ब्याच नम्बर ६९ : युवतीले एक दिनका लागि भए पनि विवाह गरौँ भनेपछि… ​​​​​​​

ब्याच नम्बर ६९ : युवतीले एक दिनका लागि भए पनि विवाह गरौँ भनेपछि…  ​​​​​​​

प्रहरी संगठनमा अनेक खालका उजुरी आउँछन्। कुनै उजुरी यति रमाइलो हुन्छन् कि जहिले सम्झँदा पनि हाँसो थाम्नै सकिन्न।

यस्तै एक घटनाबारे आज लेख्न मन लाग्यो। यसले प्रहरीमा कस्ता कस्ता उजुरी पनि आउँछन् भन्ने देखाउने भएकाले नै लेख्न मन लागेको हो।

यो घटना पनि तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखामा हुँदाको हो। कार्यालय हनुमानढोका क्षेत्रमै थियो। कार्यालयमा एक्लै बसिरहेको थिएँ। तत्कालीन डीएसपी ह्दय थापा पेट समातेर मज्जाले हाँस्दै मेरो कोठामा आए।

के भयो भनेर म छक्क परेँ। उनी एक केसको डिल गरिरहेका थिए। त्यही केस हो कि भन्ने पनि लाग्यो तर हाँस्नुपर्ने कारण त थिएन। उनी हाँसो रोक्न सकिरहेका थिएनन्।

नजिकै बसेर उनले एक उजुरीबारे हाँस्दै हास्दै जानकारी गराए। अनि हामी दुवै मज्जाले हाँस्यौँ। किनकि उजुरी नै त्यस्तै खालको थियो।

दसैँताका स्कुल र कलेज लामो समय बन्द हुन्छ।

त्यो बेलामा पढ्न काठमाडौँमा बसेकाहरू घर फर्कन्छन्। दसैँमा काठमाडौँमा बसेर पढिरहेका र काम पनि गरिरहेका पश्चिमतिरका युवक माइक्रोमा घर हिँडेका रहेछन्।

उनी बस्ने सिटमै एक युवती बस्न आइपुगिन्। युवक आकर्षक रूप पनि जिउडालका थिए। दुवैको सिट एकै भएपछि केही समयमा कुराकानी सुरु भयो। संयोग, युवती पनि पश्चिमतिरकी अनि काठमाडौँ बसेर पढिरहेकी। उनी पनि लामो बिदा मनाउन घर फर्किइरहेकी थिइन्।

दुवैको जिल्ला पनि एकै। तर गाउँ भने फरक-फरक रहेछ। माइक्रो बसको यात्रामा दुवैबीच दोस्ती भयो। सँगै खाजा खाने अनि खाना खाने गर्दै गए। माइक्रोमै मोबाइल नम्बर साटासाट पनि गरे। आ-आफ्नै गाउँतिर गए।

दसैँ बिदा सकियो। युवक आफ्नै पाराले काठमाडौँ फर्किए। युवती पनि काठमाडौँ आइन्। काठमाडौँ आएपछि युवतीले युवकलाई फोन गर्न थालिन्। फोनको क्रम बढेपछि उनले भेट्न बोलाउन थालिन्।

युवक पनि भेट्न जान थाले। भेटघाटकै क्रममा युवतीले युवकलाई एकोहोरो प्रेम गर्न थालिसकेकी रहिछिन्। युवक अलि बाठै रहेछन्। उनले सम्बन्धको सीमा पार गरेका थिएनन्।

एकदिन एकाएक युवतीले युवकलाई विवाहको प्रस्ताव गरिन्। तर युवकले मानेनन्। उनको तर्क थियो 'किन विवाह गर्ने?' साथी भए पनि आफ्नो मनमा युवतीप्रति प्रेम नभएको र विवाह गर्न नसक्ने बताए। तर युवतीले मानिन्।

उनले पटक-पटक युवकलाई विवाहका लागि जिद्दी गरिरहिन्। तर युवकले मान्दै मानेनन्। उनले भेट्न बोलाउँदा जान छाडे। अनि युवती उजुरी लिएर अपराध महाशाखामा आइन्।

उजुरीमै उनले युवकसँग विवाह गर्न पाऊँ भनेर लेखेकी थिइन्। तर युवकले नमानेको विवाह गराइ पाऊँ भनेरै लेखेकी थिइन्। युवतीको उजुरीपछि प्रहरीले फोन गरेर युवकलाई छलफलका लागि कार्यालयमा बोलाउने नै भयो।

कुनै नाइँनास्ती नगरी एकै फोनमा युवक महाशाखा कार्यालयमा आए। उनले घर जाँदा माइक्रो बसमा भेटेको, फोन साटासाट भएको अनि काठमाडौँमा भेटेको स्विकारे।

दुवैबीच सम्बन्ध त्योभन्दा अगाडि बढेको देखिएन। युवतीले नै भेट्न बोलाउने गरेको देखियो। भेटमा खाजा खाँदै कुरा गर्ने गरेको मात्र देखियो।

युवतीले पनि त्यही भनिन्। तर उनी ती केटासँग कुनै हालतमा विवाह गर्न चाहन्थिन्। एकतर्फी रुपमा उनी निकै 'क्रेजी' भएको देखियो।

युवतीले प्रहरी कार्यालयमा पनि विवाह गरौँ न भनिरहिन्। तर दुई-चार पटक भेट्दैमा किन विवाह गर्ने भन्ने युवकको तर्क थियो। 'मैले भेट्न बोलाएको पनि छैन, तिमीले नै हो भेट्न बोलाएको, भेटमा मैले के नै गरेको छ र,' युवाको भनाइ यस्तो थियो। तर युवतीले निकै कर गरिरहिन्। युवक भने 'तिमी साथी मात्रै हौ, मेरो मनमा त्यस्तो कुनै फिलिङस् नै छैन' भनिरहने।

अति भएपछि युवतीले प्रहरीलाई एक महिनामा लागि भए पनि विवाह गराइदिनु पो भनिन्। यो सुनेर छक्क पर्ने नै भइयो। एक महिनाका लागि मात्र विवाह गर्ने भन्ने पनि हुन्छ र ? प्रहरीले सम्झायो। तर उनी मान्नेवाला थिइनन्।

अब युवती एक महिनाका लागि नभए पनि १५ दिनका लागि विवाह गरौँ भन्न थालिन्। युवकसँगै प्रहरी पनि छक्क परे। नियत खराब त हैन, तर जसरी विवाह गर्न चाहने। एकतर्फी प्रेममा उनी डुबेकी थिइन्। युवकले १५ दिनका लागि पनि विवाह गर्दिनँ भने।

अब विवाहको प्रलोभनमा युवकले केही गलत गतिविधि गरेको देखिए न हो प्रहरीले सोअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने। अब कसैले विवाह गर्नुपर्यो भनेर कर गरेकै आधारमा प्रहरीले विवाह त गराउन सक्दैन।

दुवै जनालाई राखेर कुराकानी गर्दा त्यस्तो कुनै गलत काम भएको नदेखिएपछि हाम्रो काम सम्झाउने मात्रै त हो। सकेसम्म कुनै दुर्घटना नहोस् भनेर युवतीलाई सम्झाउनुको विकल्प पनि थिएन।

एक जनाले विवाह गरौँ कि गरौँ भनेर मात्र कहाँ विवाह हुनसक्छ र! प्रहरीले युवतीलाई लामै समय सम्झायो। तर मान्ने मुडमा थिइनन् युवती। हैन विवाह त गर्नैपर्छ भन्ने। किन विवाह गर्ने भन्दा उनीसँग उत्तर हुन्थेन।

युवक पनि हैरान प्रहरी पनि हैरान। हुँदाहुँदा उनले ल एकै दिनका लागि भए पनि विवाह गरौँ भनिछिन्। अब यस्तोमा के गर्ने! महिला प्रहरीसहित राखेर युवतीलाई प्रहरीले काउन्सिलिङ सुरु गर्यो।

विवाह भनेको एक दिनलाई पनि हुन्छ र भन्दै सम्झाए। दुवैको मन नमिली विवाह गर्दा पर्ने समस्याबारे बताएछन्। त्यसपछि घर परिवारबारे सम्झाएछन्। लामो समय काउन्सिलिङ गरेपछि बल्ल बल्ल युवती मानिन्। अनि विवाहका लागि कर नगर्ने सहमति गराएर प्रहरीले पठायो।  

 

(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

ब्याचका पुराना अंक

१३ बैशाख, २०८०, २२:११:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।