएको खुल्यो। प्रतिष्ठानले इनफर्टिलिटीको फेलोसिप अभ्यास (ज्ञान तथा सिप सिक्न) तीन महिनाअघि गत पुस १६ मा उनीहरूलाई प्रसूति गृहमा पठाएको तथ्य पुष्टि भयो। प्रतिष्ठानको छनोटपछि डा. भट्टले भक्तपुर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीबाट बिदा लिन सक्थे। तर उनले बिदा नलिई नियमविपरित प्रसूति गृहमा फेलोसिप गरिरहेको खुल्यो।

१- भक्तपुर अस्पतालको वेभसाइटमा बिहीबार बेलुकासम्म भट्टको पद, २- प्रसुती गृहको प्रांगणमा डा भट्टले प्रयोग गरेको गाडी र प्रसुती गृहको कोठामा फेलोसिप अन्तर्गत काम गर्दै गरेका भट्ट।थप पुष्टिका लागि बेलुका ६ बजे उकेराकर्मीले डा. भट्टलाई भक्तपुर अस्पताल पुग्नुभयोभनेर सोधेको थियो। उनले ‘अस्पतालमा नै छु’ भन्ने जवाफ दिए।त्यसपछि भक्तपुर अस्पतालमा पूर्णकालिनै रहेर तीन महिना अघिदेखि प्रसूति गृहमा एक वर्षे फेलोसिप गर्दै हुनुहुँदो रहेछ नि तभन्ने प्रश्न नसकिँदै उनले "फोनमा के–के लिनुहुन्छ...यहीँ आउनु। यहीँ आउनु..." भनेर फोन राखे।

भक्तपुर र प्रसूतिमा एउटै समयमा हाजिर

डा. भट्टले सरकारी कार्यालय समय अनुसार सामान्यतया बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म प्रसूति गृहमा नै रहेर कामगरी इन्फर्टिलिटी सम्बन्धी फेलोसिप गर्नुपर्ने हुन्छ। एक वर्षसम्म प्रसूति गृहका अन्य चिकित्सक सरह ‘ड्युटी रोस्टर’ अनुसार पूरै सरकारी कार्यालय समयसम्म प्रसूति गृहमा बसेर ‘इनफर्टिलिटी’ सम्बन्धी ज्ञान तथा सिप नसिके उनले ‘इनफर्टिलिटी’ सम्बन्धी फेलोसिपको प्रमाणपत्र नै पाउँदैनन्।

तरडा. भट्ट त भक्तपुर अस्पतालका निमित्त निर्देशक हुन्। उनी उही समयमा भक्तपुर अस्पतालमा पनि हुनुपर्छ। उनले एकै समय दुबैतिर हाजिर गरिरहेकै देखियो। स्थलगत रिपोर्टिङको आधारमा हेर्दा डा. भट्टले बिहान ९ बजे अघि नै भक्तपुर अस्पताल पुगेर हाजिर गरेर प्रसूति गृह आएर काम गर्ने गरेको देखियो। अनि बेलुका प्रसूति गृहबाट फर्केर पाँच बजेतिर भक्तपुर अस्पताल पुग्ने गरेको देखियो।

भक्तपुर अस्पतालमा निमित्त निर्देशकका रूपमा गर्नुपर्ने आर्थिक तथा प्रशासनिक निर्णय र फाइल सदर लगायतको काम पनि डा. भट्टले गर्छन् नै। यसरी डा. भट्टले नियम विपरीत आर्थिक तथा प्रशासनिक लगायतको काम मात्रै गरेका छैनन्उनले सरकारी सेवा सुविधा समेत लिएका छन्।

अब प्रश्न उठ्छएउटै कर्मचारीले एउटै कार्यालय समय दुईतिर हाजिर गर्न मिल्दैन।  उनले फेलोसिपका लागि भक्तपुर अस्पतालबाट बिदा लिन सक्थे। तर बिदा लिएको देखिएन। उनले एउटै समयमा दुईवटा अस्पतालमा हाजिर गरेर काम गरिरहेको देखियो।

नियम विपरीत फेलोसिपमा भर्ना भए

बागमती प्रदेशको प्रदेश निजामती सेवा ऐन–२०७९ को दफा–७० मा तालिमअध्ययन वा अध्ययन भ्रमणको विषयमा उल्लेख छ।  ऐनको दफा–७० को उपदफा (१) मा सम्बन्धित मन्त्रालय (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)आयोग (प्रदेश लोकसेवा आयोग) वा सचिवालयले आफ्नो मातहतका कर्मचारीलाई तालिमअध्ययन वा अध्ययन भ्रमणमा पठाउन प्रत्येक वर्ष सो सम्बन्धी विवरण तयार गरेर मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ।

ऐनको दफा–७० को उपदफा (२) मा ‘दफा (१) बमोजिमको विवरण प्राप्त भएपछि तालिमअध्ययन वा अध्ययन भ्रमणका लागि विषयगत आधारमा सङ्ख्या किटान गरी त्यसको विवरण मन्त्रालयले उपदफा (३) बमोजिमको समितिमा पेस गर्नु पर्ने’ व्यवस्था छ।

फेलोसिपमा छानिएको सूची।त्यसैगरी उपदफा (३) मा प्रदेशका प्रमुख सचिव अध्यक्षआर्थिक मामिला तथा योजना मन्त्रालयआन्तरिक मामिला तथा कानून मन्त्रालयमन्त्रालयको कानुन विषय हेर्ने सचिव सदस्य र प्रमुख सचिवले तोकेको मन्त्रालयको सचिव सदस्य–सचिव रहेको समितिले प्रदेश सरकारको जुनसुकै निकायमा प्राप्त भएका तालिमअध्ययन वा अध्ययन भ्रमणको बाँडफाँट गर्ने व्यवस्था छ।

उपदफा (४) मा उपदफा (३) बमोजिमको समितिले मापदण्ड बनाई सो बमोजिम तालिमअध्ययनअध्ययन भ्रमण वा छात्रवृत्ति बाँडफाँट गर्ने व्यवस्था छ। त्यसैगरी उपदफा–५ मा उपदफा (३) बमोजिमको समितिले विषयवस्तुआवश्यकता र औचित्य हेरी उपदफा (४) बमोजिम वैदेशिक तालिमअध्ययनअध्ययन भ्रमण वा छात्रवृत्ति बाँडफाँट गर्दा सबै सेवासमूह वा उपसमूहका कर्मचारीबीच न्यायोचित तवरले बाँडफाँट गर्नुपर्ने उल्लेख छ। 

उपदफा (६) मा उपदफा (३) बमोजिमको समितिबाट स्वीकृत नगराई वैदेशिक तालिमअध्ययन र अध्ययन भ्रमणमा पठाउन नपाइने व्यवस्था छ। ऐनको सो उपदफामा ‘कसैले सो समितिको स्वीकृति नलिई कुनै कर्मचारीलाई मनोनयन गरेमा मनोनयन गर्ने अधिकारीलाई विभागीय कारबाही गर्न सकिने’ समेत व्यवस्था छ।

ऐनमा भएको यो व्यवस्था हेर्दा भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. भट्टले एक वर्षको इनफर्टिलिटी सम्बन्धी फेलोसिप गर्नका लागि अनिवार्य रूपमा बिदा स्वीकृति लिनुपर्ने हुन्छ। ऐनमा व्यवस्था भए अनुसारको समितिको स्वीकृति नै नलिई उनलाई सो फेलोसिपका लागि मनोनयन गरेको खण्डमा समेत यसरी मनोनयन गर्ने कर्मचारीलाई विभागीय कार्वाही हुनसक्ने प्रस्टै देखिन्छ।

तरभट्टले त भक्तपुर अस्पतालको निमित्त निर्देशकको रूपमा काम गर्दागर्दै प्रसूति गृहमा उही समयमा फेलोसिप गरिरहेको खुल्यो। डा. भट्ट भक्तपुर अस्पतालको निमित्त निर्देशक भएकाले भक्तपुर अस्पतालमा उनी आंशिक (पार्ट टाइमर) कर्मचारी हैनन्। पार्ट टाइमर कर्मचारी नभई निमित्त निर्देशक जस्तो  भूमिकामा समेत रहेकाले भक्तपुर अस्पतालमा उनको हाजिर हुने नै भयो। जुन विषय उनले पनि स्वीकार गरिसकेका छन्।

अर्कातर्फ स्वास्थ्य सेवा विनियमावली,–२०५५ मा भएको अध्ययन र असाधारण बिदा लिन सकिने व्यवस्था हेर्दा समेत डा. भट्टले बिदा लिएको देखिँदैन।

नियमावलीको नियम–५३ को उपनियम (६) मा कर्मचारीले  आफू बहाल रहेको पदमा अति दुर्गम क्षेत्रमा कम्तीमा एक वर्ष वा दुर्गम क्षेत्रमा दुई वर्ष रुजु हाजिर रही तीन वर्षसम्म सेवा नगरी अध्ययन बिदा नपाइने व्यवस्था छ। स्रोतका अनुसार नवौँ तहका डा. भट्ट नियमावलीमा भएको  यो व्यवस्था अनुसारको सेवा अवधि नपुगेकाले एकातर्फ उनले यो अध्ययनका लागि बिदा लिन नै मिल्दैन। अर्कोतर्फ उनले बिदा नलिई फेलोसिप गरिरहेका छन् भन्ने विषय त उनैले ‘अस्पतालको निमित्त निर्देशको जिम्मेवारी भएको’ बताएकाले नै पुष्टि हुन्छ। 

उता नियमावलीको नियम–५४ मा एक पटकमा एक वर्षमा नबढाई र सेवा अवधिभरमा तीन वर्षमा नबढाई असाधारण बिदा लिनसक्ने व्यवस्था समेत छ। तरडा. भट्टले असाधारण बिदा पनि लिएको देखिएन। किनकि उनी भक्तपुर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा नै कायम छन्।

यसरी अध्ययन र असाधारण दुवै किसिमको बिदा नलिई फेलोसिप गर्नै नपाइने व्यवस्था भए पनि डा. भट्टले नियम विपरीत इनफर्टिलिटी सम्बन्धी फेलोसिप गरिरहेको प्रस्टै देखियो।

वैशाख ३१, २०८३ बिहीबार २३:३५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।