ब्याच नम्बर ६९ : जनकपुरमा चोरी आरोपमा समातिएका दुई जनाले फ्याट्टै भने' हामीलाई न्यायाधीश कसले मारेको थाहा छ'

ब्याच नम्बर ६९ : जनकपुरमा चोरी आरोपमा समातिएका दुई जनाले फ्याट्टै भने' हामीलाई न्यायाधीश कसले मारेको थाहा छ'

अनुहार हेरेको भरमा पक्राउ परेका आरोपी कस्तो खालको अपराधमा संलग्न हुन सक्छन् भनेर एकिन गर्न सकिन्न। सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरू पनि गम्भीर अपराधमा संलग्न भएका तर पहिचान नहुँदा पक्राउ नपरेका हुन सक्छन्। अपराध अनुसन्धानका अनुभवीले मात्र त्यस्ता व्यक्ति पहिचान गर्न सक्छन्।

प्रहरी अनुसन्धान भनेको ज्योतिष विद्या हैन। यसका लागि सिप चाहिन्छ। अनुभव चाहिन्छ। पक्राउ परेकाहरूलाई प्याटपिट पारिहाल्ने भन्दा पनि उनीहरूसँग नजिक हुने अनि पृष्ठभूमि लगायतबारे कुराकानी गर्ने बानी बसाल्दा अपराध अनुसन्धान गर्ने प्रहरी कर्मचारीलाई फाइदै हुन्छ।

यसका लागि पक्राउ परेका व्यक्तिसँग नजिक हुने, हिरासत कक्षबाट बाहिर निकालेर यस भन्दा अगाडि कतै पक्राउ परेको छ या पहिलो पटक हो, के काम गर्छन्, उनीहरूको पारिवारिक पृष्ठभूमि कस्तो छ लगायतका विषयमा कुरा गर्दा घाटा हुन्न। कि नयाँ इन्फरमेसन आउँछ कि आउँदैन। नआए ठिकै छ। नयाँ कुरा आयो भने त आयो नि। पक्राउ परेकालाई केही समय दिएर कुरा गर्दा के नै बिग्रन्छ र!

अब ह्या जाबो सामान्य केसमा आएको त हो नि के सोधिरहनु भनेर हेलचेक्राई गर्ने हो भने अनुसन्धानमा चमत्कार सम्भव हुन्न।

प्राय : अपराध अनुसन्धानमा संलग्नहरूलाई यस्ता सिपबारे ब्रिफिङ हुने पनि गर्छ। कसैले फलो गर्छन्, कसैले वास्तै गर्दैनन्। त्यो व्यक्तिको प्यासनमा भर पर्ने कुरा भयो। अपराध अनुसन्धानको प्यासन भएकाहरूले त फलो गरेकै देख्छु।

त्यस्तै चमत्कार भएको हो न्यायाधीश रणबहादुर बम हत्या अनुसन्धानको सफलतामा।

OOO

चोरी घटनामा जनकपुरमा पक्राउ परेका दुई जनालाई काठमाडौँमा भएको कुनै ठुलै आपराधिक घटनाबारे थाहा छ भन्नेसम्मको सूचना आयो काठमाडौँमा। सूचना केन्द्रीय अनुसन्धान ब्युरोमा हैन सिधै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई आएको। अर्यालबाट सिआइबीमा आएको।

जनकपुरमा अपराध अनुसन्धानमा खटिने प्रहरी कर्मचारी अलि अनुभवी रहेछन्। चोरी आरोपमा समातिए पनि उनीहरू नयाँ नभई पटके अपराधी हुनसक्ने सङ्केत देखेका रहेछन् पक्राउ गर्ने टोलीले।

अनि पक्राउ परेकाहरूसँग खुलेर कुरा गर्न थालेछन्। कुरैकुरामा न्यायाधीश रणबहादुर बम हत्या घटनाबारे उनीहरूसँग महत्त्वपूर्ण जानकारी हुनसक्ने सङ्केत पाएपछि केन्द्रमा सूचना आएको रहेछ।

एकै पटक केन्द्रमा सूचना आएको हैन। उनीहरूले पहिला उतै कुरा गरेका रहेछन्। तर हाकिमहरूले पत्याइदिएनन्। अनि जिल्लाको एसपीलाई भनेपछि उनले नै आइजिपीलाई फोन गरेर केटाहरू यस्तो भन्छन् भनेका रहेछन्।

प्रहरी महानिरीक्षक अर्यालबाट त्यो सूचना केन्द्रीय अनुसन्धान ब्युरोमा आयो। यसभन्दा अगाडि पनि यस्तै केही सूचना नआएका हैनन्। तर मिहेनत खेर गएको थियो। तर हाम्रा लागि त हरेक सूचना उतिकै महत्वको हुन्छ नि। कुन सूचनाले अनुसन्धान सफल पार्छ के भन्न सकिन्छ र!

सूचना आए लगत्तै ब्युरोमा रहेका प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी र महेश बस्नेतलाई तुरुन्तै जनकपुर पठायौँ। उनीहरू प्लेनबाटै जनकपुर गए।

केस चोरीको थियो। उनीहरूलाई पक्राउ गरेर ल्याउनेक्रममा प्रहरीको गाडीमै रहँदा टिमले कुरा गर्दै ल्याउँदा पक्राउ परेकामध्ये एक जनाले'भन्दिऊँ... भन्दिऊँ' भन्दो रहेछ।

व्यवहार अलि शङ्कास्पद लाग्यो। के हो भन न भन्दै फकाउँदै ल्याउँदा ल्याउँदै उनीहरूले फ्याट्टै 'काठमाडौँमा मारिएको न्यायाधीशको हत्याबारे थाहा छ' भने।

प्रहरीले पटक-पटक अनुसन्धान गर्दा पनि सफल भइरहेको थिएन अनुसन्धान। त्यसबारे अपराध अनुसन्धानमा खटिने जहाँको टोली भए पनि जानकारी त हुन्छ नै। सिआइबीले अनुसन्धान गरिरहेको पनि उनीहरूलाई थाहा नहुने कुरा भएन। उनीहरू चनाखो हुने भइहाले।

कुरा कोट्याउँदै जाँदा बाबु थापाको नाम पनि लिए। बाबुले भनेरै मैले गोली हानेको हुँ नि भनेछ एक जनाले। अर्कोले व्यवस्थापनको काम मैले गरेको हुँ भनेछ।

अब प्रहरीको दिमाग चकराउने भयो नै। उनीहरूले जति सूचना निकाल्न सकिन्छ निकाले। तर उनीहरूलाई अनुसन्धानमा के के तथ्यहरू आइरहेको छ अनि कहाँनिर गएर अड्किएको छ भन्ने जानकारी थिएन। त्यसले उनीहरूले भनेको कुरा सत्य हो या गफ छुट्ट्याउन सकेनन्। अनि केन्द्रमा सूचना आइपुग्यो। यसमा सबैभन्दा उपयुक्त व्यक्ति त दीपेन्द्र नै थिए। त्यसैले उनलाई तत्काल पठाइहालेँ।

हामीसँग भएको प्रमाण भनेको घटनास्थलका प्रत्यक्षदर्शीको आधारमा बनाएको एक स्केच मात्रै थियो। दीपेन्द्र स्केच सहित गएका थिए। ती पक्राउ परेकाहरू थिए करण चौधरी अनि दीपक कर्ण। यी दुवैको नाम पहिला यो घटनामा जोडिएकै थिएन।

दीपेन्द्र गएर 'ल हत्यामा संलग्न हो भने के-के गर्यौ त भन' भन्दा उनीहरूले सरर घटनाक्रम भने।

बाबु थापाले घटनाको योजना बनाएको, कलङ्कीमा रहेको रणबहादुर बमको घरमा रेकी गरेर सूचना सङ्कलन गरेको, उनी आउजाउ गर्ने समय एकिन भएपछि घटनाको दिन घरबाटै पीछा गरेको। सबै मिल्यो।

बमको टिम बङ्गलामुखी मन्दिर नजिक पुगेपछि झरेर दर्शन गर्नतिर लागेपछि त्यही गोली हान्ने प्रयास गरेका रहेछन्। तर भिडभाड बढी भएकाले आँट गरेनन्। बम र उनको बडीगार्ड अनि एक जना साथी गाडीमा चढेर युएन पार्कहुँदै सर्वोच्च अदालत जान हिँडे। जाँदाजाँदै सुनसान बाटो आयो। अनि उनीहरूले मोटरसाइकल अगाडि बढाएर सडक ब्लक गरेर पहिला बडीगार्डलाई गाली हाने पछि न्यायाधीशलाई गोली हानेको बताए। यो पनि मिल्यो।

दीपेन्द्रसँग घटनाको विवरण मात्रै हैन टेक्निकल अनुसन्धानको विवरण पनि थियो। शङ्कास्पद नम्बरमध्ये बाबु थापाको नम्बर त प्रहरीले थाहा पाइसकेको थियो। त्यही नम्बरको आधारमा नै बाबु हाम्रो शंकामा परेका हुन्।

अन्य शंकामा रहेका नम्बरहरू पनि थिए। तर त्यो कसको हो भन्ने खुलिसकेको थिएन। घटनाक्रम मिलेपछि दीपेन्द्रले टेक्निकल अनुसन्धानमा खुलेका कुराहरू जुन उनीहरूलाई थाहा थिएन त्यो सोध्न थाले।

बम हत्या सम्बन्धी सिरिज

तिमिहरूले चलाएको नम्बर कति भनेर सोध्दा एकिन नम्बर भन्न सकेनछन्। दीपेन्द्रसँग त नम्बरहरूको टन्नै विवरण थियो। त्यसमा शङ्कास्पद नम्बर सर्ट लिस्ट बनाएर राखिएको हुन्छ नै।

'फलानो नम्बर कसको हो' भनेर सोध्दा चौधरीले 'मेरो हो' भनिहालेछ। अनि अर्को नम्बर कर्णले मेरो भन्यो।

उनीहरूले अर्को व्यक्तिको नाम पनि खुलाए सञ्जय स्माइली मगर। उ दोस्रो सुटर रहेछ। अब घटना विवरण पनि मिल्यो प्राविधिक विवरण पनि मिल्यो। गफ दिएको त भएन।

दीपेन्द्रले ट्याक्क स्केच निकालेर 'यो कसको' भनेर सोध्दा कर्णले 'मेरो' भनेछन्। जुधाएर हेर्दा उनको अनुहार मिल्यो। ल सूचना पक्का भयो। अनि दीपेन्द्रले फोन गरेर भने' सर यिनीहरू नै हुन्।'

गजब भयो नि। बाबु थापा मुख्य योजनाकार। पहिलो सुटर चौधरी अनि दोस्रो सुटर सञ्जय स्माइली मगर। अर्को प्रेमराज खड्का र दीपक कर्ण। उनीहरूले बाबुको मात्रै हैन अन्य नयाँ व्यक्तिको नाम पनि लिएका थिए। उनीहरूलाई खोज्नुपर्ने थियो नै।

सबैभन्दा ठुलो चुनौती कर्ण र चौधरी पक्राउ परेको सूचना गोप्य राख्नुपर्ने थियो। दोस्रोमा बाबु थापा पक्राउ गर्ने अनि तेस्रोमा मगर र खड्का पक्राउ गर्ने।

सबैभन्दा पहिलो टार्गेट बाबु नै भए। अब उता गएका दुई जनाले मात्र बाबु खोज्ने कुरा भएन। थप टोली चाहियो नै। सल्लाहमै सिआइबीका तत्कालीन डिएसपी भीम दाहालको नेतृत्वमा अर्को टोली सर्लाहीतिर पठायौँ। सर्लाही जानुको कारण बाबुको मुभमेन्ट त्यतै देखिनु थियो।

उताबाट दीपेन्द्रको टोली पनि त्यहीँ टोलीसँग मिसियो। दुवै टोली मिलेर बाबु खोज्न थाले। तर फेला परेका हैनन्।

बाबुको घर पनि थाहा थियो। धेरै तरिकाले उनी घरमा छन् या छैनन् भनेर बुझ्दा घरमा नभएको देखियो। तर शङ्का गर्ने धेरै ठाउँहरू थिए। बाबु कता छन् भनेर स्थानीयले भन्दै नभन्ने। उनको क्षेत्रमा एकछत्र राज रहेछ।

घर वरपर नयाँ व्यक्तिको चहलपहल हुनासाथ उनकोमा सूचना पुगिहाल्ने। घर पछाडि भाग्न विशेष झ्यालै बनाएका रहेछन्। नयाँ गाडी घर अगाडि रोकियो या नयाँ व्यक्ति देखियो भने झ्यालबाट पछाडि बारीमा निस्केर भागिहाल्ने। यो चैँ पक्राउ परेपछि खुलेको कुरा।

त्यो बेला क्षेत्रका डिआइजीमा देवेन्द्र सुवेदी थिए। सहयोगका लागि उनले पनि टोली पठाए। नाकाहरू ब्लक गरियो।

तर यता खोजे पनि बाबु फेला नपर्ने, अनि उता खोजे पनि फेला नपर्ने। भारतसँग सीमा जोडिएको जिल्ला। भारततिर भागे भने पक्राउ गर्न अर्को महाभारत हुने। टोलीमा अनुभवी टिम भएकाले उनीहरूले जालमा पार्छन् भन्नेमा ढुक्क भने थियो।

बाबु यो बिचमा लागु औषधमा फसेको पहिल्यै खुलिसकेको थियो। उनी भारतबाट आउने कोरेक्स खान्थे। उनी जहाँ लुकेर बसेको भए पनि कि आफैँ लागुऔषध किन्न निस्कन्थे वा उनले कुनै सहयोगी मार्फत मगाउँथे नै।

टिमले त्यही जुक्ती लगायो। भारत प्रवेश गर्ने नाका लगायत सम्भावित स्थानहरूमा तस्बिरसहित प्रहरी टोलीलाई तयारी अवस्थामा राखिसकिएको थियो।

मुसा दुलो भित्र कति समय लुकेर बस्ने! बाबु दुलोबाट निस्किएर उम्किए। प्रहरी टोली पछिपछि बाबु अघिअघि। उनको गन्तव्य भारत पुग्ने देखियो। उनलाई भारत छिर्न दिनु त भएन!

लखेट्दा लखेट्दा प्रहरी टोलीले पिछा गरेको मोटरसाइकलको टायर पन्चर भएछ। तर उनीहरूले मोटरसाइकल रोकेनन्। लखेट्दा लखेट्दा उनी सीमामा पुगे। त्यहाँ पहिल्यै टोली थियो। झ्याप्पै समातिहाले। भारत छिर्न पाएन।

मोबाइलमा कल आयो। त्यही कुरेर त बसेको थिएँ।

'सर बाबु समातियो।'

यो सुन्दा क्या आनन्द लाग्यो।

अब त बाँकी हतियार र खड्का र मगर खोज्ने न हो। ती त फेला परिहाल्छन्। योसहित बाबु समातिएको तेस्रो पटक थियो। योभन्दा अगाडि त उ एक्लै समातिएकाले चुपै बसेर पोल खुल्न दिएन। अब त थप दुई जना पनि समातिएका थिए। उसको नौटङ्की टिक्नेवाला थिएन।

'ल काठमाडौँ ल्याऊ हँ' भनेँ। उता टिम हिँड्यो । यता  बाबु कहिले ल्याउँछन् भन्ने छटपटी नै भयो।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

३ असोज, २०८०, २१:०९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।