ब्याच नम्बर ६९ : युएइले सुटर ल्याउन समय मागेपछि साउदी हुँदै सिधै दिल्ली ल्याइयो, यता जन्मकैद पनि भयो

ब्याच नम्बर ६९ : युएइले सुटर ल्याउन समय मागेपछि साउदी हुँदै सिधै दिल्ली ल्याइयो, यता जन्मकैद पनि भयो

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याका सुटरमध्येका एक सञ्जय स्माइली मगरलाई साउदी अरबबाट नेपाल ल्याउन नेपाल प्रहरीको टोली उतै पुगिसकेको थियो। उता सञ्जय पक्राउ पनि परिसकेका थिए। उनलाई ल्याउन दुईतर्फी टिकटसहित केन्द्रीय अनुसन्धान ब्यूरोबाट दुई जना साउदी अरब पुगिसकेका थिए।

तर बीचमा अर्को बाधा आयो। नेपालको इन्टरपोलले साउदीबाट युएइको बाटोहुँदै सञ्जयलाई ल्याउन लागेको जानकारी दिँदै सहयोगका लागि लेखेको पत्रको जवाफमा ‘अदालतको आदेश नभई कुनै पनि देशबाट डिपोर्ट भएको व्यक्तिलाई आफ्नो भूमि भएर लैजान नपाउने, अनुमति नभई आए पक्राउ गरिने’ भन्दै सात दिनको समय माग्यो।

सात दिन कुर्न सक्ने अवस्था थिएन। न त पक्राउ पर्ने जोखिम उठाउन सकिन्छ यस्तोमा। यस्तो समस्या हुँदा तनाव नै हुने भयो।

 दीपेन्द्र अधिकारीले दिल्ली हुँदै जाने फ्लाइट रहेछ त्यसको टिकट काट्नुपर्यो सर भने र त्यस बारे उनले साउदी अरबको प्रहरीलाई पनि सो बारे अवगत गराए। अब दिल्ली ट्रान्जिट हुँदै लिएर आउने बाहेक अरू विकल्प देखिएन। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई जानकारी गराउँदा तुरुन्त टिकटको व्यवस्थापन गर्न लगाए र तीन जनाको टिकट तुरुन्त पठाउने काम भयो। यताबाट तीन जनाको टिकट कन्फर्म भयो।

दिल्लीमा त केही समस्या परे त्यहाँका प्रहरीसँग समन्वय गर्न सहज पनि हुन्छ। नेपाल आउने फ्लाइट कुर्न केही समय ट्रान्जिटमा बस्नुपर्यो। ट्रान्जिटको रेस्टुरेन्टमा बसेर केही समय खाजा खाएछन्।

साउदी अरबको प्रहरीले सञ्चयलाई विमानस्थलसम्म ल्याएर विमानमा चढाइदिए। त्यसपछिको जिम्मा यता नेपालबाट गएका प्रहरीको हुने भइहाल्यो। यस्तोमा पनि अलि ज्याद्रो व्यक्ति पर्यो भने विमानभित्रै लफडा गर्न सक्छन्। चुनौती टन्नै हुन्छ नि अर्को देशबाट अपराधीलाई आफ्नो देशमा ल्याउन।

त्यसमा उसलाई प्लेनमा कसरी निगरानीमा राख्ने, उसलाई कसरी भुलाउने लगायतको पक्ष महत्त्वपूर्ण हुन्छ नै। दुवै जना यसमा माहिरै भएकाले त्यति गाह्रो भएन। उनीहरूले सहजै सञ्जयलाई नेपाल ल्याए।

कसरी ल्याए उनीहरूले! खसखस त लाग्ने नै भयो। प्लेनमा सञ्जय बसेको सिटमा एक जना बसेछन्। अनि ठ्याक्कै सञ्जय बसेको सिटको पछिल्लो सिट जहाँबाट सञ्जयले केही गडबड गर्न खोजे नियन्त्रणमा लिन सकिन्छ त्यहाँ अर्को बसेछन्।

अब समातिइनै सकियो भनेर सञ्जयले प्लेनमा त्यति गडबड गरेनछन्। सहजै दिल्लीको विमानस्थलमा उत्रिए। त्यहाँका सुरक्षाकर्मीलाई सञ्जय को हो अनि किन लैजान लागेको भनेर विस्तृत जानकारी दिइएको थिएन।

दिल्लीमा त केही समस्या परे त्यहाँका प्रहरीसँग समन्वय गर्न सहज पनि हुन्छ। नेपाल आउने फ्लाइट कुर्न केही समय ट्रान्जिटमा बस्नुपर्यो। ट्रान्जिटको रेस्टुरेन्टमा बसेर केही समय खाजा खाएछन्। अनि सिधै काठमाडौँको विमानस्थल। उनीहरूको फ्लाइटको समय मिलाएर विमानस्थलमा टिम गइसकेको थियो।

बाबु थापासहितका कारागारमै थिए। उनीहरूबाटै सञ्जयबारे धेरै खुलिसकेको थियो। प्रहरीसँग पर्याप्त प्रमाण पनि थिए। त्यसैले उ बारे जटिल अनुसन्धान गर्नुपर्ने पाटो बाँकी थिएन।  प्रक्रिया पुरा गरेर अदालत बुझाउने त हो। पहिल्यै प्रतिवादी बनिसकेका थिए। पुर्पक्षका लागि थुनाको आदेश भइसकेको थियो।

सञ्जय पक्राउ परेपछि लगभग प्रहरीको पक्षबाट गर्नुपर्ने अनुसन्धानको पाटो सक्कियो। तर अदालतको पाटो त बाँकी नै थियो। बयान दिन अनुसन्धान अधिकृत जानुपर्थ्यो। अदालतबाट सफाइ पनि पाउन सक्थे। तर प्राप्त भएका प्रमाणहरूका आधारमा उनीहरूले सफाइ पाउने सम्भावना भने हामीले देखेका थिएनौ।

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले गरेको फैसलामा थापा र दीपककुमार कर्णलाई जन्मकैदको सजाय भयो। सुटर शिव चौधरी र सञ्जय स्माइली मगरलाई सर्वस्वसहित जन्मकैदको फैसला भएछ। सहयोगी प्रेमराज खड्का ५ वर्ष सजाय भयो।

२०७३ असार १३ गते जिल्ला अदालत ललितपुरबाट न्यायाधीश बम हत्या मुद्दाको फैसला आउँदा बाबु थापासहित चार जनालाई जन्मकैद भयो। न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले गरेको फैसलामा थापा र दीपककुमार कर्णलाई जन्मकैदको सजाय भयो। सुटर शिव चौधरी र सञ्जय स्माइली मगरलाई सर्वस्वसहित जन्मकैदको फैसला भएछ। सहयोगी प्रेमराज खड्का ५ वर्ष सजाय भयो।

प्रारम्भमा दबाब थेग्न नसकेर जो पायो त्यसलाई पक्राउ गरेछन् भनेर केहीले आलोचना नगरेका हैनन्। जब जन्मकैदको फैसला भयो अनि  प्रहरीले शङ्काको आधारमा हैन प्रमाणको आधारमा बाबु समूहलाई समातेको हो भन्ने अदालतबाट प्रमाणित भयो। खुसी लाग्यो।

बम हत्या अनुसन्धान र टुङ्गियो। तर यस्तै अन्य अपराधको अनुसन्धान जारी नै थियो। त्यसमा बडिखेलमा परिवारै मारिएको एक घटना अनि रानीवारिमा भएको हत्या घटना हाम्रो प्राथमिकतामा थियो।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

१५ कात्तिक, २०८०, २२:१६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।