ब्याच नम्बर ६९ : माओवादीका ट्रेड युनियनका नेता अपहरणमा परे भनेर खोजियो, तर पैसा कमाइएन भनेर नाटक पो गरेका रहेछन्

ब्याच नम्बर ६९ : माओवादीका ट्रेड युनियनका नेता अपहरणमा परे भनेर खोजियो, तर पैसा कमाइएन भनेर नाटक पो गरेका रहेछन्

अपराधको अनुसन्धानमा ज्ञान आवश्यक पर्छ नै। त्यसमा प्राविधिक सीपसँगै अनुसन्धानमा खटिने व्यक्ति कतिको लगनशील छ भन्नेले पनि प्रभाव पार्छ नै। यसमा थर्ड सेन्सले पनि काम गर्छ है। अनुसन्धानमा रुचि हुनेहरू निरन्तर काममा लाग्दा उनीहरूमा अलग्गै सेन्सको विकास भएको हुन्छ।

यसमा अर्को हो लगनशीलताको। प्रहरीको जिम्मेवारी नै जतिखेर पनि तयार हुनुपर्ने खालको हो नि! २०-२२ घन्टासम्म पनि खटिनपर्छ फिल्डमा। झन् अपराध अनुसन्धानमा काम गर्नेहरूको त चौपट हुन्छ व्यक्तिगत जीवन। न घर-परिवार भन्न पाएका हुन्छन्, न आफ्ना लागि नै समय पाएका हुन्छन्। बढो तनावको काम हो नि प्रहरी, त्यसमा पनि अनुसन्धान।

कतिपयले त आफ्नो केही परेमा आएर यस्तो छ भन्छन्। तर, कतिपयको बानी आफ्नो व्यक्तिगत जीवनमा गर्नैपर्ने जिम्मेवारी भए पनि काम पर्योे भने भन्दै नभन्ने बानी पनि हुन्छ। एक प्रकारले त्यो आफ्नो जिम्म्वारी र पेशाप्रतिको लगनशीलता पनि हो।

कुनै-कुनै कामका लागि भने विकल्प पनि हुन्न। त्यही व्यक्ति नै चाहिने पनि हुन्छ। यस्तोमा अलग कुरा हो। तर, आफ्नो विकल्प हुनसक्ने काममा भने महत्वपूर्ण व्यक्तिगत कामबारे आफ्नो सिनियरसँग सल्लाह गर्ने बानी गर्नुपर्छ।

यस्तै एक घटना छ। त्यो सधै सम्झन्छु म। माओवादीको जगजगी सकिएको थिएन। जताततै उनीहरूको प्रभाव बढिरहेकै बेलामा एकाएक माओवादी ट्रेड युनियनको एक नेता अपहरणमा परेको सूचना आयो।

राम्रै तहका नेता रहेछन्। त्यो बेलामा त माओवादीभित्रको आन्तरिक द्वन्द्वका कारण पनि अपहरण हुने गर्थ्यो। तर, संगठनकै प्रमुख व्यक्ति प्रहरीको सम्पर्कमा आएकाले त्यो पाटोको सम्भावना बलियो देखिएन।

त्यो बेलामा म अपराध महाशाखामै थिए। ट्रेड युनियनको नेता अपहरणमा परेको सूचना लिएर हरिजित डल्लाकोटी नै आएका थिए।

घटना अलि सिरियसै लाग्यो। त्यो बेलामा संगठित अपराधको अनुसन्धानका लागि सोमेन्द्रसिंह राठौर पनि थिए महाशाखामा। उनलाई बोलाएर घटनाबारे जानकारी गराएर के रहेछ हेर भनेँ।

उनले आफ्नो सबै सञ्जाल अनि प्रविधिको प्रयोग गरेर अपहरणमा परेका भनिएका माओवादी नेता चितवनमा रहेको पत्ता लगाए। उनको लोकेशन भने बदलिइरहेको थियो। कहिले चितवन त कहिले नवलपरासी देखाइरहेको थियो। उनी टिम लिएर चितवन हिँडिहाले।

प्राविधिक अनुसन्धानमा ती नेता अपहरणमा परेको भन्दा पनि कतै केही तनाव भएर आफैँ हिँडेको अनि अपहरणमा परेको भनेको त हैन भन्ने संकेतहरू पनि देखिएका थिए। तर, अपहरण अलि अलग्गै प्रकारको र अलि जटिलै अपराध हो।

यसमा कुन खालका व्यक्ति संलग्न भएका छन् भनेर प्रारम्भमा अनुमान मात्र लगाउन सक्ने हो। कतै-कतै अपहरणस्थलमा हस्तक्षेप गरेर बन्धकलाई मुक्त पनि गरिन्छ।

तर, अधिकांश घटनामा पहिला अपहरणमा परेकाको ज्यान सुरक्षित बनाएपछि अपहरणमा संलग्नहरूको खोजी हुन्छ। अपहरित बन्धक भएकै अवस्थामा अप्रेशन सञ्चालन गर्दा ज्यान जाने जोखिम हुने भएरै यस्तो गरिने हो।

उता राठौर टिम लिएर हिँडिसकेका थिए। अपहरितको अवस्थाबारे अनुगमन गरिरहँदा उनको मुभ हुने क्रम जारी नै थियो। चितवनतिर अनि नवलपरासी देखाइरहेको थियो।

अपहरणकारीले यसरी अपहरितलाई मुभ गराइरहनु नपर्ने हो। जोखिम भएको अवस्थामा मात्र यस्तो गर्छन् वा प्रहरीले घटनाबारे चाल पायो भन्ने शंका लागेमा अपहरित राख्ने स्थान बदलेको बदल्यै गर्ने हो। यसमा दुवै सम्भावना देखिएको थिएन। तर, अपहरित नभेटेसम्म यही हो भन्न कठिन थियो।

म कार्यालयमै बसिरहेको थिए प्रकाश कुँवरको फोन आयो। उहाँ नेपाल प्रहरीको एआईजीबाट अवकास हुनुभयो। कुँवर सोमेन्द्रको भिनाजु हुनुहुन्थ्यो।

उताबाट कुँवरले फोन गरेर भने- ‘यता ससुरालीमा ससुराको श्राद्धमा आएको तर श्राद्ध गर्ने मान्छे नै आएनन् त!’

लौ।

उनले सोमेन्द्रलाई अलि छिटो पठाउन मलाई फोन गर्नुभएको रहेछ। श्राद्ध हुने ठाउँ काठमाडौं। सोमेन्द्र अपहरितलाई अपहरणमुक्त गराउन चितवन पुगिसकेका थिए। अब चितवनमा भएको व्यक्तिलाई कसरी काठमाडौंको घरमा पठाउनु। उता घरमा चाहिँ सबै जना पाहुना आइसकेका रहेछन्।

सोमेन्द्रले न मलाई यसबारे केही भने न परिवारमै भनेका रहेछन्। बुवाको श्राद्धको दिन चितवन पुगे टोली लिएर। बढो नमज्जा लाग्यो। कुँवर सापलाई मैले के भन्नु। मलाई थाहै थिएन भन्न पनि गाह्रो। कमाण्डर आफैँ। विशेष अप्रेशनमा चितवन गएका छन् भनिदिए।

कसैका लागि धार्मिक आस्था सामान्य हुनसक्छ। कसैका लागि त्यही महत्वपूर्ण हुन्छ। बुवाको श्राद्धको दिन त सार्न सकिन्न नि! बरु प्रहरी अप्रेशन सार्न सकिन्थ्यो वा अरु कसैलाई जिम्मेवारी दिन सकिन्थ्यो। तर थाहै भएन। उनी गइसके।

अपहरित फेला परे। उनी सकुशलै थिए। हामीले प्रारम्भमा जे शंका गरेका थियौँ नतिजा त्यही आयो। उनलाई कसैले अपहरण गरेको रहेनछ। उनी आफैँले अपहरणमा परेँ भनेर कहिले चितवन त कहिले नवलपरासी गरिरहेका रहेछन्।

उनी अस्थीर मानसिक अवस्थामा फेला परेका थिए। धन्न बेलैमा प्रहरीले फेला पार्यो।

अपहरणमा परेका भनिएका नेता फेला परेपछि ट्रेड युनियनका नेताहरूलाई खबर गर्यौँ। परिवारका कोही भए ल्याउन भन्यौँ अनि उनको अस्थिर मानसिक अवस्थाबारे पनि जानकारी गरायौँ। हरिजित आफैँ आउनुभयो।

कुराकानी गर्दैगर्दा पार्टी अनि संगठनमा लाग्दा न व्यक्तिगत जीवन बन्यो न राजनीतिक जीवन नै। न पैसा नै कमाइयो भनेर विरक्त भएपछि ती नेता अपहरणमा परेको भन्दै हिँडेका रहेछन्। पूरै फ्रस्टेड थिए।

कुराकानी गर्यौँ अनि सम्झायौँ। उहाँहरूले पनि सम्झाउनुभयो। पछि त हरिजीले ‘लौ हाम्रो जिम्मा दिनु उहाँलाई’ भन्न थाल्नुभयो।

अब कसरी जिम्मा दिनु। त्यो बेलामा माओवादीका अनेकखालका काण्डहरू बाहिरिरहेका थिए। अस्थिर मानसिक अवस्था भएको व्यक्तिलाई लगेर संगठनलाई दु:ख दिने भन्दै कुटे भने त बर्बाद हुन्छ।

मैले जिम्मा दिन मानिनँ। उनीहरूले कर गरिरहे अनि लगेर कुट्ने होला, सजाय दिने होला नि भनेको हाँस्दै ‘हामी केही गर्दैनौँ। उहाँलाई सम्झाउँछौँ’ भनेपछि उनको अवस्थाबारे अपडेट गराउने सर्तमा जिम्मा दियौँ।

पछिसम्म पनि उनको अवस्था के छ भनेर हामीले फलोअप गरिरह्यौँ। हामीलाई दिएको वाचा पूरा गरे उनीहरूले। कुटपिट गर्ने वा यातना दिने काम गरेनन्।

प्रहरी अप्रेशन सफल भयो तर मेरो मनमा भने कुँवरसापले ‘लौ न श्राद्ध गर्ने सालो नै आएन’ भनेको शब्द गढ्यो। सोमेन्द्रलाई पनि ‘श्राद्ध छ भनेर भन्नुपर्छ नि!’ भनेँ।

त्यसपछि मैले अफिसका कर्मचारीहरुलाई अत्यावश्यक काम छ भने भन्नु भनेर सम्झाएँ। अहिले पनि कतै प्रशिक्षण दिन जाँदा सार्न मिल्ने जिम्मेवारी र सार्नै नमिल्ने जिम्मेवारीबारे छलफल गर्छु। आफ्ना कुराहरू आफ्नो कमाण्डरलाई भन्न प्रोत्साहित गर्छु।

(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

ब्याचका पुराना अंक

साउन १७, २०८० बुधबार १८:०२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।