स्त्रीद्वेषी 'अतिवादी' धर्मगुरूको शरणमा किन पर्छन् लाखौँको भीड !

स्त्रीद्वेषी 'अतिवादी' धर्मगुरूको शरणमा किन पर्छन् लाखौँको भीड !

बराहक्षेत्र : भारतका प्रसिद्ध 'अतिवादी धर्मगुरू' धिरेन्द्र कृष्णशास्त्रीलाई दोस्रोपटक नेपाल भित्र्याइयो। सुनसरीको बराहक्षेत्रस्थित चतरामा रामनवमीको अवसर पारेर संकट मोचन महायज्ञका लागि प्रमुख कथावाचकका रूपमा उनी नेपाल आए। गत वैशाख ५ मा चतरा आएका उनी ५ दिने महायज्ञ सकेर फर्किए। 

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको निम्तोमा यहाँ आएका उनले पाँच दिन प्रवचन दिए। त्यसमा एउटा वाणी पटकपटक दोहोर्याइरहे 'म नेपालका हिन्दूहरूलाई जगाउन आएको हुँ।' 

उनलाई हेर्न भनेर ५ लाख हाराहारीमा दर्शनार्थी उपस्थित भए। जगदगुरु रामानन्दाचार्य सेवा पिठका पिठाधीशका महासचिव बिनोद गुरागाईंका अनुसार उक्त संख्यामा दर्शनार्थीको उपस्थिति रहेको अनुमान छ। 

उनको उपस्थितिले बराहक्षेत्रको के प्रगति भयो त? यहाँको धार्मिक स्थलहरूको ब्रान्डिङ त भयो नै, त्यसबाहेक के? सम्बन्धित वडाका अध्यक्ष किसन थापामगर बागेश्वर बाबाको उपस्थितिले उल्लेख्य उपलब्धि नभएको बताउँछन्।

'न यहाँको घोडसवार चलायमान भयो, न त पानीजहाज नै चलायमान भयो। होटल व्यवसायसम्म पनि चलायमान भएन' उनले भने।

वडाअध्यक्ष मगरले भनेजस्तै उनीबाट वस्तुगत उपलब्धि त भएन नै, तर कयौं भक्तजन उनको शरणमा चाहिँ पुगेकै हुन्। संयोग पनि कस्तो, 'दुई ढोंगी र स्त्रीद्वेषी' बाबाहरू अर्थात् सिद्धबाबा र बागेश्वर बाबालाई सुन्न अधिकांश महिला पुगेका थिए। 

सिद्धबाबा तिनै धर्मगुरू हुन् जो बलात्कारको आरोपी हुन्। आफ्नै महिला अनुयायीलाई २०७६ कात्तिक ४ गते राति  करणी गरेको भनी २०७६ मंसिर ११ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो। जबर्जस्ती करणीको मुद्दामा सहमतिमा नै शारीरिक सम्बन्ध भएको ठहर गर्दै गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दियो।

उनी विपक्षी रहेको मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ। उनलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसला उच्च अदालतले बदर गरिसकेको छ।

उनको कर्तुकलाई प्रमाणित गर्न उनकै एउटा बयान काफी देखिन्छ। सुनसरी जिल्ला अदालतले उनलाई सफाइ दिएको पूर्णपाठमा उक्त घटनापछि सिद्धबाबाले आफ्ना भक्त भोला बरालको फोनबाट एक घण्टा २० मिनेट पीडितसँग माफी मागेको अडियोमा 'म बाट एक पटक गल्ती भो माफ पाऊँ, अब त्यसो हुँदैन, त्यसो भो भने लिङ्ग नै काटेर फाल्दिन्छु' भनेको रेकर्ड उल्लेख छ। तर उनले बयानमा सो अडियो आफ्नो नभएको दाबी गरेका थिए। 

तर उनले बयान बदल्दै अनुयायीको आग्रहमा आफूले करणी नगरे पनि धर्म रक्षाका लागि माफ मागेको र आवाज आफ्नो भएको स्वीकार गरेको पूर्णपाठमा उल्लेख छ।

त्यसो त उनका आपराधिक गतिविधिहरू धेरै पहिलादेखि नै सुरू भएका हुन्। यसअघि उनले धर्मकै आडमा चतरास्थित सुनसरी मोरङ सिँचाई आयोजनाको जग्गा कब्जा गरिसकेका छन्। उक्त जग्गामा हजारौं गाईपालन गर्ने, जडिबुटी र आयुर्वेदको विश्वविद्यालय सञ्चालन गर्ने भनेर सपना बाँडेका उनले अहिले आफ्नै निवास बनाएका छन्। 

सिद्धबाबाले आफूलाई बाल ब्रह्मचारी भन्ने गरे पनि उनकै आश्रममा बस्दै आएका केही व्यक्तिका अनुसार सिद्धबाबाले दैनिक रुपमा दूधसँग यौनवर्द्धक जडिबुटीहरू सेवन गर्ने गर्थे।

उनले ८ वर्षअघि इटहरीस्थित बालग्रामकी एक बालिकालाई आश्रममा लगेर पढाउछु भनेर यौन दुव्र्यवहार गरेको चर्चा चलेको थियो। ती किशोरीका अभिभावकले महिला सञ्जाल, ओरेक र माइती नेपालका प्रतिनिधिहरुलाई गिरीविरुद्ध थप बोल्न नदिएर उक्त घटना ढाकछोप गरिएको थियो।

त्यसपछि पनि सिद्धबाबासँग अनेक युवतीहरूको नाम जोडिँदै आयो। तर, सिद्धबाबा आजसम्म शक्तिकै आडमा कारबाहीबाट बचिरहेका छन्।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई चतरा भित्र्याएर आफूलाई 'शक्तिशाली' बाबा प्रमाणित गराएका सिद्वबाबाले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतलाई भेटेको तस्विरहरू सार्वजनिक गर्ने गरेका छन्।

उनले आह्वान गर्नासाथ हजारौंको संख्यामा दर्शनार्थी झुम्मिन्छन्। लाखौँको दान दिन तयार छन्। यसपटक पनि बागेश्वर बाबाको नाममा उनले करोडौं दान संकलन गरे। पिठाधीशका महासचिव गुरागाईंका अनुसार गत ५ दिनमा आएको दानको हिसाब गर्दा अहिलेसम्म १८ करोड रुपैया जम्मा भएको अनुमान छ। अन्य रकम हिसाब गर्न बाँकी छ। 

बागेश्वर बाबा पनि धर्मको आडमा भारतमा 'बागेश्वर धाम' नामको साम्राज्य खडा गर्न लागिपरेका पात्र हुन्। उनका युट्युबमा ७८ लाख बढी सब्सक्राइबर र फेसबुकमा ७० लाख बढी फलोवर छन्।

भारतमा उनको कथा वाचन कार्यक्रममा एकैदिन झन्डै १ लाख मानिसहरू उपस्थित हुने गरेका छन्, जबकि ४ वर्ष अघिसम्म केही दर्जन मात्र उपस्थित हुन्थे। 

मात्र २८ वर्षका यिनको असली नाम धीरेन्द्र कृष्ण गर्ग हो। मध्यप्रदेशको सामान्य परिवारमा जन्मेका धीरेन्द्र अहिले भारतका ८ औं धनी धार्मिक गुरु मानिन्छन्।

उनी २०२२ को अप्रिल १९ मा मध्यप्रदेशको एउटा गाउँमा प्रवचन दिँदै भन्छन्, 'सबै हिन्दूहरू एक होऔं, जसले ढुंगा हान्छ, त्यसको घरमा बुल्डोजर हान, सबै हिन्दूहरूले हतियार उठाऔँ।'

त्यसपछि एकाएक चर्चामा आएका उनले पटकपटक एउटै व्यक्तिलाई बिरामी बनाएर थुप्रै ठाउँहरू डुलाए। आफ्नै टिमका एक सदस्यलाई बिरामीको नाटक गराए र, उपचारको नाटक पनि गरिरहे। त्यतिमात्र होइन, उनी क्यान्सर नै निको पार्ने दाबी गर्छन्।

उनी आफूसँग अलौकिक शक्ति रहेको, भूतप्रेत भगाउन सक्ने, मानव जीवनका सबैखाले समस्या समाधान गर्नसक्ने दाबी गर्छन्। क्यान्सर र मुटुरोग पनि बेसार र गहुतले निको पार्ने मिथ्या दाबी गर्छन्। उनलाई विश्वास गरेर २०२३ मा मष्तिष्कसम्बन्धी समस्या लिएर त्यहाँ गएकी १० वर्षीय बालिकाको धाममै मृत्यु भएको सार्वजनिक भयो। मृगौलाको समस्या भएकी अर्की ३३ वर्षीय महिलाको पनि धाममै मृत्यु भएको सार्वजनिक भएको थियो।

उनको उदय नै साम्प्रदायिक द्वन्द्व भड्काउने अभिव्यक्ति दिएपछि भएको हो। एउटा प्रवचन कार्यक्रममा एकजना भक्तलाई 'अछुत' भन्दै खुट्टा ढोग्नै दिएनन् यी बाबाले। उनले भनेका छन्, 'तँ अछुत होस्, न छो', अनि खुट्टा तान्छन्। 

उनले मञ्चमै आफूलाई ढोग्न आएकालाई ‘अछूत’ भनेर छुनबाट रोकेको र आदिवासी समुदायलाई ‘जंगली’ भनेको घटना सार्वजनिक भएपछि उनी निकै विवादित बनेका थिए। 

यिनको यो श्रींखला यत्तिमै रोकिएको छैन। अर्कोपटक महिलामाथि अपमान गर्दै अभिव्यक्ति दिन्छन्, 'विवाह गरेर सिन्दुर र मंगलशुत्र नलगाउने महिला खाली फ्ल्याट जस्तै हो।'

सिद्धबाबा र बागेश्वर बाबामा यस्तै कर्तुतहरूको समानता छ। त्यसैले पनि यिनीहरू दुवै जना यसपटक एकैठाउँ, एकै मञ्चमा उभिए, त्यो पनि लाखौं दर्शनार्थीको उपस्थितिमा।

त्यसक्रममा बागेश्वर बाबाले सप्तकोसी नदीमा कुम्भ स्नान गरे। उनीसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, स्वामी आनन्द अरुण, सिद्धबाबा लगायतले संयुक्त रुपमा राम मन्दिरको शिलान्यास गरे।

र, भारत फर्किने बेला पनि बागेश्वरले त्यही तर्क दोहोर्याए ‘दोस्रोपटक नेपाल आएँ। हिन्दूमा उत्साह ल्याउन र फेरि एकपटक नेपालमा हिन्दूहरूलाई ब्यूँताउनुपर्छ।’ 

१६ बैशाख, २०८१, १६:५३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।