ब्याच नम्बर ६९ : न्यायाधीश रणबहादुरलाई किन मारेको भनेर जति सोधे पनि चुइँक्कै बोल्दैनन् त!

ब्याच नम्बर ६९ : न्यायाधीश रणबहादुरलाई किन मारेको भनेर जति सोधे पनि चुइँक्कै बोल्दैनन् त!

अहिले म सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या सम्बन्धी घटनाको अनुसन्धान कसरी भयो भन्नेबारे लेखिरहेको छु। यसबारे तीन शृङ्खला लेखिसकेको छु। यो चौथो। केही हप्ता यसैबारे लेख्छु।

म केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा सरुवा भएपछि अनुसन्धानमा प्रत्यक्ष जोडिएँ। यस अगाडिका शृङ्खलाहरूमा अन्यबाट प्राप्त जानकारीका आधारमा लेखेको थिए। अबका सिरिजमा भने म आफैँ अनुसन्धानमा संलग्न भएको आधारमा लेख्नेछु।

OOO

रणबहादुर बम हत्यापछि न्यायक्षेत्र त्रसित हुने नै भयो। त्रसितै थियो। एआइजीको नेतृत्वमा बनेको समितिले प्राविधिक अनुसन्धान गरेर केही निचोड निकाले पनि घटनामा संलग्न रहेको आरोपमा कसैलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन सकेको थिएन। शङ्कास्पदहरू त टन्नै समातिएका थिए। गम्भीर अपराधमा शङ्काले मात्र हुन्न।

उता उच्चस्तरीय आयोगले आफ्नै रूपमा काम गर्यो सक्कियो। किनकि आयोगको कार्यक्षेत्र अपराध अनुसन्धान गरेर घटनामा संलग्न को हो अनि को हैन भन्ने पनि हैन। घटना कसरी भयो अनि कसरी रोक्ने भनेर सुझाव दिने त हो।

केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखको रूपमा सरुवा भएपछि केही पुराना र गम्भीर प्रकृतिका आपराधिक घटनाको अनुसन्धान सफल हुन्छ कि भन्ने आश थियो मनमा।

बम हत्या सम्बन्धी सिरिज

नढाँटी भन्दा त्यो बेलाका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको मनसाय पनि उनी ब्युरो प्रमुख भएर गरेको तर नटुङ्गिएको अनुसन्धान टुङ्ग्याउने आसमा नै मलाई ब्युरोमा पठाइएका थिए। उनले मुखैले भनेको हैन नै। तर भावले पनि धेरै कुरा बोल्छ नै।

त्यो बेलामा ब्युरोमा रणबहादुर बम हत्यासँगै अन्य गम्भीर अपराधको पनि अनुसन्धान चलिरहेको थियो। रानीवारि हत्याकाण्ड भएको १२ वर्ष बित्दा पनि अनुसन्धान सफल भएको थिएन। उता ललितपुरको बडिखेलमा भएको दम्पतीको रहस्यमय हत्याको अनुसन्धान पनि काँचै थियो।

तर बम हत्यापछि न्यायक्षेत्र र न्यायकर्मीहरूमाथि जुन प्रकारको त्रास बढ्यो नि त्यसले यो हत्याकाण्डबारे जतिसक्दो अनुसन्धान सफल बनाउनुपर्ने दबाब थियो।

किनकि अब न्यायकर्मीहरुले फैसला गर्दा 'कतै म पनि बमजस्तै मारिने पो हो कि!' भन्ने मनमा त्रास भयो भने त त्यो दुर्भाग्य हो नि। सबैले 'आँ मरे मर्छु तर न्याय मर्न दिन्न' भन्न सक्दैनन्। आफ्नो अनि परिवारको ज्यानको माया कसलाई लाग्दैन र! न्यायालयको त्रास हटाउन पनि यो अनुसन्धान सफल बनाउनैपर्ने थियो।

OOO

कार्यालय जाने, अनुसन्धानमा संलग्न सिनियर जुनियर सबैसँग छलफल गर्ने, सम्भावित विकल्पहरू के हुनसक्छ भनेर छलफल गर्ने मेरो पुरानै बानी हो। लागु औषधको कार्यालयमा काम गर्दा लागेको पनि सिआइबी पुग्दासम्म कायमै थियो।

सिआइबीमा पनि त्यहीक्रम चलिरह्यो। बिहान कार्यालयमा पुगेपछि अनुसन्धानमा संलग्नहरूसँग बसेर छलफल गर्ने, पहिला कसरी अनुसन्धान भएको रहेछ अनि अब कसरी अनुसन्धान गर्न सकिन्छ भनेर दिमाग खियाउने, पहिला जुन ट्रयाकमा अनुसन्धान गरियो त्यो ट्रयाक छाडेर अनुसन्धान गर्दा पो हुन्छ कि भनेर प्राय सबैको राय लिन्थ्यौँ। खुल्ला छलफल हुन्थ्यो।

अनुसन्धानको छलफलमा को जुनियर को सिनियर भन्ने हुन्न। जसले गजब आइडिया ल्यायो उसैको लागु हुन्छ। जुनियरले ल्याउने आइडियाले असम्भव भनिएका अनुसन्धान सफल पनि भएका छन्। दिमाग र्याङकले हैन अनुभवले दिने हो।

घटनाहरू धेरै थिए। अनुसन्धानका विकल्पहरू धेरै थिए। आइडियाहरू पनि धेरै थिए। तर रणबहादुर बम हत्या सम्बन्धी घटनाको अनुसन्धानको ट्रयाक फेर्नुपर्ने अवस्था थिएन।

टेक्निकल पक्षको अनुसन्धान बलियो थियो। लगभग लगभग हत्याको कारण अनि हत्यामा संलग्नहरूको पहिचान भइसकेको थियो।

समस्या के भने प्रमाण थिएन। अब प्रमाण नभएपछि त यो समूहले, यसकारण हत्या गरेको हुनसक्छ भन्ने त हो। हत्या गरेकै हो भन्नका लागि त पक्का प्रमाण हुनुपर्यो नि। हामीलाई अनुसन्धानका लागि सहज भएको पक्ष भनेको हत्याको कारणबारे लगभग हाम्रो समूह नै पक्का थियो।

शङ्का चुरे भावर पार्टीका अध्यक्ष बाबु थापामाथि नै हो। त्यसको आधार भनेको घटनाको समयमा उसको मोबाइल लोकेसन नै हो। हत्याको दिन रणबहादुर बम जुन-जुन रुटमा हिँडेका थिए उनको मोबाइल त्यही रुटमा सक्रिय देखिएको थियो।

बिहान कलङ्की, त्यसपछि बङ्गलामुखी क्षेत्र अनि शंखमुल क्षेत्र हुँदै कोटेश्वरतिर गएका थिए उनी। उनको मोबाइल लोकेसनको ट्रयाकले त्यही देखाएको थियो।

बाबुसम्म पुग्न कुबेर सिंह रानाको नेतृत्वमा बनेको समितिले गरेको प्राविधिक अनुसन्धानले सघाएको हो। उनीहरूले घटनास्थल मात्र हो र सम्भव भएसम्म र शङ्का लागेसम्मको क्षेत्रको बिटिएसबाट कल डिटेल र मेसेज ल्याएर केलाउँदै केलाउँदै गएर बाबुकोमा पुगेका थिए।

कलङ्की, ललितपुर, शंखमुल क्षेत्र हुँदै कोटेश्वरसम्मको क्षेत्रको घटना हुनुभन्दा अगाडि अनि पछाडिको सबै विवरण सङ्कलन गरेर केलाउँदै यी सबै क्षेत्रमा मोबाइल सक्रिय भएका व्यक्तिहरूको सूची बनाउने काम कठिनै हो नि।

त्यो टेक्निकल टिममा प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी थिए। म जाँदा उनी सिआइबीमै थिए। उनी प्राविधिक अनुसन्धानमा पोख्त प्रहरी अधिकृत। त्यसले अनुसन्धानलाई झन् सहज बनायो।

OOO

टेक्निकल अनुसन्धानले बाबु हुनसक्छ है भन्ने देखाएपछि उसलाई पहिला नै नियन्त्रणमा लिएर केरकार पनि भएको रहेछ। नियन्त्रणमा लिएको आधार त्यही मोबाइल लोकेसन मात्रै। ल्याए, केरकार गरे। नयाँ कुरा नआएपछि छुटे। त्यो बेलामा त्यो क्षेत्रमा किन गएको भन्ने बाहेक अर्को प्रश्न थिएन। उसले जे भन्यो त्यो सत्य हो या झुटो ठम्याउने आधार पनि थिएन।

उसले त्यो ठाउँमा गएकै हैन भनेको भए यो के हो त भनेर टेक्निकल अनुसन्धानको नतिजा देखाएर थप केराकार गर्न पनि सकिन्थ्यो। तर उसले कलङ्की गएको अनि त्यही रुटको प्रयोग गरेको पनि स्विकारेको थियो।

कलङ्की किन गएको कारण पनि खुलायो। उसले केराकार गर्नेहरूलाई आफूले लागुऔषधी खाने गरेकाले कलङ्कीमा लिन गएको भनेछ। ल्याइदिने मान्छे पनि देखाइदिएछ।

अनि त्यो रुट किन प्रयोग गरेको भन्दा कोटेश्वरबाट कलङ्की जान छोटो रुट भएकाले भन्यो। हुन पनि त्यो छोटो रुट पनि हो।

'तँ लागुऔषधी लिन हैन बमलाई मार्न गएको होस्' भन्नका लागि त थप तथ्य चाहियो नि। त्यो थप तथ्य थिएन। अनि उ छुटिहाल्यो।

त्यति मात्रै हैन। म भन्दा अगाडि प्रकाश अर्याल सिआइबी प्रमुख भएका थिए। उनको पालामा पनि सिआइबी टिमले बाबुलाई कार्यालयमा ल्याएर अनुसन्धान गरेको रहेछ। सेफ हाउस भनेको चैँ प्रहरी कार्यालय।

सिआइबीको टिमले व्यापक अनुसन्धान गरे पनि  केही खुलेको रैनछ। चुपचाप। दोस्रो शङ्कास्पद व्यक्ति पेला परेको भए पनि उसले केही भिन्न बयान दिन सक्थ्यो अनि एकले भनेको कुरा अर्कोसँग ट्याली गर्न सकिन्थ्यो नि। त्यो पनि भएन।

जति गरे पनि त्यही पहिलाको प्राविधिक टिमले फेला पारेको क्लु बाहेक थप केही नआएपछि उसमाथिको अनुसन्धान रोकेको रहेछ।

अब हामीले पनि त्यसरी नै बाबुलाई समातेर ल्याएर 'भन न्यायाधीश बमलाई किन मारिन्' भनेकै भरमा उसले स्विकार्नेवाला थिएन। पटक पटक प्रहरी कार्यालय आउँदा के सोध्छन् अनि कसरी चुप बस्ने अनुभवी भइसकेको थियो।

उसलाई कुराकानी गर्न नबोलाएको पनि हैन। तर कुरा गर्न बोलाउँदा नै धम्क्याएर गएको थियो। अब यसमा नयाँ क्लुको खोजी गर्ने बाहेक अर्को उपाय थिएन। त्यसमा एक टिम लागिरहेको नै थियो।

उता सर्वोच्च अदालतका न्यायाधीशहरू आत्तिएको आत्तियै। खै त समातेको भनिरहने। अब जो पायो त्यहीलाई समात्ने कुरा भएन। पछि अदालतले नै हो क्यार प्रमाण हेर्ने।

अनुसन्धान जस्तो कुरा दुई दिनमा सफल पनि हुनसक्छ २० वर्ष लाग्न पनि सक्छ। यही भनेरै उहाँहरूको चित्त बुझाउने प्रयास गरे पनि त्रासले होला 'जे गर्नुछ गर्नुस् तर हत्या कसले गरेको र किन गरेको त्यो पत्ता लगाइहाल्नुस्' भनिहाल्ने। हामीले पनि हस् भन्नुबाहेक अर्को के नै विकल्प थियो।

बोलाउँदा सर्वोच्च गयो। अनुसन्धानबारे जानकारी दियो। अनि हस् भनेर फर्कियो। यता अनुसन्धान जारी नै थियो। तर उपलब्धि हात लागेन।

ब्याचका पुराना अंक

 

१३ भदौ, २०८०, २३:२६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।