ब्याच नम्बर ६९ : आफ्नै आँखा अगाडि साथीलाई धडाधड गोली लाग्दा कसको मनस्थितिले काम गर्छ र!

ब्याच नम्बर ६९ : आफ्नै आँखा अगाडि साथीलाई धडाधड गोली लाग्दा कसको मनस्थितिले काम गर्छ र!

२०६९ जेठ १८ गते। त्यो बेलामा म हेडक्वाटरमै थिए। ११ बजे आसपास हुनुपर्छ, ललितपुरको युएनपार्क नजिकै सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम गोली लागेर घाइते भएको सूचना आयो।

म त्यो बेलामा अपराध अनुसन्धान गर्ने जिम्मेवार निकायमा थिइन्। सर्वोच्च अदालतको बहालवाला न्यायाधीशमाथि गोली प्रहार भएको घटना पहिलो थियो। अपराध अनुसन्धानको जिम्मेवारी नभए पनि प्रहरी अधिकारी भएकाले चासो त हुने नै भयो।

न्यायाधीश बमसँगै उनको साथमा रहेका व्यक्तिगत सुरक्षा गार्डलाई पनि गोली लागेको अनि गोली हान्नेहरू घटनास्थलबाट सहजै फरार भएको सूचना आयो।

हतियार सहितको प्रहरीको व्यक्तिगत सुरक्षा गार्ड हुँदाहुँदै न्यायाधीशमाथि गोली प्रहार हुनु तर जवाफी फायर नहुनु ठुलो सुरक्षा चुक थियो नै। कस्तो पिएसओ खटिएको रहेछ भन्ने लाग्यो मनमा।

अब यस्तै घटना होला अनि त्यो बेलामा सुरक्षा देला भनेर त हतियारसहितको सुरक्षाकर्मी दिने हो नि। तर के गर्ने! वास्तवमा भन्ने हो भने प्रहरीमा जो जसलाई व्यक्तिगत सुरक्षामा खटाइन्छ नि ती पिएसओका लागि लायक नै हुन्नन्। ती सुरक्षा गार्ड नै हुन्नन्। केवल प्रहरी मात्र हुन्छन्। अब हतियार बोकेर खटिँदैमा सबै समस्याको समाधान हुने हैन नि। हतियार चलाउन जान्ने पनि हुनुपर्यो। जसको सुरक्षामा खटिएको हो जटिल अवस्थामा उसको सुरक्षा गर्न सक्ने ल्याकत पनि हुनुपर्यो नि।

अब हिजोसम्म ट्राफिकको रूपमा सडकमा खटिने प्रहरीलाई एक्कासि भोलीपल्ट व्यक्तिगत सुरक्षा गार्डको रूपमा खटाउने पद्धति रहेसम्म आउने नतिजा त यस्तै त हो। मनमा यस्तै लागिरह्यो। रिस पनि उठ्यो। यो त प्रहरीले दिने सुरक्षामाथि नै शङ्का बढाउने घटना थियो नि।

न्यायाधीश बम अनि घाइते प्रहरीलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको सूचनाहरू आइरहेका थिए। हेडक्वार्टर एक खालको तनावको माहौल बनेको थियो। हुने नै भयो।

न्यायाधीश बमको अवस्थाबारे जेजस्तो रिपोर्टिङहरू आइरहेका थिए त्यसले उनको ज्यान बच्ने सम्भावना कमै देखिएको थियो। घाइते बडीगार्डको अवस्था बरु सामान्य रहेको सूचनाहरू आइरहेका थिए।

घटना नभएको भए राम्रो। तर अब भइसक्यो। तर ज्यान चैँ बचे हुने भन्ने लागिरहेको थियो। त्यस्तै एक बजेतिर न्यायाधीश बमको निधन भएको खबर आयो। ज्या... जे नहोस् भनेको त्यही भयो।

घटना के कस्तो भएको रहेछ भनेर चासो लाग्ने नै भयो। अब यस्तोमा फिल्डमा खटिने प्रहरीहरूलाई फोन गरेर सोधेर अनुसन्धानमा व्यवधान गर्नु नि भएन। जहाँबाट सहज सूचना आउन सक्थ्यो त्यतै सोधे।

OOO

न्यायाधीश बमको घर कलङ्की। उनको चालक अष्ट लामा। अदालतले नै दिएको चालक रहेछन्। उनी हरेक दिन बंगलामुखी मन्दिर दर्शन गर्ने रहेछन्।

त्यो दिन पनि बिहीबारै थियो। घरबाट परिवारका सदस्यहरू र साथीसँगै प्रहरीको पिएसओ लिएर उनी कलंकीबाट बङ्गलामुखी मन्दिर पुगे। सबै जना ओर्लिएर मन्दिरमा दर्शन गरे।

उनको परिवारका सदस्यहरू त्यही मन्दिरमै बसे उनी भने चालक, साथी राम गिरी अनि आफ्नो सुरक्षाका लागि प्रहरीले खटाएको प्रहरी सहायक निरीक्षक महेश गिरीसँगै सर्वोच्च अदालत जान मन्दिरबाट छोटो बाटोहुँदै निस्किएका रहेछन्।

भित्री बाटोबाट उनीहरू सर्वोच्च अदालत जान युएन पार्कको खोला किनारमा बनेको बाटोहुँदै अगाडि बढिरहेका थिए। न्यायाधीश बम साथी रामसँग गफ गर्दै आइरहेका रहेछन्।

को होला यतिको दुस्साहसी? अनि तिनले सर्वोच्च अदालतकै न्यायाधीशको किन हत्या गरे होलान्? मनमा खुलदुल खुलदुल लागिरह्यो। निकै लामै समयसम्म यस घटनाको अनुसन्धान के भइराखेको छ भन्ने सम्भव भएसम्मको जानकारी लिइराखेकै थिए। 

 

खोला किनारको बाटोमा आउँदा आउँदै बाटो नै छेकिने गरी मोटरसाइकल रोकियो। गाडीको स्पिड पनि कम हुने नै भयो। मोटरसाइकल किन रोकियो भन्ने विश्लेषणै नगरी गाडिबाट प्रहरी ओर्लिए।

उनी ओर्लिए लगत्तै मोटरसाइकलमा भएका दुई जनाले भटाभट गोली हान्न थाले। पहिलो गोली बडीगार्डलाई नै लाग्यो। बडीगार्डले हतियार निकाल्न भ्याएनन्। गोली हान्नेहरू गाडितिर गएर पछाडि बसेका न्यायाधीश बमलाई ताकेर धडाधड गोली हान्न थाले।

कसैले न्यायाधीश गाडिबाट निस्किएर भाग्न खोज्दा लखेटेर गोली हानेको पनि भने। गाडिभित्र रहेका गिरी र चालक चुपचाप।

६-७ राउन्ड गोली हानेर उनीहरू भागे। सुरक्षाकर्मीले थाहा पाएपछि बमसहितलाई नर्भिक अस्पतालमा उपचारका लागि ल्याइयो। बमको ज्यान जोगिएन। घाइते गार्डको अवस्था चिन्ताजनक भए पनि जोगिने सम्भावना। अन्य दुई जनाको अवस्था सामान्य।

हरेक दिन बिहीबार बंगलामुखी मन्दिरै जाने अनि त्यो दिन पनि मन्दिर गएर अदालत जानेक्रममा बिच बाटोमा घटना भएकाले यो योजनाबद्ध घटना हो भन्ने त देखिइहाल्यो।

बिहानै, खुल्ला सडकमा हतियारसहितको सुरक्षाकर्मी साथमै हुँदा न्यायाधीशको हत्या भएको अनि हत्यामा संलग्नहरू कोही पनि तत्काल फेला नपरेको घटना सुरक्षाकर्मीका रूपमा अलि असहज लाग्ने घटना नै भयो।

सरर घटना विवरण सुनेपछि केही शङ्का मनमा उठ्ने नै भयो। हरेक दिन एकै बाटोबाट हिँड्दा सुरक्षा जोखिम हुन्छ भन्ने सुरक्षाकर्मीले किन याद नगरेको होला? पहिलो प्रश्न यही उठ्यो मनमा।

त्यो बेलामा बम कुनै फैसलाको प्रक्रियाका कारण निलम्बनमा थिए क्यार। उनी अदालत जाने गरे पनि सुनुवाइमा भने संलग्न भइरहेका थिएनन्। यस्तो बेलामा सुरक्षा जोखिम हुनसक्छ है भन्ने कस्तो हेक्का नगरेको?

जब सडक ब्लक गर्ने गरी मोटरसाइकल राखियो खतराको सङ्केत किन नपाएको होला? गाडिबाट निस्कँदा हतियार हातमा बोकेर ननिस्किई किन सामान्य रूपमा निस्किएको होला?

जब बडीगार्डमाथि गोली प्रहार भयो नि त्यो बेलामा त चालक चालक सिटमै थिए। उनले गाडी हुइँक्याएर लैजान सक्थे। मोटरसाइकललाई हानेर अगाडि बढ्न सक्थे अथवा हातमा पेस्तोल लिएकातिर नै गाडी हुइँक्याएको भए पनि त जोगाउन सकिन्थ्यो नि?

सुरक्षाकर्मीको मनमा प्रश्न उठ्नु स्वाभाविकै हो। तर अब तालिम लिएका प्रहरी जो जसको सुरक्षाका लागि खटिएका थिए उसले त सामान्य सुरक्षा प्रणाली अपनाउन सकेन भने अब अदालतको चालक जसलाई जोखिममा कसरी जोगाउने भन्ने नै जानकारी हुन्न उसले के गरोस् भन्ने लाग्यो। अब जो साथी थिए उनले त के गरुन्। त्यो बेला जसको पनि सातो गइहाल्छ।

फिल्म हो र ! आफ्नै आँखा अगाडि साथीलाई धडाधड गोली लाग्दा जो कसैको पनि मनस्थितिले काम गर्दैन नै।

तर यसमा शङ्का गर्नुपर्ने अनि सुरक्षा चुक टन्नै देखिए। तर जे नहुनु घटना भइहाल्यो। अब मुख्य चुनौती हत्यामा संलग्नहरूको खोजी अनि हत्याको कारण पहिल्याउनु थियो। घटनास्थलको प्रकृति अनि घटनामा संलग्नहरूको दुस्साहस हेर्दा अनुसन्धान त्यति सजिलै सफल होला जस्तो लागेन।

तर दिउसो समयमा घटना हुनु अनि घटनामा मोटरसाइकल प्रयोग भएकाले कतै पक्राउ परिहाल्छन् कि भन्ने आश लागेको थियो है! तर बेलुकासम्म घटनामा संलग्न कुनै व्यक्ति पक्राउ परेको सूचना आएन। यसले घटनामा संलग्नहरू सुरक्षित स्थानमा पुगिसकेको देखियो जसलाई खोजेर निकाल्न पक्कै सहज हुने कुरै थिएन।

को होला यतिको दुस्साहसी? अनि तिनले सर्वोच्च अदालतकै न्यायाधीशको किन हत्या गरे होलान्? मनमा खुलदुल खुलदुल लागिरह्यो। निकै लामै समयसम्म यस घटनाको अनुसन्धान के भइराखेको छ भन्ने सम्भव भएसम्मको जानकारी लिइराखेकै थिए। 

तर आफैँले अनुसन्धान गर्नुपर्ला भनेर हैन है ! गम्भीर अपराधबारे चासो लाग्नु स्वाभाविकै हो नि। त्यही चासो मात्र थियो मेरो। यो घटनाको अनुसन्धानको जिम्मा कुनै दिन मेरै नेतृत्वमा आउने छ भन्ने सोचेको थिइन नि। तर आयो। घटनाको दुई वर्ष सात महिनापछि केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखको रूपमा घटनामा संलग्नहरूलाई मेरै नेतृत्वको प्रहरी टिमले पक्राउ गर्यो।

(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

ब्याचका पुराना अंक

साउन ३१, २०८० बुधबार २३:०३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।